विकासन्युज

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

गोरखा । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए । बाजागाजासहितको ¥याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौँको हनुमान ढोका दरबारमा पु¥याइएपछि आज साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ । गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उनले बताए।

उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । “सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उनले भने, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दसैँ मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।” उनका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ । “आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,” स्वारले भने । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘चेक’ भइरहेको जानकारी दिए ।

सहज छैन हवाई यात्रा, उडान डिले हुँदा दशैंमा घर फर्किने यात्रुलाई सास्ती

काठमाडौं । हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड थामिनसक्नु छ । गन्तव्यमा जाने प्रतिक्षामा हजारौँ यात्रुको भीडले विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निकै भीडभाड बढेको हाे । जसकारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानका सम्पूर्ण जहाज उडानमा ढिलाइ (डिले) भइरहेका छन् । उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक जाम भइरहेको बताइएको छ । दशैँ मनाउन हजारौं यात्रुले हवाई यात्रा गरिरहेका छन् । तर, आकाशमा ट्राफिक जाम हुँद जहाज होल्ड गर्नु परेका कारण उडान ढिलाइ भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । अन्य समयमा भन्दा दसैँमा हवाई उडान धेरै हुने गरेको र पछिल्लो समय बाढी पहिरोको कारण सडकमार्ग अवरुद्ध भएकाले हवाई यात्रुको चाप बढेको छ । तर, आन्तरिक उडान निर्धारित समयभन्दा लामो समय ‘डिले’ भइरहेको छ । जसकारण यात्रुहरू मर्कामा परेका छन् । भरतपुर विमानस्थलका लागि बिहान ९ बजे उड्नुपर्ने जहाज अहिलेसम्म उड्न सकेको नसकेको एक यात्रुले बताए ।

टाटा समूहको सम्पत्ति पाकिस्तानको जीडीपी भन्दा धेरै

काठमाडाैं । टाटा ग्रूप अफ कम्पनिजको सम्पत्ति पाकिस्तानको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा धेरै रहेको छ । टाटा ग्रूप अफ कम्पनिजको कुल सम्पत्ति ३६५ अर्ब डलर पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसबाट टाटाको सम्पत्ति पाकिस्तानको जीडीपी भन्दा पनि बढी रहेको देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानको जीडीपी करिब ३४१ अर्ब डलर हुने अनुमान गरेको छ। चियादेखि ज्यागुअर ल्यान्डरोभर कारसम्म र नुन बनाउनेदेखि विमान उडाउने तथा तारे होटल सञ्चालनसम्म जीवनका विभिन्न क्षेत्रमा टाटाको प्रभाव देखिन्छ। यसरी सरसर्ती हेर्दा पाकिस्तानको जीडीपी भन्दा टाटा समूहको सम्पत्ति १९ अर्ब डलर धेरै छ । टाटा कन्सल्टेन्सी सर्भिसेजको मात्रैको सम्पत्ति १७० अर्ब अमेरिकी डलर बराबर छ। यो कम्पनी भारतको दोस्रो ठूलो कम्पनी हो। यसको सम्पत्ति नै पाकिस्तानको अर्थतन्त्रको आधाजति छ। टाटा कम्पनी अहिलेको अवस्थामा एकैदिनमा पुगेको भने होइन। यसका लागि १५० वर्षभन्दा बढी समय लागेको छ। यद्यपि भारतीय जीवनका धेरै क्षेत्रमा टाटा भारतको पहिलो कम्पनी बनेको छ। आठ फेब्रुअरी, १९११ मा लोनावाला बाँधको शिलान्यास गर्दा टाटा समूहका प्रमुख दोराबजी टाटाले सन् १८६८ मा यो कम्पनीको जग हाल्ने आफ्ना पिता जमशेदजी टाटाको सोचबारे कुरा गरेका थिए। अहिले यो १० वर्गका ३० कम्पनीको एउटा प्रमुख समूह बनेको छ। टाटाले छ महादेशका १०० भन्दा बढी देशमा आफ्नो सेवा प्रदान गर्दै आएको छ। दोराबजी टाटाले भनेका थिएर्, सम्पत्ति कमाउनु मेरो बुबाको लागि गौढ विषय थियो। उहाँले यो देशका जनताको औद्योगिक र वैचारिक अवस्थामा सुधार गर्ने कुरालाई प्राथमिकता दिनुभएको थियो। उहाँले आफ्नो जीवनकालमा सुरु गरेका विभिन्न संस्थाको वास्तविक उद्देश्य ती महत्त्वपूर्ण क्षेत्रहरूको विकास गर्नु थियो।’ भारतमा ब्रिटिश शासन भएका बेला १९ औँ शताब्दीको अन्त्यतिर जमशेदजी टाटाले बम्बईस्थित एउटा महँगो होटेलमा प्रवेश नदिइएको र त्यसैको ईख लिएर उनले त्योभन्दा पनि भव्य होटल बनाउने अठोट गरेको भनिन्छ। ब्रिटिश उपनिवेश भएका बेला भारतमा सर्वसाधारण मानिसलाई कतिपय सुविधाहरूबाट वञ्चित गरिएको थियो। टाटा सन्स टाटा कम्पनीहरूको मूल लगानी होल्डिङ कम्पनी र प्रवर्धक हो। टाटा सन्सको ६६ प्रतिशत इक्विटी शेअर र पुँजी शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा कला र संस्कृतिका क्षेत्रमा काम गर्ने परोपकारीहरूसँग छ। हामीले टाटा कम्पनीको कर्पोरेट कम्युनिकेशनलाई सम्पर्क गर्ने प्रयास गरेका थियौँ तर उनीहरूसँग सम्पर्क हुन सकेन। टाटा कम्पनीले हालसम्म आफ्ना कम्पनीको सम्पत्तिको तथ्याङ्क सार्वजनिक नगरे पनि जुलाई ३१, २०२३ सम्म आफ्नो सम्पत्ति ३०० अर्ब डलर रहेको घोषणा गरेको थियो। कम्पनीमा विश्वभरि १० लाखभन्दा बढी कर्मचारी कार्यरत रहेको पनि उसले बताएको थियो । कम्पनीका अनुसार टाटा कम्पनी वा इन्टरप्राइजले आफ्नो सञ्चालक समितिको नेतृत्व र सुपरिवेक्षणबारे स्वतन्त्र रूपमा काम गर्ने गर्छ। टाटाको अभूतपूर्व सफलताको बारेमा हामीले आर्थिक विशेषज्ञ शङ्कर अय्यरसँग कुरा गरेका थियौँ। उनले भनेर्, अम्बानी वा अडानीको नाम आउँछ किनभने उनीहरूका कम्पनीहरू व्यक्तिगत हुन्। तर टाटा विभिन्न कम्पनीहरूको समूह हो र एउटा ट्रस्टअन्तर्गत सञ्चालित छ। त्यसैले यसको चर्चा गरिँदैन।’ फोनमा कुरा गर्दै उनले कर्पोरेट जगत्‌मा यस्तो तुलनालाई आफूले सही नमान्ने भए पनि भारतमा धेरै मामिलामा टाटा कम्पनी जननीजस्तो भएको बताए। उर्जा क्षेत्रमा काम गर्ने कम्पनी जीई इन्डियाको अलस्टोम इन्डियाका पूर्वप्रबन्ध निर्देशक र हाल ह्योसुङ इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक नागेश तलवानीले भनेर्, टाटाको समृद्धिको प्रमुख कारण यसको नैतिक, निष्पक्ष र पारदर्शी प्रणाली हो। त्यसले कर्मचारीहरूसँग बलियो सम्बन्ध बनाउँछ।’ उनका अनुसार टाटाको पुँजी लगानीका लागि स्पष्ट दृष्टिकोण र रणनीति रहेको छ। त्यसको उदाहरणका रूपमा उनले स्टारबक्स, क्रोमा कन्सेप्ट र ज्यागुअरजस्ता ब्रान्ड किन्ने उसको निर्णयलाई प्रस्तुत गरे। टाटाले चर्चा नखोजी र लगनशील भएर काम गर्ने गरेको उनी ठान्छन्। उनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टाटाले आफ्नो ब्रान्डलाई बुद्धिमत्तापूर्वक राख्न सकेको पनि बताए। ‘त्यसका कारण पनि देशभरिका उपभोक्ताहरू उनीहरूसँग जोडिएका छन् र उनीहरू सुरक्षित महसुस गर्छन् किनभने उनीहरूका लागि यो ब्रान्ड विश्वसनीय छ,’ उनले भने। (बीबीसी नेपालीबाट साभार गरिएकाे)

यात्रुले हवाईजहाजको ‘इमरजेन्सी ढोका’ खोलेपछि….

काठमाडौँ । यात्रुले हवाईजहाजको इमरजेन्सी डोर (आपतकालिन ढोका) खोलि दिएका छन् । आज बिहिबार बिहान विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन् । यात्रुले ढोका खोलिदिए पछि उडान प्रक्रियालाई नै अवरुद्ध गरि उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ । विगत केही साता यता यात्रुले हवाईजहाजका इमरजेन्सी डोर खोलेका घटना सार्वजनिक भएका थिए । २ अक्टुबरका दिन विराटनगरबाट काठमाडौं, ७ अक्टुबरका दिन नेपालगञ्जबाट काठमाडौं उडानमा रहेको एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका थिए । जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो । जहाज विराटनगर विमानस्थलमा हुँदा इमरजेन्सी ढोका यात्रुले खोलेका हुन्। जहाजलाई बुध्द एयरको टेक्निकल टिमले थप चेकजाँच गरिरहेको जनाइएको छ । आपतकालिन ढोकाको प्रयोगबारे विमानका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी दिएका हुन्छन् । आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ । हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजायँ हुने प्रावधान रहेको छ ।

१ वर्ष बढीको मुद्दती निक्षेपले बढायो बैंकहरूको खर्च

काठमाडौं । गत साउनसम्म वाणिज्य बैंकहरूको मुद्दती खातामा ३२ खर्ब २५ अर्ब ८९ करोड २५ लाख रुपैयाँ निक्षेप रहेको छ । जुन गत वर्षको तुलनामा ९.११ प्रतिशत अर्थात् २ खर्ब ६९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप बढी हो । गत वर्षको साउनमा बैंकहरूको मुद्दती निक्षेपमा २९ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप थियो । जसरी बैंकहरूको मुद्दतीमा निक्षेप थुप्रिएको छ । सोही अनुरुप बैंकको खर्च पनि उच्च रूपमा बढेको देखिन्छ । विगतमा बैंकहरूले बजारको माग भन्दै ब्याजदर बढाएर उच्च पुर्याए । १३ प्रतिशतसम्म बैंकको ब्याजदर पुगेपछि मुद्दती खातामा निक्षेप राख्ने बढेको देखिन्छ । बैंकहरूलाई पनि निक्षेप आवश्यकता रहेको र अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएपछि मुद्दतीमा लगानी गर्ने बढेको बैंकरहरू बताउँछन् । कुन बैंकको मुद्दतीमा कति निक्षेप ? राष्ट्र बैंककाअनुसार गत साउनसम्म सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको मुद्दतीमा धेरै निक्षेप रहेको छ । ग्लोबल आइएमई बैंकको मुद्दतीमा २ खर्ब ७५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप रहेको छ । यस्तै नबिल बैंकको मुद्दतीमा २ खर्ब ५४ अर्ब ५४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)को मु्द्दतीमा २ खर्ब ३४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । यस्तै एनआईसी एशिया बैंकको मुद्दतीमा २ खर्ब २९ अर्ब ३५ करोड रुपैयाँ, कुमारी बैंकको मुद्दतीमा २ खर्ब १५ अर्ब ६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको मुद्दतीमा १ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ, हिमालयन बैंकको मुद्दतीमा १ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको मुद्दतीमा १ खर्ब ७५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप छ । यस्तै प्रभु बैंकको मुद्दतीमा १ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँ, कृषि विकास बैंकको मु्द्दतीमा १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ, प्राइम बैंकको मुद्दतीमा १ खर्ब ४८ अर्ब २२ करोड रुपैयाँ, एभरेष्ट बैंकको मुद्दतीमा १ खर्ब ३९ अर्ब ४० करोड रुपैयाँ, सिद्धार्थ बैंकको मुद्दतीमा १ खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँ, नेपाल बैंकको मुद्दतीमा १ खर्ब ३० अर्ब १७ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । यस्तै एनएमबि बैंकको मुद्दतीमा १ खर्ब २० अर्ब ६० करोड रुपैयाँ, सानिमा बैंकको मुद्दतीमा १ खर्ब १७ अर्ब ७७ करोड रुपैयाँ, सिटिजन्स बैंकको मुद्दतीमा १ खर्ब १५ अर्ब ४३ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको मुद्दतीमा १ खर्ब २ अर्ब ६ अर्ब रुपैयाँ, माछापुच्छ«े बैंकको मुद्दतीमा ८६ अर्ब २८ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुद्दतीमा ३३ अर्ब ६६ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । मुद्दतीमा कति ब्याज खर्च ? बैंकहरूले ३ महिनादेखि एक वर्ष अवधिसम्मका लागि मुद्दतीमा निक्षेप राख्ने गरेका छन् । तर, अधिकांश बैंकको मुद्दतीमा एक वर्षभन्दा बढी अवधिमा धेरै निक्षेप रहेको देखिन्छ । किनभने एक वर्ष बढी अवधिको मुद्दतीमा ब्याज खर्च सबैभन्दा धेरै रहेको छ । राष्ट्र बैंककाअनुसार गत साउनमा बैंकहरूले २२ अर्ब ३६ करोड रुपैयाँ मुद्दती निक्षेपमा ब्याज खर्च गरेका छन् । जसमध्ये तीन महिना अवधिको मुद्दतीमा ९६ करोड १९ लाख रुपैयाँ, ६ महिनासम्मको मुद्दतीमा १ अर्ब ७८ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ७ अर्ब २९ करोड रुपैयाँ र एक वर्षभन्दा माथि अवधिको मुद्दतीमा १२ अर्ब २३ करोड रुपैयाँ ब्याज खर्च गरेका छन् । सबैभन्दा बढी निक्षेप रहेको ग्लोबल आइएमई बैंकको ब्याज खर्च पनि उच्च रहेको छ । यस बैंकले मुद्दती निक्षेपमा १ अर्ब ९४ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । जसमध्ये ६ महिना अवधिको मुद्दतीमा १८ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ४५ करोड रुपैयाँ र एक वर्षमाथिको मुद्दतीमा १ अर्ब ३० करोड रुपैयाँ ब्याज खर्च गरेको छ । यस्तै नबिल बैंकले मुद्दती ब्याजमा १ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये एक वर्ष अवधिको मुद्दतीमा ५४ करोड रुपैयाँ, ६ महिना अवधिको मुद्दतीमा २७ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ४८ करोड रुपैयाँ र एक वर्षमाथिको मुद्दतीमा ५० करोड रुपैयाँ ब्याज खर्च गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै एनआईसी एशिया बैंकले मुद्दतीमा १ अर्ब ६६ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । अधिकांश ब्याज खर्च एक वर्षभन्दा माथिको मुद्दतीमा रहेको तथ्याङ्क छ । यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३ महिना अवधिको मुद्दतीमा १ करोड ५० लाख रुपैयाँ र एक वर्ष माथिको अवधिको मुद्दतीमा १ अर्ब ५८ करोड रुपैयाँ गरी कुल १ अर्ब ६० करोड रुपैयाँ ब्याज खर्च गरेको हो । राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र प्रभु बैंकको एक वर्षभन्दा बढी अवधिमा मात्रै निक्षेप रहेको छ । कुमारी बैंकले १ अर्ब ५६ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब १८ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड रुपैयाँ मुद्दती निक्षेपमा ब्याज खर्च गरेका छन् । यस्तै हिमालयन बैंक र सानिमा बैंकको एक वर्ष अवधिको मुद्दतीमा मात्रै निक्षेप रहेको छ । किनभने हिमालयन बैंकले एक वर्ष अवधिको मुद्दतीमा १ अर्ब ३४ करोड रुपैयाँ र सानिमा बैंकले ८२ करोड ७४ लाख रुपैयाँ ब्याज खर्च गरेका छन् । यस्तै लक्ष्मी सनराइज बैंकले एक वर्ष अवधिको मुद्दतीमा ९२ करोड रुपैयाँ र एक वर्ष माथिको मुद्दतीमा ४१ करोड रुपैयाँ गरी कुल १ अर्ब ३४ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । यस्तै प्राइम बैंकले ६ महिना अवधिको मुद्दतीमा ५३ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ४१ करोड रुपैयाँ र एक वर्षमाथिको मुद्दतीमा १३ करोड रुपैयाँ गरी कुल १ अर्ब ९ करोड रुपैयाँ ब्याज खर्च गरेको हो । कृषि विकास बैंकले ९७ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ९१ करोड रुपैयाँ, एनएमबि बैंकले ८९ करोड रुपैयाँ, एभरेष्ट बैंकले ८८ करोड रुपैयाँ, नेपाल बैंकले ८७ करोड रुपैयाँ, सिटिजन्स बैंकले ८३ करोड रुपैयाँ मुद्दती निक्षेपमा खर्च गरेका छन् । नेपाल एसबीआई बैंकले ७२ करोड रुपैयाँ, माछापुच्छ«े बैंकले ५८ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७ करोड रुपैयाँ मुद्दती निक्षेपमा ब्याज खर्च गरेको राष्ट्र बैंकले जनाएको छ ।

१० वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज हस्तान्तरण, अवरुद्ध सडक जोड्न सहयोग पुग्ने

काठमाडौं । भारत सरकारले १० वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ । ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको भारतीय दूतावासले जनाएको छ । यी सामान वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार साझ हस्तान्तरण गरे । प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने जनाइएको छ । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न यसअघि पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट तथा ब्याग, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतलसहितको २५ टनभन्दा बढीको राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग गरेको जनाएको छ ।

दसैँमा मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या

काठमाडौं । अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । यहाँको प्रतापपुर गाउँपालिका‐६ कठहवाका मुुसहर समुदायलाई भने खासै दसैँ लागेको छैन । स्थानीय रामनरेश मुसहरले भने, ‘घरमा अन्न छैन, खल्तीमा सुको छैन अनि कसरी दसैँ लाग्नु हजुर !।’ छरछिमेकमा दसैँको रौनक छाउँदा आफूहरू भने दुई छाकको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहेको उनको भनाइ छ । ‘छिमेकी बस्तीमा हुने खानेले दुुर्गा मुुर्ति बनाएर बाजासहित धुुमधामका साथ दसैँ मनाइरहेका छन् । स्थानीय बजारमा नयाँ(नयाँ लुुगा, खानेकुरा, भाँडाकुँडा किन्नेको भीडभाड छ,’ रामनरेशले भने, ‘दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने हामीहरूलाई भने दसैँमा कसैले काम नदिने भएकाले चुलो कसरी बाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।’ उनका अनुसार दसैँमा सबैले नयाँ लुगा लगाउँछन्, मन परेका परिकार खान्छन्, हामीलाई पनि खान र लाउन मन लाग्छ, तर पैसा छैन समस्या भनेको चरम गरिबीछ अरुजस्तै खान लाउनको लागि पैसा चाहिन्छ पैसा नभएपछि हामी मनलाई मारेर आ-आफनो घरमा बसिरहेका छौँ । उनी घरका ठूला मान्छेले आफ्नो बाध्यता बुझे पनि बालबालिकाले भने अरूको जस्तै राम्रो लाउने र मिठोमसिनो खाने चाहना राख्दा सम्झाउनै समस्या भएको बताँछन् । ‘चाडपर्वमा अरूले रमाइलो गर्छन् तर हामीलाई यो समय किन आउँदो हो भन्ने लाग्छ । चरम गरिबीका कारण यस्ता चाडबाड हामीलाई गिज्याउन मात्रै आएजस्तो लाग्छ । बालबच्चाको चाहना पूरा गर्न नसक्दा सधैँजसो निराश भएरै पर्वहरू बित्छन्,’ उनले दुःखेसो पोखे । पूर्वमन्त्री हृदयेश त्रिपाठीको गाउँ नजिकै रहेको यो बस्तीमा झण्डै ४२ मुसहर परिवार बस्छन् । उनीहरूको आम्दानीको स्रोत भनेकै दैनिकी ज्यालामा काम गर्नु हो । चाडपर्वमा प्रायःजसो काम ठप्प हुने हुँदा उनीहरूले काम पाउने कुरा पनि भएन । त्यसैले थप समस्या हुने गरेको छ । ‘हामीले कमाएको पैसाले त राम्रोसँग खान पुग्दैन, चाडपर्व त कसरी मनाउनु”, स्थानीय ईन्द्रावती मुसहर भन्छिन्, ‘दसैँमा मात्रै होइन, कुनै पनि चाडपर्व हाम्रा लागि दशा बनेर आउँछन् । आज कमाएर आजै खाने हाम्रा लागि सधैँ यस्तै कहर हुन्छ ।’ आफूहरूले स्थानीय सरकारलाई दीगो जीविकोपार्जनका लागि कुनै व्यवस्था गरिदिनका लागि आग्रह गरे पनि सुनुवाइ नभएकाले सधैँ एउटै नियती भोग्नु परिरहेको ईन्द्रावतीले सुनाइन् । ‘आफूहरूको गरिबीबारे यहाँका स्थानीय जनप्रतिनिधिलगायत सबैलाई थाहा छ । हामीले बेलामौकामा उहाँहरूलाई जानकारीसमेत गराएका हुन्छौँ, खै, अहिलेसम्म सुनिदिने कोही भएनन्,’ उनले पीडा पोखिन्, ‘सित्तैमा दिन पनि भनेका छैनौँ, हाम्रो सीपअनुसारको काम दिए पनि हुन्थ्यो । अरू बेला नभए पनि चाडपर्वका बेला हामीलाई र हाम्रा बालबच्चालाई राम्रो लगाउने, मिठो खाने रहर हुन्छ नि१ तर सधैँ सपनामै सिमित हुन्छ ।’ गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव भने अति गरिब र विपन्न समुदायको लागि पालिकाले आर्थिक सहयोगका लागि बजेट विनियोजन गरेकाले सो रकमबाट दसैँका लागि खाद्यान्न सहयोग गर्ने तयारी भइरहेको बताउँछन् । ‘दसैँको अवसरमा उनीहरूलाई खाद्यान्नलगायत सामग्री वडा कार्यालयमार्फत वितरण गर्ने तयारी छ,’ उनले भने । यहाँका मुसहर समुदायको आफ्नो नाममा जग्गासमेत छैन । उनीहरूले पुस्तौदेखि उखडा जग्गामा फुसको छाप्रो बनाएर गुजारा गर्दै आएका छन् । अरू समय ज्यालादारीमा काम गरेर जीविको चलाए पनि चाडपर्वमा कुनै काम नपाइँदा समस्या हुने गरेको छ ।