विकासन्युज

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षक बन्ने धन्दा !

काठमाडौं । धनुषाको श्री नवयुवक आधारभूत विद्यालयमा कार्यरत शिक्षिका सीताकुमारी यादवले जागिर खान झुटा शैक्षिक प्रमाणपत्र पेस गरिन् । राहत कोटामा शिक्षकको जागिर खाएकी उनको शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमतिपत्र नक्कली पेस गरेको थाहा भएपछि उजुरी पर्‍यो । बिहार संस्कृत शिक्षा बोर्डबाट जारी भएको भनिएको माद्यामिक तहको नक्कली शैक्षिक प्रमाणपत्रहरू पेस गरी उनले प्राथमिक तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति लिएकी थिइन् । गत वर्ष साउन ४ गते उनी विरुद्ध उजुरी परेपछि ७ गते नक्कली कागजात पेश भएको पुष्टि भयो । यस्तै, नुवाकोटको श्री कन्यादेवी आधारभूत विद्यालयकी शिक्षिका मञ्जुकुमारी थापा ओझाले पनि नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइन् । नुवाकोटको विदुर नगरपालिका-१३ की उनले एसएलसी तहको प्रमाणपत्र भारतबाट नक्कली ल्याएको अनुसन्धानबाट खुल्यो । गत वर्षको साउन १८ गते प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक सेवा प्रवेश गर्दा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरेको पाइएको हो । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको दशरथ माध्यमिक विद्यालयका शिक्षक महेश शाहले पनि जागिरकै लागि नक्कली कागजात पेस गरे । राहत शिक्षकमा कार्यरत शाहले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अनुसन्धानबाट खुल्यो । उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट जारी भएको भनिएको इन्टरमिडिएट परीक्षाको नक्कली प्रमाणपत्र पेस गरी माध्यमिक तहमा सामाजिक/अर्थशास्त्र विषयको शिक्षक पदमा नियुक्ति लिएका थिए । यस्तै, रुपन्देहीको गैडहवा गाउँपालिका-४ स्थित श्री मुक्तिधाम आधारभूत विद्यालयकी शिक्षिका डिलमाया कुमारी कँडेलको शैक्षिक प्रमाणपत्र र अध्यापन अनुमतिपत्र दुवै नक्कली पेस गरी जागिर खाइन् । उनले प्राविमा राहत शिक्षकको नियुक्ति लिन दुवै नक्कली प्रमाणपत्र पेस गरेकी थिइन् । उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको भनिएको हाइस्कुल परीक्षा तहको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुल्यो । कास्कीको पोखरा महानगरपालिका-८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयकी स्थायी शिक्षिका बिन्दु गौतम शर्माले पेस गरेको नक्कली प्रमाणपत्र पनि भारतबाटै ल्याएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी केलाउँदा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र पेस गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्ति लिएको पाइएको हो । तनहुँ, व्यास नगरपालिकास्थित श्री बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुनिता उपाध्यायले पनि भारतबाटै नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएकी थिइन् । माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र पेस गरी प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदमा जागिर खाँदै आएकी थिइन् । गत वर्षको फागुन १४ गते उनीविरुद्ध उजरी परेपछि यो कुरा थाहा भएको हो । यस्तै, पर्साको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भिखमपुरमा कार्यरत बालविकास सहजकर्ता पुनमदेवी कुर्मी डडेल्धुराको देवल उमाविका प्राविका द्वितीय तहमा कार्यरत शिक्षक मदनराज पन्तले पनि भारतबाट नक्कली प्रमाणपत्र ल्याएको पाइएको छ । स्रोत : अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग । यी केही प्रतिनिधिन पात्र र घटनाहरू हुन् । पछिल्लो समय नक्कली शैक्षिक प्रमाणपत्रहरू बनाएर विद्यालय तथा कलेजमा जागिर खाने शिक्षक तथा प्राध्यापकहरूको संख्या बढेको छ । यी घटनाहरू स्थानीयको उजुरीका आधारमा अनुसन्धान गर्दा पत्ता लागेका हुन् । उजुरी नपरेर नक्कली शैक्षिक पत्र बनाउर जागिर खानेकोहरुको संख्या समाजको ठूलो रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ । विद्यार्थीलाई सही बाटो देखाउने ठूलो जिम्मेवारी शिक्षकको काँधमा हुन्छ । घरपछि विद्यार्थीको सिकाइको पाठशाला विद्यालय हो । शिक्षकको भरोसामै अभिभावकले आफ्ना बालबच्चा छोड्छन् । बालबच्चाहरूले बढीभन्दा बढी शिक्षा सिक्न पाउने आशा अभिभावकको हुन्छ । तर, अभिभावकले नै भरोसा गरेका शिक्षकहरूले के सही शिक्षा दिरहेका छन् ? यो कुरामा भने अभिभावकको ध्यान कमै जान्छ । बेलाबेलामा नेपालका शिक्षकको क्षमतामाथि प्रश्न उठ्ने गरेको छ । अझ त्यसमाथि प्रमाणपत्र नै नक्कली पेस गरी जागिर खाइरहेका शिक्षकले कस्तो शिक्षा दिरहेका होलान् ? अख्तियारमा उजुरी परेका अधिकांश शिक्षकका नक्कली प्रमाणपत्र भारतबाट ल्याएको पाइएको छ । उनीहरूले भारतका विभिन्न कलेजबाट आफू पास भएको प्रमाणपत्र ल्याउँदै नेपालमा जागिर खाने गरेको पाइएको हो । ३४ जना विरुद्ध उजुरी स्रोत : अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग । शैक्षिक संस्थामा अध्यापनरत शिक्षक र प्राधानाध्यापकले नक्कली प्रमाणपत्र पेस गर्दै जागिर खाने प्रवृत्ति बढ्दै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा जारी गरेको चौंतिसौं वार्षिक प्रतिवेदनले नक्कली प्रमाणपत्र पेस गर्दै जागिर खाने प्रवृत्ति बढेको जनाएको हो । प्रतिवेदनमा झुटा विवरण पेस गर्ने ३४ जना विरुद्ध अख्तियारमा मुद्दा परेको उल्लेख छ । जसमा मनोनित (राजनीति नियुक्ति) १ जना, उपसचिवा सो सरह ३ जना, शाखा अधिकृत वा सो सरह ११ जना, नायव सुब्बा वा सो सरह ४ जना र खरिददार वा सो सरह १५ जना गरी ३४ जना शिक्षक कर्मचारी विरुद्ध उजुरी परेको हो । हजार बढी शैक्षिक मुद्दा आयोगले स्थापनाकालदेखि हालसम्मका मुद्दा विवरणअनुसार सबैभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्रका पर्ने गरेको जनाएको छ । आयोगको स्थापनाकालदेखि हालसम्म ३४ वर्षको अवधिमा आयोगले जम्मा ३ हजार ४ सय ८५ वटा मुद्दाहरू अदालतमा दायर गरेको छ । जसअनुसार औसतमा प्रतिवर्ष १०५ भन्दा बढी आरोपपत्रहरू अदालतमा दर्ता भएका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएपश्चात् आयोगबाट हालसम्म अदालतमा दर्ता भएका ३ हजार ३ सय ६९ आरोपपत्रहरूमध्ये विषयगत रूपमा हेर्दा सबैभन्दा बढी १ हजार २ सय ४२ वटा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्रहरू रहेको आयोगले जनाएको छ । त्यसपछि घुस रिसवतसम्बन्धी ८ सय ७५ वटा आरोपपत्रहरू रहेका छन् । गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको संख्या भने १ सय ५४ वटा रहेका छन् । यस अवधिमा सबैभन्दा धेरै मुद्दा आर्थिक वर्ष २०७६/७७ मा दायर भएका थिए भने आर्थिक वर्ष २०६६/६७ मा सबैभन्दा कम मुद्दा दर्ता भएका थिए । नक्कली प्रमाणपत्रले शिक्षा प्रणालीमै असर नेपालको शिक्षा क्षेत्रमा नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने कुरा नौलो होइन । बेला बखत यस्ता घटनाहरू बाहिर आइरहेका हुन्छन् । यस्ता घटनाले नेपालको नेपालको शिक्षा प्रणालीमाथि नै प्रश्न उठाउने विज्ञहरू बताउँछन् । स्रोत : अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग । शिक्षाविद् डा. विष्णु कार्की यस्ता घटनाले अहिले शिक्षा क्षेत्रमा आफूहरूले उठाइरहेको कुरालाई असर पर्ने बताउँछन् । शिक्षालाई प्राविधिमैत्री बनाऊँ, विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गरौं भनिरहँदा शिक्षक नै यस्तो हर्कतमा लागे अघि बढ्न नसकिने उनको तर्क छ । शिक्षाविद् कार्की यसको लागि सबै एकजुट हुनुपर्ने बताउँछन् । ‘शिक्षामा बढी नै लापरवाही छ भन्ने कुरा आजमात्र होइन, पहिलेदेखि नै उठ्दै आएको पाइन्छ,’ उनी भन्छन्, ‘शिक्षकले नै जथाभावी, मनपरी हिसाबले नक्कली प्रमाणपत्र पेस गर्दा यसलाई रोक्ने कसले भन्ने प्रश्न उठ्छ ।’ उनी यस्ता विकृति रोक्न शिक्षक संघसंगठन नै बढी अग्रसर हुनुपर्ने बताउँछन् । ‘साथीहरूलाई नियम कानुनभित्र रहेर काम गरौंभन्दा सह्य हुँदैन,’ उनी थप्छन्, ‘शिक्षकमा हामीले चाहेको शैक्षिक योग्यता, अध्यापनको अनुभव न्यूनतम मापदण्ड हो । यो नभइकन कसरी गुणस्तर शिक्षा दिन सकिँदैन । पहिलो खुड्किलोमै ठेस लाग्दा माथि उक्लन जोखिम हुन्छ, यो विषयमा सबै लाग्नुपर्छ ।’ शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी अयोग्य व्यक्तिहरू सार्वजनिक पदमा प्रवेश हुँदा योग्य व्यक्तिको छनोटमा असर पर्दछ भने नक्कली प्रमाणपत्रको आधारमा पदोन्नति हुँदा योग्य र सक्षम कर्मचारीको मनोबल र कार्यालयको कार्यसम्पादनमा समेत नकारात्मक असर पर्छ ।

९० प्रतिशतभन्दा बढी बाह्य ऋण पुनर्संरचना हासिल गरेको घानाको दाबी

काठमाडौं । घानाले सन् २०२२ को डिसेम्बरमा ऋण पुनर्संरचना प्रक्रिया सुरु गरेदेखि नै आफ्नो बाह्य ऋणको ९० प्रतिशतभन्दा बढी पुनर्संरचना हासिल गरेको बताएको छ । अर्थमन्त्री मोहम्मद अमीन आदमले अर्थतन्त्रको अवस्थाको बारेमा मासिक प्रेस ब्रिफिङमा घानाको युरोबन्ड ऋण विनिमय र सहमति अनुरोध प्रक्रिया पूरा भएको घोषणा गर्दा सो टिप्प्णी गरेका हुन् । सेप्टेम्बरको अन्त्यमा अन्तिम म्यादसम्म सेप्टेम्बरको सुरुमा सुरु गरिएको प्रस्तावमा विद्यमान ऋणपत्रहरूको मान्यता प्राप्त मुल रकम प्रतिनिधित्व गर्ने ऋणपत्रधारकहरूको ९८ प्रतिशत सहभागी भइसकेका थिए । सफल विनिमय प्रस्तावको परिणाम स्वरूप देशले आगामी हप्ताहरूमा नयाँ बण्डहरूको लागि युरोबण्डमा १३अर्ब अमेरिकी डलर साट्ने बताए ।

ज्योति विकास बैंकका ग्राहकलाई भेनस अस्पतालमा छुट हुने

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । यस सम्झौतासँगै ज्योति विकास बैंकका ग्राहकहरूले उक्त अस्पतालमा अस्पतालको बेड शुल्क, इन-हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । यसअघि बैंकले चितवनस्थित जंगल भिल्ला रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको थियो । साथै, बैंकले कमलपोखरीस्थित प्रख्यात अचार घर, दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एन्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार र कमलादीस्थित क्याफे लायन हर्ट तन्दुरी किचेनमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । संस्थागत सुशासनलाई शीरोपर गर्दै, समाजप्रति उत्तरदायी रहेर बैंकले दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सधैं उच्च प्राथमिकतामा राखेको बैंकले जनाएको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ।

मेटलाइफ नेपालले बाढी पीडितलाई दियो २५ लाख रुपैयाँ

काठमाडौं । मेटलाइफ नेपालले प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोष मार्फत बाढी र पहिरो पीडितहरूलाई सहयोग गरेको छ । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको सहयोग गरेको हो । यस योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य मेटलाइफ नेपालले राखेको छ । मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मल काजी श्रेष्ठले भने, ‘अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने कुरामा छ । हामी आशा गर्छौं कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनःस्थापना प्रक्रियामा मद्दत गर्नेछ ।’

सानिमा बैंकमा खातावालालाई १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा बैंकको तर्फबाट विर्तामोड शाखाका शाखा प्रबन्धक माधव प्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनाका कारण मृत्यु भएका भीम प्रसाद निरौलाले सानिमा बैंकको विर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए । सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

एनएमबि बैंकले उद्धार कोषलाई दियो ५१ लाख, प्रधानमन्त्री ओलीले समाते चेक

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुन:स्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ । बैंकका उच्च पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरे । बाढी पहिरोबाट प्रभावित समुदायहरूलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो ।  

पठाओमा ३९ जना सम्मानित, १५ जनालाई पठाओ‌ बेनिफिट कार्यक्रम अन्तर्गत सहयोग

काठमाडौं । पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्बोधन गरेको छ । कार्यक्रममा कम्पनीले फरक क्षमता भएका चालकहरूलाई उनीहरूको साहस र योगदानका लागि सम्मान समेत गरेको कम्पनीका प्रबन्ध निर्देशक असिम मानसिंह बस्न्यातले बताए । मानिसको दैनिकी तथा जीवनयापनमा सहज बनाएको भन्दै पठाओलाई विभिन्न व्यक्तित्वहरू मार्फत धन्यवाद आइरहेको उनले बताए । उनले यसको सबै श्रेय आफ्ना मेहनती तथा लगनशील चालक, क्याप्टेन तथा हिरोहरुलाई जाने बताए । पठाओ नेपालले उत्कृष्ट चालकहरूलाई विभिन्न वर्गमा सम्मानित गरेको छ । सबैभन्दा कान्छा चालक सुमन बाबु मगरातीले ‘द राइजिङ राइडर अवार्ड’ पाएका छन् । यस्तै प्रेम बहादुर खड्काले बेस्ट पफर्मर भई ‘द स्टार मेल राइडर अवार्ड’ पाएका छन् । तीर्थ बहादुर बिष्टले हाइएस्ट राइड लिएका कारण द टायरलेस राइड अवार्ड पाएका छन् । कम्पनीका अनुसार सुदन अधिकारीले सबैभन्दा बढी रेटिङ पाएर ‘युजर्स फेभराइट राइडर अवार्ड’ पाएका छन् । बिमल श्रेष्ठले द लङ्गेस्ट इन प्ल्याटफर्म भएका कारण ‘द भेटेरन राइडर अवार्ड’ पाएका छन् । साथै श्यामबहादुर चौधरीले नो सस्पेन्सनका कारण द अनरेबल राइडर अवार्ड पाएका छन् । यस्तै सुमन खड्कीले मस्ट एक्टिभ डेज अर्थात् सबैभन्दा धेरै सक्रिय भएका कारण ‘द डेडिकेटेड राइडर अवार्ड’ पाएका छन् । महिलातर्फ बेस्ट राइडरका रूपमा ओम कुमारी चेम्जोङले ‘द स्टार फिमेल राइडर अवार्ड’ पाएकी छिन् । यस्तै पोषबहादुर खत्रीले ओल्डेस्ट राइडरका रूपमा ‘द सेनियर राइडर अवार्ड’ पाउँदा ४७ वर्षकी महिला राइडर सरस्वती महर्जनले ‘सोसल कज’ अन्तर्गत ‘द हेल्पङ ह्यान्ड अवार्ड’ पाएकी छिन् । उनीहरूलाई कम्पनीका निर्देशक शशांक शमशेर थापाले सम्मानित गरेका थिए । कम्पनीले चालकहरूलाई जस्तै आफ्ना क्याप्टेनलाई पनि विभिन्न किसिमका सम्मान तथा अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत किशोर गिरीले सबैभन्दा कम उमेरको क्याप्टेन भई द राइजिङ क्याप्टेन अवार्ड पाएका छन् ‌। यस्तै तुलाबहादुर श्रेष्ठले बेस्ट पफर्मर भई ‘द स्टार मेल क्याप्टेन अवार्ड’ पाएका छन् । यस्तै खड्कबहादुर ढकालले सर्वाधिक राइड राइड लिएर ‘द टायरलेस क्याप्टेन अवार्ड’ पाउँदा कैलाश ढुंगेलले सर्वाधिक रेटिङ पाएर ‘युजर्स फेभराइट क्याप्टेन अवार्ड’ पाएका छन् । पश्चिनारायण तामाङले सर्वाधिक सिआर कायम गरी द एनर्जेटिक क्याप्टेन अवार्ड पाएका छन् । यस्तै जनकलाल श्रेष्ठले लङ्गेस्ट अन प्लेटफर्म भएका कारण द भेटरान क्याप्टेन अवार्ड पाउँदा राजेश तामाङले नो सस्पेन्सनका कारण अवार्ड पाएका छन् । करुणा तामाङ भण्डारीले बेस्ट फिमेल क्याप्टेन भई द स्टार फिमेल क्याप्टेन अवार्ड पाएकी छिन् । यस्तै बोलबहादुर खड्काले ओल्डेस्ट क्याप्टेनका रूपमा द सेनियर क्याप्टेन अवार्ड पाएका छन् । कम्पनीले पठाओ हिरोहरूलाई समेत अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत नरेन्द्रकुमार तामाङले बेस्ट पर्फर्मेन्स पठाओ हिरो भई द स्टार मेल पठाओ हिरो अवार्ड पाएका छन् । सञ्जय खवासले बेस्ट पर्फर्मिङ पठाओ हिरो अन बाइक भई द टप पठाओ हिरो अवार्ड पाएका छन् । केदार बहादुर लुङ्गेली मगरले बेस्ट पफर्मिङ पठाओ हेरो अन साइकल भई द बेस्ट पफर्मिङ पठाओ हिरो अवार्ड पाएका छन् । राजन ढुङ्गानाले बेस्ट कम्युनिकेसनका कारण द सुपरस्टार पठाओ हिरो अवार्ड पाएका छन् । यस्तै गाजल अमिनले बेस्ट फिमेल पठाओ हिरो भई द स्टार फिमेल पठाओ हिरो अवार्ड पाएकी छन् । रमेश थापा मगरले हाएस्ट अर्डर पूरा गरी द टायरलेस पठाएर अवार्ड पाउँदा बमबहादुर बुढाले हाइएस्ट सिआर कायम गरी अवार्ड पाएका छन् । यस्तै गोपालराज बिकले लङ्गेस्ट इन प्लेटफर्म भई द भेटरान पठाओ हिरो अवार्ड पाउँदा गङ्गाबहादुर राईले हाएस्ट एक्टिभ डेज पूरा गरी द डेडिकेटेड पठाओ हिरो अवार्ड पाएका छन् । यस्तै कृष्णराज गुरुङले हाइएस्ट रेटेड पठाओ हिरो भई ‘युजर्स फेभराइट पठाओ हिरो अवार्ड पाएका छन् । लोगराज शर्माले पुरुषतर्फ सर्वाधिक फुड अर्डर पठाओ हिरो वाकर भइ ‘द जोय गिभर मेल पठाओ हिरो अवार्ड पाउँदा महिलातर्फ पूजा अवस्थीले हाइएस्ट अर्डर पठाओ हिरो वाकर भई ‘द जोय गिभर फिमेल पठाओ हिरो अवार्ड’ पाएकी छन् ‌। कम्पनीले फरक क्षमता भएका राइडर पुनम मिश्र, बलराम तामाङ र राजेन्द्र मगरलाई सम्मान तथा प्रोत्साहनका लागि रेजिलिन्स अवार्ड प्रदान गरेको छ। यस्तै कार्यक्रम सञ्चालक जय प्रधानले पछिल्लो ६ वर्षमा पठाओका समर्थकहरुले दिएको उल्लेखनीय योगदानले पठाओको वृद्धि र सफलतालाई कसरी अगाडि बढाएको छ भन्ने कुरामा जोड दिएका थिए । १५ जनाले पाए पठाओ‌ बेनिफिट कार्यक्रमबाट सहयोग कार्यक्रममा पठाओ‌ बेनिफिट प्रोग्रामको लाभ उठाउन योग्य भएर स्कलरशिप र बेडरेस्ट एलोभेन्स पाएका चालकहरुलाई पठाओ नेपालका निर्देशक जेनिस रन्जितले सम्मान गरेका थिए । जसमा चालकहरु चोकबहादुर किंगरिङ, ज्ञानबहादुर चौहान, निर्मल सापकोटा, सुशील कुमार लिम्बु, बुद्ध घले, निर्मल तामाङ, ज्ञानप्रसाद राजठाला, घनश्याम खत्री, पन्चे विश्वकर्मा र श्यामकुमार ठोकर जनही १०र१० हजार रुपैयाँ छात्रवृत्ति स्वरूप प्राप्त गरे । यस्तै चालक चन्द्रबहादुर श्रेष्ठ, राम महर्जन, भीमबहादुर लिम्बु र मुकुन्दराज थापाले प्रतिव्यक्ति २०र२० हजार रुपैयाँ छात्रवृत्ति स्वरूप प्राप्त गरे । यस्तै कम्पनीले पठाओ क्याप्टेन पासाङ तामाङलाई २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिएको छ । जसले पठाओको चालकको शिक्षामा लगानी गर्ने प्रतिबद्धतालाई प्रष्ट पारेको कम्पनीले जनाएको छ । पठाओ नेपालले आफ्नो फुड डेलिभरीमा सहकार्य गर्ने रेस्टुरेन्टहरुलाई समेत सम्मान तथा अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत फति’ज् बिर्यानी झम्सिखेल्ले हाइएस्ट अर्डर पूरा गरेकाले ‘अर्डर च्याम्पियन अवार्ड’ पाएको छ । यस्तै केएफसीले हाइएस्ट अर्निङ गरी रेभिन्यु रोयल्टी अवार्ड पाएको छ। यस्तै ला पिज्जा पिज्जाले हाइएस्ट रेटिङ लिएर फाइभ स्टार फियस्ट अवार्ड पाएको छ । यस्तै स्यानको कट्टी रोलले लोएस्ट क्यान्सलेसन भएर सिमलेस सर्भिस अवार्ड पाएको छ । पठाओ नेपालले विभिन्न पार्सल मर्चेन्टलाई समेत अवार्ड प्रदान गरेको छ। जस अन्तर्गत नेप एसेन्थेटिक प्रालिले बेस्ट कन्ट्रिब्युट भएर टप पार्टनरसिप अवार्ड पाएको छ । यस्तै सेभेन मल्टी ट्रेडिङ प्रालीले आउटस्ट्यान्डिङ सर्भिस रेकर्ड गरेर सर्भिस एक्सलेन्स अवार्ड पाएको छ। यस्तै गुण परि नेपाल प्रालीले एक्सेप्सनल क्यान्सलेसन कन्ट्रोल गरी अप्रेसनल एक्सलेन्स अवार्ड पाएको छ । सो अवार्ड पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले प्रदान गरेकी थिइन् । पार्सल हिरोहरूमा सुवास देवान, खड्ग बहादुर खड्का र राजेन्द्र मगरले ओल्डेस्ट ईन प्लेटफर्म भई द भेट्रान पार्सल हिरो अवार्ड पाएका छन् । कम्पनीले इन्सुरेन्स पार्टनर हिमालयन इन्सुरेन्स, पेमेन्ट पार्टनर छिटो पैसा प्रालि र यो आर्थिक वर्षको आफ्नो टु ह्विलर पार्टनर स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई सम्मान गरेको छ । कार्यक्रमको एउटा भावुक क्षणमा श्याम चौधरीलाई सम्बोधन गरिएको थियो । जसले आफ्नो कार्यकालमा दुर्घटना भएको बेला पठाओ बेनिफिट प्रोग्राम अन्तर्गत आर्थिक सहायता प्राप्त गरेका थिए । कार्यक्रममा बस्न्यातले स्टार्टअपबाट सुरु भएको यस कम्पनी अहिले राम्रो व्यवसाय बन्न सफल भएको बताए ‌ पठाओ नेपालले हालै सुरु गरेको आफ्नो नयाँ सेवा पठाओ किराना, पठाओ खाजा र पठाओ गेम्स बारे समेत उनले जानकारी दिए । उनका अनुसार कम्पनीले छिट्टै पठाओ रेन्टल पनि सुरु गर्ने तयारी गरेको छ ।

सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये उनले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, ‘दसैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो ।’ यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उनले भने, ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।’ यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार रुपैयाँ खर्च गरेका थिए । उनले भने, ‘बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो ।’ बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ । धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्यांक संकलन जारी रहेको छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले १९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले बाढीबाट दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए । उनले भने, ‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्यांक आउने क्रम जारी छ ।’ रासस