एभरेष्ट बैंकका चार सेयरधनीले थपे सेयर, दुई नयाँ लगानीकर्ता भित्रिए
काठमाडौं । एभरेष्ट बैंकमा नयाँ दुई ठूला सेयरधनी थपिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म बैंकमा नयाँ दुई ठूला सेयरधनी थपिएका हुन् भने चार जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्व बढाएका छन् । बैंकमा आनन्द रत्न तुलाधर र नेपाल लाइफ इन्स्योरेन्स ठूला सेयरधनीका रूपमा थपिएका हुन् । बैंकका अनुसार तुलाधरसँग ०.७६ प्रतिशत अर्थात् ८ लाख ८९ हजार १२७ कित्ता र नेपाल लाइफसँग ०.५२ प्रतिशत अर्थात् ६ लाख ७ हजार ९५८ कित्ता साधारण सेयर स्वामित्व रहेको छ । यस्तै, बैंकका ठूला सेयरधनीसमेत रहेका चार जनाले आफ्नो स्वामित्व बढाएका छन् । बैंकका संस्थापक सेयधरधनी शान्तदेव पाठक, अरुणमान शेरचन, रविकृष्ण श्रेष्ठ र किरणकृष्ण श्रेष्ठले आफ्नो स्वामित्व बढाएका हुन् । सर्वसाधारण समूहतर्फको सेयर खरिद गरेर उनीहरूले आफ्नो सेयर स्वामित्व बढाएका हुन् । संस्थापक पाठकले ३.८८ प्रतिशत अर्थात् ४५ लाख ७० हजार ८०५ कित्ता साधारण सेयर खरिद गरेर बैंकमा ५.०६ प्रतिशत अर्थात् ५९ लाख ५४ हजार ६९६ कित्ता सेयर स्वामित्व पुर्याएका छन् । उनीसँग संस्थापक समूहको १.१८ प्रतिशत अर्थात १३ लाख लाख ८३ हजार ८९१ कित्ता सेयर रहेको छ । यस्तै, संस्थापक अरुणमान शेरचनले २.२५ प्रतिशत अर्थात् २६ लाख ४९ हजार ६०३ कित्ता साधारण सेयर खरिद गरेर बैंकमा ३.२ प्रतिशत अर्थात् ३७ लाख ६१ हजार ७८२ कित्ता सेयर स्वामित्व पुर्याएका छन् । जसमध्ये शेरचनसँग ०.९५ प्रतिशत अर्थात् ११ लाख १२ हजार १७९ कित्ता सेयर छ । यस्तै, संस्थापक सेयरधनी रहेका रविकृष्ण श्रेष्ठ र किरण कृष्ण श्रेष्ठले समान ०.८५ प्रतिशतका दरले १० लाख ३ हजार ५४३ कित्ता सेयर खरिद गरेका हुन् । यससँगै दुवै जनाको सेयर स्वामित्व समान २.७३ प्रतिशत अर्थात् ३२ लाख १७ हजार ३८१ कित्ता सेयर पुगेको छ । जसमध्ये २२ लाख १३ हजार ८३८ कित्ता संस्थापक सेयर रहेको बैंकले जनाएको छ । गत असारसम्म बैंकमा सबैभन्दा ठूलो सेयरधनी भारतको पन्जाब नेशनल बैंक रहेको छ । पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् २ करोड ३५ लाख ६५ हजार १२० कित्ता सेयर स्वामित्व रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पन्जाब नेशनल बैंकको २ करोड १४ लाख २२ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको थियो । यस्तै, गत असारसम्म प्रतिमा श्रेष्ठको १४.७७ प्रतिशत अर्थात् १ करोड ५३ लाख ८६ हजार ७२२ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । अघिल्लो वर्ष श्रेष्ठको १ करोड ५८ लाख ६ हजार १११ कित्ता सेयर थियो । यस्तै, होटल स्नो लायनको ९.३० प्रतिशत अर्थात् १० लाख ९४९ हजार ७६९ कित्ता सेयर लगानी रहेको छ । यसअघि अघिल्लो वर्ष होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात् ९९ लाख ५४ हजार ३३६ कित्ता सेयर स्वामित्व थियो । गत असारसम्म विष्णुकृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् १ करोड ८ लाख ३ हजार ६६२ कित्ता सेयर स्वामित्व रहेको बैंकको भनाइ छ । अघिल्लो वर्ष श्रेष्ठको ९८ लाख २१ हजार ५११ कित्ता सेयर मात्रै स्वामित्व थियो ।
एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्सको वार्षिक बैठक स्थगित
काठमाडौं । एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स (एएफआईआर)को वार्षिक बैठक तथा सम्मेलन स्थगित भएको छ । असोज २१ गतेदेखि काठमाडौंमा हुने भनिएकाे उक्त सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको हो । उक्त कार्यक्रम बाढी-पहिरोका कारण स्थागित गरिएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । एएफआईआरको सचिवालयले बाढी-पहिरोबाट असहज अवस्था सिर्जना भएकाले निर्धारित मितिमा सम्मेलन गर्न असहज हुने भनी स्थगितका लागि प्राधिकरणलाई अनुरोध गरेको थियो । प्राधिकरणले एएफआईआरको अनुरोधअनुसार कार्यक्रम स्थगित गरेको जनाएको छ । असोज २३ गतेका लागि तय भएको साधारणसभाको भर्चुअल माध्यमबाट हुने सत्र भने सोही मितिमा नै सञ्चालन हुने पनि प्राधिकरणले जनाएको छ । स्थगित सम्मेलन आयोजनाका लागि नयाँ मिति तय भएपछि जानकारी गराउने प्राधिकरणले उल्लेख गरेको छ ।
नुवाकोटमा सीएफमोटो र जिहोको शोरुम बिस्तार
काठमाडौं । सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रडिङ कम्पनीले नुवाकोटमा डिलर विस्तार गरेको छ । नुवाकोटको लागि आधिकारिक डिलरको रूपमा भैरवी इन्भेस्टमेन्ट कम्पनीले शोरुम स्थापना गरेको हो । एक समारोहका बीच उक्त शोरुम विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले उद्घाटन गरे । योभन्दा पहिले सीएफमोटो तथा जिहोको नक्सालस्थित शोरुमबाट १५ राइडरले आफ्नो राइड प्रारम्भ गरेर नुवकोटको बट्टार पुगेका थिए । उनीहरू नक्साल शोरुमबाट नुवाकोट र काठमाडौंको सिमाना शिवपुरी डाँडा हुँदै बट्टार पुगेका हुन् । उद्घाटनको अवसर पारेर भैरवी इन्भेस्टमेन्टले ५ थान स्कुटर ग्राहकलाई हस्तान्तरण गरेको थियो । नेपाली बजारमा सिएफमोटो एनके २५० तथा हालै भित्रिएको एमटी ४५० मुख्य आकर्षणको रूपमा रहेका छन् । त्यसैगरी, जिहो एई ६ प्लस र एई ८ मोडल उपलब्ध छन् ।
सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल च्याम्पियन बने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको आयोजनामा भएको ईयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिपको उपाधि सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटलले जित्न सफल भएका छन् । बिहीबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा सेयर प्रो सेक्युरिटिजले एसियन सेक्युरिटिजलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै, महिला फाइनलमा एनएमबी क्यापिटलले सेबोनलाई पेनाल्टी शुटआउटमा २–१ ले हराएर च्याम्पियन बन्न सफल भएको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि महिलाको फाइनल पेनाल्टी शुटआउटमा पुगेको थियो । यस प्रतियोगितामा धितोपत्र बजारसँग आबद्ध संस्थाका लागि पुरुषतर्फ ३१ र महिलातर्फ ९ टिमको सहभागिता रहेको थियो । शनिबार हुने भनिएको फाइनल भारी वर्षाका कारण रोकिएको थियो । पुरुष विजेताले १ लाख र उपविजेताले ६० हजार, जबकि महिला विजेताले ६० हजार र उपविजेताले ४० हजार पुरस्कार प्राप्त गरेका छन् । व्यक्तिगत विधाका पुरस्कारमा महिलातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता सेबोनकी निशा थापा र उत्कृष्ट गोलरक्षक एनएमबी क्यापिटलकी निशा देवकोटा चुनिएका छन् । पुरुषतर्फ सेयर प्रो सेक्युरिटिजका अर्घ रेग्मी उत्कृष्ट खेलाडी, एसबीआई बैंकका पुजन खड्का सर्वाधिक गोलकर्ता, र एसियन सेक्युरिटीजका प्रबिन पोखरेल उत्कृष्ट गोलरक्षक चुनिएका छन् । बिजेता खेलाडीलाई राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथु र आयोजक युनियनका अध्यक्ष अजय ढुंगानाले पुरस्कार प्रदान गरेका थिए ।
५ हजार डलर पाउनेबित्तिकै सचिवहरू जागिर खान दौडिन्छन्, उपमेयरको हैसियत न्यायाधीश बन्ने हो ?
काठमाडौं । अर्थविद् डा. अच्युत वाग्लेले सरकारका सचिवप्रति कटाक्ष गरेका छन् । उनले नेपाल सरकारका अवकास प्राप्त सचिवहरू पैसाका लागि ५ हजार डलरको जागिरका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतका संस्थामा गएर कन्सल्टेन्टका रूपमा काम गर्ने गरेको धारणा राखे । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘नेपालमा संघीयता : वित्तीय दृष्टिकोण’ विषयक कार्यक्रममा उनले यस्तो प्रवृतिले सरकारी कर्मचारी तथा सचिवहरूको साख गिरेको बताए । यस्तै, उनले अहिले तल्लो सरकारको क्षमता नबढाई अधिकार दिने र दुई वर्ष पछि ‘काम गर्न सकेनन्’ भनेर सोही अधिकार खोस्ने प्रवृत्ति रहेको पनि धारणा राखे । यो प्रवृत्ति नियोजित रहेको भन्दै उनले सर्वप्रथम राजनीतिक दल र उनीहरूको नेताको सोचमा संघीयता आउनु जरुरी रहेको बताए । ‘अहिले पार्टीहरूमा संघीयताबारे विज्ञ मानिस खै ?, ’ उनी प्रश्न गर्छन, ‘उपमेयरलाई बजेट निर्माण र न्यायिक समितिको जिम्मा दिइएको छ, उनीहरु त्यसका लागि कति सक्षम छन् त ?’ क्षमता बढाउने भन्नुको मतलब केन्द्रको नेतालाई पैसा खुवाएर मेयर वा अध्यक्षको टिकट लिने खालका क्षमता बढिरहेको भन्दै उनले सोहीकारण स्थानीय तहमा अनियमितताका घटना बढेको बताए । ‘अहिले पनि ४९ स्थानीय तहले बजेट बनाउन सकेका छैनन्, जुन तहमा बजेट बनेको छ, त्यो बजेटको स्वरुपमा छैन, बजेट बनाउँदा अपनाउनु पर्ने न्यूनतम सिद्धान्त अपनाइएको छैन,’ अर्थविद वाग्लेले भने, ‘अब हिम्मतका साथ संस्थागत सुधार आवश्यक छ ।’ संघीयता सवल बनाउन उपलब्धि र कमजोरीको लेखाजोखा गर्ने खालका तथ्यांक चाहिने भन्दै उनले यस पाटोमा पनि नेपाल चुकिरहेको बताए । कोभिड महामारीजस्तो समयमा स्थानीय तहले उत्साहजनक रूपमा काम गरेर आफूलाई सावित गरिसकेको भन्दै उनले स्रोतमा समेत स्थानीय तहलाई सक्षम बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए । परामर्शदाताको अवधारणामा फर्मुला बनाएर त्यसलाई नेपालको सन्दर्भमा लागु गर्न खोज्दा पनि धेरै समस्या हुने गरेको भन्दै उनले क्षमता वृद्धि गर्न आवश्यकता रहेको स्थानमा स्रोत र तालिम केन्द्रित गर्नुपर्ने बताए । समृद्धि फाउण्डेसनमा आवद्ध अनुसन्धानकर्ता यतिन्द्र केसीले अहिले तल्लो सरकारहरुलाई दिइएकै अनुदान प्रभावकारी हुन नसकेको बताए । स्थानीय तहहरुको राजस्व बढ्ने क्रममा रहेको भन्दै उनले जहाँ कमजोरी छ, त्यही बिन्दुबाट सुधार गर्नुपर्ने बताए । यसका लागि प्रभावकारी र तुलनात्मक तथ्यांकमा उनले जोड दिए । अहिले स्थानीय तहको तुलना राष्ट्रिय औसतमा हुने गरेको भन्दै उनले तुलनाको यो प्रवृत्तिमा समेत परिवर्तन गर्नुपर्ने बताए । उस्ताउस्तै स्थानीय तहका उपलब्धिलाई छुट्टाछुट्टै तुलना गर्न सके तल्ला सरकारका कमजोरी र सवल पक्षबारे अझ स्पष्ट हुन सकिने उनी बताउँछन् । उनले स्थानीय र प्रदेश सरकारको कार्य सम्पादन गर्ने प्रकृयामा समेत प्रश्न उठाए । अहिले बजेटका प्रक्रिया पुरा गरे–नगरेको विषयलाई मात्र कार्य सम्पादन मूल्यांकनको आधार बनाइएको भन्दै उनले यसबाट गुणस्तरको मूल्यांकन नहुने बताए । ‘कार्य–सम्पादन मूल्यांकनको आधार प्रोसेसलाई मात्र गराइयो,’ उनले भने, ‘नतिजालाई गराइएन ।’ कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय सरकार विकास, शासन, बजेट, राजस्व संकलन र सेवा प्रदान गर्ने छुट्टाछुट्टै युनिट रहेको बताए । सोहीकारण यी यूनिट सफल हुँदा मात्र संघीयता सफल हुने उनले बताए । संविधान बनाउँदा तीनवटै तहका सरकारबीच समन्वय, सहकार्य, सह–अस्तित्वलाई आधार मानेर बनाइएको भन्दै उनले संघीय सरकारले धेरै आय गर्ने र कामको लोड कम गर्ने गरी डिजाइन गरिएको उल्लेख गरे । तल्लो सरकारको कामको तुलनामा आय कम हुने हुँदा त्यसको ब्यालेन्स गर्न अनुदान दिने व्यवस्था गरिएको उनको भनाइ छ । तल्लो सरकारलाई बढी विश्वास गर्दै समानीकरण अनुदान बढाउने र सशर्त अनुदान घटाउनु पर्ने भन्दै उनले वित्त आयोगले समेत सोही अनुसार सिफारिस गरिरहेको बताए । ‘वित्तीय समानीकरण अनुदानको स्रोतले आफ्नो अधिकार क्षेत्रभित्र स्थानीय तहले राम्रोसँग योजना बनाउन सक्छन्, ’ उनले भने, ‘उनीहरूको योजनाको अधिकार सशर्त अनुदानका नाममा खोस्नु भएन ।’ समानीकरण अनुदानमा जोड दिँदा आफ्नो प्राथमिकताका योजना तल्लो सरकारले राख्न सक्न भन्दै सशर्त अनुदान घटाउनु पर्ने बताए । ‘समानीकरणको स्कोप बढाउँदा स्थानीय र प्रदेश तहमा विश्वास पनि बढ्दै जान्छ,’ उनले भने, ‘तर स्थानीय तहमा सशर्त अनुदान बढाइएको छ, योजना केन्द्रबाट तोकिन्छ, यसो हुनुमा स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक नेतृत्वको इन्ट्रेसमा तल्लो तहमा काम भइरहेको छ ।’ उनले राजस्व बाडफाँटको अनुमान समेत यथार्थ गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । ‘राजस्वको अनुमान र यथार्थ मिल्न छाडेको छ,’ उनले भने, ‘यसबाट बजेट गोलमाग भइरहेको छ ।’ राजस्व अनुमानलाई यथार्थ बनायन नसक्नु संघीय सरकारको कमजोरी रहेको उनको भनाइ छ । ‘स्थानीय र प्रदेश सरकारले त सकेनन्, मानियो, किनकि उनीहरू नयाँ छन्,’ उनी भन्छन्, ‘संघसँग त ७५ वर्षको अनुभव छ नि ।’ पालिकाहरूले आन्तरिक राजस्वमा समेत ठूलो सुधार गरेको भन्दै केही नै नभएको भन्न नमिल्ने बताए । चालु खर्च र पूजीगत खर्चको तुलना गर्दा विगत बिर्सन नहुने भन्दै संघीयतापछि मात्र चालु खर्च बढेको भन्ने तर्क लगत रहेको उनको भनाइ छ ।
‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक विजेता घोषणा
काठमाडौँ । ‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक विजेता घोषणा गरेको छ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले चाडपर्वको अवसरलाई रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको हो । यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेसले लक्की ड्र मार्फत दोस्रो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको कम्पनीले बताएको छ । भाट-भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गरेकी नीता बराललाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्ससले माइक्रोवेभ उपहार जितेकी छन् । श्रीमती नीता बरालका श्रीमान् पूर्णेन्दु बरालले उपहार प्राप्त गरेका थिए, जुन स्मार्ट एप्लायन्सेसका प्रतिनिधि अमित ठाकुरले हस्तान्तरण गरेका थिए । साथै बम्पर पुरस्कारमा एकजना ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्नेछन् । साथै, ग्राहकहरूले स्काईवर्थका विभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुटको मजा लिन सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ । उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् । यो योजना कार्तिक ३० लागु हुने कम्पनीले बताएको छ ।
३४ राजमार्गका ८०५ स्थानमा पहिरो, पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने
काठमाडौं । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रुपमा पुनःस्थापना गर्न २० अर्बदेखि २५ अर्ब रुपैयाँ बराबर लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज संसद्को पूर्वाधार समितिको आजको बैठकमा यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै अस्थायी रुपमा भएपछि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास गरिरहेको जानकारी दिए । गत साताको भीषण वर्षा र बाढीका कारण ३४ राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा सात सय ७४ स्थानको पहिरो हटाइएको छ । कूल २९ वटा राजमार्गमा विभागीय तथा भाडाकायन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको छ । हालसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालनका गर्न अनवरत प्रयास जारी छ । कतिपय स्थानमा पहिरो हटाउनुका अतरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह््यूम पाइप र अस्थायी प्रकृतिको बेजिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । अरनिको राजमार्गको लार्चा-कोदारी खण्डको पाँच किलोमिटर क्षेत्रमा समस्या रहेको छ । लिपिङ पुल र लार्चाको बेजिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ । त्यसका लागि लार्चामा ह्यूम पाइप र पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गरिनेछ । बिपी राजमार्गको चौकीडाँडा-कालढुङ्गा खण्डको १८ किलोमिटर क्षेत्रमध्ये १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारणबीच बीचमा सवारी साधन रोकिएका छन् । दुवै तर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको, रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भ भएसममका सबै विकल्पहरु प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालनको प्रयास गरिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत दोदालघाट राकथुम ८० किलोमिटर खण्डको धेरै स्थानमा पहिरो गई सडकसमेत बासआउट भएको, दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक सफा गरी बर्दिबासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौँ प्रवेश गराइनेछ । कान्ति राजपथको घपेली बगुवा खण्डको १३ किलोमिटर र बागमती पुलको दाँयाबाँया एप्रोचमा समस्या भएको छ । कमवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । बाग्मती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरी सवारीसाधन नियमित गराइने छ । मेची राजमार्ग अन्तर्गत रमिते फिदिमको आठ किलोमिटर खण्डको रमितेडाँडाको पहिरो हटाउने काम भइरहेको छ । हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिनेछ । यस्तै, अरनिको राजमार्गको लिपिङमा १७ मिटर लामो बेलिब्रिज जडान गरिनेछ । यस्तै अरनिको राजमार्गको लार्चामा ४५ मिटर, बिपी राजमार्गको सुनकोशी खैरेनीटारमा ५० मिटर लामो बेलिब्रिज जडान गर्नुपर्नेछ । यस्तै, बिपी राजमार्ग रामेछाप जोड्ने सडकको सुनकोशी खुर्कोट खण्डमा ५० मिटर लामो बेलिब्रिज जडानका लागि आवश्यक पहल सुरु गरिएको छ । सगरमाथा राजमार्गको सुनकोशी फोक्सिङटारमा एक सय १० मिटर लमबाइको पुल बगाएको छ । त्यसका लागि मन्त्रालयले आवश्यक पहल थालेको छ । मेची राजमगएको हेवा खोलाको ५० मिटर लामो पुल बगाएको छ । त्यसका लागि डाइभर्सन निर्माण गर्नुपर्नेछ । यस्ते, कान्ति लोकपथको १५ मिटर लामो बागमती पुल बगाएको छ । अप्रोच सडक निर्माण गरी सो पुल सञ्चालनमा ल्याउने तयारी छ । माईपोखरी सन्दकपुर इलामका रातेखोलाको ३५ मिटर लामो पुल बगाएको छ । पुल निर्माणका लागि आवश्यक पहल भइरहेको छ । क्षतिग्रस्त सडक पूर्वाधारको मर्मत सम्भारका लागि सङघीय सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रभावकारी पहल गरेको स्पष्ट पारेको छ । संसद्को भौतिक पूर्वाधार समितिको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले बाढीपहिरोका कारण राजमार्ग एवम् पुलहरुमा भएको क्षतिका कारण अस्तव्यस्त बन्न पुगेको यातायात क्षेत्र व्यवस्थापन र सञ्चालनका लागि मन्त्रालय तथा यातायात व्यवस्था विभागले विभिन्न पक्षसँग छलफल र परामर्श गरी सामान्य बनाउन विभिन्न पहल गरिएको जानकारी दिए । विपदका कारण अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलब्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार गरिएको मन्त्री दाहालले जानकारी दिए । विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना एवम् जोखिम न्यूनीकरण गर्न अति आवश्यक काम बाहेक यात्रा नगर्न र गर्नै परे सावधान अपनाउन अनुरोध गरिएको थियो । यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको, देशैभरीको विपद एवम् सडकको अवस्थाको एकीकृत र भरपर्दो सूचना व्यवस्थापनका लागि नोल प्रहरी प्रधान कार्यालयलाई नियमित रुपमा फेसबुक पेजमार्फत ताजा सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको मन्त्री दाहालले जानकारी दिए । काठमाडौं छुट्ने यात्रुबहाक बसलाई सडकको अवस्था हेरी सुरक्षित ढङ्गले सवारीसाधन परिस्थिति हेरी उज्यालो समयमा नै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको छ ।
मध्यपूर्व तनावका कारण तेलको मूल्य वृद्धि
काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशंकाप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट पाँच प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ७७ दशमलव ६२ डलर पुगेको छ भने अमेरिकी सम्झौता वेस्ट टेक्सास इन्टरमिडिएट पनि त्यसरी नै बढेको छ । प्रमुख अमेरिकी स्टक सूचकांकहरू दिनको अधिकांश समयमा नकारात्मक रहे । एसएन्डपी५०० शून्य दशमलव दुई प्रतिशतले घटेर बन्द भयो । लन्डन, पेरिस र फ्रेंकफर्टका सेयर बजार सबै रातो भएर बन्द भए । अमेरिकी डकवर्कर्सको हडताल र अमेरिकी फेडरल रिजर्भको आगामी ब्याजदर कदमबारेको अनुमानले पनि लगानीकर्ताहरूलाई प्रभावित गरेको थियो । शुक्रबार प्रमुख रोजगारी प्रतिवेदन आउने भएको छ । डलरको सुरक्षित आश्रय स्थितिले यसको मूल्य बढेको छ । बेलायती पाउन्ड डलरको तुलनामा एक प्रतिशतभन्दा बढीले घटेको छ । बैंक अफ इङ्ग्ल्यान्डका प्रमुख एन्ड्र्यु बेलीले बेलायती ऋण लागतमा तीव्र कटौतीको संकेत दिए । एसियामा येन कमजोर हुँदा टोक्यो दुई प्रतिशतले बढेर बन्द भयो । यसले जापानका निर्यातकर्ताहरूलाई सहयोग गरेको छ । चीनको कमजोर अर्थतन्त्रलाई प्रोत्साहित गर्न चालिएको साहसिक कदमका कारण भएको तीव्र वृद्धिपछि हङकङ एक साताभन्दा लामो समयमा पहिलो पटक घट्यो । यो साता इजरायलमाथि इरानको क्षेप्यास्त्र आक्रमणले इजरायलको गाजा र लेबनानमा तेहरान समर्थित समूहहरूसँगको द्वन्द्व व्यापक क्षेत्रीय युद्धमा परिणत हुनसक्ने डर बढाएको छ । ‘बजारहरू निलम्बित अवस्थामा छन्, इरानविरुद्ध इजरायलको अपेक्षित प्रतिशोधका लागि बजारहरू तयार छन्, यस्तो कदमले तेलको मूल्यलाई व्यापक रूपमा बढाउन सक्छ’, स्वतन्त्र बजार विश्लेषक स्टिफन इन्सले भने । लेबनानी लडाकू समूह हिजबुल्लाहलाई समर्थन गर्ने इरानले इजरायलले जवाफी आक्रमण गरे आफ्नो प्रतिक्रिया बढाउने बताएको छ । लेबनानमाथि इजरायली बमबारीमा अहिलेसम्म एक हजारभन्दा बढी मानिस मारिएका छन् । यसमा बेरुतमा भएका आक्रमणहरू पनि समावेश छन् । इजरायली सेनाले बिहीबार लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकूहरूसँग लडिरहेका थिए र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी गरिरहेका थिए । यद्यपि विश्लेषकहरूले गत साता अमेरिकी भण्डारण अपेक्षाभन्दा बढेकाले तेलको मूल्य वृद्धि सीमित हुनसक्ने बताएका छन् । लिबियाको पूर्वी प्रशासनले पनि बिहीबार एक महिना लामो उत्पादन र निर्यात अवरोध अन्त्य गरेको घोषणा गरेको छ । साउदी नेतृत्वको ओपेक प्लस तेल कार्टेलले डिसेम्बरदेखि उत्पादन बढाउने तय गरेको छ । यसले आपूर्तिको चिन्तलाई अझ कम गर्नेछ । लगानीकर्ताहरूले शुक्रबार प्रमुख अमेरिकी गैर–कृषि पेरोल रोजगारी प्रतिवेदनमा ध्यान केन्द्रीत गर्दैछन् । यसले गत महिनाको चार वर्षमा पहिलो पटक कटौतीपछि फेडको ब्याजदर योजनाबारे संकेत दिन सक्छ । बुधबारको आँकडाले सेप्टेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगारीमा अप्रत्याशित वृद्धि देखाएको थियो । रासस