विकासन्युज

सानिमा बैंकका ग्राहकले सीजीका सामग्री किन्दा विशेष छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकले सीजीका सामग्री किन्दा विशेष छुट पाउने भएका छन् । यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यू आर स्क्यान) मार्फत सीजी डिजिटल प्राइभेट लिमिटेडमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएकाे छ । साथै सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (इएमआई) मा परिणत गर्दा १ हजार रुपैयाँ बराबरको क्याशब्याकको व्यवस्था पनि गरिएकाे छ । क्याशब्याक न्यूनतम ३० हजार रुपैयाँकाे कारोबारमा प्रदान गरिनेछ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital- banking/offers मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

दुई वर्षदेखि भुक्तानी रोकिएको छ, सरकारले ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ : अध्यक्ष सिंह

  काठमाडौं । निर्माण व्यवसायीहरूले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधवार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो गुनासो गरेका हुन् । निर्माण व्यवसायीहरूले नयाँ सरकारले गरेका प्रतिबद्धताअनुसार निर्माण व्यवसायीहरूका समस्या समाधान हुने ठूलो आशा राखे पनि दुई महिनासम्म पूरा हुन नसकेको बताए । निर्माण व्यवसायीहरूका समस्या समाधान हुने अपेक्षा कमजोर भएको उल्लेख गरे । निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रूपमा काम गर्ने वातावरण बनाउने आश्वसन पाएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरूमा निराशा छाएको बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेको दुई महिना भएपनि निर्माण व्यवसायीका समस्यामा सरकार मौन बसेको बताए । उनले सरकारले गर्नुपर्ने भुक्तानी र अन्य समस्या तत्काल समाधान हुने आशा जगाए पनि निर्माण व्यवसायीहरुले अनुभव गर्न नपाएको गुनासो गरे । उनले आपूर्ति चक्रमा समस्या हुँदा भुक्तानी गर्न नसकिएको बताए । अध्यक्ष सिंहले मौद्रिक नीतिले मंसिर महिनासम्म निर्माण व्यवसायीहरूले बुझाउनुपर्ने किस्ता र ब्याजको लागि सहुलियत दिएपनि त्यसले निर्माण क्षेत्र चलायमान हुनसक्ने अवस्था नरहेको बताए । उनले भने, ‘सरकारले विभिन्न निकायबाट ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । काम गरेको भुक्तानी लिन र समस्या समाधानको लागि व्यवसायीहरू मिडिया जानुपर्ने अवस्थाको निराकरण नहुने हो भने आउने वर्षमा निर्माण व्यवसायी सरकार प्रति ढुक्क हुने अवस्था आउँदैन । विगत दुई वर्षदेखि भुक्तानी हुन छाडेको छ । ६ सय अर्बका आयोजनाहरू नखुम्च्याएसम्म यसको निराकरण हुँदैन ।’ अध्यक्ष सिंहले वर्षातपछि निर्माणको योजना बनाउनुपर्ने समय भएपनि व्यवसायीहरूले निर्माणको योजना बनाउन नसकेको पनि बताए ।

गुडलाइफले ल्यायो विश्वको पहिलो ‘कफी चेविङ्गम’

काठमाडौं । कफीप्रेमीहरूका लागि अब कफीशप धाइरहन पर्दैन । कपको आवश्यकता बिना कफीको चाहना अब गुडलाइफले पूरा गर्ने भएकाे छ । गुडलाइफले कफी चेविङ्गम बजारमा ल्याएकाे छ । कम्पनीका अनुसार याे विश्वको पहिलो चेविङ्गम हाे । वास्तविक तरल कफी भएको ‘कफी गम’ क्यापुचिनो र अमेरिकानो मन पराउनेहरूका लागि सान्दर्भिक हुने गुडलाइफले जनाएकाे छ । कफी गमकाे मूल्य केवल २.५ रुपैयाँ हो। ग्राहकले दुई जार कफी गम किन्दा एक नि:शुल्क कप प्राप्त गर्नेछन् । प्रत्येक जारमा १५० वटा गम समावेश राखिएकाे छ । कफी गम २० सेप्टेम्बरदेखि बजारमा उपलब्ध भइसकेकाे कम्पनीले जनाएकाे छ ।

हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन

मकवानपुर । हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सो सडकमा सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो । स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ ।

जहाँ हुन्छन् दिपेन्द्र अग्रवाल, त्यहाँ हुन्छ उग्रविवाद

काठमाडौं । दिपेन्द्र अग्रवाल पुँजी बजारप्रति चासो दिने धेरैले चिन्ने नाम हो । सेयर बजारमा सक्रिय लगानीकर्ता दिपेन्द्र विभिन्न कम्पनीको सञ्चालकसमेत बनिसके । पुँजी बजारको विकासका लागि बेलाबखत राम्रा विषय उठान पनि गर्छन् । बजारमा छिर्ने नयाँ लगानीकर्ताले उनलाई पछ्याउँछन् पनि । तर, सामाजिक सञ्जालमा उनको सतही र नकारात्मक टिप्पणीले उनको पहिचान खस्किरहेको छ । उनीमाथि बेलाबखत लगानीकर्तालाई फसाउने आरोप पनि लाग्छ । त्यसको उनी खुलेरै आलोचना पनि गर्छन् । तर, जुन किसिममा नयाँ पुस्ताले उनलाई पछ्याइरहेका छन्, त्यो किसिमको पहिचान उनले स्थापित गर्न सकेका छैनन् । सेयर बजार प्राविधिक ज्ञान, विवेक र क्षमता भएकाहरूको लगानी गर्ने साझा प्लेटफर्म हो । यहाँ एकले अर्काको पैसा खोस्ने खोस्ने प्रतिस्पर्धा हुन्छ । एकले गुमाउँदा अर्को कमाउँछ । तर, लगानीकर्ता दिपेन्द्र उदार बन्ने प्रयत्न गर्छन् र समाजिक सञ्जालमा ‘यो सेयर किन, त्यो सेयर बेच’ भन्ने लगायतका भ्रमपूर्ण टिप्सहरू राखेर नयाँ लगानीकर्तालाई ‘सेयरको पासो’मा पार्छन् । त्यस कारण पनि उनी विभिन्न समयमा विवादित बन्छन् । उनी जहाँ आवद्ध हुन्छन्, त्यहीं आलोचित र विवादित बन्ने उनको पहिचान बनिसकेको छ । हालसम्म उनी आवद्ध भएको एक दर्जन बढी ठाउँमा विवादित बनिसकेका छन् । मेगा बैंकबाट निकालिए एक दशकअघि साविक मेगा बैंकको सञ्चालक बन्न चाहन्थे दिपेन्द्र । २०७० सालमा साविक मेगा बैंकको सञ्चालक बन्न वार्षिक साधारणसभामा सर्वसाधारण समूहबाट उम्मेदवारी दिए । अन्य कसैले उम्मेदवारी नदिएपछि उनी स्वतः साविक मेगा बैंकको सञ्चालकमा निर्विरोध चयन भए । जब उनी बैंकको सञ्चालक बने त्यसपछि बैंकका लागि उनी टाउको दुखाइको विषय बने । साविक मेगा बैंक स्रोतका अनुसार चार वर्षका लागि सञ्चालक बनेका दिपेन्द्र सञ्चालक बनेपछि बैंकका लागि चिन्ताको विषय बनेको थियो । किनभने उनी सञ्चालक समितिका अधिकांश निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर विमति जनाउँथे ।  उनले सञ्चालक समितिमा भएका छलफल र निर्णयलाई अडियो रेकर्ड गरेर सार्वजनिक गरेकाे आरोप पनि लाग्थ्यो । बैठक सकिएपछि अडियो रेकर्डलाई सीडीमा राखेर बिक्री गर्ने गरेको आरोप पनि उनले अहिलेसम्म खेप्दै आएका छन् । ‘सञ्चालक समितिको बैठकमा जे विषयमा पनि नोट अफ डिसेन्ट लेख्नुहुन्थ्यो, चार वर्ष सञ्चालक रहँदा बैंकलाई धेरै गाह्रो भयो,’ स्रोतले भन्यो,  ‘अनि सञ्चालक समितिका निर्णयलाई रेकर्ड गरेर सबैलाई बाँड्ने काम गर्नु हुन्थ्यो ।’ पछि साधारणसभा आउनुअगावै बैंकले सञ्चालक समितिबाट दिपेन्द्रलाई बर्खास्त गर्‍याे । आफूलाई बैंकले अन्याय गरेको भन्दै उनले नेपाल राष्ट्र बैंकमा उजुरी समेत दिए । तर, उनको उजुरीलाई राष्ट्र बैंकले चासो नै दिएन । पछि खारेज गर्‍याे । दीपेन्द्र दोस्रोपटक बैंक सञ्चालक बन्न निर्वाचन लडे । तर, पराजित भए । जीआईसीमा सेयर चलखेल मेगा बैंकको सञ्चालबाट निकालिएका दिपेन्द्र साविक जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) को सञ्चालक पनि बने । जीआईसीमा भने उनी संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए । रोचक विषय के छ भने उनी यस कम्पनीमा पनि निर्विरोध सञ्चालकमा चयन भएका थिए । तर, उनले सञ्चालक पदमा रहेकै समयमा सेयरमा चलखेल गरेको आरोप उनीमाथि लाग्यो । उनीविरुद्ध उजुरी परेपछि नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति)ले स्थलगत निरीक्षण गर्‍याे । स्थलगत निरीक्षणबाट अग्रवालले निर्देशिका विपरीत सेयर खरिदबिक्री गरेको आरोपमा बीमा प्राधिकरणले अग्रवाललाई कारबाही गर्‍याे । ‘अग्रवाललाई कम्पनीको लगानी समितिको संयोजकको जिम्मेवारी दिइएको थियो । तर, उनले बीमा कम्पनीको फण्ड लगानी गर्न खोलिएको ब्रोकर अकाउन्टको टीएमएस पासवर्डलाई गलत प्रयोग गर्नुभयो । कम्पनीको ब्रोकर टीएमएस खाताबाट व्यक्तिगत रूपमा कारोबार गरेको पाइयो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यसपछि कारबाही गरेका थियौं ।’ निलम्बनमा परेका दीपेन्द्र २ वर्षमै राजीनामा दिएर कम्पनीबाट बाहिरिए । त्यहाँ पनि उनी विवादित बनेर बाहिरिएका थिए । विवाद गर्दै ब्रोकर फेर्दै लगानीकर्ता र ब्रोकर कम्पनीबीच विश्वासका आधारमा कारोबार हुन्छ । त्यसैले पनि लगानीकर्ता र ब्रोकरबीच लेनदेनका विषयमा विवाद भएको खासै सुनिँदैन । तर, लगानीकर्ता दीपेन्द्र जुन ब्रोकर कम्पनीबाट कारोबार गर्छन्, सो कम्पनीमा विवादित भएरै निस्किन्छन् । पछिल्लो समय सिप्ला सेक्युरिटज प्रालि (ब्रोकर नम्बर २०) र दीपेन्द्रबीचको विवाद छताछुल्ल मात्रै भएको छैन, त्यसले एउटा जटिल रूप निर्धारण गरेको छ । ‍यसमा को दोषी र को निर्दोषी भन्ने विषय समयले निर्धारण गर्ला । ब्रोकर कम्पनीले कारोबारबापतको रकम नदिएको आरोप लगानीकर्ता दीपेन्द्रले लगाएका छन् । सिप्ला सेक्युरिटिजले भने दीपेन्द्रले ब्रोकर कम्पनीलाई तिर्नुपर्ने रकम लिनुपर्ने भन्दा बढी रहेको र उनले कम्पनीको चेक चोरेको आरोप लगाएको छ । कम्पनीका अनुसार दिपेन्द्र अग्रवालबाट विगतमा धेरै ब्रोकर कम्पनी पीडित भएका थिए । त्यसैले उनीबाट सचेत रहन र तत्कालै कारोबार रोक्का गरी निजसँगको हिसाब चुक्ता गर्न सबै ब्रोकर कम्पनीलाई सिप्ला सेक्युरिटिजले सुझावसमेत दिएको छ । लगानीकर्ता दीपेन्द्र र २० नम्बर ब्रोकरबीच सेयर कारोबारको हिसाब मिलानका विषयमा विवाद भएको हो । उनीसँगको हिसाब फरकफारक गर्न सिप्लाका प्रतिनिधि एक करोड रुपैयाँका दरले १६ करोड रुपैयाँका १६ वटा चेक लिएर असोज ४ गते ग्लोबल आइएमई बैंकको टोखा शाखामा पुगेका थिए । तर, लगानीकर्ता दीपेन्द्रले प्रतिनिधिलाई झुक्याएर बैंकका शाखा प्रबन्धकसमक्ष गएर हिसाब मिलान गर्न लगाउँछु भन्दै चेक लिएर फरार भएको ब्रोकर कम्पनीको आरोप छ । लगानीकर्ता दीपेन्द्रले भने सेयर कारोबार गरेबापतको ८ करोड रुपैयाँ र केही सेयर नदिएको ब्रोकर कम्पनीमाथि आरोप लगाएका छन् । सिप्ला सेक्यूरिटिज र लगानीकर्ता दीपेन्द्रबीचको विवाद नेपाल स्कट एक्सचेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन) र प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुगिसकेको छ । तर, यो विवादको समस्या समाधान हुन सकेको छैन । दीपेन्द्रका अनुसार सीआईबीमा भएको सहमतिअनुसार एक साताभित्र हिसाब मिलान गर्ने भनेर सिप्ला सेक्युरिटिजले प्रतिबद्धता गरेको थियो । तर, चेक दिएर फेरि एक साता समय मागेको उनले बताए । कम्पनीले आरोप लगाए जसरी चेक लिएर आफू नभागेको उनकाे को दाबी छ । अहिले कम्पनीले दिएको चेक बाउन्सका लागि उजुरी समेत दिइसकेको उनले बताए । लगानीकर्ता दीपेन्द्रले विवाद गरेको सिप्ला सेक्यूरिटिज मात्रै पहिलो ब्रोकर कम्पनी होइन । यसअघि पनि थुप्रै ब्रोकर कम्पनीसँग उनको विवाद परेको थियो । विवाद भएपछि उनी ब्रोकर कम्पनी फेर्दै आएका छन् । यसअघि उनले श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नम्बर २८) र साउथ एशियन बुल्स (ब्रोकर नम्बर ४३)सँग पनि विवाद गरेका थिए । स्रोतका अनुसार साउथ एशियन बुल्ससँगको विवाद मारवाडी सेवा समुदायको मण्डलले सल्टाएको थियो । ‘४३ नम्बर ब्रोकर पनि अग्रवालकै हो, उनी दिपेन्द्रकै आफन्त पर्छन्, सिप्लाको जस्तै विवाद ४३ नम्बर ब्रोकरसँग भएको थियो,’ नेप्से स्रोतले भन्यो,  ‘त्यो लफडा नेप्सेबाट सेबोनमा गयो । तर, नसल्टेपछि मारवाडी सेवा समुदायमा लगेर सल्टाएको थियो । आफूहरूको बेइज्जत गर्नु हुँदैन भनेर मिलाएका थिए ।’ एक पीडित ब्रोकरका अनुसार लगानीकर्ता दीपेन्द्रले आफ्नोसहित आफ्ना नाता पर्ने आफन्त र विभिन्न व्यक्तिको थुप्रै टीएमएस खाता खोल्छन् । उनकै विश्वासमा अन्य व्यक्तिको कारोबार पनि ब्रोकर कम्पनीबाट गर्छन् । तर, कारोबारको भुक्तानी दिने बेलामा भने सम्बन्धित व्यक्तिसँगै माग्नु भनेर रकम तिर्नबाट पन्छिने गरेको ती ब्रोकर व्यवसायीको गुनासो छ । आफ्नो नामबाट भएको कारोबार रकम तत्काल भुक्तानी गर्न ब्रोकर कम्पनीलाई ताकेता गरिरहन्छन् । ‘सबैको नाममा खाता खोलेर कारोबार गर्न लगाउँछन्, सेयर कारोबारमा कतिपय लिनुपर्ने हुन्छ भने कतिपयमा दिनुपर्ने हुन्छ । दिनुपर्ने रकमका बारेमा म जान्दिनँ भन्छन् । जसको नाममा कारोबार गरेको हो उसैसँग माग्नु भन्छन्,’ पीडित ब्रोकरले भने, ‘आफूले लिनुपर्ने रकम भने धम्काउँदै माग्छन् ।’ गोल्ड म्यान इन्भेष्टमेन्टमा धितोपत्र बोर्डको हस्तक्षेप लगानीकर्ता दीपेन्द्रले पूर्वउपप्रधानमन्त्री उपेन्द्र महतोलाई बोलाएर २०७८ पुसमा गोल्डम्यान इन्भेष्टमेन्ट प्रालि सञ्चालनमा ल्याएका थिए । तर, कम्पनीले धितोपत्र ऐन विपरीत कार्य गरेको भन्दै नेपाल धितोपत्र बोर्डले कारोबार रोकी अनुसन्धानका लागि सीआईबीमा फाइल पठाएको थियो । पछिल्लो समय प्रतिनिधिसभा सदस्य तथा सांसद अमरेस सिंहसँग पनि उनको विवाद चुलिएको छ । सांसद सिंहले उनलाई कम्पनीहरूको सेयरमा चलखेल गरेको आरोप लगाएका छन् । आफू ३० वर्षदेखि सेयर बजारमा सक्रिया रूपमा कारोबार गर्दै आएको र कसैको एक रुपैयाँ नखाएको लगानीकर्ता दीपेन्द्र बताउँछन् ।

गाउँ फर्कनेलाई पर्वतमा ६ महिनाको खाद्यान्न खर्चसहित एक लाख दिने

पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो । गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनले बताए । अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।

मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता, केके भयो कुराकानी ?

वासिङटन डिसी (अमेरिका) । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई उच्चस्तरीय भेटघाटको आदानप्रदानले थप मजबुत बनाउन सहयोगी हुने विश्वास व्यक्त गरिएको थियो । सो अवरसरमा मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्वपूर्ण भएको उल्लेख गरेकी थिइन् । नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उनीहरूको छलफल भएको थियो । नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबीच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रता जस्ता विषयमा साझा मूल्यमान्यता रहेको विषयमा कुराकानी भएको थियो । मन्त्री राणाले दुई देशबीच विगत वर्षहरूमा हुँदै आएका विभिन्न तहको भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन प्रेरक भूमिका खेलेको बताइन् । उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकी सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिइन् । मन्त्री राणाले अमेरिकी सहयोग नियोगले सन् २०२२ देखि २०२७ सम्ममा ६५ करोड ९० लाख अमेरिकी डलर नेपालको शिक्षाको गुणस्तर सुधारलगायत क्षेत्रमा खर्च गर्नेगरी प्याकेज कार्यक्रमसम्बन्धी गत वर्ष भएको सम्झौताको स्मरण गर्दै सहयोग निरन्तररुपमा प्राप्त हुने विश्वास व्यक्त गरिन् । हालै काठमाडौंमा दुई देशबीच सातौं व्यापार तथा लगानी ‘फ्रेमवर्क’ सम्झौतासम्बन्धी काउन्सिलको बैठक सम्पन्न भएकामा मन्त्री राणाले खुसी व्यक्त गरिन् । उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई सरल परिवर्तन रणनीति अङ्गीकार गरेको र यो ऐतिहासिक कोसेढुङ्गालाई सार्थक तुल्याउन आवश्यक पर्ने स्रोत र आर्थिक साझेदारीका लागि अमेरिकाको सहयोगको आवश्यकता रहेको उल्लेख गरिन् ।

मुक्तिनाथ विकास बैंकले महिलाका लागि सञ्चालनमा ल्यायो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारणसभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हाे । कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए । कार्यक्रममा महिला उद्यमीहरूले बैंकिङ कारोबार र सेवासुविधासम्बन्धी राखेका विभिन्न जिज्ञासाहरूलाई बैंकको तर्फबाट स्पष्टसमेत पारिएको थियो । महासंघका अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरूलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै बैंकको सेवासुविधाबारे जानकारी भएको र सहभागीहरूका जिज्ञासाहरूलाई स्पष्ट भएकोले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताएकी थिइन् । उक्त कार्यक्रममा महासंघको तर्फबाट १५० जना महिला उद्यमीहरू सहभागी भएका थिए । बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार-व्यवसायहरूलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरू ल्याएको छ ।