धरहरा खुलेको दिन आज चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरूको भीड लागेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ । सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एकाइका प्रमुख अधिकारीले विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए । ‘अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो । तर पहिलो दिन नै एक हजार दुई सय जानाले धरहरा चढेको आधिकारिक रेकर्ड छ,’ उनले भने । उनका अनुसार कतिपय मानिसहरू बिना टिकट नै धरहरा चढेका थिए । उनले भने, ‘आज अत्यधिक भिड भयो । भोलिदेखि व्यवस्थितरूपमा छ सय जनाका लागि मात्रै चढ्न दिन्छौं ।’ सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेञ्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । विसं २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु भएको थियो । विसं २०७८ वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहराको समुद्घाटन भएको थियो । धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ । विसं १८८२मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विसं १९१३ मा धरहरा चट्याङ परी भत्किएको थियो भने विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो । विसं १९९२ तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तलाबाट नौ तलामा सीमित भएको थियो । त्यसैगरी, विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।
पहिलो लायन्स गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता पोखरामा हुँदै
काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालमै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिताको आयोजना गर्ने भएकाे छ । प्रतियाेगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा सम्पन्न हुनेछ । प्रतियोगितामा नेपालका १६ जना राष्ट्रियस्तरका बाइक रेसिङ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयाेजकले जनाएकाे छ । समाज सेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तिकरण र मोटर स्पोर्टसजस्ता साहसिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिताले राष्ट्रिय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पुग्ने छ। असोज ४ गते प्राक्टिस राउन्डको आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुने आयाेजकले जनाएकाे छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई कप र नगद पुरस्कार प्रदान गरिनुका साथै प्रतियोगितामा सहभागी सबै खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको संयोजनमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्स र लायन्स क्लब अफ पोखराले प्रमुख भूमिका निर्वाह गरिरहेका छन्। प्रतियाेगिताका चार उत्कृष्ट खेलाडीहरूले विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाउन मौका पाउने आयाेजकले जनाएकाे छ । खेलकुद मन्त्रालयसँगको सहकार्यमा याे प्रतियोगितामा हुन लागेकाे हाे ।
एनसेल फाउन्डेसनले गर्यो पलेशा र अन्य पारा खेलाडीहरूलाई सम्मान
काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशालाई सम्मान गरेकाे हाे । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो । पलेशासँगै अन्य ४ सदस्यीय टोलीलाई पनि सम्मान गरिएकाे छ । पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख रुपैयाँ, तेक्वान्दो खेलाडी भरतसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । पारा खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए । सोही कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै पारा खेलाडीहरुलाई उच्च मनोबल र हौसला प्रदान गरकोमा एनसेललाई पनि सम्मान गरेको छ । पलेशाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उनलाई र अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गर्ने घोषणा गरेको थियो । एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआरअन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस सहकार्य अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहयोग गर्दै आएको छ ।
स्काइवर्थको दशैंतिहार योजना सार्वजनिक, उपहारको रूपमा कार पाउन सकिने
काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले दशैंतिहारलाई लक्षित गरी नयाँ याेजना सार्वजनिक गरेकाे छ । कम्पनीले ‘स्काइवर्थ सपना साकार, दशैंतिहारको बहार, बम्परमा कार उपहार’ याेजना ल्याएकाे हाे । याेजनाअन्तर्गत ग्राहकहरूले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्न सक्नेछन् र विभिन्न होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्ने कम्पनीले जनाएकाे छ । अफरमा अन्य थुप्रै पुरस्कार पनि उपलब्ध छन् । याे अफर असोज १ गते देखि कार्तिक ३० सम्म लागू हुनेछ । स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिङ मेसिन, एयर कन्डिसनरजस्ता होम एप्लायन्सेसहरू उपलब्ध गराउँदै आएकाे छ ।
वैदेशिक रोजगार बीमाको पुलले चार कम्पनीलाई फाइदैफाइदा, ६ कम्पनी मारमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पुल प्रणालीमा लैजान केही साताअघि एउटा मोडालिटी निर्माण गर्यो । चालु आर्थिक वर्ष २०८१/०८२ को सुरुदेखि नै पुल प्रणाली लागू गर्नेगरी प्राधिकरणले निर्देशिका नै बनायो । वैदेशिक रोजगार म्यादी बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै प्राधिकरणले पुल प्रणाली लागू गरेको जनाएको छ । वैदेशिक रोजगार म्यादी बीमाको व्यवसाय पाउन बीमा कम्पनीहरूसँग म्यानपावर कम्पनीले कमिसन लिने गरेको भन्दै यस व्यवसायलाई पुल प्रणालीमा लैजानुपर्ने धारणा केही जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले गर्दै आएका थिए । यस्तै, अन्य केही कम्पनीका सीईओहरूले भने म्यानपावर कम्पनीसँग ती जीवन बीमा कम्पनीले उधारोमा पोलिसी बिक्री गरेको आरोप लगाएका थिए । म्यानपावरले उक्त उधारो तिर्न आनाकानी गरेपछि पुल प्रणालीमा जान उनीहरूले दबाब सिर्जना गरेको आरोप पनि छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्ने निचोड निकालेर प्राधिकरणले पुल प्रणाली नै लागू गर्यो । कस्तो छ मोडालिटी ? प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१ सार्वजनिक गरेको छ । सो निर्देशनअनुसार अब कुनै पनि कम्पनीले जति नै व्यवसाय गरे पनि त्यसको ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्छ । एक प्रतिशत भने प्रशासनिक, उक्त पोलिसी जारी गर्दा लाग्ने खर्चलगायत खर्चका लागि कम्पनीले स्वयं आफैले राख्न पाउँछ । यसैगरी, सबै कम्पनीले आफूले संकलन गरेको बीमाशुल्कको बाँकी ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्ने निर्देशनमा भनिएको छ । उक्त पुलमा जम्मा भएको रकमको ३१ प्रतिशत रकम सबै बीमा कम्पनीहरूले आफूले गरिएको व्यवसायको अनुपातमा विभाजन हुन्छ । त्यसैगरी, बाँकी ६९ प्रतिशत रकम यस बीमा व्यवसाय गर्ने सबै कम्पनीलाई बराबर भाग हुन्छ । निर्देशनअनुसार चालु आवका लागि १५ वटा कम्पनीले यस व्यवसाय गर्न इच्छुक रहेकाले उनीहरूलाई त्यो ६९ प्रतिशत रकम बराबर अर्थात ४.६० प्रतिशतका दरले बाँढिन्छ । त्यस्तै, आव २०८२/०८३ मा संकलन गरेको रकमको १ प्रतिशत स्वयं कम्पनीले राख्ने र ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्छ । पुलमा जम्मा गरिएको रकमको ८५.५० प्रतिशत रकम सबै बीमा कम्पनीलाई बराबर भाग लाग्छ । बाँकी १४.५० प्रतिशत भने कम्पनी व्यापार गरेको अनुपातमा भाग लाग्छ । त्यस्तै, आव ०८३/०८४ मा भने पुलमा जम्मा गरिएको सबै रकम सबै कम्पनीलाई बराबर भाग लाग्छ । यसो गर्दा केही धेरै व्यवसाय गर्ने कम्पनीहरूले आफूले संकलन गरेको रकम पनि अन्य कम्पनीलाई बाँढिन्छ । कम व्यवसाय गर्ने अर्थात तुलनात्मक रूपमा कम बीमाशुल्क संकलन गर्ने कम्पनीले आफूले गरेको व्यवसायभन्दा बढी थप रकम प्राप्त गर्ने अवस्था सिर्जना हुन्छ । अर्थात् केही कम्पनीलाई यस प्रणालीले फाइदा र केही कम्पनीलाई यसले घाटा पुर्याएको बीमाका जानकारहरू बताउँछन् । कति हुन्छ नाफा-घाटा ? कुन कम्पनीलाई यो प्रणालीबाट कति फाइदा र कुन कम्पनीलाई कति घाटा भनेर विश्लेषण गर्नुपूर्व नेपालमा हाल कति जीवन बीमा कम्पनी छन् ? त्यसमध्ये गत चालु आवमा कुन-कुन कम्पनीले यो बीमा पोलिसी जारी गरे ? कुन-कुन कम्पनीले गरेनन् ? भन्ने कुरा बुझ्नु जरुरी छ । हाल नेपालमा तीन लघु जीवन बीमा कम्पनी छन् । १४ वटा ठूला जीवन बीमा कम्पनी छन् । समग्रमा १७ जीवन बीमा कम्पनी छन् । विदेशी २ जीवन बीमा कम्पनी मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले भने यो पोलिसी जारी नगर्ने भएका छन् । तसर्थ यो पोलिसि जारी गर्ने कम्पनीको संख्या १५ वटा रह्यो । कुन कम्पनीलाई कति फाइदा भन्नुपूर्व यो पोलिसी जारी गर्ने कम्पनीले गत आवमा गरेको कारोबारका आधारमा यहाँ विश्लेषण गरिएको छ । गत आवमा १५ मध्ये हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी बीमा पोलिसी बिक्री गरेका थिएनन् । यसैगरी, तीन लघु जीवन बीमाहरू गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले पनि गत वर्ष याे पोलिसी बिक्री गरेका थिएनन् । तयी कम्पनीहरूलाई पुल प्रणालीले घाटा हुन्छ या नाफा हुन्छ भनेरे विश्लेषण गर्ने आधार नै छैन । यीबाहेक गत आवमा १० जीवन बीमा कम्पनीले वैदेशिक रोजगार पोलिसी बिक्री गरेका थिए । अब हामीले कुन कम्पनीलाई कति नाफा वा घाटा भनेर विश्लेषण गर्न गत वर्षको तथ्यांकलाई केलाएर विश्लेषण गर्नेछाैं । उल्लेखित तथ्यांकअनुसार गत वर्ष ३ अर्ब १२ करोड ६८ लाख रुपैयाँ वैदेशिक रोजगारी म्यादी जीवन बीमाबापत बीमा शुल्क संकलन भएको रहेछ । यही तथ्यांकलाई आधार मानेर हिसाब गर्दा उक्त रकमको ९९ प्रतिशत रकम बीमा पुलको कोषमा जम्मा हुन्छ । अर्थात् ३ अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुलमा जम्मा हुन्छ । सो पुलमा जम्मा गरिएको रकमको ३१ प्रतिशत अर्थात ९५ करोड ९६ लाख रुपैयाँ कम्पनीको व्यापारको अनुपातमा भाग गरिन्छ । बाँकी ६९ प्रतिशत अर्थात २ अर्ब १३ करोड ५८ लाख रुपैयाँ १५ कम्पनीलाई बराबर भाग लगाइन्छ । यो रकम १५ कम्पनीलाई भाग गर्दा एक कम्पनीको भागमा १४ करोड २३ लाख ८६ हजार रुपैयाँ हुन जान्छ । सन नेपाल लाइफ सन नेपालले गत आवमा ८६ करोड ३० लाख ४९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । त्यसको एक प्रतिशत अर्थात ८४ लाख ३० हजार कम्पनीले खर्च कटाएर बाँकी ८३ करोड ४६ लाख १८ हजार रुपैयाँ पुलमा जम्मा गरिदिन्छ । यस कम्पनीले पुलको ६९ प्रतिशत अर्थात २ अर्ब १३ करोड ५८ लाख रुपैयाँबाट १४ करोड २३ लाख ८६ हजार प्राप्त गर्छ । र, ३१ प्रतिशत अर्थात् ९५ करोड ९६ लाख रुपैयाँको २६.९६ प्रतिशत रकम प्राप्त गर्छ । सो बापत २५ करोड ८७ लाख रुपैयाँ प्राप्त गर्छ । समग्रमा सन नेपालले ८४ लाख ३० हजार, १४ करोड २३ लाख ८६ हजार र २५ करोड ८७ लाख गरी कुल ५० करोड ५७ लाख ३८ हजार रुपैयाँ प्राप्त गर्छ । यहाँ कम्पनीलाई ३३ करोड ७३ लाख १० हजार रुपैयाँ घाटा भएको देखिएको छ । नेपाल लाइफ नेपाल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत बापत ६२ लाख ०८ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट १९ करोड ४ लाख ८० हजार गरी कुल ३३ करोड ९० लाख ७४ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ६२ करोड ८ लाख ६ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात् कम्पनीलाई २८ करोड १७ लाख ३१ हजार रुपैयाँ घाटा लागेको छ । आइएमई लाइफ आइएमई लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत बापत ३५ लाख ३५ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट १० करोड ८४ लाख ३४ हजार गरी कुल २५ करोड ४३ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ३५ करोड ३५ लाख ७३ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ९ करोड ९२ लाख १७ हजार रुपैयाँ घाटा हुने भएको छ । एशियन लाइफ एशियन लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत ३० लाख ३१ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ९ करोड २९ लाख ८५ हजार गरी कुल २३ करोड ८४ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ३० करोड ३१ लाख ४० हजार बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ६ करोड ४७ लाख ३७ हजार रुपैयाँ घाटा हुने भएको छ । नेशनल लाइफ नेशनल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २७ लाख १ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ८ करोड २८ लाख १३ हजार गरी कुल २२ करोड ७९ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २७ करोड १ लाख ११ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ४ करोड २२ लाख ११ हजार रुपैयाँ घाटा हुने भएको छ । सूर्यज्योति लाइफ सूर्यजोति लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २५ लाख रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ७ करोड ६६ लाख ७२ हजार गरी कुल २२ करोड १५ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २५ करोड ८६ हजार बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई २ करोड ८५ लाख २७ हजार रुपैयाँ घाटा हुने भएको छ । सानिमा रिलायन्स लाइफ सानिमा रिलायन्स लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २० लाख ५६ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ६ करोड ३० लाख ४५ हजार गरी कुल २१ करोड १० लाख ४३ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २० करोड ५६ लाख बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ५६ लाख ३१ हजार रुपैयाँ नाफा हुने देखिएको छ । रिलायबल लाइफ रिलायबल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १७ लाख ८० हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ५ करोड ४६ लाख १ हजार गरी कुल १९ करोड ८७ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १७ करोड ८० लाख बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई २ करोड ७ लाख ६६ हजार रुपैयाँ फाइदा हुने देखिएको छ । सिटिजन लाइफ सिटिजन लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १० लाख ५ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ३ करोड ८ लाख गरी कुल १७ करोड ४१ लाख ९४ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १० करोड ५ लाख बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ७ करोड ३६ लाख २२ हजार रुपैयाँ फाइदा हुने देखिएको छ । प्रभु महालक्ष्मी लाइफ प्रभु महालक्ष्मी लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १ लाख ८० हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ५६ लाख ६१ हजार गरी कुल १४ करोड ८२ लाख २७ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १८ लाख ७८ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात् कम्पनीलाई १४ करोड ६३ लाख ५३ हजार रुपैयाँ फाइदा हुने देखिएको छ ।
दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत हुने
काठमाडौं । संविधान दिवसका अवसरमा बिहीबार काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समारोहको सुरुवात गरिएको हो । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् । कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरू प्रस्तुत हुने जनाइएको छ । यस्तै समारोहमा आतिसबाजी गरेर संविधान दिवसको उल्लास छरिने छ । समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा हुने उक्त कार्यक्रमका चार घण्टासम्म चल्ने आयोजकले जनाएको छ । कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकारहरु आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । सो कन्सर्टमा आज साँझ प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुनेछन् । कार्यक्रममा राष्ट्रिय भावनाले प्रेरित १६ वटा गीत प्रस्तुत गरिने थियो । ‘नेसनल डे कन्सर्ट’ को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । सो क्षेत्र भएर आवतजावत हुने सवारीसाधनलाई आज राति आठ बजेसम्मका लागि डाइभर्ट गरिएको छ भने विभिन्न पायक पर्ने ठाउँमा पार्किङ तोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
न्यायाधीश ढुङ्गाना भन्छन्- संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संवैधानिक इजलास आवश्यक पर्दा हप्तामा तीन दिन नियमित रूपमा सञ्चालन गर्न सकिने बताएका छन् । संवैधानिक कानुन व्यवसायी मञ्चले संविधान दिवसका अवसरमा बिहीबार आयोजना गरेको ‘अन्तर–सरकारी विवाद निरुपणः संवैधानिक इजलासको प्रभावकारिता’ विषयक संवैधानिक संवादका क्रममा न्यायाधीश ढुङ्गानाले सर्वोच्च अदालतमा पूर्ण न्यायाधीश भएमा संवैधानिक इजलास तीन दिन चलाउन सकिने धारणा व्यक्त गरेका हुन् । ‘हाल बुधबार र शुक्रबार संवैधानिक इजलास सञ्चालन गर्दै आएका छौं, आवश्यक पर्दा तीन दिन पनि सञ्चालन गर्न सक्ने व्यवस्था छ,’ उनले भने, ‘तर पूर्ण न्यायाधीश हुनुपर्छ, संवैधानिक इजलास परेको दिन बिदामा नबस्ने पनि अनुरोध गर्नुपर्छ ।’ न्यायाधीश ढुङ्गानाले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) मा पनि संवैधानिक इजलासलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिए । नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीले संवैधानिक इजलासलाई प्रभावकारी बनाउनुपर्ने र उक्त इजलासमा भएका मुद्दालाई प्रकृति छुट्याएर चाँडै न्याय निरुपण गर्नुपर्नेमा जोड दिए । संविधानविद् डा भीमार्जुन आचार्यले संवैधानिक इजलास गठन गर्दादेखिका मुद्दा अहिलेसम्म पनि विचाराधीन अवस्थामा उक्त इजलास कार्यशैलीको औचित्यमाथि प्रश्न उठेको बताए । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अन्तर सरकारी विवाद निरुपण गर्न संवैधानिक इजलास गठन गरिएको उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउने विषयमा बृहत् छलफल जरुरी रहेकाले स्थायी न्यायाधीश नै त्यही इजलासका लागि तोक्नुपर्ने भनाइ राखे । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले संवैधानिक इजलासले विगतमा संविधान विघटनका दुई ठूला मुद्दा, स्टिङ अपरेसनलगायत मुद्दा राम्रोसँग हेरेको तर संवैधानिक आयोगका पदाधिकारी नियुक्ति विवाद अहिलेसम्म पनि टुङ्गिन नसक्नु दुःखद् भएको धारणा राखे । वरिष्ठ अधिवक्ताहरु रविनारायण खनान, दिनेश त्रिपाठी, महेशकुमार उपाध्याय र अधिवक्ताहरु शालिग्राम सापकोटा, डा रुद्र शर्मा, बाबुराम दाहाल, शान्ति खनाल, रोशनी पौडेल, विष्णुमाया भूसाल, प्रकाश महर्जन, ज्योति बाँनियालगायतले संवैधानिक इजालसमा धेरै समयदेखि मुद्दा भएको र छिटो विवाद निरुपणमा ध्यान दिन जरुरी भएको धारणा राखेका थिए । ‘अन्तर–सरकारी विवाद निरुपणः संवैधानिक इजलासको प्रभावकारिता’ विषयमा अधिवक्ताहरु राजुप्रसाद चापागाई, शर्मिला श्रेष्ठ र डा लीलाधर उपाध्यायले तयार पारेकाे आधारपत्रमा सर्वोच्च अदालतको पूर्ण बैठकमा संवैधानिक इजालसमा देखिएको विवादको न्याय निरुपणमा देखिएका समस्याको तत्काल समीक्षा गर्नुपर्ने र त्यस्ता मुद्दाहरुको पहिचान गरी तिनलाई यथोचित सम्बोधन गर्नुपर्ने, उक्त इजलास नियमित सञ्चालन गर्ने व्यवस्था गर्ने विषय राखेका थिए । मञ्चका अध्यक्ष ओमप्रकाश अर्यालले संवैधानिक विवादका मुद्दाको सुनवाइ गर्ने संवैधानिक इजलाजस नियमित सञ्चालन गर्नुपर्ने र त्यसलाई प्रभावकारी बनाउन जरुरी भएकाले छलफल चलाएको बताए ।
यी हुन् विश्वका १० महँगा कलेज, कति लाग्छ शुल्क ?
काठमाडौं । आजभोलि विश्वभरका विद्यार्थी आफ्नो अध्ययनको सिलसिलामा विभिन्न देशमा पुग्छन् । नेपालका विद्यार्थी पनि आफूलाई मन परेको विषय पढ्न विभिन्न देशमा पुगेका छन् । विशेषगरी नेपाली विद्यार्थीको प्रमुख गन्तव्यमा जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका देश रहेका छन् । कतिपय विद्यार्थी विश्वका महँगा कलेजमा पनि अध्ययन गरिरहेका छन् । कतिपय विद्यार्थीलाई कुन कलेज कति महँगा छन् र त्यहाँ कस्ता विषयहरू पढाइ हुन्छन् भन्ने थाहा नहुन सक्छ । अझ कतिपयलाई आफूले पढ्न चाहेको विषय पढ्दा कति पैसा लाग्छ भन्नेसमेत थाहा भएको हुँदैन । आउनुहोस् आज हामी विश्वका १० कलेज जहाँ पढाइ हुने विषय र पढ्दा लाग्ने खर्चबारे छाेटकरीमा चर्चा गर्नेछाैं । हार्वी मड कलेज हार्वी मड कलेज संसारको सबैभन्दा महँगो कलेज हो । यो संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको क्लेयरमोन्टमा अवस्थित निजी लिबरल आर्ट्स कलेज हो । यस कलेजलाई विज्ञान, इन्जिनियरिङ, गणित, र कम्प्युटर विज्ञानमा केन्द्रित शिक्षा प्रदान गर्ने संस्थाको रूपमा चिनिन्छ । यो एउटा यस्तो कलेज हो जसले आफ्ना सबै विषयहरूमा स्नातक तहको विज्ञान बिएस्सी उपाधि प्रदान गर्छ । यो कलेजमा पढ्न वार्षिक शुल्क ८० हजार ३६ अमेरिकी डलर तिर्नुपर्छ । कलेजमा ९ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । ९ सय जना फ्याकल्टीज (संकाय सदस्य) कार्यरत छन् । यहाँ जीवविज्ञान, रसायन विज्ञान, कम्प्युटर विज्ञान, इन्जिनियरिङ, गणित र भौतिक विज्ञान अध्ययन गराइन्छ । यो कलेज सन् १९५५ मा स्थापना भएको हो । कोलम्बिया विश्वविद्यालय कोलम्बिया विश्वविद्यालय संसारको दोस्रो सबैभन्दा महँगो कलेज हो । यहाँ अध्ययन गर्ने विद्यार्थीले वार्षिक ७१ हजार १ सय ७ अमेरिकी डलर तिरिरहेका छन् । यो अमेरिकाको न्यूयोर्क सिटीमा अवस्थित एउटा निजी आइवी लिग अनुसन्धान विश्वविद्यालय हो । यसलाई देशको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालमध्ये एकमा चिनिन्छ । कोलम्बिया विश्वविद्यालयमा करिब ३३ हजार विद्यार्थी र ४ हजार फ्याकल्टीज छन् । यो विश्वविद्यालय १७५४ मा बेलायतका राजा जर्ज द्वितीयको शाही चार्टरद्वारा किंग्स कलेजको रूपमा स्थापना गरिएको थियो । साथै यो अमेरिकी क्रान्तिअघि स्थापना गरिएका नवउपनिवेशकालीन कलेजहरूमध्ये एक हो । यहाँ वास्तुकला, व्यवसाय, इन्जिनियरिङ, पत्रकारिता ,कानुन, चिकित्सा अध्यापन गराइन्छ । अमेरिकाका ४४औं राष्ट्रपति बाराक ओबामा, अमेरिकाका संस्थापक सदस्य अलेक्जन्डर ह्यामिल्टन र अर्बपति वारेन बफेटले पनि यही कलेजमा पढेका हुन् । ब्राउन विश्वविद्यालय ब्राउन विश्वविद्यालय संसारको तेस्रो सबैभन्दा महँगो कलेज हो । यहाँ अध्ययन गर्न विद्यार्थीले वार्षिक ७० हजार ४ सय २५ डलर तिर्नुपर्छ । यो अमेरिकाको रोड आइल्याण्डको प्रोभिडेन्समा अवस्थित एउटा निजी आइवी लिग अनुसन्धान विश्वविद्यालय हो । यस विश्वविद्यालयलाई यसको लचिलो पाठ्यक्रमको लागि चिन्ने गरिन्छ । कलेजले विद्यार्थीलाई आफ्नै अध्ययन योजना बनाउन अनुमति दिन्छ । ब्राउन विश्वविद्यालयमा करिब १० हजार विद्यार्थी र ७ सय फ्याकल्टीज छन् । यस कलेजको स्थापना १७६४ मा ‘कलेज इन द इङ्ग्लिश कालोनी अफ रोड आइल्याण्ड एण्ड प्रोभिडेन्स प्लान्टेशन’ को रूपमा भएको थियो । यो पनि अमेरिकी क्रान्तिअघि चार्टर प्राप्त नौ उपनिवेशकालीन कलेजहरूमध्ये एक हो । यहाँ मानवशास्त्र,अर्थशास्त्र, इतिहास, स्नायुविज्ञान, दर्शनशास्त्र, मनोविज्ञानको पढाइ हुन्छ । युनिभर्सिटी अफ सिकागो युनिभर्सिटी अफ सिकागो संसारको चौंथो सबैभन्दा महँगो कलेज हो । जसमा वार्षिक शुल्क ६९ हजार ९ सय ६० डलर रहेको छ । यो अमेरिकाको सिकागोमा अवस्थित एउटा निजी अनुसन्धान विश्वविद्यालय हो । यसलाई शैक्षिक कठोरता, बौद्धिक विविधता र नवीनताका लागि चिनिन्छ । यस विश्वविद्यालयमा करिब १ हजार ७ सय विद्यार्थी र २ हजार ३ सय संकाय सदस्य छन् । १८९० मा यो विश्वविद्यालयको स्थापना प्रसिद्ध व्यवसायी र परोपकारी जोहन डी. रकफेलरले गरेका थिए । युनिभर्सिटी अफ सिकागो एसोसिएसन अफ अमेरिकन युनिभर्सिटिजका संस्थापक सदस्यहरूमध्ये एक हो । डार्टमाउथ कलेज यो कलेज विश्वको पाँचौं सबैभन्दा महँगो कलेजका रूपमा चिनिन्छ । यहाँ पढ्न वार्षिक शुल्क ६९ हजार ८ सय ७९ डलर लाग्छ । यो अमेरिकाकाे न्यू ह्याम्पशायरकाे एक निजी आइवी लीग अनुसन्धान विश्वविद्यालय हो । यो उदार कला शिक्षा, स्नातक फोकस र बाहिरी गतिविधिहरूको लागि परिचित छ । यसमा लगभग ७ हजार विद्यार्थी र ६ सय संकाय सदस्य छन् । कलेजको स्थापना १७६९ मा मण्डलीका मन्त्री इलिजर व्हीलकद्वारा गरिएको थियो । यो अमेरिकी क्रान्तिअघि चार्टर्ड नौ औपनिवेशिक कलेजहरू मध्ये एक हो। यो कलेजमा जीवविज्ञान, इन्जिनियरिङ, संगीत, मनोविज्ञान, थिएटर आदिकाे अध्यापन गराइन्छ । प्रख्यात वकिल र राजनेता डेनियल वेबस्टर, अभिनेत्री मेरिल स्ट्रिप, अभिनेत्री र लेखिका मिन्डी कलिङ यो कलेजका पूर्वविद्यार्थी हुन् । क्लेरमन्ट म्याकेना कलेज यो कलेज संसारको छैठौं सबैभन्दा महँगो कलेज हो । जसमा वार्षिक शुल्क मात्र ६९ हजार ७ सय २५ डलर लाग्छ । यो अमेरिकाकाे क्यालिफोर्नियामा रहेको एक निजी उदार कला कलेज हो । यो नेतृत्व, सामाजिक उत्तरदायित्व र सार्वजनिक मामिलाहरूका लागि परिचित छ । यसमा लगभग १ हजार ३ सय स्नातक विद्यार्थी र ९० संकाय सदस्य छन् । कलेज १९९४ मा स्थापना भएको हो र कलेजमा लेखा, अन्तर्राष्ट्रिय सम्बन्ध, दर्शन, विज्ञान व्यवस्थापन, समाजशास्त्र पढाइ हुन्छ । टफ्ट्स विश्वविद्यालय टफ्ट्स विश्वविद्यालय विश्वको सातौं सबैभन्दा महँगो कलेज हो । यहाँ वार्षिक शुल्क ६९ हजार १ सय ९० डलर छ । अमेरिकामा रहेकाे याे निजी अनुसन्धान विश्वविद्यालय हो । यसको अन्तःविषय दृष्टिकोण, शैक्षिक उत्कृष्टता र सिभिक इंग्गेजमेन्टको लागि परिचित छ । यसमा लगभग १२ हजार विद्यार्थी र १ हजार ५ सय संकाय सदस्य छन् । विश्वविद्यालय १८५२ मा क्रिश्चियन युनिभर्सलिस्टहरूद्वारा स्थापित गरिएको थियो । यो न्यू इङ्गल्याण्ड स्मल कलेज एथ्लेटिक कन्फेरेन्सको सदस्यहरूमध्ये एक हो । यहाँ बायोमेडिकल इन्जिनियरिङ, वातावरणीय अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिक विज्ञान, मनोविज्ञान, समाजशास्त्र विषय अध्ययापन गराइन्छ । एमहर्स्ट कलेज एमहर्स्ट कलेज संसारको आठौं महँगो कलेज हो । यहाँ वार्षिक ६८ हजार ६ सय ३४ डलर तिर्नुपर्छ । यो पनि अमेरिकाकाे एक निजी उदार कला कलेज हो । यो यसको खुला पाठ्यक्रम, शैक्षिक कठोरता र विविधताको लागि परिचित छ । यसमा लगभग १ हजार ८ सय विद्यार्थी छन् भने २ सय संकाय सदस्यहरू छन् । यसको स्थापना १८८१ मा भएको थियो । यहाँ कला, इतिहास, अर्थशास्त्र, अंग्रेजी, गणित, संगीत र भौतिकशास्त्रको पढाइ हुन्छ । साउथर्न क्यालिफोर्निया विश्वविद्यालय साउथर्न क्यालिफोर्निया विश्वविद्यालय संसारको नवौं सबैभन्दा महँगो कलेज हो । यहाँ अध्ययन गर्ने विद्यार्थी वार्षिक शुल्क २८ हजार ६ सय २८ डलर तिर्नुपर्छ । यो अमेरिकाकाे लस एन्जलसमा अवस्थित छ । यहाँ लगभग ४७ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् भने ४ हजार संकाय सदस्य छन्। विश्वविद्यालय १८८० मा नागरिक अगुवाको समूहले स्थापना गरेको कलेज हो । यहाँ वास्तुकला, सिनेमा कला, इन्जिनियरिङ, पत्रकारिता, औषधी, साेसल वर्क विषयमा पढाइ हुन्छ । यहाँ फिल्म मेकर जर्ज लुकास, अन्तरिक्षयात्री नेल आर्म्सट्राेङ, कलाकार विल फेररलगायतले अध्ययन गरेका थिए । कार्नेगी मेलन विश्वविद्यालय यो विश्वविद्यालय संसारको दशौं महँगो कलेज हो । यहाँ अध्ययन गर्न वार्षिक शुल्क ६८ हजार ४ सय ७८ तिर्नुपर्छ । यो अमेरिकाको पेन्सिलभेनियामा रहेकाे एक अनुसन्धानात्मक विश्वविद्यालय हो । यो कलेज विज्ञान विषयका लागि उत्कृष्ट मानिन्छ । यहाँ अहिले १४ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् भने १ हजार ४ सय संकाय सदस्य छन् । यो विश्वविद्यालयको स्थापना १९०० मा भएको हो । यो विश्वविद्यालयमा कम्प्युटर विज्ञान, नाटक, इलेक्ट्रिकल इन्जिनियरिङ, मनोविज्ञान, रोबोटिक्स, तथ्यांक अध्यापन गराइन्छ । यी कलेजमा अध्ययन गर्न के गर्नुपर्छ ? यदि तपाईं संसारका शीर्ष सबैभन्दा १० महँगा कलेजमा पढ्न इच्छुक हुनुहुन्छ भने विविध विषयमा जान्नुपर्ने हुन्छ । विश्वका धेरैजसो कलेजहरूले एसएटी, एसिटी टफेलजस्ता मानकीकृत परीक्षा दिनुपर्छ । कसैकाे आफ्नै भर्नाको लागि छुट्टै खालकाे परीक्षा लिन्छन् । तपाईंले परीक्षामा राम्रो अंक प्राप्त गर्नुका साथै अन्तिम म्यादअघि आफ्नो आवेदन पेश गर्न आवश्यक छ ।