विकासन्युज

सञ्चालनमा आयो ‘सिद्धार्थ होटल’, दमौलीमा पहिलो पटक तीनतारे स्तरको सुविधासम्पन्न भएको दावी

दमौली । मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । होटलको औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पछिल्लो समय दमौली पर्यटकीय नगरीका रूपमा विकास हुँदै गएको र लगानी पनि बढ्दो रहेको बताए । ‘दमौलीलाई पर्यटकीय नगरीका रूपमा विकास भइरहेको छ, पछिल्लो समय व्यास–देवघाट करिडोर निर्माणदेखि १०८ वटा मूर्ति निर्माण पनि भइरहेका छन्,’ उनले भने, ‘म लगानीकर्तालाई दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानीका लागि आग्रह गर्दछु ।’ उनले दमौलीमा पहिलो पटक तीनतारे स्तरको सुविधासम्पन्न होटल निर्माण भएको उल्लेख गर्दै विगतमा कुनै पनि कार्यक्रम गर्नका लागि बन्दिपुर, पोखरालगायतका स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए । एपेक्स हस्पिटालिटी लिमिटेडको निर्माण र सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्राण्डअन्तर्गतको होटल सञ्चालनमा ल्याइएको हो । एपेक्स हस्पिटालिटी लिमिटेडका अध्यक्ष मुकुन्द तिमल्सिनाले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको दमौलीमा आवश्यकताका आधारमा होटल निर्माण गरिएको बताए । ‘प्रारम्भमा व्यावसायिक कम्प्लेक्सको अवधारणामा भवन निर्माण सुरु गरिए पनि अन्ततः यहाँ सुविधा सम्पन्न होटल र दुईवटा सिनेमा हाल सञ्चालनमा ल्याइएको छ,’ उनले भने, ‘होटल निर्माणपछि यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलगायत लाभान्वित हुने अपेक्षा गरेको छु ।’ उनले दमौली भइ पोखरा, काठमाडौं र चितवन जस्ता पर्यटकीय गन्तव्यमा पुग्ने यात्रु तथा स्थानीय स्तरमा आयोजना हुने सभा, सम्मेलनका साथै विवाह, व्रतबन्धलगायतका अवसरमा पार्टी आयोजनाका लागि पनि सहज भएको बताए । होटलमा डिलक्स र जुनियर स्वीट गरी ३४ वटा कोठा छन् । साथै करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन् । होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफेको पनि सुविधा छ । पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौंबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ । पर्याप्त सवारी साधन अट्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ। ‘पछिल्लो समय यहाँका पर्यटकीय गन्तव्यहरु महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्त्वका स्थानमा पर्यटकको संख्या बढिरहेको छ । उनीहरुका लागि लक्षित गरी होटल निर्माण गरिएको हो,’ अध्यक्ष तिमल्सिनाले भने । उनले नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापनका लागि सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको बताए । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले होटल सञ्चालनले यहाँको पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुलुकको पर्यटन क्षेत्रको विकास विना आर्थिक समृद्धि हासिल नहुने उल्लेख गर्दै उनले विकासको पहिलो सर्त पर्यटन क्षेत्र भएको बताए । ‘मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४.४ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउन सकिन्छ, यसका लागि होटललगायतका पूर्वाधारमा लगानी बढाउनु जरुरी छ,’ सीइओ न्यौपानेले भने, ‘पर्यटन क्षेत्रको विकासमार्फत स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने हो ।’ उनले हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका आउटलेटमा नेपालमै उत्पादित कफी खपत भइरहेको जानकारी दिए । ‘हाम्रो नेटवर्कभित्रका होटल, रेष्टुरेन्ट तथा क्याफेमा प्रयोग हुने कफी सिद्धार्थ ग्रुपअन्तर्गतको कृषि कम्पनी बायोटिका र नेपाली किसानले उत्पादन गरेको हो, आगामी दिनमा होटलमा स्वदेशमा उत्पादित खाद्यान्न हुनेमा हाम्रो जोड रहनेछ,’ उनले भने । एपेक्स हस्पिटालिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील न्यौपानेले आफूहरूले नयाँ व्यवसाय सुरुआत गरेको र सिद्धार्थ हस्पिटालिटीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भवन निर्माण सुरु गरेको लामो समयपछि सुविधासम्पन्न होटल तथा क्यूएफएक्स ब्राण्डमा दुई वटा सिनेमा हल सञ्चालनमा ल्याइएको जानकारी दिए । त्यसअवसरमा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले होटलको सेवा ग्राहकमुखी हुनुपर्ने बताए । उनले दमौलीमा अहिलेसम्मकै ठूलो लगानीमा होटल सञ्चालन आएको र यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा गलेश्वर धामका पीठाधीश स्वामी आत्मानन्द गिरीले होटलको व्यावसायिक सफलताको शुभकामना दिँदै मेहनतका साथै आत्धात्मिक चिन्तन र ध्यानले मात्रै सफलता प्राप्त हुने भएकाले मेहनतसँगै अध्यात्ममा केन्द्रित हुन सुझाव दिए । व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले दमौलीमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको उल्लेख गर्दै यसको सञ्चालनमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाए । होटल संघ गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गाविलास भट्टराईले यस होटल सञ्चालनले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे । उद्योग वाणिज्य संघ दमौलीका अध्यक्ष बैकण्ठनाथ मिश्रले दमौलीमा आवश्यकताअनुसारको स्तरीय होटल सञ्चालनमा आएको उल्लेख गर्दै यसको व्यावसायिक सफलताका लागि आफूहरूले साथ र सहयोग रहने उल्लेख गरे ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गर्‍यो प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको हो । कम्पनीको भदौ २८ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । फण्डको कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको कम्पनीले जनाएको छ ।

हाथवे इन्भेष्टमेन्टको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरू वितरण गरिने कम्पनी सचिव सुधा अर्यालले जानकारी दिए । कम्पनीले यसअघि आर्थिक वर्ष २०७९/८० मा १०.५२६ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा ५५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च, आज ३ हजारले बढ्यो

काठमाडौं । आज शुक्रबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलाको ३ हजार रुपैयाँले बढेर आज छापावाला सुनको भाउ १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो बिहिबार छापावाला सुनको भाउ १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । आज शुक्रबार चाँदीको भाउ पनि आज एकैपटक तोलामा ६५ रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

तनहुँमा ७ सय ७० साना उद्योग थपिए

फाइल तस्बिर । तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा ६६ लाख चार हजार दुई सय राजस्व सङ्कलन गरेको यो कार्यालयले आव २०८०/८१ मा रु ५१ लाख चार हजार आठ सय राजस्व सङ्कलन गरेको जनाएको छ । ‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्वि हुन थालेको छ, आव २०८०/८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्,’ कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने । त्यसैगरी, २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् । चालु आवमा उद्योगतर्फ साउन महिनामा तीन सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन् ।

डेंगु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव

पर्वत । डेंगु सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेंगुबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । अस्पताल सङ्क्रमितले भरिभराउ छ । साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् । नौवटा एम्बुलेन्स थन्किए  यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् । विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन् ।

१० ठूला बैंकको लेखापरीक्षण गर्ने केपीएमजीको प्रस्ताव रद्द

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्ने केपीएमजीको प्रस्ताव नेपाल राष्ट्र बैंकले रद्द गरेको छ । यसअघि १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न छनोट भएको भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिलाई राष्ट्र बैंकले रद्द गरेको हो । आवेदन दिएका विभिन्न ५ कम्पनीमध्ये राष्ट्र बैंकले गत साउन ३१ गते केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ अडिट (लेखापरीक्षण) फर्मलाई छनोट गरेको थियो । तर, शुक्रबार एक सूचना जारी गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३६ उपदफा १(ख) बमोजिम प्रक्रिया रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । यस व्यवस्थामा लागत अनुमान र उपलब्ध बजेटभन्दा छनौट भएको प्रस्तावदाताको लागत सारभूत रूपमा बढी भएमा रद्द गर्न सक्ने रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा ठूला बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले गत चैतमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।  आईएमएफसँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको आह्वानअनुसार नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षणका लागि छनोट भएका थिए । ती ५ अडिटफर्ममध्ये प्राविधिक रूपमा योग्य केपीएमजी एसुरेन्स छनोट भएको थियो । यसअघि प्राविधिक रूपमा योग्य केपीएमजीले सेप्टेम्बर १ मा फाइनान्सियल पर्पाेजल खुला गर्ने र १० ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्ने राष्ट्र बैंकले जनाएको थियो ।

यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ । अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम रहेको थियो । त्यसैगरी, युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा दर कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा कायम रहेको थियो । केन्द्रीय बैंकका अनुसार बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेकामा आजका लागि खरिददर १७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा तोकिएको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७० र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा कायम भएको छ । जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ४१ र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८८ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।