प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
काठमाडौं । नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेकमार्फत सो रकम हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा विकास निर्माणका काम र विद्यमान कानुनी एवं अभ्यासका क्रममा देखिएका व्यवहारिक समस्या फुकाउने विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पटकपटक छलफल हुने तर समस्या यथावत् रहने अवस्था अन्त्य गर्न निर्देशन दिए । कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायत उपस्थित रहेको थियो ।
विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिरहेको ऊर्जामन्त्री खड्काको दावी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा मन्त्री र सचिवका बीचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको बताएका हुन् । उनले अन्य छिमेकी राष्ट्रहरूले आफै विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरूप आग्रह गर्नुपर्ने बताए । उनले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानी पनि अन्तत: राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्न नहुने उल्लेख गरे । मन्त्री खड्काले भने, ‘बंगलादेशसँगको सम्झौताले अत्यन्त ठूलो उपलब्धि भएको छ । हामीले चीनसँग पनि कुरा गरिराखेका छौं । तपाईंहरूले थोरै किन्दा हामीलाई राहत हुन्छ भने तपाईंहरूले किन नकिन्दिने भनेर आग्रह गर्दा नहोला जस्तो मलाई लाग्दैन । जलविद्युतमा व्यक्ति, संस्था, निजी जसले लगानी गरेपनि २५/३५ वर्ष पछाडि मुलुकको हुने हो ।’ उनले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनी हुनेगरी मोडालिटी बनाउनुपर्ने पनि बताए । पैसा नहुनेहरूले पनि जलविद्युतमा लगानी गर्न सक्ने अवस्था बनाउनुपर्नेमा उनको जोड छ ।
चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ
चितवन । वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आइतबार नारायणगढमा एक कार्यक्रमकाबीच बैंकले हबको शुभारम्भ गरेको हो । शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको उनले बताए । सो अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तिय प्रक्रियाको लागि सहज र सरल सेवा मिल्ने बताए । यसका लागि आफुहरु सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । उनले डकुमेन्टस पुरा भएका विद्यार्थीहरूले प्रभु बैंकको सेवा लिन समेत आग्रह गरे । प्रभु बैंकका चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु भएको बताए । बैंकले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताको लागि चितवनबाटै सेवा सुरु गरेको बताए । एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले जानकारी दिए । प्रभु बैंकको नरॎायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरुको डकुमेन्टस पुरा भएका अधिकतम पाँच दिन भित्र लोन स्वीकृति हुने जानकारी दिए । यसका लागि अलग्गै कर्मचारीहरु खटाइएको समेत उनले जानकारी दिए । बैंकले यसअघि यो सेवा गण्डकी प्रदेशमा सेवा सुरु गसिकेको छ ।
आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु, खाद्यले १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा बिक्री गर्ने
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ । नेपालीहरूकाे महान चाड विजया दशमीको अवसरमा कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो । गत वर्ष घटस्थापनादेखि नै विक्री शुरु गरेको भएपनि यस वर्ष विपद्जन्य घटनाका कारण समयमै खसीबोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै बिक्री सुरु गरेको हो खसीबोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीसँग अहिलेसम्म ६८६ खसी, बोका र च्याङ्ग्रा प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी बागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् । उनले च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका नवलपुर, हेटौंडा र दाङबाट ल्याइएको जानकारी दिइन् । उनले गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तोमा विक्री गरिएको बताइन् । उनले यस वर्ष खसी बोकाको ६७० र च्याङ्ग्राका १२३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर बिक्री गरिरहेकाे उल्लेख गरिन् । प्रमुख थापाले एक जनालाई एउटाभन्दा बढी उपलब्ध नगराइएको पनि बताइन् । मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा विक्री गर्न हरेक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । खाद्यसँगै अरू निजी व्यापारी र व्यवसायीले पनि खसीबोका खरिद गरी काठमाडाैंमा ल्याएर बिक्री गर्न थालिसकेका छन् ।
इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच उर्जा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । कार्यक्रमपछि सम्झौताबारे जानकारी दिँदै इप्पानका महासचिव बलराम खतिवडाले क्यानडामा धेरै ड्यामहरु बनेको र नेपालले पनि २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै त्यसको लागि नेपालमा पनि ठूला ड्यामहरू बनाउन आवश्यक रहेकाले अनुभव लिनका लागि सम्झौता गरिएको बताए । नेपालमा ठूला ड्यामहरू बनाउन क्यानडाको प्रविधि र तालिम आवश्यक हुने भन्दै क्यानडा ड्याम एशोसिएशनसँग सहयोगको सम्झौता गरिएको बताए । ‘इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच आज सम्झौता भयो, प्रत्येक वर्ष क्यानडामा पनि यो कार्यक्रम हुन्छ, नेपालमा पनि हुन्छ’, उनले भने । उनले जलविद्युतको क्षमता बिस्तारका लागि ठूला ड्यामहरुको आवश्यक पर्ने भन्दै नेपालले उनीहरुबाट धेरै अनुभव लिनसक्ने जानकारी दिए ।
नेक्सजेनको साधारणसभा सम्पन्न, सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । शनिबार बसेकाे कम्पनीकाे साताैं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पास गर्दै लाभांश घोषणा गरेकाे हाे । सभामा कम्पनीकाे नाम परिवर्तन गरी नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटी सोलुसन्स प्रालि राख्ने निर्णय भएको अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिए । कम्पनीले भविष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको कामसमेत गर्ने योजना बनाएको छ । त्यसैले पुँजी वृद्धि र समान प्रकृतिका कम्पनीहरू मर्जर गर्ने निर्णय गरेको छ । साथै सोही सभाले आगामी चार वर्षका लागि देवेन्द्रप्रताप शाह, रमेशकुमार भट्टराई, बलराम विष्ट, अजयकुमार मिश्र र शिवराज (माधव) दवाडीलाई सञ्चालकमा निर्विरोध मनोनयन गरेको छ । सञ्चालकको मनोनयनपछि सभामा नै सञ्चालकहरूले एक मतले अध्यक्षमा देवेन्द्रप्रताप शाहलाई र रमेशकुमार भट्टराईलाई प्रबन्ध सञ्चालकमा मनोनयन गर्ने घोषणा गरेको थियो ।
प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे । प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे । एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख रुपैयाँ र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो । त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए ।
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए । उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए । नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, सो दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी थिए ।