१० हजार करोड बराबर भारूको वसियत चार जना, बम्बई उच्च अदालतबाट प्रमाणित हुने
काठमाडौं । भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूहको नेतृत्व गरेका रतन टाटाले करिब १०,००० करोड भारुको सम्पत्ति छोडेर परलोक गए । रतन टाटाले आफ्नो वसियत लागू गर्न चार जनालाई जिम्मेवारी दिएका छन् । आफ्नो वसियतमा उनले आफ्नो जर्मन शेफर्ड कुकुर टिटोको ‘असीमित’ हेरचाह सुनिश्चित गर्न प्रावधानहरू राखेका छन् । भारतमा कुनै उद्योगीले आफ्नो इच्छामा यस्तो व्यवस्था गरेको सायद यो पहिलो पटक हो । पश्चिमी देशहरूमा घरपालुवा जनावरहरूका लागि सम्पत्ति छोड्नु असामान्य होइन, तर यो भारतमा दुर्लभ हाे । रतन टाटाले आफ्नो फाउन्डेशन, भाइ जिमी टाटा, सौतेनी बहिनीहरू शिरिन र डायना जीजीभोय, हाउस स्टाफ र अन्यलाई पनि आफ्नो सम्पत्तिकाे हिस्सेदार बनाएका छन् । टाटाको सम्पत्तिमा अलिबागमा २,००० वर्ग फुटको बंगला, मुम्बईको जुहुमा दुई तले घर, ३५० करोडको एफडी र टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको ०.८३ प्रतिशत सेयर समावेश छ । टिटोको हेरचाह गर्ने जिम्मेवारी रतन टाटाले आफ्ना कुक राजन शालाई दिएका छन् । वसियतमा तीन दशकदेखि रतन टाटासँग सम्बद्ध रहेका बटलर सुब्बैयाका लागि पनि प्रावधानहरू राखिएका छन् । रतन टाटाले आफ्नो विदेश यात्राको क्रममा शा र सुब्बियाका लागि डिजाइनर कपडाहरू किनेका थिए भन्ने विश्वास गरिन्छ । शान्तनु नायडूले के पाए ? वसियतमा रतन टाटाका कार्यकारी असिस्टेन्ट शान्तनु नायडूको नाम पनि छ । टाटाले नायडूको भेन्चर गुडफेलोमा आफ्नो हिस्सेदारी छाडेका छन् । उनले विदेशमा अध्ययनका लागि नायडूले लिएको व्यक्तिगत ऋण पनि माफ गरेका छन् । टाटा समूहको परोपकारी ट्रस्ट्सको सेयरलाई छाेड्ने परम्परा छ । रतन टाटाले यसको खण्डन गरेका छन् । उनको सेयर रतन टाटा एन्डाेमेन्ट फाउन्डेसन (आरटीईएफ) लाई हस्तान्तरण गरिनेछ । स्रोतका अनुसार टाटा सन्सका प्रमुख एन चन्द्रशेखरन आरटीईएफको अध्यक्ष बन्न सक्नेछन् । रतन टाटा कोलाबाकाे हेल्काई हाउसमा बस्थे । यो टाटा सन्सको १००% सहायक कम्पनी इभर्ट इन्भेस्टमेन्टको स्वामित्वमा छ । यसको भविष्य इभर्टले नै तय गर्नेछ । हेल्काई हाउस र अलिबाग बंगला रतन टाटाले नै डिजाइन गरेका थिए । तर, अलिबागको सम्पत्तिको विषयमा भने अझै स्पष्ट भइसकेको छैन । जुहू हाउस एक चौथाई एकडमा फैलिएको छ । यो रतन टाटा र उनको परिवारकाे विरासतमा प्राप्त भएकाे थियाे । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको र अहिले बिक्री गर्ने योजना रहेको स्रोतले जनाएको छ । कसले पाउँछ गाडीको फ्लीट ? टाटा सन्सको सेयरबाहेक टाटा समूहका अन्य कम्पनीहरूमा रतन टाटाको सेयर पनि आरटीईएफमा हस्तान्तरण गरिनेछ । सन् २०२२ मा स्थापित आरटीईएफ सेक्सन ८ कम्पनी हो जुन गैर-लाभकारी कारणहरू प्रवर्द्धन गर्नमा केन्द्रित छ । यसले २०२३ मा टाटा टेक्नोलोजीजको आईपीओभन्दा ठीक अगाडि टाटा मोटर्सबाट १४७ करोड भारुमा टाटा टेक्नोलोजीको सेयरहरू खरिद गरेर आफ्नो पहिलो इक्विटी लगानी गर्यो । यसपछि टाटा डिजिटलमा सानो सेयर खरिद गरियो । रतन टाटाले आरएनटी एसोसिएट्स र आरएनटी सल्लाहकारमार्फत लगानी गरेका थिए । यो लगानी बेचेर आय आरटीईएफलाई दिइनेछ । रतन टाटासँग २०-३० वटा गाडी थिए । यसमा धेरै लक्जरी मोडलहरू पनि समावेश छन् । यी गाडीहरू कोलाबाको हलेकाई हाउस र ताज वेलिंगटन मेउज सेवा अपार्टमेन्टमा राखिएका छन् । यो संग्रह अझै विचाराधीन छ । टाटा समूहले तिनीहरूलाई किन्न र पुणे संग्रहालयमा राख्न सक्छ वा तिनीहरूलाई लिलामी हुनसक्छ । धनीको सूचीमा छैन नाम रतन टाटाका धेरै पुरस्कार र सम्मान टाटा सेन्ट्रल अर्काइभ्सलाई दान गरिने छ ताकि उनको विरासतलाई भावी पुस्ताका लागि सुरक्षित गर्न सकोस् । १०० अर्ब डलरभन्दा बढीको टाटा समूहको नेतृत्व गरे पनि रतन टाटाको समूहका कम्पनीहरूमा सीमित हिस्सेदारी थियो । यही कारण उनी धनीको सूचीमा कहिल्यै परेनन् । उनको वसियतको बम्बई उच्च अदालतबाट प्रमाणित हुने अपेक्षा गरिएको छ । यो प्रक्रियामा धेरै महिना लाग्न सक्ने विश्वास पनि गरिएकाे छ ।
रविको पक्राउविरुद्ध माइतीघरमा रास्वपाको प्रदर्शन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । गत शुक्रबार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरूसम्म सहभागी बनेका थिए । सभापति लामिछानेमाथि सहकारी गठी र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ । आजदेखि काठमाडौंमा आन्दोलन निरन्तर जारी रहने रास्वपाका नेताहरूले बताएका छन् । उनीहरूले हातमा सरकारबिरोधी पम्प्लेट बोकेर सरकारविरोधी नारा लगाइ विरोध जनाएका हुन् ।
वीरगञ्ज नाका हुँदै सवारीसाधनको आयात घट्यो, ६० प्रतिशत भन्दा कम आयात
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ । चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा जीप, कार र भ्यानको परिमाणको आधारमा ६६ दशमलव ०९ प्रतिशतले घटेको देखिन्छ । सोही अवधि राजस्व संकलनको आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले गिरावट आएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा पनि अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताए । ‘व्यवसायीले जुनसुकै नाकाबाट सवारीसाधन भित्राए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’ उनले भने,‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमासमेत वृद्धि हुदैँ आइरहेको छ ।’ गत आवको तीन महिनाको अवधिमा भने ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यानको आयात भएको थियो । पेटोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधनको मात्रै आयात घटेको होइन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक, कार, जीप र भ्यानको आयातमा पनि ठूलो गिरावट आएको छ । चालु आवको तीन महिनाको अवधिमा वीरगञ्ज नाकाहुँदै नौ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछानेले इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज नाकाबाट भन्दा पनि उत्तरी नाकाबाट धेरै भित्रिने बताउँछन् । इलेक्ट्रिक सवारीसाधन व्यापारीले उत्तरी नाकाबाट भित्र्याउने गर्छन् भने ठूला सवारीसाधन भने वीरगञ्ज नाका हुदैँ भित्रिन्छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले गिरावट आएको छ । सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा पनि ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा ३५ करोड नौ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा इलेक्ट्रिक सवारीसाधन आयात भएको थियो । चालु आवको तीन महिनाको अवधिमा सात करोड ३२ लाख १७ हजार रुपैयाँ मूल्य पर्ने ३२ वटा ट्रक, मिनि ट्रकको आयातमा भएको छ । जबकी गत आवको तीन महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा भने ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको छ । गत आवको तीन महिनाको अवधिमा ट्रक मिनि ट्रक २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए । त्यस्तै चालु आवको तीन महिनाको अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि खस्किएको छ । चालु आवको तीन महिनाको अवधिमा नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ । जबकी गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने पिकअप तथा डेलिभरी भ्यानको आयात ६३ दशमलव ६४ प्रतिशतले घटेको छ । जबकी गत आवको सोही अवधिमा भने १४ करोड १५ लाख मूल्यपर्ने एक सय ३२ पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवामा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको हाे । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र दुषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गरे । समझदारीअनुसार बैंकका ग्राहकले दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवा खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमीङ पुल, ज्याक्कुजी, स्टीम र सौनाको प्रयोगवापत भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत निश्चित छुट पाउनेछन् । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरुले उक्त घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा सञ्चालित सो विद्यालयको होस्टेलका ६ बालबालिकाको बाढीपहिरोबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार भएको भेटमा पीडितपरिवारले अघिल्लो दिनदेखि नै वर्षा भइरहेको र कुलेखानी विद्युत् गृहको बाँध खोल्ने सूचना भएको अवस्थामा बालबालिलाई विद्यालयबाट सुरक्षित स्थानमा लैजानुपर्नेमा लापबारही भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवद्र्धन गर्न पीडित परिवारले आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त घटना अत्यन्त दुःखद् भएको उल्लेख गर्दै यसबारेमा यथार्थ जानकारी लिने पीडित परिवारलाई विश्वास दिलाए । उनले पीडितका पक्षमा सरकार रहने स्पष्ट गरे । भेटका अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी थिए ।
टेस्लाको सेयरमूल्य बढ्यो, एलन मस्कले एकैदिन कमाए ३३.५ अर्ब डलर-
एलाेन मस्क काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बिहीबार ३३.५ अर्ब डलर (करिब ४५ खर्ब नेपाली रूपैयाँ) ले बढेको छ । योसँगै मस्कको कुल सम्पत्ति २ सय ७० अर्ब डलर पुगेको छ । मस्कको इलेक्ट्रिक कार निर्माण कम्पनी टेस्लाको सेयर २२ प्रतिशतले बढेको छ, जुन सन् २०१३ यताको एक दिनमा सबैभन्दा राम्रो प्रदर्शन हो । तेस्रो त्रैमासिकको नतिजापछि कम्पनीको सेयरमूल्य बढेको हाे । यस कम्पनीमा मस्कको १३ प्रतिशत सेयर छ । मस्कको कुल सम्पत्तिमा टेस्लाको हिस्सा करिब तीन चौथाई छ । टेस्लाबाहेक मस्कको स्पेस एक्स, एक्स (पूरानाे ट्वीटर), एआई भेन्चर एक्सएआईमा पनि हिस्सेदारी छ । यस वर्ष मस्कको कुल सम्पत्ति ४१.२ बिलियनले बढेको छ । विश्वका धनी व्यक्तिको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस २०९ अर्ब डलरको सम्पत्तिका साथ दोस्रो स्थानमा छन् । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग (२०१ बिलियन डलर) सहित यो सूचीकाे तेस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ७२.९ बिलियनले बढेको छ । एनभीडीयाका जेन्सेन हुवाङ यस वर्ष सबैभन्दा बढी कमाइ गर्नेमा सबैभन्दा अगाडि छन् । यस वर्ष उनको कुल सम्पत्ति ७८.६ बिलियनले बढेको छ । उनी १२३ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा ११ औं स्थानमा छन् ।
बजारमा सिटामोल अभाव भएको विषय हल्लामात्र हो: औषधि लिमिटेड
काठमाडौं । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, ‘हामीले नियमित उत्पादन गरिरहेका छौं । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।’ उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ । ‘डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौं । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छाैं । खरिद-बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ,’ प्रबन्ध निर्देशक पनेरुले भने । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो । खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ । लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौं, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ । उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।
खाँदबारी-किमाथांका खण्ड निर्माणले तीव्रता पायो
सङ्खुवासभा । जिल्लाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथांका खण्डमा निर्माणले तीव्रता पाएको छ । भौगोलिक रुपमा विकट मानिएको खाँदबारी–किमाथांका सडकको आठ किलोमिटर ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथांका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । उक्त खण्डको १० किमीमध्ये आठ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । किमाथांका–जोगवनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रुपमा मानिन्छ । ट्र्याक खोल्न बाँकी दुई दशमलव शून्य एक किमी पनि यही वर्ष जोडिने तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ । यो ट्र्याक खुल्लेसँगै यो वर्ष जोगवनी–विराटनगर–किमाथांका जोडिने आयोजना प्रमुख शम्सेर सिंहले जानकारी दिए । उनका अनुसार भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब १० दशमलव पाँच किमी खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भन्दै विसं २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो । हालसम्म नेपाली सेनाले आठ किमी सडकको ट्रयाक खोलिसकेको प्रमुख सिंहले बताउँदै छ दशमलव किमी खण्ड स्तरोन्नतिसमेत गरिसकेको जानकारी दिए । सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ । सो सडकबाट कोसी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट वरुण दोभानसम्मको खण्डमा हिउँदको समयमा मात्रै गाडी सञ्चालन हुने गरेको छ । सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडकसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथांका सडक निर्माणमा हालसम्म ५३ करोड रुपैयाँ खर्च भइसकेको अयोजना कार्यालयले जनाएको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण साम्रगी ढुवानी गरेर ट्र्याक खोल्ने काम गरिरहेको हो ।