विकासन्युज

अटो व्यवसायीसँग अर्थमन्त्रीको प्रश्न : काम गरौं कि भाषण ?

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीले आफूहरुलाई विभिन्न कार्यक्रममा अतिथिका लागि बोलाएर काम गर्न अवरोध गरेको संकेत देखाएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले आफू भाषण गर्दै हिड्ने कि काम गर्ने भन्ने प्रश्ने गरे । ‘पछिल्लो समय कार्यक्रममै गएर बितिरहेको छ, तपाईंहरू भन्नुहोस्, म काम गरौं कि भाषण ?’ यस्तै, उनले सरकार स्थिर नीतिमा अगाडि बढिरहेको बताए । अटो व्यवसायीले अटो क्षेत्रका लागि स्थिर नीतिका माग गरेपछि उनले उनले अटो क्षेत्रमा मात्रै होइन वर्तमान सरकार सबै क्षेत्रमा स्थिरता खोजिरहेको धारणा राखे । ‘यो स्थिर सरकार हो, यो सरकार सबै नेपालीको हो । अटो व्यवसायीका समस्या पनि समाधान गर्छ, आत्मविश्वास लिएर काम गर्नुस्, गाडी नेपालमै उत्पादनका लागि सरकार सहयोग गर्न तयार छ, विद्युतीय गाडीमा मात्रै होइन सबैमा स्थिर नीति अगाडि सार्छौं,’ उनले भने । यस्तै उनले भनेजस्तो नभए पनि सरकारले थुप्रै काम गरेको बताए । अर्थतन्त्र चलायमान बनाउनका लागि काम भइरहेको उनको भनाइ छ । ‘हामी आयोजना सुरु गर्छौं । तर, समयमै सकिँदैन, लागत बढ्छ, अब सबै काम समयमै सक्ने मोडालिटीम जानुपर्छ, राजस्वमा धेरै योगदान दिएको अटो क्षेत्रलाई सरकारले प्राथमिकतामा नै राखेको छ, तपाईंहरु इमानदार भएर काम गर्नुस्,’ उनले भने ।

नाडा अटो शो सुरु, सरकारले सहयोग नगरेको अध्यक्ष चौधरीको गुनासो

काठमाडौं । नाडा अटो शो भृकुटी मण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिनसम्म सञ्चालन हुने नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो अटो व्यवसायीहरुको दशैं भएको बताए । उनले १ खर्ब बढी लगानी रहेको अटो क्षेत्रलाई सरकारले सहयोग नगरेको गुनासो गरे । उनले अटो क्षेत्रका लागि स्थिर नीति ल्याएर सहयोग गर्न सरकार समक्ष आग्रह पनि गरे । प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । नाडामा १३० स्टलहरू रहेका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ ।

घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता, झोला र लौरी मात्रै भेटिए

काठमाडौं । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका-९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । ‘पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ’, प्रवक्ता गुरुङले भने । एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिए । उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताए । प्रवक्ता गुरुङले भने, ‘पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिक (लौरी) भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।’ मङ्गलाबार गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी दिए । पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङले बताए ।

कुवेत र कतारबीच १५ वर्षे सम्झौता, प्रतिवर्ष ३० लाख टन ग्यास आपूर्ति गर्ने

काठमाडौं । कुवेतको सरकारी तेल कम्पनीले कतारबाट प्राकृतिक ग्यासको आपूर्तिका लागि १५ वर्षको सम्झौताको घोषणा गरेको छ । यद्यपि कम्पनीले सम्झौताको लागत खुलासा गरेको छैन । कतार इनर्जीले सम्झौताअन्तर्गत प्रतिवर्ष ३० लाख टन तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्ने कुवेत पेट्रोलियम कर्पोरेसन (केपिसी) ले विज्ञप्तिमार्फत बताएको छ । केपिसीका प्रमुख कार्यकारी शेख नवाफ साउद अल-सबाले भने, ‘छोटो समयमै कतार इनर्जीसँगको यो दोस्रो दीर्घकालीन सम्झौताले हाम्रो दीर्घकालीन सहयोगलाई पुष्टि गर्दछ ।’ कुवेतले सन् २०२० मा राज्यको स्वामित्वमा रहेको कतारी ऊर्जा फर्मसँग यस्तै प्रकारको सम्झौता गरेको थियो । शेख नवाफले सम्झौताले ऊर्जा सङ्क्रमणका लागि कुवेतको दीर्घकालीन रणनीति अनुरूप ऊर्जाको स्वच्छ स्रोत उपलब्ध गराउने बताए । जुनको मध्यदेखि तेल समृद्ध कुवेतले गर्मीमा बढ्दो विद्युत् खपतलाई सम्बोधन गर्न आवासीय र औद्योगिक क्षेत्रहरूमा बिजुली राशन लागु गरेको छ । नयाँ सम्झौताअन्तर्गत कुवेतको अल-जौर रिफाइनरीमा एलएनजी डेलिभरी सन् २०२५ देखि सुरु हुने तालिका रहेको केपिसीले बताएको छ । कतार इनर्जीका प्रमुख कार्यकारीसमेत रहेका कतारका ऊर्जामन्त्री साद अल-काबीले भने, ‘यो नयाँ दीर्घकालीन साझेदारी हो, यो कुवेतको दिगोपन लक्ष्यहरू विशेषगरी विद्युत् उत्पादन क्षेत्रमा समर्थन गर्ने एक केन्द्रीय तत्व हो ।’ कतार अमेरिका, अस्ट्रेलिया र रुससँगै विश्वको शीर्ष तरलीकृत प्राकृतिक ग्यास उत्पादकमध्ये एक हो । फेब्रुअरीमा कतारले उसको नर्थ फिल्ड प्रोजेक्टबाट उत्पादन विस्तार गर्ने योजना घोषणा गर्दै सन् २०३० भन्दाअघि क्षमतालाई प्रतिवर्ष १४ करोड २० लाख टनसम्म बढाउने बताएको थियो ।

एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु भदौ १० गतेदेखि असोज १० गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने जनाएको छ । कम्पनीका अनुसार ५ वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिइनेछ । २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीको भनाइ छ । एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ ।

चिनियाँ विद्युतीय सवारीमा शतप्रतिशत शुल्क लगाउने

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार चिनियाँ विद्युतीय कार आयातमा शतप्रशित कर लगाउने घोषणा गरेका छन् । यो उत्तरी अमेरिकामा चिनियाँ राज्य-अनुदानित कारहरूको बाढीलाई रोक्ने अमेरिकी उपायसँग मेल खान्छ । विद्युतीय सवारी साधन (इभी) को विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता चीनमाथि वातावरणीय श्रम मापदण्डजस्ता क्षेत्रहरूमा ‘अन्य मुलुकजस्तै समान नियम पालना नगरेको’ आरोप लगाउँदै उनले चीनबाट आयात हुने स्टिल र आलुमिनियम उत्पादनमा पनि २५ प्रतिशत अतिरिक्त कर लगाइने बताए । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) ले हालैका महिनाहरूमा चिनियाँ इभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन् । क्यानाडाको अटो निर्माण उद्योगले १ लाख २५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । ओटावाले इभीमा आफ्नो सङ्क्रमणलाई समर्थन गर्न तथा घरेलु विद्युतीय बेट्रीको आपूर्ति शृङ्खला बलियो बनाउन अर्बौं डलर लगानी गरेको छ । ओटावाले उसको महत्त्वपूर्ण खनिज उत्खनन क्षेत्रमा नयाँ चिनियाँ लगानीमाथि पनि रोक लगाएको छ । ‘चिनियाँ इभीको अत्यधिक उत्पादन र उसको अटो क्षेत्रका लागि राज्यको ठूलो अनुदानका कारण हामीले कारबाही गर्न आवश्यक छ, हामी दौडमा तल जान नचाहेसम्म हामी उभिनुपर्छ र हामीले यही गरिरहेका छौँ,’ प्रधानमन्त्री ट्रुडोले भने ।

नयाँ उचाइमा पुगेको यूरोको मूल्य घट्यो, कुन देशको मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ११ गते अमेरिकी डलरको खरिददर १३३.९५ रुपैयाँ र बिक्रीदर १३४.५५ रुपैयाँ तोकेको छ । यसअघि हिजो अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४९.५५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १५०.२३ रुपैयाँ तोकेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.६० रुपैयाँ र बिक्रीदर १७७.३९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.६८ रुपैयाँ र बिक्रीदर ९१.०८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.१६ रुपैयाँ र बिक्रीदर ९९.६० रुपैयाँ तोकिएको छ । यसअघि हिजो युरोपियन युरो एकको खरिददर १४९.८९ रुपैयाँ र बिक्रीदर १५०.५६ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.९६ रुपैयाँ र बिक्रीदर १७७.७५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.९९ रुपैयाँ र बिक्रीदर ९१.३९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.१५ रुपैयाँ र बिक्रीदर ९९.५९ रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४७ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.८१ रुपैयाँ र बिक्रीदर ३०.९५ रुपैयाँ तोकिएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.६९ रुपैयाँ र बिक्रीदर ३५.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ तोकिएको थियो ।

प्रधानमन्त्री ओली भन्छन् : भारतले नाकाबन्दी गर्दा चीनसँगको व्यापार थालनी गर्ने मै हुँ 

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताएका छन् । पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्तपन्न नहुने बताएका हुन् । ‘नेपालले सन्तुुलत, इमानदारिता र पक्षधरताबिहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्काे छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ । कसैको कुुभलो चिताउँदैनौँ । हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ”, प्रधानमन्त्री ओलीले भने, ‘हामी तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्छौँ । संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्छाैँ । त्यसको उलङ्घन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ । तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ । हामी विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौँ । कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानाका धक्का लगाउने काम गर्नु हुँदैन ।’ प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गरे । उनले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी हुनु युुगान्तकारी काम भएको पनि स्मरण गरे । तत्कालीन परराष्ट्रमन्त्री थापाले चीनसँगको उक्त सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररुपमा कुरा राख्न सक्ने नेताका रुपमा प्रधानमन्त्री ओलीलाई आफूले पाएको बताए ।