विकासन्युज

जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार तीन सय १५ रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । पक्राउ परेकालाई इप्रका बनेपामा राखी आइतबार म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले यसअघि बुधबार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई ९५ हजार रुपैयाँ नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गैरआवासीय नेपालीलाई नेपालमा ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

वासिङ्टनडिसी । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन् । अमेरिकाका विभिन्न राज्यमा रही विभिन्न पेशा व्यवसाय गर्दै आएका नेपाली समुदायलाई शनिबार नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले जनतामा रहेको निराशा चिर्दै, आशा जगाउने र सुन्दर भविष्य निर्माण गर्ने दिशामा वर्तमान सरकार क्रियाशील रहेको बताए । उक्त अवसरमा उपप्रधानमन्त्री पौडेलले गैरआवासीय नेपालीहरूलाई नेपालमा ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत उच्च सम्भावनाका क्षेत्रमा लगानी गर्न आग्रह गरे । साथै, उपप्रधानमन्त्री पौडेलले गैर आवासीय नेपाली नागरिकहरूलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्यनमा जाने अन्तिम चरणमा रहेको पनि जानकारी दिए । ‘नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाईंहरूको लगानी सुरक्षाको ग्यारेन्टी गर्दछ, तपाईंहरूले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने गरी कानुनी एवं प्रक्रियागत प्रबन्ध मिलाउँदै छ,’ उपप्रधानमन्त्री पौडेलले अगाडि ‍भने, ‘व्यक्तिगत रूपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न पनि म साथीहरूलाई आग्रह गर्दछु ।’ गैरआवासीय नेपालीहरूले नेपालको भाषा, संस्कृति, सभ्यता र जीवनशैलीलाई अवैतनिक वाणिज्यदूतको रूपमा विश्वभर फैलाउन योगदान गरेको उल्लेख गर्दै उनले आफ्नो मातृभूमि प्रतिको आस्था, विश्वास र सम्मानप्रति गैरआवासीय नेपालीहरूलाई धन्यवाद दिए । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्‍घका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्बद्ध कानुनहरूलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको उल्लेख गर्दै नेपालमा लगानीका लागि प्रशस्त अवसर र संभावना भएकाले गैरआवासीय नेपालीहरूलाई विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई मुलुकको विकासमा उपयोग गर्न आग्रह गरे । नेपालमा लगानीका लागि उच्च संभावना र प्रतिफलको अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य र साझेदारी गर्न तत्पर रहेको पनि बताए । कार्यक्रममा अमेरिकामा रहेर विभिन्न पेशा व्यावसाय गर्दै आएका गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने सम्बन्धमा आफ्ना अनुभव तथा सुझावहरू राखेका थिए ।

प्रचण्डलाई ओलीको जवाफ : हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आइतबार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नागरिकलाई धम्क्याएर पुनः सत्ता प्राप्ति गर्छु भन्ने नठान्न चेतावनी दिएका हुन् । अध्यक्ष दाहाललक्षित टिप्पणी गर्दै उनले शनिवार काठमाडौंमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा दाहालले आफूहरुले हतियार चलाउन नबिर्सिएको र बिसाएको मात्रै भन्ने शब्दहरु प्रयोग गर्दै भाषण गरेको भन्दै हतियार कसरी बिसाउन लगाउने भन्नेकुराको राम्रो ज्ञान आफूलाई रहेको बताए । धम्क्याएर खान पाउने भ्रम अब नपाल्न आग्रह गरे । ‘हिजो एक जन उफ्रिउफ्रिकन भाषण गर्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि । धम्क्याएका भरमा खाने, म त्यसलाई फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ तरिका थाहा छ पनि नभनौँ’, उनले भने । प्रधानमन्त्री ओलीले एनआरएनएमा कुनै राजनीतिक दल र सरकारको हस्तक्षेप नहुने बताए । ढुक्क भएर आफ्ना कार्यक्रमहरु स्वतन्त्र रुपमा गर्न आग्रहसमेत गरे । आफू एमालेको प्रधानमन्त्री नभइ देशको प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको रुपमा कसैप्रति पनि भेदभाव गर्न नहुने बताए । ‘पोल्टिकल पार्टीहरुका आफ्नै संगठनहरु होलान्, त्यसले आफ्ना काम आफैँ गर्लान्, यस संगठनभित्र राजनीतिक वार नगरौँ’, उनले भने । प्रधानमन्त्री ओलीले सबै एनआरएनएहरु एकताबद्ध भएर देश विकासमा लाग्न आग्रह गरे ।

सन्तोषी र सन्तोषलाई माल्दिभ्स रोड रेसको उपाधि

काठमाडौं । माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि नेपाली खेलाडीहरुले जितेका छन् । मालदिभ्सको हुलहुमालेमा भएको १५ औं धिरागु माल्दिभ्स रोड रेसमा नेपालका गोल्डेन गर्लको उपनामले चिनिने धाविका सन्तोषी श्रेष्ठ र धावक सन्तोष विक्रम बिष्टले दुई–दुई वटा स्वर्ण जितेका हुन् । माल्दिभ्सको एथलेटिक क्लब आइल्याण्ड रनर्स माल्दिभ्सको तर्फबाट व्यवसायिक खेल खेल्दै शुक्रबार बिहान र बेलुकी भएको दुई खेलमा सन्तोषी र सन्तोषले मुख्य विधा हाफ म्याराथन र ५ किलोमिटरमा स्वर्ण हात पारेका हुन् । सन्तोषीले २१ किलोमिटर १ घण्टा २६ मिनेट ५७ सकेण्ड र ५ किलोमिटर १७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । पुरुषतर्फ सन्तोषले २१ र ५ किलोमिटर दौड क्रमशः १ घण्टा १४ मिनेट २६ सेकेण्ड र १५ मिनेट २८ सेकेण्डमा दूरी पार गरे । मुख्य विधा हाफ म्याराथनमा सन्तोषीले साम्हा अहमेद र निजमीना अहमेदलाई पाछि पार्दै उपाधी जितेकी हुन् भने सन्तोषले हुसेन फजिल र युसुफ इब्राहिमलाई पछि पारेका हुन् । यससँगै दुवै नेपाली खेलाडी २५ हजार र १० हजार गरी कुल ३५ हजार माल्दिभियन रुपिया (नेपाली रुपैयाँ ३ लाखभन्दा बढी) हात पारेका छन् ।

वैदेशिक रोजगार बोर्डका हाकिमले २० लाख घुस लिएको आरोप

काठमाडाैं । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक (ईडी) डा. द्वारीक उप्रेतीले २० लाख रुपैयाँ घुस लिएको उजुरी परेको छ । उनले डेर्नमार्कका अवैतानिक श्रम दूत बनाइदिने भन्दै भूपाल विश्वकर्मा नाम भएका व्यक्तिबाट २० लाख रुपैयाँ लिएको आरोपसहितको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएको हो । कार्यालयले उक्त विषयको छानविन गर्नका लागि श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयलाई पत्र पठाइसकेको मन्त्रालयका सहसचिव निश्चल पाण्डेले विकासन्यूजलाई जानकारी दिए । उनले भने,  ‘२० लाख लिएको उजुरी परेको भन्दै छानविनका लागि मन्त्रालयलाई कार्यालयले पत्र पठाएको छ । छानविन समिति पनि गठन भइसकेको छ ।’ उनका अनुसार उप्रेतीलाई मन्त्रालयमा तानिएको छ । छानविनका लागि उपसचिव शारदा राउतको नेतृत्वमा समिति पनि गठन भएको छ । मन्त्रालयले हाल बोर्डको नेतृत्वको लागि सहसचिव जीवलाल भूसाललाई जिम्मेवारी दिएको छ । छानविन समितिको संयोजक राउतले अबको केही दिनमा नै छानविन सुरु हुने बताइन् । आरोपका विषयमा विकासन्यूजले उप्रेतीसँग साेधपुछ गर्न खाेजेकाे थियाे तर फोन रिसिभ भएन ।

अस्ट्रेलियामा टेक्सास कलेजलाई उत्कृष्ट आइटी कलेजको उपाधि

काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजले उत्कृष्ट आइटी कलेजको उपाधि जितेको छ। अस्ट्रेलियाको अस्ट्रेलिया नेशनल युनिभर्सिटीमा आयोजित एक कार्यक्रममा कलेजले उपाधि जितेको हो । टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठले अवार्ड ग्रहण गरे । उक्त कार्यक्रम कलेज रिडर्स म्यागेजिनले आयाेजना गरेकाे थियाे । साेही अवसरमा उत्कृष्ट शैक्षिक संस्था तथा व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो । निर्णायक मण्डलले नेपालका विभिन्न कलेजहरूको आइटी शिक्षा, नवप्रवर्तन र विद्यार्थीहरूको सफलतालाई आधार मानेर मूल्याङ्कन गरेको मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपकबहादुर शाक्यले जानकारी दिए । उनकाे संयाेजकत्वमा निर्णायक मण्डल गठन गरिएकाे थियाे । अवार्ड ग्रहण गरेपश्चाते टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ ।

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ६७ हजार ४ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक ७ गते सुनकाे मूल्य एक लाख ६६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे । उक्त रेकर्ड आज ताेडिएकाे हाे । यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।

अब पुरुषका लागि पनि गर्भनिरोधक चक्की

काठमाडौं ।  गर्भ रोक्न के गर्नुपर्छ ? सजिलो उत्तर हो- परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने । अस्थायी साधन महिलाका लागि थरिथरिका छन् भने पुरुषहरूका लागि मात्र कण्डम एउटा अस्थायी साधन हो । त्योभन्दा अर्को विकल्प भनेको प्राकृतिक विधि हो, जुन वीर्य स्खलन गर्नुअघि लिंगलाई योनीबाट बाहिर निकाल्नु । तर, यो विधिले गर्भ रोक्छ भन्ने यकिन हुँदैन । महिलाका लागि सुइदेखि खाने चक्कीहरू उपलब्ध छन् । तर, अब भने पुरुषहरूका लागि पनि गर्भनिरोधक चक्कीहरू पनि बजारमा आएको छ । जसले अनिच्छित गर्भबाट बच्न सहयोग पुग्ने छ । अहिले विश्वभर दुई अरबभन्दा बढी पुरुषहरू छन्, जो आफ्नो प्रजनन उमेरमा छन्, अर्थात् पिता बन्ने सबैभन्दा राम्रो उमेरमा । कयौं पटक अनिच्छित गर्भधारणका घटना पनि बाहिर आउने गर्छन् । महिलाहरूले अक्सर अनावश्यक गर्भधारणबाट बच्नको लागि भार वहन गर्नुपर्छ, जबकि पुरुषहरूले आफ्नो प्रजनन रोक्नको लागि कुनै विकल्प छैन । हामी भन्न सक्छौं कि पुरुषहरू अनावश्यक गर्भावस्था रोक्न कुनै पनि तरिकाले मद्दत गर्न सक्षम छैनन् । यस्तो अवस्थामा अहिले खुसीकाे खबर आएकाे हाे । अब पुरुषहरूको लागि अनावश्यक गर्भावस्था रोक्न धेरै विकल्पहरू छन् । पुरुषहरूसँग पनि यस्ता धेरै विकल्पहरू छन् जुन तुरुन्तै किन्न सकिन्छ । तर, गर्भवती हुन नदिन बजारमा जे पनि पाइन्छ, त्यहाँ कुनै सय प्रतिशत ग्यारेन्टी छैन कि तिनीहरू पूर्ण रूपमा प्रभावकारी हुनेछन् वा हुनेछैनन्। प्रजनन् क्षमता नियन्त्रणमा पुरुषको चासो अहिले विश्वभर अधिक पुरुषहरूले आफ्नो प्रजनन क्षमता नियन्त्रण गर्न चासो देखाउँछन्। गेट्स फाउन्डेसन र संयुक्त राष्ट्रसंघजस्ता संस्थाहरूद्वारा समर्थित विश्वव्यापी अध्ययनले पुरुषहरूमा गर्भनिरोधकहरूमा रुचि बढ्दै गएको देखाएको छ । बंगलादेशमा ७६ प्रतिशत, नाइजेरियामा ७६ प्रतिशत, भियतनाममा ७० प्रतिशत, कंगोमा ६६ प्रतिशत,आइभरी कोस्टमा ६२ प्रतिशत पुरुष, केन्यामा ५२ प्रतिशत पुरुष र अमेरिकामा ३९ प्रतिशत पुरुषले यसमा चासो देखाएका छन् । पुरुषहरूका लागि गर्भनिरोधक विकल्पहरू पुरुषहरूले खान र प्रयोग गर्न मिल्ने गर्भनिरोधकका लागि वैज्ञानिकहरू सयभन्दा बढी आविष्कारहरूमा काम गरिरहेका छन् । कतिपय विधिहरूले शुक्राणुको विकास हुनबाट रोक्छ । अन्य विधिहरूले शुक्राणुलाई पौडी खेल्नबाट रोक्नमा ध्यान केन्द्रित गर्छ, जसले शुक्राणु अण्डामा पुग्न सक्दैन । अन्य विधिहरूले शुक्राणुलाई फेरि रोक्छ । केही प्रविधिहरूले शुक्राणुलाई अण्डा निषेचन गर्नबाट रोक्न सक्छ । अहिलेसम्म पुरुषहरूको लागि नयाँ गर्भनिरोधक विधिहरू विकास गर्ने प्रयासहरू बारम्बार असफल भएका छन् । हालसम्म काँधमा लागू गरिएको एनईएस/टी  जेल क्लिनिकल परीक्षणहरूमा दौडको नेतृत्व गरिरहेको छ । थप रूपमा त्यहाँ कन्ट्रालाइन भनिने जेल छ जसले शुक्राणु बोक्ने नलिकालाई रोक्छ र तपाईंको रोजाइको गैर–हर्मोनल दैनिक गोली पनि हुन्छ । अहिले मानिसमा यसको परीक्षण भइरहेको छ तर आगामी ५ देखि १० वर्षमा यो बजारमा उपलब्ध हुनेछन् । पुरुषहरूको लागि जन्म नियन्त्रणमा काम गरिरहेकी नर्स ल्याब्रिट भन्छिन्, ‘अहिले पुरुषहरूले थर्मल गर्भनिरोधक प्रयोग गर्न सक्छन्, यसका लागि पर्खनु पर्दैन।’ ल्याब्रिटले आफ्नो व्यक्तिगत समस्यालाई ध्यानमा राखेर यी सिलिकन रिङ्हरू आविष्कार गरेका हुन् । थर्मल गर्भनिरोधक शुक्राणु उत्पादन तापमानप्रति संवेदनशील हुन्छ । याे रिङ्ग अण्डकोषलाई शरीरको नजिक लैजान्छन्,जसले गर्दा शरीरको प्राकृतिक तापलाई सोस्न सक्षम हुन्छ । तापक्रममा केही डिग्रीको वृद्धिले पुरुषको प्रजनन क्षमतालाई अस्थायी रूपमा रोक्न सक्छ । तताउने प्याचसहितको थर्मल अन्डरवेयर फ्रान्समा बिक्री भइरहेको छ । यसमा अण्डकोषलाई तातोको तहमा बेर्छ, जसले शुक्राणु उत्पादनमा बाधा पुर्‍याउँछ। प्रजनन अनुगमन गर्ने मुख्य तरिकाहरूमध्ये एक सेमिनोग्राम (वीर्य परीक्षण) मार्फत हो, जसले शुक्राणुको गुणस्तर मूल्याङ्कन गर्दछ । यो समस्या समाधान गर्न एक जर्मन खोजकर्ता डा. रोल्फ तोबिशले एक होम सेमिनोग्राम विकसित गरेको छ । यो एक उपकरणमार्फत  घरमा बसेर आफ्नो फर्टिलिटी जाँच गर्न सकिन्छ । तर, यो उत्पादन बजारमा ल्याउनु चुनौती बनेको छ । यसका लागि चिकित्सा प्रमाणीकरण गर्न धेरै समय लाग्नुकाे साथै महँगो पनि छ । ठूला औषधि कम्पनीहरू यसमा लगानी गर्न तयार छैनन्। उनीहरूले एक महिनाको १० मिनेट मात्र अण्डकोषलाई तताउने थर्मल गर्भनिरोधक उपकरण पनि विकास गरेका छन् । यसले पुरुषको प्रजनन क्षमतालाई अस्थायी रूपमा रोकेको उनीहरूको दाबी छ । ‘मेडिकल प्रमाणीकरणमा धेरै वर्ष लाग्न सक्छ,’ तोबिशले भने, ‘व्यापक प्रयोगशाला अनुसन्धान, क्लिनिकल परीक्षण र स्वास्थ्य अधिकारीहरूबाट स्वीकृति चाहिन्छ।अन्तिम उपायको रूपमा, धेरै आविष्कारकहरूले आफ्ना उत्पादनहरूलाई सेक्स वा स्वस्थ खेलौनाको रूपमा छुट्टै ब्रान्ड गर्छन्।’