विकासन्युज

सहकारी पीडितको बचत फिर्ता गर्न माग

काठमाडाैं । सहकारी पीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्नेमा अभियानकर्मीले जोड दिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथासीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको जानकारी गराइएको थियो । महासंघका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताए । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रोपटकको आन्दोलन सुरु गरेको १०१औं दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि शान्तिपूर्ण प्रदर्शन गरिने पनि उनले जानकारी दिए ।

डेरी फर्मलाई साढे २ लाख डलर बढी जरिवाना

वेलिंटन । ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ । भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झुटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो । न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झुटो दाबी गरेको आरोपमा सोमबार दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको छ । ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दूधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू उत्पादनबारे झट्टा प्रचार गरी ग्राहकलाई भ्रममा पारेको वाणिज्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्यूजिल्याण्डको कृषि–सञ्चालित उद्योगले उच्च गुणस्तरको डेरी निर्यातमा गर्व गर्दछ र विदेशी ग्राहकहरू यसको समृद्ध चरनबाट प्राप्त हुने दूध र मक्खनको लागि लालायित हुने गर्छन् । वाणिज्य आयोगका प्रवक्ता भेनेसा होर्नले भने, ‘मिल्कियोले न्युजिल्याण्डमा निर्मित उत्पादनहरू पहिचान गर्न एक विश्वसनीय प्रतीक (फर्नमार्क लोगो) को प्रतिष्ठाको फाइदा उठाउँदै अन्य उत्पादनलाई बढावा दिएको पाइएपछि जरिवाना गरिएको हो । ’ कम्पनीले ‘फर्नमार्क लोगो’ प्रयोगका लागि स्वीकृति प्राप्त गर्न गलत र अपूर्ण जानकारी पनि प्रस्तुत गरेको थियो । मिल्कियोले न्युजिल्यान्डको ‘शुद्ध व्यवसाय ऐन (फेयर ट्रेडिङ एक्ट) को धारा १५ उल्लंघन गरेको स्वीकार गर्दै उचित अनुमति बिना फर्नमार्क लोगो र लाइसेन्स नम्बर प्रयोग गरेको स्वीकारेको छ । होर्नले भने, ‘यो सजायले न्युजिल्यान्ड ब्रान्डलाई झुटो दाबी गर्न खोज्ने अरूका लागि चेतावनीका रूपमा काम गर्नुपर्छ ।’ एजेन्सी

सीईओहरूको रहस्यमय बहिर्गमन, तीनै पक्ष तै चुप मै चुप

काठमाडौं । प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुनै पनि संस्थाको व्यवस्थापन प्रमुख हो । सरकारसँग तुलना गर्ने हो भने सीईओ भनेको प्रधानमन्त्रीजस्तै अधिक कार्यकारी अधिकार भएको पात्र हाे । नीति, नियम र नियामकले पनि बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई व्यापक अधिकार दिएको छ । तर, पछिल्लो समय बैंक तथा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरूको बहिर्गमन रहस्यमय बन्दै गएको छ । उनीहरूको बहिर्गमनबारे न कम्पनीहरूले प्रष्ट पारेका छन्, न छोड्ने व्यक्तिहरूले मुख नै खोलेका छन् । पछिल्लो समय हिमालयन एभेरेष्ट इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह र आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको बहिर्गमन यस्तै रहस्यमय बन्याे । गत असार १२ गते हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत शाहलाई पदबाट हटाउने निर्णय लियो । कम्पनीले १३ गतेदेखि नै शाहलाई हाजिर गर्न दिएन । शाहले आफूलाई स्पष्टीकरण सोध्ने मौका समेत नदिइ सञ्चालक समितिले पदमुक्त गरेको भन्दै साे निर्णयविरुद्ध बीमा प्राधिकरणमा निवेदन दिए । एक महिनासम्म पदमुक्त सीईओ र सञ्चालक समिति बीमा प्राधिकरणमा आफू सही भएको दाबी गर्दै आफ्नो पक्षमा नियामकीयले हस्तक्षेपका लागि लविङ गरे । अन्त्यमा, सञ्चालक समितिले गल्ती स्वीकार गर्‍यो र पदमुक्त सीईओ शाहलाई लाभ र सम्मानजनक बहिर्गमनको प्रस्ताव गर्‍यो । त्यसलाई शाहले स्वीकार गरे । उच्च स्रोतका अनुसार सञ्चालक समितिले पदमुक्त गरेको सीईओ शाहले डेढ महिनापछि राजीनामा दिए र सञ्चालक समितिले त्यसलाई स्वीकृत गर्‍यो । पब्लिक कम्पनीभित्र भएको यी सबै घटना गोप्य राखिएको छ । सञ्चालक समिति र शाहबीच के कस्ता विषयमा सहमति भयो र पदमुक्त गरिसकेका सीईओसँग राजीनामा पत्र लिने र सम्मानजनक बिदाई गर्ने बाटो रोजे भन्ने विषय रहस्यमय नै छ । ‘दुई पक्षबीच सहमति भएको सुनेका छौं, दुवै पक्ष बीमा प्राधिकरण आउन छोडेका छन्, यो विषय त्यत्तिकै सेलायो’ प्राधिकरणका उच्च अधिकारीले भने, ‘शाहलाई किन हटाइयो भन्ने पनि स्पष्ट छैन, पछि के-केमा सहमति भयो त्यो पनि जानकारी छैन ।’ भदौ ९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको कार्यकाल समाप्त भएको जानकारी प्राप्त भएको भन्दै कम्पनीको पत्र सार्वजनिक गर्‍यो । पत्रमा फुयाँलको कार्यकाल भदौ ६ गते सकिएको उल्लेख छ । पत्रको भाषाअनुसार ७ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल सकिएको जनाकारी नेप्सेलाई गराउने निणर्य लिएको देखिन्छ । यसअघि साउन २९ मा सीईओमा फुयाँल पुन: नियुक्ति भएको समाचार प्रकाशित भएका थिए । उनलाई पुर्ननियुक्तिका लागि बीमा प्राधिकरणले स्वीकृति पनि दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निणर्यानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निणर्य गरेको थियो । उक्त निणर्य स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट २०८१ श्रावण २८ गते स्वीकृति दिएको थियो । पहिला कार्यकाल थप्ने निर्णय भएको र पछि कार्यकाल समाप्त भएको समाचार प्रकाशित भएलगत्तै बीमा प्राधिकरणले कवि फुयाँलसँग टेलिफोनमा सोधखोज गरेको थियो । उक्त सम्वादमा फुयाँलले पदबाट राजीनामा दिएको बताएको प्राधिकरणका उच्च अधिकारीले विकासन्युजलाई बताए । ‘फुयाँलको दोस्रो कार्यकाल ७ गतेदेखि सुरु हुने हो । फुयाँलले नै दोस्रो कार्यकालको जिम्मेवारी लिन्न भनेको अवस्थामा कम्पनीले पहिलो कार्यकाल समाप्त भएको सूचना नियामकलाई दिनु सामान्य प्रक्रिया हो,’ प्राधिकरणका ती अधिकारीले भने । फुयाँल अर्को जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर जान लागेको भन्ने अनौपचारिक सन्देश पनि बजारमा फैलिएको छ । वास्तविकता बुझ्न फुयाँलसँग सम्पर्कको प्रयास सफल भएन । यसरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरूको बहिर्गमन हुँदा न नियामकले औपचारिक रूपमा बोलेको छ, न कम्पनीहरूले वास्तविकता खुलाएका छन्, न पद गुमाएको प्रमुख कार्यकारी अधिकृतहरूले मुख खेलेका छन् । शंकाले लंका पिर्छ भने झैं तीन पक्ष तै चुप मै चुप हुँदा कर्पोरेट क्षेत्रमा शंका र संशय बढ्दै गएको छ । यस प्रवृतिले पब्लिक कम्पनीको पारदर्शितामाथि पनि प्रश्न उठाएको छ ।

गौरा पर्वमा नेताविरुद्ध नाराबाजी, प्रधानमन्त्रीले भने- नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लाग्यो

काठमाडौं । सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वसाधारणले नाराबाजी गरेका छन् । सर्वसाधारणले नाराबाजी गरेपछि उनी केहीबेरमै फर्किएका छन् । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेपछि छोटो मन्तव्य राखेर फर्किएका हुन् । युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेन । त्यसपछि प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको बताए । त्यसपछि बोलेका भीम रावलको खासै विरोध भएन । रावलपछि देउवाले बोल्दा झनै धेरै नाराबाजी भएको थियो । त्यसपछि देउवाले दर्शकलाई भने, ‘‘कार्यक्रम बिथोल्ने, लाज छैन, यही हो नेपालको चलन ?’

प्रसूतिगृहबाट एक वर्षमा ३० हजार महिलाले सेवा लिए

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा कुल ३० हजार ९ सय ५२ महिलाले सेवा लिएका छन् । प्रसूतितर्फ २५ हजार १ सय १६ तथा स्त्री रोगतर्फ ५ हजार आठ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालले आज ६५औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा यहाँ आयोजना गरिएको कार्यक्रममा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले गत आवमा नवजात शिशु सघन उपचारतर्फ २ हजार ७ सय ८७ र मातृ सघन उपचारतर्फ ४ सय ५४ जना भर्ना भएका जानकारी दिए । बहिरंग सेवातर्फ एक लाख ९४ हजार ४ सय ९० जनाले सेवा लिएको उनले बताए । विसं २०१६ भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट स्थापना भएको उक्त अस्पतालमा हाल चार सय ८९ शय्या सञ्चालनमा छन् । निर्देशक डा अधिकारीले अस्पतालको वार्षिक गतिविधि बारे प्रकाश पार्दै प्रसूतितर्फ भर्ना भएका २५ हजार एक सय १६ मध्ये २२ हजार तीन सय ७९ जना प्रसूति डेलिभरी भएको उल्लेख गर्दै उनीहरुले २२ हजार ६ सय १३ शिशुलाई जन्म दिएको बताए । उनले भने, ‘कुल डेलिभरीमध्ये ९ हजार ६ सय ५२ जना (४३ प्रतिशत) को शल्यक्रिया गरिएको थियो । सो संख्या गत आवको तुलनामा ४ प्रतिशतले बढी हो ।’ गत आवमा ९ हजार ११ निःसन्तान सम्बन्धी सेवग्राहीले ओपिडिबाट सेवा लिएका थिए । जसमध्ये २ सय २२ महिलाले आइयुआई सेवा र २० निःसन्तान सेवाग्राहीले आईभिएफ सेवा लिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपालमा नै पहिलोपटक ‘नियोनेटल स्क्रिनिङ टेष्ट’को कार्य सो अस्पतालमा यही साउन २९ गतेदेखि सुरुवात गरिएको छ । साथै, अस्पतालले हालै मानसिक स्वास्थ्य सेवा समेत सुरु गरेको छ । वार्षिकोत्सवको अवसरमा जन्मिएदेखि ४५ दिनसम्म, ४५ दिनदेखि ६ महिनासम्म र ६ महिनादेखि एक वर्षसम्मका स्वस्थ शिशुलाई पुरस्कृत गरिएको थियो ।

बागमती नदीले सतर्कता तह पार गर्‍यो

काठमाडौं । काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ । आज दिउँसोदेखि काठमाडौं उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा भएको छ । यस्तै, पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको छ । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । मेलम्ची, इन्द्रावती, र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भीरालो क्षेत्रमा पहिरो आउनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

४९ प्रतिशतले घट्यो निर्माण कर्जा, कसरी हुन्छ पुनरुत्थान ?

काठमाडौं । निर्माण क्षेत्रमा मन्दीको अवस्थामा रहेको विषय ऋण लगानीले पनि प्रष्ट पारेको छ । विगतमा साढे तीन खर्बसम्म ऋण उपभोग गर्दै आएको निर्माण क्षेत्रले गत आर्थिक वर्षमा पौने २ खर्बको मात्रै ऋण लिएको छ । जसले निर्माण क्षेत्र अझैं आर्थिक मन्दीको सामना गरिरहेको बुझ्न सकिन्छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण क्षेत्रले कुल १ खर्ब ८२ अर्ब ८६ करोड रुपैयाँ लिएको छ । जुन आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४८.३८ प्रतिशत कम हो । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा कुल ३ खर्ब ५४ अर्ब ३० करोड ४० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए । यस्तै, २०७९/८० मा कुल १ खर्ब ५६ अर्ब ९९ करोड ७० लाख र आर्थिक वर्ष २०७८/७९ मा कुल १ खर्ब ५४ अर्ब ७२ करोड २० लाख रुपैयाँ ऋण निर्माण क्षेत्रमा प्रवाह भएको छ । विगतका वर्षहरूमा निर्माण क्षेत्रमा तीन खर्ब बढी ऋण प्रवाह हुने भएपनि पछिल्लो वर्षहरूमा भने ऋण घट्दै गएको छ । पछिल्लो दुई वर्षको तुलनामा भने गत आर्थिक वर्षमा केही रकमले ऋण बढेको छ । यसले पछिल्लो केही महिनायता निर्माण क्षेत्र चलायमान भएको होकि भन्ने अनुमान पनि गर्न थालिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि थला परेको निर्माण क्षेत्र सो समयदेखि माथि उठ्न सकेको छैन । यो बीचमा ब्याजदर, महँगी र तरलता र बक्यौता भुक्तानी नहुने लगायतका समस्या निर्माण व्यवसायीले भोगे । लामो समयदेखि बक्यौता भुक्तानीको समस्या भोगिरहेका निर्माण व्यवसायी सरकारलाई भुक्तानी गर्न आग्रह गरिरहेका छन् । पछिल्लो समय सरकारले पनि बक्यौता भुक्तानीको पहल थालेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै साढे ४ अर्ब भुक्तानी भइसकेको जानकारी अर्थमन्त्रालय दिएको छ । निर्माण व्यवसायी महासंघका अनुसार सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भएपश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब र चालु आयोजनाहरूको निर्माण कार्यहरूमा बजेट अपुग तथा निकास नभएको कारण लामो समयदेखि बाँकी भएको करिब २० अर्ब रुपैयाँ गरी व्यवसायीहरूको करीब ६० अर्ब बक्योता रहेको बताउँदै आएका छन् । पछिल्लो समय अर्थमन्त्री विष्णु पौडेलले पनि निर्माण व्यवसायीको भुक्तानीका लागि तदारुकता दिएका छन् । उनले निर्माण व्यवसायीसँग बक्यौता भुक्तानी हुने आश्वासन पनि दिँदै आएका छन् । केही रकम भुक्तानी भएपछि निर्माण व्यवसायीमा पनि आशा पलाएको छ । तथ्यांकअनुसार साउनमा घरजग्गा कारोबार पनि केही बढेको छ । यसले अब निर्माण क्षेत्र चलायमान हुने विश्वास छ ।

इन्दु बर्मा बनिन् प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) को नयाँ ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । कन्सल्टेन्सीले आइतबार पत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जानकारी गराएको हो । कार्यक्रममा कन्सल्टेन्सी र कप्तान बर्माबीच ब्रान्ड एम्सडेर नियुक्त गरिएको हस्ताक्षरसहितको सम्झौतापत्र एकआपसमा साटासाट गरिएको थियो । कन्सल्टेन्सीका निर्देशक कृष्ण श्रेष्ठले कप्तान बर्मालाई कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए । बर्माले कर्पोरेट क्षेत्रको यो सहयोगले आफ्नो खेल जीवनमा सहयोग पुग्ने बताइन् । नेपाली क्रिकेटमा महिला खेलाडीलाई पनि प्रोत्साहन गर्नका लागि हात अघि बढाएको कन्सलटेन्सीले जानकारी दिएको छ ।