अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ?
दोलखा । राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् । गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी यूनियनले जनाएको छ । युनियनले हिजो सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाबाट महत्वपूर्ण सामग्रीहरू शंकास्पद र रहस्यमयी ढङ्गबाट चोरी भएको जनाउँदै आवश्यक छानविन गरी दोषीउपर कडा कारबाही गर्न अनुरोध समेत गरेको छ । ‘तीनै तहको सुरक्षा घेराभित्र रहेको अवस्थामा विगतमा पनि आयोजनाका करोडौं करोड पर्ने क्रेनलगायत बहुमूल्य सम्पत्ति चोरी भएको सर्वविदितै छ । यसरी, अपर तामाकोशी कम्पनीको सम्पत्ति पटक–पटक चोरी निकासी हुनु रहस्यमय र शङ्कास्पद विषय भएकाले अपर तामाकोशीको सार्वजिनक सम्पत्ति दोहन र चोरी निकासी गर्नमा संलग्नमाथि आवश्यक छानविन गरी दोषीउपर कडा भन्दा कडा कानुनी कारबाहीका लागि यस यूनियन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । खासगरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरु मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठले बताए । चोरी भएका ती सामग्रीहरू करोडौं मूल्य पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको सम्पत्ति भएको उनको भनाइ छ । युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठ र महासचिव राजकुमार श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘क्षतिग्रस्त कन्ट्रोल विल्डिङ लगायतका स्थानहरुको सरसफाई गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू लगायतका करोडौं पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको संचारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस यूनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ तीन तहको सुरक्षा घेरा रहेको आयोजना परिसरबाट बहुमूल्य सामग्रीहरू चोरी हुनु शङ्कास्पद रहेको युनियनको ठहर छ । असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीबाट क्षति भएको आयोजनाका विभिन्न संरचनाहरू हाल मर्मतसम्भार भइरहेको छ । क्षतिग्रस्त स्थानको सरसफाई र कम क्षतिको सेटलिन बेसिनको मर्मत कार्य ‘डे वर्क्स’मा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित रोल्वालिङ खोला जलविद्युत् आयोजनाका मुख्य सिभिल ठेकेदार हाइ हिमाल हाइड्रो कम्पनीबाट भइरहेको छ ।
हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षयमा विजय मान नकर्मी नियुक्त भएका छन् । कार्तिक २६ गते बसेको संस्था सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा नकर्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि वित्तीय संस्थामा अध्यक्ष रहिसकेका उनले हिमालयन बैंकबाट बैंकिङ सेवा सुरु गरी करिब ३२ वर्ष देखि बैंकिङ क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । ‘यस वित्तीय संस्थाको कार्तिक २६ गते सोमबार बसेको सञ्चालक समितिको २३५ औं बैठकले विजय मान नकर्मीलाई सञ्चालक समितिको अध्यक्षको पदमा सर्वसम्मत रुपमा चयन गरेको हो,’ नेप्सेको मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।
सरकारले कुलमानलाई फेरि सोध्यो स्पष्टीकरण, हटाउने तयारी
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुनः ६ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको हो । अहिलेको स्पष्टीकरणमा पहिलेको जवाफ किन समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइनको महसुल किन समयमै नउठाएको, मन्त्रालय मातहतको निकाय भए पनि सबै जानकारी किन माथि नदिएको जस्ता विषय समेटिएर मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको हो । सरकारले यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरेको थियो । कात्तिक १३ गते ऊर्जासचिव सुरेश आचार्यले बिदाबाहेक सातदिनको म्याद दिएर घिसिङलाई स्पष्टीकरण पत्र पठाएका थिए । १३ गते पत्र पठाए पनि १५ देखि १९ गतेसम्म तिहार बिदा भयो । २२ गते छठको बिदा पर्यो । त्यही कारण सरकारले पठाएको पत्रको जवाफ पठाउने अन्तिम दिन आज हो । हालसम्म घिसिङले यसको जवाफ नपठाएको ऊर्जा मन्त्रालयको भनाइ छ । वर्तमान सरकार कुलमानलाई हटाउने पक्षमा छ । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले उनलाई हटाउने तयारी थालेका छन् । घिसिङले लाइन काटेका उद्योगमा लाइन जोड्ने सरकारको निर्णयलाई कार्यान्वयन गरेका छैनन् ।
लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावी पुस्तालाई समेत गरिबी र अभावको दुष्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरे । ‘नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्याउने सोंच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ,’ अध्यक्ष ढकालले भने । मुलुकमा विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताए । ‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तव्य पाएको छ,’ उनले भने । अध्यक्ष ढकालले गण्डकी प्रदेश र गैंडाकोटको विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताए । हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसङ्ग उठाउँदै उनले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र सम्मृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताए । आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउन महासंघले पहल गरिरहेको दावी पनि गरे । उनले प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्याङ्कन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गरे ।
फोटनको माउन्टेन इभी भ्यान नेपालमा सार्वजनिक, मूल्य कति ?
काठमाडाैं । चाइनाको विद्युतीय गाडी उत्पादक कम्पनी फोटोनको माउन्टेन इलेक्ट्रिक भ्यान नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले सोमबार एक कार्यक्रमका बीच उक्त भ्यान सार्वजनिक गरेको हो । भ्यान सार्वजनिकसँगै उक्त भ्यान खरिद गरेका १०० जना ग्राहकलाई साँचो पनि हस्तान्तरण गरिएको थियो । कम्पनीका अनुसार उक्त गाडीको रेन्ज ३०० किलोमिटर रहेको छ । उक्त गाडी किन्दा ८० प्रतिशत फाइनान्सिङको पनि व्यवस्था रहेको जनाइएको छ । १४ सिट भएको भ्यानको ५८ लाख ९९ हजार, १५ सिट भएको भ्यानको ५७ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ । यस्ता छन् उक्त भ्यानका विशेषताहरू उक्त भ्यान युरोपियन युनियन डब्लूभीटिए प्रमाणित सवारीसाधन हो । जसको परीक्षण र निरीक्षण जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ । सो भ्यान अन्य भ्यानको तुलनामा अग्लो रहेको छ जसले भित्र प्यासेन्जरलाई बस्न कम्फर्टेबल हुने कम्पनीकाे दावी छ । ५५.५८ किलोवाटको ब्याटरी रहेको भ्यानकाे ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ । यसैगरी, सो गाडीमा ३३० एनएमको तनाई रहेको छ । १३० किलोवालटको मोटर पावर र २५ डिग्रीको उकालो बाटोमा पनि गाडी सहजै चल्ने जनाइएकाे छ । यस्तै, उकालोमा ब्रेक लाग्दा अटो होल्ड हुने, स्मार्ट पार्किङ, हिल होल्ड कन्टोल लगायतका विषेशताहरू रहेका छन् । यस्तै, सो गाडी दुईवटा मोडमा चलाउन सकिन्छ । ईको र पावर मोडमा सो गाडी चलाउन सकिन्छ । उक्त गाडीको वारेन्टी ५ वर्ष वा ३ लाख किलोमिटर रहेको कम्पनीले जनाएकाे छ । चाइनाको कमर्सियल इभी उत्पादनमा फोटन १९ वर्षदेखि नम्बर एक हुँदै आएको एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ताले बताए । उनले भने, ‘फोटोन भारतमा सर्वाधिक विक्री हुने ईभी बस रहेको छ । फोटनले दक्षिण अमेरिकामा ९ लाख भन्दा धेरै कमर्सियल गाडी निर्यात गरेको छ ।’ भ्यान सार्वजनिक कार्यक्रममा एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवाल, फोटोनको साउथ एसिया रिजनल म्यानेजर, एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ता, एमएडब्लु वृद्धिको एमडी विवेक शिकारिया, सेल्स हेड नवीन आचार्यलगायतको उपस्थिति रहेको थियो ।
प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । स्थानीय सानोभर्याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ । केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।
नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाउन प्रधानमन्त्रीको आग्रह
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भने । प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपिपी)को कुनै कुरा वा चर्चा नै नभएको बताए । संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उनले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौं फर्केका थिए ।
यु-१९ महिला टि-२० विश्वकप : नेपालले आज कुवेतको सामना गर्दै
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन स्टेडियममा नेपाली समयानुसार ११ः१५ बजे खेल सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाचौँ खेल हो । नेपालले यसअघि तीन खेलमा जित हासिल गरेको छ, भने एक खेलमा पराजित भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो । नेपालले तेस्रो खेल शनिबार घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । चौथो खेलमा आइतबार थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ ।