सम्पत्ति विवरण पेस नगर्ने कर्मचारीको जरिवाना रकम जम्मा हुने व्यवस्था मिलाउन बैंकहरूलाई निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई जरिवानाको रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको खातामा जम्मा गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार राष्ट्र बैंकले बैंकहरूलाई ७७ जिल्लामा राजस्व जम्मा गर्न सहजीकरण गराउन निर्देशन दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९÷८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय भित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सो ५ हजार जरिवाना रकम अख्तियार दुरुपयोग अनुसन्धानको संघीय राजस्व खाता नम्बर १४३१२ खुलाई कोड नम्बर २०६००३५०१ मा ७७ वटै जिल्लाबाट राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउन राष्ट्र बैंकसँग आग्रह गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार सरकारी कारोबार गर्ने बैंकहरूलाई राष्ट्र बैंकले उक्त निर्णय कार्यान्वयन गर्न भनेको हो ।
कुल्फी बेचेर मासिक एक लाखसम्म आम्दानी
बरहथवा । काम कहिले पनि सानो ठूलो हुँदैन। मेहनत गरे जुनसुकै कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी ४६ वर्षीय मिथलेश सहनी । कुल्फी बेचेर मनग्य आम्दानी गरिरहेका सहनीले पाँचजनाको परिवार आनन्दसँग पालनपोषण गरिरहेका छन्। उनका एक छोरा केही समयदेखि वैदेशिक रोजगारीमा मलेसिया पुगेका छन् । उनले दुई छोरा घरनजिकैको विद्यालयमा पढाउँछन् । सहनी आफू भने दैनिक ६० किलोमिटरसम्म साइकलमा डुलेर कुल्फी बेच्छन्। फागुन महिनाको पहिलो हप्तादेखि सुरु हुने उनको कुल्फीको व्यापार मङ्सिर महिनासम्म चल्छ। चर्को घाम, पुरानो साइकल केरियरमा बाँधेको कुल्फीको ड्रम गाउँ गाउँसम्म पुग्ने निरन्तरको यात्रा उनको दैनिकी हो । ‘अत्यधिक गर्मी वा बर्सातको समयमा कुल्फी उत्तिसारो बिक्दैन्,’ उनले भने, ‘मानिसहरु घरबाट बाहिर निस्किदैनन्, मौसम ठिक्क भएमात्र व्यापार राम्रो हुन्छ।’ सम्पत्तिको नाममा तीन धुर घडेरीमा बनेको काठको भुइँतले घरबाहेक उनीसँग अरु केही छैन। सहनीले दैनिक ज्याला मजदुरी, कहिले खोलामा बालुवा चाल्ने त कहिले गिट्टी कुट्ने गरेर परिवारको लालनपालन गर्दै आएका थिए। समयमा धान काट्न उनी भारतको पञ्जाबसम्म पुगेका छन् । ‘कमाई राम्रो कहिले भएन,’ उनी भन्छन् । झन्डै १५ वर्ष पहिला उनले यसैगरी अन्न (मकै) सँग बरफ साट्ने काम गरेका थिए । आम्दानी राम्रो नभएपछि लगभग तीन वर्ष काम गरेर छाडे । विगत तीन वर्षबाट फेरि उनले कुल्फी बेच्न सुरु गरेका छन् । उनी हरेक दिन बिहान नजिकैको उद्योगबाट बरफको डल्ला किनेर ल्याउँछन् । त्यसपछि उनी कुल्फी बट्टाबट्टामा राखेर नुहाइधुवाइ गर्छन् । त्यसबेलासम्ममा कुल्फी जमेर तयार भइसक्छ। खाना खाइसकेपछि बिहान १० बजेदेखि उनको व्यापार सुरु हुन्छ । सहनी घरबाट विभिन्न गाउँ हुँदै सर्लाही र रौतहटको सीमाक्षेत्र नुनथर, बागमती नगरपालिकास्थित भरत तालसम्म पुग्छन्। साँझ घाम डुबेपछि भने उनी सिधै घर हानिन्छन् । ‘घाम डुबेपछि गाउँ पस्दिन,’ उनले भने, ‘जति व्यापार भए पनि सिधै घर पुग्छु ।’ दिनको कम्तीमा रु पाँच हजारको सामान ड्रममा राखेर व्यापारका लागि निस्कने गरेको उनको भनाइ छ। ‘कुनै दिन अपराह्न २ बजे नै सबै बेचेर भ्याउँछु,’ उनले भने, ‘कहिले फिर्ता पनि लानुपर्छ, ३६ घण्टासम्म बिग्रिँदैन्।’ पूरै बिक्री गर्दा रु दुई हजार पाँच सय फाइदा हुने उनको भनाइ छ । कुल्फी रु १० देखि ५० सम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ । कुल्फी बेचेर महिनाको रु एक लाखसम्म कमाइ हुने गरेको उनले बताए। केही भएन भने पनि मेहनत गर्न सक्दा उनका अनुसार कडा मेहनत पर्ने भएकाले यो पेसा सबैले मन पराउँदैनन् । ‘मेहनत कडा छ,’ उनले भने, ‘दैनिक हिँड्न सक्नुपर्यो, भारीसहितको साइकल ५०/६० किलोमिटर ठेल्नुपर्छ ।’ कुल्फीका लागि आवश्यक सामग्री ल्याएर आफैले घरमै कुल्फी बनाउँदा फाइदा धेरै हुने गरेको उनको अनुभव छ। बरफबाहेक सबै कुरा आफैँ बनाउने उनले सुनाए । आर्थिक उपार्जनको दिगो व्यवस्था नहुँदा विगतमा निकै हण्डर खाएको सम्झँदै सहनीले कुल्फीको व्यापारपछि पछाडि फर्किएर हेर्नुनपरेको सुनाए । कुल्फी व्यापारपछि सहनीले पाँच कट्ठा धान फल्ने खेतसमेत किनेको बताए । वर्षदिन पुग्न धान आफ्नै खेतमा फल्ने गरेको उनको भनाइ छ । धेरैजसो गर्मीको मौसम रहने तराईको ठाउँमा बरफ, कुल्फी लगायतको बिक्री निकै राम्रो हुने गरेको छ । यसको व्यापारबाट धेरै स्थानीय स्वरोजगारसमेत बनेर मनग्य आम्दानीसमेत गरिरहेका छन् ।
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
जुम्ला । अविरल वर्षासँगै मंगलबार राति पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । गगनेखोलामा सडक साँघुरो रहेकाले ठूला मालवाहक ट्रकलाई पास हुन गाह्रो हुने देखिएकाले ब्रेकर लगाएर खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
नेशनल लाइफको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको छ । नेप्सेले कम्पनीको ४ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य ७०५.७७ रुपैयाँ कायम भएको छ । नेप्सेले बुधबार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय समिति गठन
काठमाडौं । बुधबार नुवाकोटको सुर्यचौर दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
विद्यालय शिक्षा विधेयकमा मातृ भाषा दरबन्दी अनिवार्य राख्न माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले विद्यालय शिक्षा विधेयकमा मातृ भाषा दरबन्दी अनिवार्य राख्न माग गरेकी छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले संविधानले अधिकार दिए पनि प्रयोगमा नआएको बताइन् । मातृ भाषा पढाउनेहरू धेरै भए पनि दरबन्दी शिक्षकलाई व्यवस्थापकले पैसा उठाएर आफ्नो स्रोतबाट मातृभाषा शिक्षक राख्नुपर्ने विडम्वना रहेको बताइन्। विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलका क्रममा उनले ऐन बनाउँदा सो विषयलाई छुटाउन नहुने भनाइ राखिन् । समितिको बैठकमा बोल्दै नेकपा एमालेकी सचेतक सुनिता बरालले विद्यालय शिक्षालाई बलियो बनाउन संघीय संरचनालाई व्यवस्थित गर्न आवश्यक रहेको बताइन् । उनले तीन तहको सरकार छ भन्ने कुराको बोध गर्नसके विद्यालय शिक्षा बलियो बन्ने जिकिर गरिन् । उनले परीक्षा बोर्डले तोकेको मापदण्डभित्र बसेर कार्यविधि बनाउन जरुरी रहेको बताइन् । उनले परीक्षा सञ्चालनको विधि के, व्यवस्थापन र प्रमाणीकरण विषयलाई प्राविधिक र सैद्धान्तिक विषयलाई वर्गीकरण गरेर प्रदेश र स्थानीय तहलाई सहजीकरण गर्नेग री मेकानिजम बनाउन आग्रह गरिन् । समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विद्यार्थीलाई पढ्ने की सिकाउने भन्ने कुरामा स्पष्ट नरहेको जिकिर गरे । २०७२ सालको नेपालको संविधानले जिल्ला शिक्षा कार्यालय नचिन्ने तर जिल्लाको कार्यालयहरुले खर्च बढाइरहेको बताए । संविधानको अवलम्वन, अभ्यास गर्न आग्रह गरे । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधवार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको हो ।
दुर्घटनास्थलबाट ५ जनाको शव काठमाडौं ल्याइँदै
काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याउने तयारी गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागेका हुन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने तयारी छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा भएकाे दुर्घटनामा चार चिनियाँ नागरिकसहित ५ जनाको निधन भएको छ।
दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको बीमा सलिकोमा : २० करोड रुपैयाँ दाबी आउन सक्ने
काठमाडौं । बुधबार नुवाकोटको सुर्यचौर दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा गरेको पाइएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १८ करोड रुपैयाँ बराबरको गरेको सलिको इन्स्योरेन्स स्रोतले विकासन्युजलाई जानकारी दिएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको १८ करोड रुपैयाँ बराबरको बीमा गरिएको छ भने यात्रूहरूको २० हजार अमेरीकी डलर र हेलिकप्टर पाइलटको १ लाख अमेरीकी डलरको बीमा गरिएको कम्पनी स्रोतले बतायो । तर, हेलिकप्टरको बीमामा बीमाङ्क रकमको ५ प्रतिशत कट्टा गरेर बाँकी रकम दाबी भुक्तानी दिईने बीमालेख शर्तमा उल्लेख छ । त्यसैले हेलिकप्टर कम्पनीले बीमा दाबी बापत १७ करोड १० लाख रुपैयाँ पाउनेछ । कम्पनी स्रोतका अनुसार मृतक पाइलटका परिवारले भने एक लाख डलर अर्थात् १ करोड ३३ लाख रुपैयाँ र ४ जना यात्रुका परिवारले भने प्रतिव्यक्ति २० हजार डलरका दरले ८० हजार डलर अर्थात् १ करोड ६ लाख रुपैयाँ बीमा दाबी पाउनेछन् । यदि सो हेलिकप्टरमा कार्गाे अथवा कुनै सामाग्रीमा क्षति भएको छ भने पनि बीमा कम्पनीले क्षतिको विवरण हेरेर दाबी भुक्तानी दिनेछ । साथै हेलिकप्टर दुर्घटना हुँदा तेस्रो पक्षलाई पनि क्षति भएको छ भने त्यसको दायित्व पनि बीमा कम्पनीले बेहोर्ने छ । तर, कार्गाे र तेस्रो पक्षको क्षतिको विवरण भने सर्भेयरले सर्भे गरेपछि मात्रै यकिन तथ्याङ्क आउने कम्पनीले बताएको छ । कम्पनी स्रोतका अनुसार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाको कुल बीमा दाबी २० करोड रुपैयाँसम्म आउन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त दाबी भुक्तानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दायित्व भने न्यून रहने देखिन्छ । बीमा कम्पनीको दायित्य ३० लाख रुपैयाँ र बाँकी भुक्तानी दायित्य पुनर्बीमा कम्पनीहरूले बेहोर्नुपर्ने बीमा कम्पनीले बताएको छ । उक्त हेलिकप्टर बीमाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्स सहित विश्वका ७ पुनर्बीमा कम्पनीमा गरेको कम्पनीले बताएको छ । नेपाल रिइन्स्योरेन्सले भने ४ करोड रुपैयाँ दायीत्व बेहोर्नुपर्ने देखिन्छ ।