प्रशासनको लिकेज टाल्दै लक्ष्यअनुसारको राजस्व उठाउँछु : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेट कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् । बुधबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजस्व संकलनमा रहेका त्रुटिहरू सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको उल्लेख गरेका छन् । ‘अहिले बजेटमा जुन राजस्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पूरा गर्न कडा मेहनत आवश्यक छ, यहाँ सबै प्रकारका त्रुटिहरू, कमी कमजोरीहरू छन् र त्यसलाई सच्चाउनुपर्ने छ,’अर्थमन्त्री पौडेलले भने । विगतमा राजस्वको लक्ष्य पूरा हुन नसकेको अनुभवले आगामी दिनमा नयाँ लक्ष्य प्राप्त गर्न थप मेहनत आवश्यक रहेको उनले बताए । अन्तर्राष्ट्रिय परिस्थिति, क्षेत्रीय तथा राष्ट्रिय परिस्थितिको प्रभाव र समग्र माग तथा उत्पादनमा आएको न्यूनताको प्रभावले रोजगार र उपभोगमा असर परिरहेको छ। आयात–निर्यात र उत्पादनमा पनि कमी आएकोले यसलाई ध्यानमा राख्दै समग्र माग, रोजगारी, उत्पादन, र उत्पादकत्व बढाउन प्रभावकारी कदम उठाउनुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री पौडेलले विगतमा करका दरहरू हेरफेर गर्दा त्यसको प्रभाव राजस्व संकलनमा के कस्तो परेको हो भनी अध्ययन अनुसन्धान गरेर समीक्षा गर्ने योजना सुनाए । करका दरहरू परिवर्तन गर्दा परिपक्कता आवश्यक रहेको उनले बताए । ‘राजस्व प्रशासनको प्रभावकारी परिचालन गर्दै, राजस्व प्रशासनलाई अनुशासित बनाउँदै, सबै प्रकारका लिकेज र सिकेजहरूलाई टाल्दै, यो अवस्थामा गर्न सकिने अधिकतम राजस्व संकलन गर्ने योजना छ, एकतर्फ राजस्व प्रशासनलाई अनुशासित बनाउने, लक्ष्य पूरा गर्नसक्ने गरी परिचालन गर्ने, चुहावटलाई नियन्त्रण गर्ने, र अर्कोतर्फ व्यावसायीहरूलाई उत्पादन गरि मुनाफाबाट कर तिरी सम्मानित नागरिक बनाउने विषयलाई समानान्तर लैजान खोजिरहेका छौँ,’ पौडेलले भने । अर्थमन्त्री पौडेलको योजनाले राजस्व संकलनलाई प्रभावकारी बनाउने र अर्थतन्त्रलाई स्थिर राख्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, अर्थमन्त्री पौडेलले फेजासँगको छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति छिट्टै गर्नेसमेत जानकारी गराएका छन् । उनले भने, ‘सेबोनको अध्यक्ष नियुक्ति पक्रिया यति जटिल हुनु हुँदैनथ्यो, म अर्थमन्त्री भएर आइपुग्दा यो एउटा अन्योलको अवस्थाबाट गुज्रिरहेको थियो, अब कानुनसम्मत पारदर्शी ढंगले योग्य व्यक्ति अध्यक्षमा नियुक्ति हुन्छ, यत्ति नै समय भन्ने छैन तर छिटोभन्दा छिटो पक्रिया अगाडि बढ्छ ।’ उनले पुजीँबजारलाई वास्तवमै अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै सरकारले पुजीँबजारको विकासको सन्दर्भमा पारदर्शी र परिपक्क ढंगले काम गर्ने बताए ।
वैदेशिक रोजगार बीमा : सवा ३ अर्बको बजार, ५८ प्रतिशत हिस्सा ३ कम्पनीको कब्जामा
काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारमा ३ कम्पनीको कब्जामा रहेको देखिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारको करिब ६० प्रतिशत हिस्सा ३ कम्पनीले ओगटेका छन् । गत आवमा उक्त बीमाअन्तर्गत ३ अर्ब १२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ । जसको ५८.१२ प्रतिशत हिस्सा सन नेपाल लाइफ, नेपाल लाइफ र आइएमई लाइफले कब्जा गरेका छन् । गत आवमा नेपालमा १० बीमा कम्पनीले उक्त बीमालेख बिक्री गर्दै आएका थिए । जसमध्ये ७ कम्पनीले बाँकी ४१ प्रतिशत बजारमा प्रतिस्पर्धा गर्नुपरेको हो । सन् नेपाल लाइफले मात्रै ८४ करोड ३० लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाट आर्जन गरेको छ । उक्त रकम वैदेशिक रोजगार बीमा बजारको २७ प्रतिशत हो । यसैगरी, नेपाल लाइफले ६२ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन करिब २० प्रतिशत हो । यस्तै, आइएमई लाइफले ३५ करोड ३५ लाख रुपैयाँ र एशियन लाइफले ३० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यता सबैभन्दा कम व्यपार प्रभु महालक्ष्मी लाइफले गरेको छ । यस पोलिसिअन्तर्गत प्रभु महालक्ष्मीले जम्मा १८ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको छ । चालु आवमा भने प्रभु महालक्ष्मीले यस बीमालेख बिक्री नगर्ने भएको छ । कुन कम्पनीको बजार हिस्सा कति ?
चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थपियाे
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई वर्षदेखि उक्त सेवा प्रदान गर्दै आएको थियो । यसका लागि चन्द्रागिरि नगरपालिका र रक्त सञ्चार सेवा केन्दबीचको द्विपक्षीय सम्झौता थप गरिएको छ । नगर प्रमुख घनश्याम गिरी र केन्द्रका निर्देशक पवनकुमार गुप्ताले द्विपक्षीय सम्झौतापत्रमा हालै हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि उपस्थिति थियो । उक्त सम्झौताअनुसार चन्द्रागिरिवासीले आवश्यकता पर्दा नेपाल रेडक्रसको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका शाखाअन्तर्गत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रमार्फत पनि निःशुल्क रगतको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । गत दुई वर्षमा करिब दुई सय नगरवासीले उक्त निःशुल्क रगतको सुविधा प्राप्त गरेका थिए । यसैगरी नगरपालिकाअन्तर्गत सामाजिक संघसंस्था, क्लब वा समूहले नेपाल रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गर्दा नगरपालिकाले उक्त संस्थालाई कार्यक्रम संयोजनबापत प्रतिरक्तदाता दुई सय रुपैयाँ पनि उपलब्ध गराउने छ । नगरपालिकाले नेपाल रेडक्रससँगै मेट्रो रक्त सञ्चार सेवासँग पनि नगरवासीहरूलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । नगरवासीहरूलाई आवश्यकता पर्दा यी दुई निकायहरूबाट आवश्यकता परेका समयमा निःशुल्क रगतको सुविधा लिन नगर प्रमुख गिरीले उक्त कार्यक्रममार्फत आह्वान गरे । उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीसमक्ष पुर्याउन नगरपालिकाले उच्च प्राथमिताका साथ काम गरिरहेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले सम्झौतासँगै निःशुल्क रगत प्राप्तिका लागि थप सहज हुने विश्वास व्यक्त गरे । निःशुल्क रगतसम्बन्धी थप जानकारीका लागि नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिने शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले जानकारी दिए ।
कार्यदलले बुझायो शीर्ष नेतालाई टीआरसीसम्बन्धी प्रतिवेदन
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले सहमतिको प्रतिवेदन बुधबार सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो । एक साताअघि नै दलहरूसँगको समन्वयमा विवादित विषयमा सहमति जुटेको थियो ।
आधुनिक आमाहरू यस कारण मान्दैनन् स्तनपान गराउन
बच्चा जन्मिँदा हरेक आमाले बच्चालाई दूध चुसाउँछन्, यो नियमित प्रक्रिया हो । वर्षौंदेखि चलिआएको चलन अहिले विस्तारै हराउँदै गएको छ । भ्रामक सूचना र व्यस्त जीवनशैलीलगायत विभिन्न कारण महिलाहरू बच्चालाई जन्म दिएर दूध चुसाउन छोड्न थालेका छन् । यसो गर्नु आमा र बच्चा दुवैका लागि राम्रो होइन । स्तनपानको कुरामा नेपालको स्वास्थ्यमा ठ्याक्कै उल्टो देखिन थालेको छ । जहाँ स्वास्थ्यको सहज पहुँच छैन, बिरामी परेका बेला अस्पताल जानसक्ने अवस्था छैन त्यहाँका महिलाले बच्चालाई दूध चुसाइरहेको पाइन्छ भने जहाँका महिला शिक्षित छन्, अस्पताल नजिक छन् उनीहरूले बच्चालाई जन्म दिएर दूध नचुसाउने गरेको पाइन्छ । स्वास्थ्यका सूचांककमा हेर्ने हो भने नेपाल प्रगति गर्दै गएको छ । तर, स्तनपान गर्ने रेट भने नेपालमा घट्दै गएको छ । आजभन्दा १० वर्ष पहिले ७० प्रतिशतमा रहेको स्तनपान गराउने दर अहिले ५५ प्रतिशतमा झरेको छ । यसलाई हामीले सकारात्मक रूपमा लिन मिल्दैन । स्तनपान आमा र बच्चा दुवैका लागि फाइदा जनक छ । तर, अझ भन्नुपर्दा बच्चाका लागि आमाको दूध अमृत समान हुन्छ र आमाको दूध बच्चाको पहिलो खोप पनि हो । जन्मेदेखि ६ महिनासम्म लगातार आमाको दूध खान पाएका बालबालिका हृष्टपुष्ट हुन्छन् । सुरुमा आउने बिगौते दूधमा धेरै किसिमको एन्टिबोडिज हुन्छ । जसले बच्चाहरूलाई लाग्न सक्ने पखाला निमोनिया हुने सम्भावना कम हुन्छ । यति मात्र होइन धेरै किसिमको रोग लाग्नबाट समेत बचाउँछ भने रोगबाट लड्न क्षमता पनि बढाउँछ । जसले दुध खान पाउँदैन त्यस्तो बच्चालाई विभिन्न किसिमका रोग पनि लाग्न सक्छन् । आमाको दूधमा बच्चालाई चाहिने पोषण हुन्छ । कुनै बच्चा समय अगावै जन्मेको हुन्छ भने कुनै समय पछि जन्मेको हुन्छ । हरेक बच्चालाई चाहिने पोषण फरक-फरक हुन्छ । आमाको भन्दा बाहेक अन्य गाईभैंसीको दूधमा बच्चालाई चाहिने किसिमको पोषण हुँदैन । जसले गर्दा बच्चालाई असर गर्छ । आमालाई पनि फाइदै फाइदा बच्चा जन्मिसकेपछि दूध चुसाउँदा बच्चालाई जस्तै फाइदा आमालाई पनि हुन्छ । बच्चा जन्मनेबित्तिकै नियमितरूपमा दूध चुसाउने आमामा बच्चा जन्माइसकेपछि हुने ब्लिडिङ कम हुन्छ भने सुत्केरी भइसकेपछि साल नआउने समस्या पनि हुन्छ । बच्चा जन्माउनेबित्तिकै दुध चुसाउँदा साल निस्किनमा मद्दत गर्छ । ६ महिनासम्म बच्चालाई दूध चुसाइराख्ने आमालाई परिवार नियजोनमा पनि सहयोग पुग्छ । यस्तै, स्तन क्यान्सर, ओभरीको क्यान्सर हुने सम्भावना पनि कम हुन्छ । मुटरोग, कोलिस्टाेर लगायतका रोग लाग्ने सम्भावना पनि कम हुन्छ भन्ने अध्ययनले देखाएको छ । यस्तै, नियमित बच्चालाई दूध चुसाउने आमाको शरीर पहिलेको अवस्थामा आउन पनि यसले मद्दत गर्छ । स्तनपान गराउँदा बच्चा र आमालाई मात्र फाइदा नभइ सोसाइटीलाई पनि फाइदा छ । यतिमात्र नभइ आर्थिकरूपमा पनि यसको फाइदा छ । आर्थिकरूपमा फाइदा दूध नचुसाउने आमाहरूले बच्चालाई दूधको सट्टा बजारमा पाइने बट्टाको दुध अथवा अन्य खाने कुरा खुवाउँदा आर्थिक बोझ पनि थपिन्छ । बाहिर बजारमा पाइने खानेकुरा बच्चालाई खुवाउँदा रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । एकातिर आमाले आफ्नाे दूध नखाुवाउँदा र बाहिरको दूध किन्नुपर्दा आर्थिकरूपमा पनि भार भयो भने अर्काेतिर बाहिरको खानेकुरा खुवाउँदा बिरामी भई औषधी उपचार गर्नुपर्ने भार झन थपिन्छ । तर, आमाले आफ्नै दूध नियमित खुवाउने हो भने यस्तो रोग पनि लाग्दैन र विभिन्न फाइदा पनि हुन्छ । हामीले स्तनपानमा एक रुपैयाँ लगानी गर्यौँ भने ३० देखि ४० प्रतिशत बढी यसले फाइदा दिन्छ पनि भनिन्छ । स्तनपान भनेको कम लगानीमा धेरै फाइदा हुने चिज हो । तर, नेपालमा यसो हुन सकेको छैन स्तनपान गराउने संख्या घट्दै नेपालमा ५५ प्रतिशत महिलाले मात्र जन्मेको एक घण्टामा बच्चालाई दूध चुसाउँछन् । आजभन्दा करिब १० वर्ष पहिले ७० प्रतिशत महिला बच्चा जन्मेको एक घण्टा भित्र दूध चुसाएको पाइन्थ्यो । यस्तै ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउने रेट ५६ प्रतिशत छ । सन् २०११ को डाटामा ७० प्रतिशत थियो भने अहिले घटेको छ । पहिलेभन्दा बढ्नुपर्ने ठाउँमा अहिले झन घटिरहेको छ । तर, २ वर्षसम्म आमाको दुध खुवाउनुपर्छ भन्नेमा भने अहिले पनि ९४ प्रतिशत छन् । तथ्यांक हेर्दा के देखियो भने सुरुवातमा आमाको दूध खुवाउनुमा कमी देखियो । सुरुमा आमाले बच्चालाई दूध चुसाउन गाह्रो हुन्छ । त्यसमा फेरि पहिलो बच्चा हो भने त्यस्तो आमालाई झन गाह्रो हुन्छ । यसका लागि बच्चा पेटमा भइसकेपछि कहाँ चेकजाँच गराउने, कतिपटक गराउने भनेर जसरी जानकारी दिइन्छ त्यसैगरी बच्चालाई दूध अनिवार्य खुवाउनुपर्छ, यो यो तरिकाले दुध खुवाउन सकिन्छ भन्ने कुरा पनि सिकाउनुपर्ने आवश्यकता छ । स्तनपानबारे महिलालाई अगाडि नै मानसिकरूपमा तयार गर्नुपर्छ । यसो गर्दा उनीहरूलाई पहिले नै थाहा हुन्छ । अस्पतालमा पनि बच्चा बच्चा जन्मनेबित्तिकै दूध चुसाउन सल्लाह दिनुपर्छ । थापाथली अस्पतालले यो प्रयास गरिरहेको छ । अप्रेसन गरेका महिलालाई भने अलि समस्या हुन्छ । यस्तो बेला त्यस्ता महिलाहरूलाई सहयोग गर्ने सहयोगी पनि हुनुपर्छ । अर्को कुरा अस्पतालमा सुत्केरी भएका महिलाहरूलाई अस्पतालबाट घर जानुअघि नै दूध चुसाउन सिकाउनु स्वास्थ्यकर्मीको अनिवार्य काम हो । सुदूरपश्चिम र कर्णाली प्रदेश अगाडि सहर बजारभन्दा ग्रामिण क्षेत्रका महिलाहरू बच्चालाई बढी दुध चुसाउँछन् । एक तथ्याकंअनुसार कर्णाली र सदूरपश्चिम प्रदेशमा सुत्केरी भइसकेपछि ६ महिनासम्म बच्चालाई नियमित दूध चुसाउने दर बढी छ । बागमती, लुम्बिनीभन्दा विकट ठाउँमा दूध चुसाउने दर बढी छ । यसमा पनि कारण पक्कै होला । हुन सक्छ त्यहाँ बच्चालाई खुवाउन मिल्ने बजारको जस्तो अप्सन नभएर अथवा बच्चा जन्मेपछि दूध चुसाउनुपर्छ भन्ने परम्परागत धारणा पनि हुनसक्छ । जेसुकै भए पनि सहर बजारभन्दा ग्रामीण क्षेत्रमा दूध चुसाउने दर बढी छ । आयका हिसाबले हेर्ने हो भने न्यून आयकाभन्दा उच्च आय भएका र अशिक्षितभन्दा शिक्षित आमाहरूले बच्चालाई दूध कम चुसाउने गरेको पाइएको छ । कसैको दूध आउनै गाह्रो बच्चा जन्माइसकेका सबै आमाकाे पहिले नै दूध आउँदैन । हाम्रोमा पहिलो पटक दूध आएन भने दूध चुसाउनै छाड्ने चलन छ । तर, त्यसो गर्नु हुँदैन । नर्मल बच्चा जन्माएका आमालाई दूध चुसाउन धेरै समस्या हुँदैन । तर, अप्रेसन गरेर बच्चा जन्माएका आमालाई भने बच्चा जन्माउनेबित्तिकै दूध चुसाउन पनि गाह्रो हुन्छ । अर्को कुरा कतिपय महिलाहरूमा दूध नआउने गरेको पाइन्छ । यसो हुनु भनेको दूध चुसाउँदा आमा र बच्चाको अवस्था नमिलेको हुन सक्छ । दूध चुसाउने तरिका नजान्दा पनि धेरै महिलामा दूध नआउने समस्या देखिन्छ । तर, हामीले प्रयास गर्दै गयौं भने फेरि दूध आउन थाल्छ । कुन पोजिसनमा राख्दा बच्चालाई दूध चुसाउन सजिलो हुन्छ भन्ने केही तरिका छन् । त्यो नमिल्दा पनि चुसाउन नसकेको हो । पहिलो बच्चा जन्माउँदा कतिपय महिलालाई दूध चुसाउन गाह्रो हुन्छ । बच्चालाई दिनमा वा घण्टामा यति पटक मात्र चुसाउनुपर्छ भन्दा पनि बच्चाले मागेअनुसार मात्र चुसाउनुपर्छ । हामीले एकैपटक धेरै भने खुवाउनु हुँदैन । स्थानीय तहको भूमिका नेपालमा यो समस्या सबैलाई जग जाहेरै छ । यसको समाधानका लागि आमा एक्लैको प्रयास मात्रले हुँदैन । परिवार, समाज, सरकार र मिडिया सबैको उत्तिकै भूमिका हुन्छ । यसमा सबैभन्दा पहिले आमाले बुझ्नुपर्ने हुन्छ । त्यसपछि अस्पतालमा आएपछि स्वास्थ्यकर्मीले सहयोग गर्नुपर्याे । अर्को कुरा यसमा सबैभन्दा बढी भूमिक स्थानीय सरकारको हुनुपर्छ । उसले यसका लागि सचेतनामूलक कार्यक्रम मात्र गर्ने हो भने धेरै सहयोग हुन्छ । विश्वका कतिपय देशमा ब्रेस्ट फिडिङ सपोर्ट ग्रुप छन् । उनीहरूले भोलेन्टियर राखेका हुन्छन् । कसैलाई दूध चुसाउन गाह्रो पर्छ भने उनीहरूले त्यहाँ फोन गर्छन् र भोलेन्टियरले सहयोग गर्छन् । त्यसमा अस्पतालबाट रिटायर्ड स्वास्थ्यकर्मी हुन्छन् । महिलाको कुनै समस्या आयो भने सकेसम्म फोनमै सल्लाह दिइन्छ । समस्या जटिल रहेछ भने घरमै पुगेर पनि सहयोग गरिन्छ । हाम्रो अहिलेको स्थानीय सरकारले पनि यस्तो ग्रुप बनाउन सक्छ । यसले समस्या भएका महिलालाई सहयोग पुग्छ । साथै, बच्चा र आमालाई भएको कुनै समस्या छ भने पनि पहिचान हुन्छ । हरेक ठाउँमा स्थानीय समूहले सहयोग समूह बनाउन सक्यो भने यसले सहज हुन्छ । अहिले पनि धेरै ठाउँमा बच्चालाई दूध खुवाउने क्रममा विभिन्न मान्यताहरू हाबी भएका छन् । कुनै ठाउँ बिगौते दुध बच्चालाई खुवाउनु हुन्न भन्ने छ भने कुनै ठाउँमा दूध चुसाउँदा शारीरको बनावट बिग्रने भन्ने गलत सोच छ । यस्तै कारण अहिले पनि स्तनपानसम्बन्धी सही सूचना नागरिकहरूले पाउन सकिरहेका छैनन् । (वरिष्ठ परामर्शदाता तथा बाल रोग विशेषज्ञ डा.शैलेन्द्रवीर कर्मचार्यसँग गरिएकाे कुराकानी )
विश्वको तेस्रो धनी बने जुकरबर्ग, सात महिनामा कमाए साढे ४७ अर्ब डलर
काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाका मालिक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको सम्पत्ति एक दिनमा ७० हजार करोड भारूले बढेको छ । सम्पत्तिमा भएको यो वृद्धिका कारण मार्क फोर्ब्सको विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा पुगेका छन् । मार्कको सम्पत्ति करिब १७५ अर्ब डलर पुगेको छ । मार्कको सम्पत्तिमा यो वृद्धि उनको कम्पनी मेटाको सेयर वृद्धिका कारण भएको हो । अमेरिकी सेयर बजारमा मेटा सेयर ३ प्रतिशतभन्दा बढीले बढेको छ । यो वृद्धिका कारण मार्कको सम्पत्ति पनि ५.१ प्रतिशतले बढेको छ । फोर्ब्समा प्रकाशित समाचारअनुसार मार्कको सम्पत्ति १७५.५ बिलियन डलर पुगेको छ र उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । मार्कले बर्नार्ड अर्नाल्टलाई पछाडि छोडे । तर, पछि मार्कको सम्पत्तिमा केही ह्रास आयो र उनी फेरि चौथो नम्बरमा आए । यस वर्ष मार्क कमाईका हिसाबले विश्वमा दोस्रो स्थानमा छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मार्कको सम्पत्ति यस वर्ष ४७.४ बिलियन डलरले बढेको छ । यस वर्ष, जेन्सेन हुआंग कमाईको आधारमा पहिलो स्थानमा छन् । उनले यस वर्ष ४७.६बिलियन डलर कमाए । जेन्सेन चिप निर्माता एनभिडियाका सीईओ हुन् । उनी ९१.६ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वको १५औं धनी व्यक्ति हुन् । अमेरिकी सेयर बजारमा मेटा र एनभिडियाको सेयरले राम्रो प्रदर्शन गरिरहेको छ । दुवै कम्पनीको सेयरले लगानीकर्तालाई राम्रो प्रतिफल दिएको छ । यद्यपि, दुवै कम्पनीको रिटर्न तुलना गर्ने हो भने यहाँ एनभिडिया मेटाभन्दा अगाडि छ । मेटाले एक वर्षमा ५६ प्रतिशत प्रतिफल दिएको छ भने एनभिडियाको एक वर्षको प्रतिफल १२९ प्रतिशत रहेको छ । यदि ५ वर्षको रिटर्नको बारेमा कुरा गर्ने हो भने एनभिडिया मेटाभन्दा धेरै अगाडि छ । यी ५ वर्षमा मेटाको प्रतिफल १६३ प्रतिशत रहेको छ । जबकि एनभिडियाले करिब २६०८ प्रतिशत रिटर्न दिएको छ । एजेन्सी
सानिमा माई हाइड्रोको सञ्चालकमा पराजुली
काठमाडौं । सानिमा माई हाइड्रोपावरको सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको बैठकले सञ्चालक पदमा पराजुलीलाई नियुक्त गर्ने निणर्य गरेको हो । साथै, कम्पनीका सञ्चालक तुकप्रसाद पौडेलले राजीनामा दिएसँगै रिक्त रहेको सञ्चालक पदमामा बलराम पराजुलीलाई नियुक्त गरिएको हो ।
तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला
झापा । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताए । ‘यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट पर्यटक नाका खुला गरिएको जानकारी आयो’, उनले भने, ‘त्यसपछि उताबाट केही पर्यटक आउन थालेभने यताबाट पनि जानेक्रम प्रारम्भ भएको छ ।’ कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिएता पनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । पूर्वीनाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । पर्यटनव्यवसायीले तेस्रो मुलुकका पर्यटकको आवागमन खुलाउन पटकपटक माग गर्दै आएका थिए । नाका सहज बनेसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्डलगायत देशका एक दर्जनभन्दा बढी नागरिक भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उनले जानकारी दिए । नेपालबाट पनि उत्तिकै सङ्ख्यामा पर्यटक भारत गएका छन् । नेपाल प्रवेशको पूर्वीनाका काँकडभिट्टा र पश्चिम बङ्गालको पानीट्यङ्कीमा दुवै देशका अध्यागमन कार्यालय छन् । भारतले पानीट्याङ्कीस्थित अध्यागमन कार्यालयबाट विगतमा जस्तो ‘अनअराइभल भिसा’ भने जारी गरेको छैन । नेपालको प्रवेशाज्ञा (भिसा) भएका तेस्रो मुलुकका नागरिकलाई मात्र भारतीय अध्यागमनले नेपाल प्रवेशको अनुमति दिएको जनाएको छ । लामो समयसम्म भारतीय अध्यागमनले पर्यटकलाई नेपाल प्रवेश अनुमति नदिँदा पूर्वको पर्यटनमा प्रभाव परेको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताए । पर्यटकका लागि नाका खुला हुँदा अब पूर्वमा पर्यटकीय चहलपहल बढ्ने र यसबाट मुलुकको अर्थतन्त्रमा केही टेवा पुग्ने उनले बताए । रासस