आँधीघाटमा पक्की पुल अन्तिम चरणमा
वालिङ । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो । स्याङ्जाको चापाकोट नगरपालिका–१० र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने गरी आँधीघाटमा निर्माण भइरहेको पुलको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सन्तोष कँडेलले बताए । ‘दुई प्रदेशका स्याङ्जा र पाल्पा जिल्लालाई जोड्नेगरी कालीगण्डकी नदीका दुई ठाउँमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो’, उनले भने, ‘मूल्य अभिवृद्धि करसहित ५५ करोड रुपैयाँमा एउटै ठेक्कामार्फत दुईवटा पुलको निर्माण भइरहेको छ ।’ आँधीघाट र बाँसटारीमा दुई पुल निर्माण भइरहेको छ । आँधीघाटमा निर्माण भइरहेको पुल दुई सय २० मिटर लम्बाइको हुनेछ । दुईवटा फुटपाथसहित पुल साढे १० मिटर चौडाइको हुने भएको हो । एक दशमलव पाँच मिटर चौडाइका फुटपाथ पुलको दुवै किनारामा निर्माण गरिने भएको हो । सम्झौता भएको मितिले पुल निर्माणकार्य तीन वर्षमा सक्नुपर्ने भए तापनि कोभिडलगायतका महामारीका कारण समयावधि थप गरी २०८२ को चैतसम्म रहेको उनले बताए । ‘हालसम्म आँधीघाटको पुलको भौतिक प्रगति ८५ प्रतिशत छ’, उनले भने, ‘काम तीव्रगतिमा अगाडि बढेकाले सम्भवतः २०८२ को नयाँ वर्षदेखि नै पुल निर्माण सम्पन्न भई सवारीसाधन चल्न सक्छन् ।’ चारवटा स्पान रहने निर्माणाधीन पुलको तीनवटा स्पान निर्माण सम्पन्न भएको छ । एउटा स्पान निर्माणको काम अहिले जारी छ । आँधीघाटमा हाल झोलुङ्गे पुलबाट वारपार गरिरहेका यात्रीलाई पक्की पुल निर्माण सम्पन्न भएसँगै सहज हुने भएको हो । आँधीघाटमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै स्याङ्जाको चापाकोट पाल्पाको रामपुर–१० बर्दलेस्थित कालीगण्डकी करिडोरमा जोडिने छ । अहिले आँधीघाटमा रहेको झोलुङ्गे पुलबाट पैदलयात्री तथा मोटरसाइकल वारपार गर्दै आएका छन् ।
फोरजी प्रविधि विकास गर्ने ६ मुलुकमा भारत
काठमाडौं । केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा फोर–जी प्रविधि विकास गरेका विश्वका ६ मुलुकमध्ये भारत एक बनेको बताएका छन् । मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारको कार्यकालको पहिलो १ सय दिनका उपलब्धीहरू सुनाउने क्रममा उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीको उद्देश्य बिएसएनएलका लागि विदेशी प्रविधि समावेश गर्ने फोर–जी विकास गर्नु थिये, साथै, भारतलाई प्रविधि उपकरण उत्पादकका रूपमा पनि स्थान दिनु थियो । यसले हाम्रो क्षमता र दृढ सङ्कल्प झल्काउँछ, जुन प्रधानमन्त्रीको दृष्टिकोणसँग मेल खान्छ,’ उनले भने । उनका अनुसार आफ्नो फोर–जी प्रविधि स्थापना गर्ने विश्वव्यापी ६ मुलुकमध्ये भारत एक रहेको र त्मनिर्भरता हासिल गर्न विश्वको छैटौँ राष्ट्र बनाएको छ । पछिल्लो १ सय दिनमा ७ हजार २५८ टावर खडा गरी सञ्चालनमा ल्याएको उनले बताए । ९ हजार ५६० गाउँमा पूर्ण सञ्चार सेवा प्रदान गरेको उनको भनाइ छ । अनुसन्धान र सिक्स–जी इकोसिस्टमअन्तर्गत देशका विभिन्न संस्थामा ८१ वटा फाइभ–जी प्रयोगशालाहरू स्थापना गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।
एटीएमबाट भुक्तानी नभएको तर खातामा काटेको रकम बैंकमा दाबी गर्नुपर्ने
काठमाडौं । कामना सेवा विकास बैंकले एटीएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा भुक्तानी नभएको तर खातामा घटेको रकम दाबी गर्न आग्रह गरेको छ । एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी बाँकी रहेकाले दाबी गर्न बैंकले भनेको हो । ‘बैंकका ग्राहकहरूले अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी लिने क्रममा तथा अन्य व्यक्तिहरूले यस बैंकको एटिएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा खाताबाट रकम काटिएको तर नगद प्राप्त नभएको वा खाताबाट रकम काटिएको तर पीओएसमा भुक्तानी नभएको केही रकम बक्यौता रहेको छ,’ बैंकले भनेको छ । ३५ दिन भित्र आवश्यक प्रमाण सहित उक्त रकम दाबी गर्न बैंकले आग्रह गरेको हो ।
तिते करेला १० रुपैयाँ बढ्यो, कुन तरकारीको मूल्य कति ?
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । आज भारतीय गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४६.६७ रुपैयाँ तोकिएको छ । रातो आलु ७७.६७ रुपैयाँ, भारतीय रातो आलु ६२.३३ रुपैयाँ, मुडे आलुको ६९ रुपैयाँ तोकेको छ । भारतीय प्याज सुकेको ११२.३३ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, तराईको गाजर ११० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, तराईको बन्दा ४५ रुपैयाँ, स्थानिय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रीड) २८.६७ रुपैयाँ तोकिएको छ । यस्तै लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा ३५ रुपैयाँ, तने बोडी ६५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी ७५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ८१.६७ रुपैयाँ, टाटे सिमी ७१.६७ रुपैयाँ, भटमासकोशा ५६ रुपैयाँ तोकिएको छ । हिजो ६५ रुपैयाँ केजी रहेको तितो करेला आज ७५ रुपैयाँ पुगेको छ । तिते करेला १० रुपैयाँ बढेको हो । लौका ३५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, घिरौला ७५ रुपैयाँ, झिगूनी ७५ रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, डल्लो हरियो फर्सी ३५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, बरेला १२५ रुपैयाँ, पिंडालू ५५ रुपैयाँ, स्कूस २२.३३ रुपैयाँ रहेका छन् । रायो साग ७५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, प्याज हरियो १९० रुपैयाँ, च्याउ (कन्य) १९० रुपैयाँ, च्याउ (डल्ले) २८६.६७ रुपैयाँ, कुरीलो ४७६.६७ रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ मूल्य तोकिएको छ । [pdf id=512063]
१ लाख बढी कित्ता सेयर बेच्दै कुमारी बैंक
Kumari bank head office काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक बाहिरिँदै
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लाष्ेका हुन् । बैंकका अनुसार ८ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ९० हजार ५६९ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।
विश्वको सातौँ अग्लो हिमाल चढ्न १४ जनालाई अनुमति
काठमाडौं । यस वर्षको शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६ लाख ८९ हजार रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । गत वसन्त याममा तीन समूहका २२ पुरुष र ८ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत ७१ लाख ७० हजार ७५० रुपैयाँ शुल्क सङ्कलन भएको विभागले जनाएको छ । आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र २७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट ४ करोड ५२ लाख ४५ हजार ८४८ रुपैयाँ आरोहण शुल्क प्राप्त भएको छ । शरद्मा सगरमाथाबाहेक ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो । पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो ५, थाकर गो इस्ट ४, पुङ्गी ५, कुम्भकर्ण ५, अरनीको चुली ३, अपी ६ र मकालु पहिलो आरोहण गर्न २ जनाले अनुमति लिएका छन् । सरदयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ । गत वसन्तयाममा नेपालका ३० वटा हिमाल आरोहणका लागि १ हजार २ जनाले अनुमति लिएका थिए । उनीहरुले ६८ करोड ९९ लाख ७५ हजार ३११ रुपैयाँ आरोहण शुल्क तिरेको विभागले जनाएको छ ।
गरिमा विकास बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंकले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ लाख ३३ हजार २८७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकले बिक्रीमा राखेको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयरमा सर्वसाधारणले समेत आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । साथै १ लाख ८ हजार १३० कित्ता सेयरमा भने बैंकका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र उक्त सेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।