तिहारका लागि भक्तपुरका कुमाले पाला बनाउन व्यस्त (फोटोफिचर)
काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदाय पाला बनाउन व्यस्त छन्। आकर्षक माटोको भाडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन । यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंं, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ र वीरगञ्जबाट समेत माग हुँदै आएकाे छ । भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाे एक स्थानीयले जानकारी दिए । विगतमा भक्तपुरका कुमालेले बाहिर जिल्लामै गएर माटोका भाँडा बनाउने गर्थे । कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ । थोरै भाँडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र पाँच लाखसम्म आम्दानी गर्ने जनाइएको छ । तस्बिरहरू:
नबिल बैंकको नाफा ४० प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ५ अर्ब
काठमाडाैं । नबिल बैंकले २ अर्ब बढी नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको हो । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको हो । यस्तै, बैंकले १० अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको वितरणयोग्य नाफा करिब ५ अर्ब अर्थात् ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वितरणयोग्य नाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी २९.८३ रुपैयाँ र खराब कर्जा ४.२४ प्रतिशत छ । बैंकको सञ्चालन नाफा बढेर २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको कर्जा लगानी र निक्षेप संकलन बढेको छ । बैंकको कर्जा बढेर ३ खर्ब ८१ अर्ब २८ करोड ९० लाख र निक्षेप ४ खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
तिहारमा कुमारी बैंकले ल्यायो क्यासब्याक अफर, ५०१ रुपैयाँसम्म पाइने
काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको हो । बैंकले कार्तिक १४ देखि २२ गते छठ पर्वसम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिने बताएको छ । भाई टिका तथा किजा पूजाको दिनमा मोबाईल बैकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिने छ । साथै, अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरूमा हुने वित्तिय कारोबारहरू विद्युतिय भुक्तानीका माध्यमहरूबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै १ लाख ६६ हजार ७ सय
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । आज तेजाबी सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइहेको छ । जुन हालसम्मकै उच्च हो । त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेर तोलाको २ हजार १३५ रुपैयाँ पुगेको छ ।
पोखरामा ट्याक्सी चालकले यात्रुलाई बाध्य बनाएर बढी भाडा असुल गर्दै
म्याग्दी । पोखरा जानका लागि मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले चार हजार रुपैयाँ भाडा मागे । रघुगंगा–२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले छ हजार रुपैयाँ भाडा मागेको मागेको गुनासो गरिन् । ‘काउन्टरमा पालो कुरेर बस्ने ट्याक्सीले तोकिएभन्दा बढी भाडा नदिने जान मान्दैनन’, शर्माले भनिन्, ‘काउन्टरमा ट्याक्सी नराख्ने र यात्रुलाई बाध्य बनाएर बढी भाडा तिर्न लगाउँदा हामीलाई मर्का परेको छ ।’ बेनी–पोखरा सडकमा सञ्चालन हुने ट्याक्सीका चालकले चाडपर्वका अवसरमा आफूखुसी भाडा तोक्ने गरेको अन्य यात्रुहरूले पनि गुनासो गर्ने गरेका छन् । सरकारले बेनी–पोखरा दूरीका लागि ट्याक्सीका लागि प्रतियात्रु आठ सय ५० रुपैयाँका दरले भाडादर निर्धारण गरेको छ । चार जना क्षमताको ट्याक्सी रिजर्भ गर्दा अधिकतम तीन हजार चार सय रुपैयाँ भाडा तिर्नुपर्छ । तर ट्याक्सी चालकले भने रिजर्भमा गर्दा चार हजार रुपैयाँदेखि छ हजार र रिजर्भ नहुँदा प्रतियात्रु एक हजार दुई सय ५० रुपैयाँदेखि दुई हजार रुपैयाँ भाडा लिने गरेको बेनीका कृष्ण खत्रीले गुनासो गरे । दसैँ तिहारको समयमा यात्रुको चाप र सवारी साधनको अभावको मौका छोपेर बेनी–पोखरा सडकमा जिप र ट्याक्सीले बढी भाडा असुल गरेको उनले दाबी गरे । कूल ८३ किलोमिटर दुरीको बेनी–पोखरा सडकमा सेवा दिने दुई सयभन्दा बढी ट्याक्सी छन् । उपचारका लागि अस्पताल, सरकारी कार्यालय, व्यक्तिगत र व्यावसायिक कामले पोखरा जान आउनका लागि म्याग्दीबासीले ट्याक्सी प्रयोग गर्छन् । गण्डकी प्रदेशमा कास्कीपछि म्याग्दीमा धेरै ट्याक्सीको चल्छन् । मुस्ताङ र म्याग्दीका विभिन्न पर्यटकीय स्थल घुम्न आउने र फर्कने यात्रुहरुको चाप पनि बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेर बढी भाडा असुल गर्ने, यात्रुलाई दुख दिने र सवारी साधन नपाएर अलपत्र परेका सर्वसाधारणलाई सहयोग गर्दै आएको बताए । तोकिएको भन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही पनि भइरहेको केसीले बताए । तोकिएभन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था रहेको उनको भनाइ छ । बेनी–पोखरा सडकमा ट्याक्सी सेवा दिँदै आएको बेनी यातायात प्रालिका सञ्चालक भोजबहादुर थापा ९कुमार०ले तोकिएभन्दा बढी भाडा नलिन सचेत बनाएको र त्यस्तो पाइए कारबाहीका लागि प्रहरीलाई सघाउने प्रतिबद्धता जनाए । गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले चाडपर्वको समयमा बजार अनुगमन, यातायात भाडादरमा हुने ठगी र कालोबजारी नियन्त्रणका लागि सांसद गणेश गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उपसमितिका सदस्य रहेका म्याग्दीबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले चाडपर्वको समयमा सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटनाको जोखिमका साथै तोकिएको भन्दा बढी भाडा असुल हुँदा यात्रुहरु मर्कामा परेको पाइएको बताए । उनले यातायात व्यावसायी, प्रशासन र प्रहरीलाई गुनासोबारेमा जानकारी गराएर कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको बताए । रासस
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ रुपैयाँ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ । सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
टेक्नोले गर्यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक
काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थटी सार्वजनिक गरेको छ। ट्रान्सफ्रम एब्री मोमेन्टको नारासहित ल्याइएको यो फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको हो । स्पार्क थटीका विशेषताहरूमा ६४ एमपीको सोनी क्यामेरा, शक्तिशाली मिडियाटेक हिलियो जी ९१ प्रोसेसर, १६ जीबी सम्मको र्याम८, र २५६ जीबी स्टोरेज रहेको छ । स्टोरेजलाई माइक्रोएसडी कार्ड प्रयोग गरी थप विस्तार गर्न सकिन्छ । ५००० एमएएच ब्याट्री क्षमता भएको र १८ वाट फास्ट चार्जिङ सुविधा भएको यस फोनले लामो समयसम्म टिकाउ पर्फमेन्स दिनेछ । साथै, १००० भन्दा बढी चार्ज साइकल सुनिश्चित गर्ने टिकाउ ब्याट्री यसमा समावेश गरिएको कम्पनीले जनाएको छ । बम्बलबी एडिसनको आकर्षक डिजाइनले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको छ । यसको आइपी ६४ धुलो र पानी प्रतिरोध क्षमता फोनलाई टिकाउ र भरपर्दो बनाउँछ । फोनमा इन्फ्रारेड रिमोट कन्ट्रोल सुविधा समेत रहेको छ, जसले यसलाई युनिभर्सल रिमोटको रूपमा प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार फोनमा डबल सिमेट्रिकल स्पिकर सुविधा भएकोले गेमिङ, स्ट्रिमिङ वा संगीत सुन्दासमेत उच्च गुणस्तरको अडियो अनुभव प्रदान गर्दछ। साथै, ५ वर्षको लामो समयसम्म कुनै ल्यागबिना प्रयोगको सुनिश्चितता दिने यो फोन अन्य प्रतिस्पर्धी मोडेलहरूको तुलनामा उत्कृष्ट छ। नेपाली बजारमा स्पार्क थटी (८ं प्लस२५६ जीबी) बम्बलबी एडिसनको मूल्य २२ हजार ९९० रुपैयाँ राखिएको छ भने स्पार्कथटी मोडेलको मूल्य २२ हजार ४९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । टेक्नो ब्रान्ड हाल ७० भन्दा बढी देशमा कार्यरत रहेको छ। ‘स्टप एट नथिङ’ नारासहित कम्पनीले आफ्नो उत्पादनहरूको उत्कृष्टता र नयाँ प्रविधिको विकासमा निरन्तर अग्रसर रहेको छ ।