विकासन्युज

पोखरामा ट्याक्सी चालकले यात्रुलाई बाध्य बनाएर बढी भाडा असुल गर्दै

म्याग्दी । पोखरा जानका लागि मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले चार हजार रुपैयाँ भाडा मागे । रघुगंगा–२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले छ हजार रुपैयाँ भाडा मागेको मागेको गुनासो गरिन् । ‘काउन्टरमा पालो कुरेर बस्ने ट्याक्सीले तोकिएभन्दा बढी भाडा नदिने जान मान्दैनन’, शर्माले भनिन्, ‘काउन्टरमा ट्याक्सी नराख्ने र यात्रुलाई बाध्य बनाएर बढी भाडा तिर्न लगाउँदा हामीलाई मर्का परेको छ ।’ बेनी–पोखरा सडकमा सञ्चालन हुने ट्याक्सीका चालकले चाडपर्वका अवसरमा आफूखुसी भाडा तोक्ने गरेको अन्य यात्रुहरूले पनि गुनासो गर्ने गरेका छन् । सरकारले बेनी–पोखरा दूरीका लागि ट्याक्सीका लागि प्रतियात्रु आठ सय ५० रुपैयाँका दरले भाडादर निर्धारण गरेको छ । चार जना क्षमताको ट्याक्सी रिजर्भ गर्दा अधिकतम तीन हजार चार सय रुपैयाँ भाडा तिर्नुपर्छ । तर ट्याक्सी चालकले भने रिजर्भमा गर्दा चार हजार रुपैयाँदेखि छ हजार र रिजर्भ नहुँदा प्रतियात्रु एक हजार दुई सय ५० रुपैयाँदेखि दुई हजार रुपैयाँ भाडा लिने गरेको बेनीका कृष्ण खत्रीले गुनासो गरे । दसैँ तिहारको समयमा यात्रुको चाप र सवारी साधनको अभावको मौका छोपेर बेनी–पोखरा सडकमा जिप र ट्याक्सीले बढी भाडा असुल गरेको उनले दाबी गरे । कूल ८३ किलोमिटर दुरीको बेनी–पोखरा सडकमा सेवा दिने दुई सयभन्दा बढी ट्याक्सी छन् । उपचारका लागि अस्पताल, सरकारी कार्यालय, व्यक्तिगत र व्यावसायिक कामले पोखरा जान आउनका लागि म्याग्दीबासीले ट्याक्सी प्रयोग गर्छन् । गण्डकी प्रदेशमा कास्कीपछि म्याग्दीमा धेरै ट्याक्सीको चल्छन् । मुस्ताङ र म्याग्दीका विभिन्न पर्यटकीय स्थल घुम्न आउने र फर्कने यात्रुहरुको चाप पनि बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेर बढी भाडा असुल गर्ने, यात्रुलाई दुख दिने र सवारी साधन नपाएर अलपत्र परेका सर्वसाधारणलाई सहयोग गर्दै आएको बताए । तोकिएको भन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही पनि भइरहेको केसीले बताए । तोकिएभन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था रहेको उनको भनाइ छ । बेनी–पोखरा सडकमा ट्याक्सी सेवा दिँदै आएको बेनी यातायात प्रालिका सञ्चालक भोजबहादुर थापा ९कुमार०ले तोकिएभन्दा बढी भाडा नलिन सचेत बनाएको र त्यस्तो पाइए कारबाहीका लागि प्रहरीलाई सघाउने प्रतिबद्धता जनाए । गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले चाडपर्वको समयमा बजार अनुगमन, यातायात भाडादरमा हुने ठगी र कालोबजारी नियन्त्रणका लागि सांसद गणेश गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उपसमितिका सदस्य रहेका म्याग्दीबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले चाडपर्वको समयमा सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटनाको जोखिमका साथै तोकिएको भन्दा बढी भाडा असुल हुँदा यात्रुहरु मर्कामा परेको पाइएको बताए । उनले यातायात व्यावसायी, प्रशासन र प्रहरीलाई गुनासोबारेमा जानकारी गराएर कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको बताए । रासस

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ रुपैयाँ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ । सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थटी सार्वजनिक गरेको छ। ट्रान्सफ्रम एब्री मोमेन्टको नारासहित ल्याइएको यो फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको हो । स्पार्क थटीका विशेषताहरूमा ६४ एमपीको सोनी क्यामेरा, शक्तिशाली मिडियाटेक हिलियो जी ९१ प्रोसेसर, १६ जीबी सम्मको र्याम८, र २५६ जीबी स्टोरेज रहेको छ । स्टोरेजलाई माइक्रोएसडी कार्ड प्रयोग गरी थप विस्तार गर्न सकिन्छ । ५००० एमएएच ब्याट्री क्षमता भएको र १८ वाट फास्ट चार्जिङ सुविधा भएको यस फोनले लामो समयसम्म टिकाउ पर्फमेन्स दिनेछ । साथै, १००० भन्दा बढी चार्ज साइकल सुनिश्चित गर्ने टिकाउ ब्याट्री यसमा समावेश गरिएको कम्पनीले जनाएको छ । बम्बलबी एडिसनको आकर्षक डिजाइनले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको छ । यसको आइपी ६४ धुलो र पानी प्रतिरोध क्षमता फोनलाई टिकाउ र भरपर्दो बनाउँछ । फोनमा इन्फ्रारेड रिमोट कन्ट्रोल सुविधा समेत रहेको छ, जसले यसलाई युनिभर्सल रिमोटको रूपमा प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार फोनमा डबल सिमेट्रिकल स्पिकर सुविधा भएकोले गेमिङ, स्ट्रिमिङ वा संगीत सुन्दासमेत उच्च गुणस्तरको अडियो अनुभव प्रदान गर्दछ। साथै, ५ वर्षको लामो समयसम्म कुनै ल्यागबिना प्रयोगको सुनिश्चितता दिने यो फोन अन्य प्रतिस्पर्धी मोडेलहरूको तुलनामा उत्कृष्ट छ। नेपाली बजारमा स्पार्क थटी (८ं प्लस२५६ जीबी) बम्बलबी एडिसनको मूल्य २२ हजार ९९० रुपैयाँ राखिएको छ भने स्पार्कथटी मोडेलको मूल्य २२ हजार ४९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । टेक्नो ब्रान्ड हाल ७० भन्दा बढी देशमा कार्यरत रहेको छ। ‘स्टप एट नथिङ’ नारासहित कम्पनीले आफ्नो उत्पादनहरूको उत्कृष्टता र नयाँ प्रविधिको विकासमा निरन्तर अग्रसर रहेको छ ।

अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

वासिङ्टन । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुगेका छन् । उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उनले अमेरिकी उद्यमी–व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

तीन महिनामै ८ बैंकको अर्ब बढी नाफा, नबिलले २ अर्ब कमाउँदा यी ५ बैंकबीच प्रतिस्पर्धा

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो भनेको २१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १३ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा गरेका थिए । पहिलो त्रैमासमा ८ वटा बैंकले एक अर्ब बढी नाफा गरेका छन् । बैंकहरूको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । तीन महिनाको अवधिमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु बैंकले नाफा एक अर्ब बढी कमाएका हुन् । यो अवधिमा नबिलले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख, प्राइम कमर्सियलले १ अर्ब २८ करोड ६७ लाख, एनएबि बैंकले १ अर्ब १४ करोड ५६ लाख, कुमारीले १ अर्ब ७ करोड ८१ लाख र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । तीन महिनाको अवधिमा नबिलले करिब ४० प्रतिशतले नाफा बढाएको छ भने ग्लोबलले २३.३६ प्रतिशत, प्राइमले ११.७५ प्रतिशत, एनएमबिले १९ प्रतिशत, एभरेष्टले ४४ प्रतिशत, कुमारीले ३०८ प्रतिशत र प्रभुले ०.६२ प्रतिशत नाफा बढाएको छ । यो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा भने करिब ४ प्रतिशतले घटेको छ । यो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख, नेपाल एसबिआईले ८१ करोड ४६ लाख, हिमालयनले ७२ करोड ६४ लाख, नेपाल बैंकले ६० करोड २१ लाख र लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, यो अवधिमा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख, सानिमाले ३९ करोड ९५ लाख र सिद्धार्थ बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले गत आवको सोही अवधिको तुलनामा ७९१ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा यस बैंकको नाफा ४२ लाख रुपैयाँ मात्रै थियो । यस्तै, सिटिजन्स बैंकले २४ करोड ६ लाख, कृषि विकासले १९ करोड ९ लाख, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड र एनआईसी एशिया बैंकले ११ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मंगलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको बुधबार शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन् ।

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

वीरगञ्ज (पर्सा) । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ६६ लाख ८० हजार बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ । भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ । अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उनको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिंदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गरे । हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उनको विश्वास छ । चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आवको असोज मसान्तसम्ममा छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार ७१२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।