राष्ट्रिय सहकारी बैंकले ३८ ठाउँको जग्गा बेच्दै
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गैर बैंकिङ सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न ठाउँको गैर बैंकिङ सम्पत्ति (जग्गा) बिक्रीमा राखेको हो । बैंकले विभिन्न ठाउँमा रहेका ३८ वटा कित्ता घडेरी बिक्री गर्ने जनाएको छ । बैंकले काभ्रे, झापा, मकवानपुर, नुवाकोट, धनुषा, धादिङ, सुनसरी, महोत्तरीका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्ने भएको हो । बैंकका अनुसार बनेपा, धनकुटा, बिर्तामोड, दमक, हेटौंडा, सूर्यविनायक, नुवाकोट, जनकपुर, चपुर, केन्द्रीय कार्यालय, भरतपुर, धरान, जनकपर शाखा कार्यालयमा सम्पर्क गरी बिक्रीमा राखिएको जग्गा खरिद गर्न सकिनेछ ।
एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता
काठमाडौं । देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले २३ लाख २७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन् । देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गरेको हो । देउमाईले आर्थिक वर्ष २०७९/८० मा नगरक्षेत्रका २ सय सातजना एकल पुरुषलाई २४ लाख ८४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो । देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए । त्यसैगरी, आव २०८०/८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई १० लाख ८९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत मासिक रु एक हजारका दरले भत्ता प्रदान गरिएको हो । आव २०७९/८० मा देउमाईका ८८ जनाले १० लाख ५६ हजार रुपैयाँ भत्ता पाएका थिए । तेस्रो लिङ्गीका लागि मासिक ५ सय रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताउनुभयो । ‘ग’ वर्ग अपाङ्तागता भएका ९२ जनालाई ५ लाख ४५ हजार ५ सय रुपैयाँ र आर्व २०८०/८१ मा ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनाले ५ लाख ४५ हजार ५ सय रुपैयाँ भत्ता पाएका छन् । यसैबीच, देउमाई नगरपालिकाले चालु आव २०८१/८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो । सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको नगरप्रमुख पोख्रेलले बताए। देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ । सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत रु पाँच हजारका दरले दुई पटकसम्म, दाहसंस्कारमा ५ हजार रुपैयाँ र दीर्घरोगीलाई एकपटक ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा ३ हजार ४ सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या ७ हजारमाथि पुगेको छ । क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो । क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायको स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ । स्नातकमा व्यवस्थापनतर्फ बिबिए र बिबिएसको पढाइ हुने गर्दछ । विज्ञानतर्फ बिएस्सी, बिएस्सी सिएसआइटी, बिआइटी, बिएस्सी जुओलजी र माइक्रोबायोलोजीको पढाइ हुने गरेको छ । शिक्षातर्फ बिएस र बिआइसिटीई विषयको पढाइ हुने गर्दछ । स्नातकोत्तरमा विज्ञानतर्फ फिजिक्स र क्यामेस्ट्री, व्यवस्थापनतर्फ एमबिएस, मानविकीतर्फ नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र, समाजशास्त्र र जनसङ्ख्या शिक्षाको पढाइ हुँदै आएको छ । यसै वर्षदेखि एमसिए र एमएडको पढाइ सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ । क्याम्पसमा नयाँ विषयको पढाइ थालेपछि पहिलो रोजाइ बन्न सकेको हो । क्याम्पस प्रमुख पौडेलले भने, ‘शुल्क कम र गुणस्तरीय पढाइ हुने भएकाले यहाँ कोटा पाएसम्म विद्यार्थी अन्यत्र पढ्न जाँदैनन् ।’
नेपाल ल्यूब आयलको नाफामा ९७२ प्रतिशत उछाल, ईपीएस ७३.२७ रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत वर्ष साढे ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ मा नाफा ९७२ प्रतिशत बढेर ४ करोड ४८ लाख ८८ हजार रुपैयाँ गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४१ लाख ४९ हजार रुपैयाँ नाफा गरेको थियो । गत असारसम्म कम्पनीले ३५ करोड ३८ लाख रुपैयाँ कुल नाफा गरेको थियो । अघिल्लो वर्ष कम्पनीले २४ करोड ११ लाख रुपैयाँ कुल नाफा गरेको थियो । अघिल्लो वर्ष ९२ करोड ६६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ गरेको छ । कम्पनीको आम्दानी बढेका कारण नाफा लगायतका सूचक पनि बढ्न पुगेका हुन् । कम्पनीले गत वर्ष ८ करोड ९९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । ६ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ९ करोड ४६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग २४ करोड ३७ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) ११.१९ रुपैयाँबाट बढेर ७३.२७ रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको मूनाफा, उत्पादन तथा बिक्री बितरण र तरलता सन्तोषजनक रहेको कम्पनीले जनाएको छ । उत्पादन र बिक्री बितरणको लक्ष्य हासिल गर्न हाल विश्व आर्थिक मन्दि क्रमशः कम हुँदै गइरहेको र कच्चा पदार्थको मूल्यमा सुधार भएकाले कारोबार पनि बढेको कम्पनीले बताएको । कम्पनीले उद्योगको पुर्ण क्षमता अनुसारको उत्पादन र बिक्री बितरण गरी उच्चस्तरिय लूब्रिकेण्ट आम उपभोक्ताहरुका बिचमा पूर्याउने र सेयरधनीहरुलाई उचित प्रतिफल दिने कम्पनीको भनाइ छ ।
नेशनल फण्डले ११.७२ लाख कित्ता सेयर बेच्दै, मूल्य ५० रुपैयाँ
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टले सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीले चुक्ता पुँजी चुक्ता पुँजी ५४ करोड रुपैयाँको २ः१ अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ दरको २७ करोड रुपैयाँको ५४ लाख कित्ता हकप्रद सेयर गत असार १९ गतेदेखि साउन २२ गतेसम्म बिक्री खुला गरेको थियो । उक्त समयमा बिक्री ११ लाख ७२ हजार कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर भदौ १३ गतेदेखि भदौ २० गतेसम्म लिलाम बढाबढको माध्यमबाट बिक्रीमा राखको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता ५० रुपैयाँ तोकेको छ । लगानीकर्ताले सो वा सोभन्दा माथिल्लो मूल्य तोकि न्यूनतम २० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
चीनमा विश्व रोबोट सम्मेलन (फोटो फिचर)
काठमाडौं । चीनको बेइजिङमा विश्व रोबोट सम्मेलन आयोजना गरिएको छ । चीनको राजधानी बेइजिङमा भएको विश्व रोबोट सम्मेलन २०२४ बुधबार उद्घाटन गरिएको हो । बुधबार बेइजिङमा सुरु भएको विश्व रोबोट सम्मेलन २०२४ मा चिनियाँ प्राविधिक कम्पनीहरूले आफ्ना नयाँ विकसित मानवीय रोबोटहरू देखाएका हुन् । जसमा चीन र विदेशका सहभागीहरूले अत्याधुनिक पराक्रमको उल्लेखनीय प्रदर्शन गरेका थिए । यस वर्षको सम्मेलनमा ह्युमनोइड रोबोटहरूले प्रदर्शनी क्षेत्रहरूमा हिड्ने, अवरोध गर्ने र नृत्य दिनचर्याहरूका साथ आगन्तुकहरूलाई आकर्षित गर्ने किसिमका रोबोटहरू राखिएका थिए । आगन्तुकहरूले चीनको रोबोटिक्स क्षेत्रको द्रुत विकासबाट गहिरो रूपमा प्रभावित भएको र चीनले रोबोट सम्मेलनको माध्यमबाट औद्योगिक सहयोगका लागि खुला प्लेटफर्म उपलब्ध गराएको उल्लेख गरेका छन् । तस्बिरः सिन्ह्वा
२४ अर्ब डलरमा विश्वको ठूलो सौर्य केन्द्र बन्ने, समुद्रमुनिबाट सिङ्गापुर पठाइने
काठमाडौं । अस्ट्रेलियाले ‘विश्वको सबैभन्दा ठूलो सौर्य क्षेत्र’ का रूपमा चिनिएको सौर्य तथा बेट्री फर्मको परियोजनालाई अनुमति दिएको छ । उक्त परियोजनाले सिङ्गापुरलाई ऊर्जा निर्यात गर्नेछ । अधिकारीहरूले अस्ट्रेलियाको दुर्गम उत्तरमा सनकेबलको २४ अर्ब अमेरिकी डलरको परियोजनाका लागि वातावरणीय स्वीकृति घोषणा गरेका छन् । यसबाट ३० लाख घरमा बिजुली पुग्नेछ । ‘यो विश्वको सबैभन्दा ठूलो सौर्य क्षेत्र हुनेछ र यसले अस्ट्रेलियालाई हरित ऊर्जामा विश्वको नेताका रूपमा स्थापित गर्नेछ, वातावरणमन्त्री तान्या प्लिबर्सेकले भने । सन् २०३० मा ऊर्जा उत्पादन सुरु हुने अपेक्षा गरिएको यस परियोजनाबाट घरेलु प्रयोगका लागि चार गिगावाट ऊर्जा उपलब्ध हुनेछ । सिङ्गापुरमा समुद्रमुनि केबल मार्फत पठाइनेछ । यसबाट करिब १५ प्रतिशत आवश्यकता आपूर्ति हुनेछ । सनकेबल अस्ट्रेलियाका प्रबन्ध निर्देशक क्यामरून गार्नस्वर्थीले यो स्वीकृति ‘परियोजनाको यात्रामा ऐतिहासिक क्षण’ भएको बताए । अस्ट्रेलियाली नेशनल युनिभर्सिटीका ऊर्जा परिवर्तन संस्थानका निर्देशक केन बाल्डविनले सौर्य र वायुबाट यति ठूलो मात्रामा नवीकरणीय विद्युत् निर्यात गर्ने यो ‘विश्वको पहिलो’ परियोजना भएको बताए । जलवायु परिषद्का प्रमुख कार्यकारी अमान्डा म्याकेन्जीले नयाँ सौय केन्द्र अस्ट्रेलियालाई ‘स्वच्छ ऊर्जा पावरहाउस’ बनाउने दिशामा साहसिक कदम भएको र यस्ता परियोजनाहरू ‘सस्तो ऊर्जा प्रदान गर्न र जलवायु प्रदूषण घटाउन’ आवश्यक रहेको बताए ।
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने तथा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।