विकासन्युज

छठ पर्व सु्रु, आज नहाय खाय

काठमाडौं । आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएको छ ।अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ । बजारमा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ । छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घय दिएपछि छठपर्व सम्पन्न हुनेछ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो । आदिदेव सूर्य भगवान्लाई अघ्र्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले शृङ्गारिँदै छ । खासगरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गङ्गासागर, धनुष सागर, अङ्गराजसर, दशरथ तलाउ, रत्नसागर, गोर्धोइ पोखरीलगायत पोखरीलाई सजाइँएको छ । गङ्गासागरमा तीनवटा समितिले छठको तयारी गरिरहेको छ । गङ्गासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा यो वर्ष सजावटमा वृद्धि गरेका छन् । उनले छठ घाटमा अघ्र्य लिएर आउने श्रद्धालुहरूका लागि घाटमा नम्बरिङ गरिएको बताए । उनले पछिल्लो तीन वर्ष प्रतिअघ्र्य ५५१ ५ रुपैयाँ निर्धारण गरिएकामा यस वर्ष ५ सय रुपैयाँमात्र निर्धारण गरिएको बताए । गङ्गासागरमा गङ्गासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरङ्ज युवा क्लबले छठको तयारी गर्ने गरेको छ । जनकपुरधामको प्रसिद्ध गङ्गासागर, धनुष सागर तथा अङ्गराज पोखरीमा मात्र ११ हजारभन्दा बढी श्रद्धालु छठ पूजा गर्ने गर्छन् । जनकपुरधामको छठपर्व सबैभन्दा प्रसिद्ध रहेको बताइउको छ । यसका लागि यहाँ हप्तौँ पहिलेदेखि तयारी सुरु गरिन्छ । जनकपुरधामका साथै धनुषाका गाउँगाउँमा रहेका पोखरीसमेत छठपर्वमा सरसफाइका साथै सजाउने कार्य भइरहेको छ । चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन बर्तालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

कडा प्रतिस्पर्धाबीच आज अमेरिकी राष्ट्रपतिको निर्वाचन, नेपालीको मत निर्णायक

काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् । यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन् । स्वीङ्ग राज्यहरु निर्णायक अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले ५ वटा स्वीङ्ग राज्यमा जीत हासिल गरेर निर्वाचित भएका थिए । उता सन् २०२० मा जो वाइडेनले ६ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल भएका थिए । पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेका १ अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्ब ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ । कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । नेपालीहरुको मत निर्णायक हुन सक्छ ? व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सरोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ । नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुगेका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए । शनिबार मात्रै उनको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारी हरेक मतको मूल्य हुने बताए । भण्डारीले भने, ‘हामीहरुले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्नेछ । एक आप्रवासीका रुपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जर्मको गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ ।’ ‘राजनीति भनेको पद र प्रतिष्ठामात्र होइन यसले मानिसका जीवनमा आइपर्ने अनेकन समस्यालाई जुध्न एउटा अभिभावकका रुपमा, व्यवसाय गर्नेहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने र धेरै नीति गत परिवर्तनमार्फत आन्तरिक र बाह्य रुपमा एक सशक्त उपस्थिति जनाउने काम गर्छ । त्यसैले यस्तो विषयलाई सम्बोधन गर्नसक्ने सशक्त उम्मेदवार डेमोक्र्याट पार्टीकी ह्यारिस हुन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ,’ भण्डारीले भने । पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनहरुको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने उनले धारणा राखे । स्थानीय रुपमा राजनीतिमा सहभागी अभिषेक थापाले भने, ‘राजनीतिक विश्लेषण गर्दा यो पटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । यही प्रतिस्पर्धामा हामी नेपालीहरुको मत महत्वपूर्ण मानिने विश्वास लिएका छौँ । हामीहरुले पेन्सलभेनियामा रहेका नेपाली भाषीहरुलाई भोट हाल्नका लागि प्रेरित गर्न सम्भव भएसम्म हरेक नेपालीको घरमा पुगेका छौँ । एउटा क्षेत्रमा मात्रै पनि करिब ४ हजार ५ सय नेपाली मतदाता छन् । ती ठाउँबाट हामीहरु मतदान गर्न प्रेरित गरिरहेका छौँ ।’ पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउन का लागि नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताए । ‘हामीहरुले मतदातालाई सचेत बनाउन अभियान सञ्चालन गर्दे आएका छौँ, यसैले यसपटकको मतदानमा धेरैभन्दा धेरैले मतदान प्रक्रियामा भाग लिनुहुनेछ भन्ने विश्वास लिएकी छु,’ उनले भने । पेन्सलभेनियामा नै बस्दै आएका जीवन दाहालले भने आफैँ पनि डेमोक्र्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गरे। यसैगरी प्रकाश ढुङ्गानाले भने, ‘एक नागरिकका रुपमा हामीहरुले मतदानमा भाग लिनु र आफूले मन पराएको उम्मेदवारलाई विजयी गराउनुपर्छ । हामी अमेरिकामा एक आप्रवासीका रुपमा आएका छौँ । यसलाई संवैधानिक अधिकारका रुपमा उपयोग गर्दै राजनीतिक मार्गचित्र तयार गर्नुपर्छ जसले गर्दा भावी पिँढीलाई राजनीतिमा लाग्न प्रेरणा प्रदान गरोस् ।’ नेपालीहरु पनि दुवै पक्षधर आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्टहरु राखेका छन् । ब्याटल ग्राउण्ड स्टेटको विश्लेषण अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी) मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकहरुले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ । चुनावी र्‍यालीको अन्तिम अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्‍यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना हुने र्‍यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गर्नुभएको छ भने रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । अमेरिकाको यसपटकको निर्वाचनले २४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिनुहुनेछ भन्ने विषयको निक्र्यौल आज हुने निर्वाचनले गर्नेछ । कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको ५३८ मध्ये २७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन् ।

एक सातापछि बढ्यो अमेरिकी डलर, कुन देशको कति ?

काठमाडौं । एक सातापछि अमेरिकी डलरको मूल्य बढेको छ । साथै, आज अधिकांश विदेशी मुद्राको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२९ रुपैयाँ र बिक्रीदर १३४.८९ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४६.४० रुपैयाँ र बिक्रीदर १४७.०५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.०७ रुपैयाँ र बिक्रीदर १७४.८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.५५ रुपैयाँ र बिक्रीदर १५६.२४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.५७ रुपैयाँ र बिक्रीदर ८८.९७ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.५२ रुपैयाँ र बिक्रीदर ९६.९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.०० रुपैयाँ र बिक्रीदर १०२.४६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८५ रुपैयाँ र बिक्रीदर ८.८९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९३ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७५ रुपैयाँ र बिक्रीदर ३५.९१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८५ रुपैयाँ र बिक्रीदर ३७.०१ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७१ रुपैयाँ र बिक्रीदर ३०.८५ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७८ रुपैयाँ र बिक्रीदर ९.८२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५८ रुपैयाँ र बिक्रीदर १२.६४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६३ रुपैयाँ र बिक्रीदर १९.७२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२८ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.४० रुपैयाँ र बिक्रीदर ४४०.३६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.२० रुपैयाँ र बिक्रीदर ३५७.७९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज सेयरधनी बने यी दुई कम्पनीको हकप्रदमा आवेदन दिन पाइने

काठमाडौं । दुई कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जी कात्तिक २१ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीको हकप्रद सेयर खरिद गर्न पाउनेछन् । बलेफी हाइड्रोपावरले चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद जारी गर्नेछ । यस्तै, लिबर्टी इनर्जीले चुक्ता पूँजीको १०ः५ अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

ह्यात रेजेन्सी लुम्बिनी ल्याउँदै गोल्यान ग्रुप, सन् २०२८ मा सञ्चालनमा आउने

काठमाडौं । ह्यातले नेपालमा ब्राण्ड विस्तार गर्न ‘ह्यात रेजेन्सी लुम्बिनी’ सञ्चालन गर्ने भएको छ । ह्यातले लुम्बिनीमा १७५ कोठाको ‘ह्यात रेजेन्सी लुम्बिनी’ सञ्चालन गर्ने भएको हो । उक्त होटल गोल्यान समूहले दोस्रो होटलका रूपमा सञ्चालनमा ल्याउने भएको हो । शिकागो हयात होटल्स कर्पोरेसनले गोल्यान ग्रुपको वेदा होस्पिटालिटी प्रालिसँग हायात रेजेन्सी लुम्बिनीको व्यवस्थापन गर्ने गरी सम्झौता गरेको हो । भगवान बुद्धको जन्मस्थल लुम्बिनी, शान्त र आध्यात्मिक महत्व बोकेकोे नगर भएकाले संसारभरका पर्यटक आकर्षित हुने गरेका छन् । विश्व सम्पदा सूचीमा समेत सुचीकृत लुम्बिनी ऐतिहासिक सम्पदाहरूको विशाल बगैंचा हो । जसमा अशोक स्तम्भ, विभिन्न गुम्बा र अन्तर्राष्ट्रिय मन्दिरहरू रहेका छन् । जसले विश्वभरका बौद्ध धर्मावलम्बीका लागि केन्द्र बिन्दु हो । ह्यात रीजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको भारत र दक्षिण–पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले जानकारी दिए । उनका अनुसार नेपाल दक्षिण–पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा ह्यात रेजेन्सी ब्रान्डले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । ह्यात रेजेन्सी समुदायका भावनालाई प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन् । आगामी दिनमा नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपालीपनको मिश्रण सहितका हुनेछन् । लुम्बिनीमा विस्तार हुन लागेको ह्यात रिजेन्सी होटलले लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्नका लागि डिजाइन गरिनेछ । ११ एकड जमीनमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ कोठा, भोजन, कार्यक्रम र बैठक स्थल र अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, पोखरी र अन्य मनोरञ्जनका सुविधाहरू रहने बताइएको छ । हयातका भारत र दक्षिण–पश्चिम एशियामा ५२ होटल सञ्चालनमा छन् । जसमा ५० वटा भारतमा र २ वटा नेपालमा रहेका छन् ।

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि बिक्री खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ)मा आवेदन दिने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ । लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर जारी गरेको हो । साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयरका लागि सर्वसाधारणका लागि एफपीओ जारी गरेको हो । हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् लघुवित्तको चुक्ता पुँजी ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

१ करोड बढी लगानीमा बायोप्लान्ट उद्योग सञ्चालन, प्लास्टिक निरुत्साहित गर्ने

काठमाडौं । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका-१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो । भजनी-५ का भीमबहादुर विक र वडा नं १ का करन कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालन ल्याएका हुन् । सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विकले बताए । बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रुपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रुपमा उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ । १ करोड रुपैयाँभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको उद्योगले दैनिक सात क्विन्टलसम्म झोला उत्पादन गर्नसक्नेछ । झोला बनाउने उपकरण खरिद गर्न मात्रै रु ८० लाख खर्च भएको विकले जानकारी दिए । ‘आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने मानसिकताले समयको आवश्यकताअनुसार उद्योग सञ्चालनमा ल्याएका हौँ, स्थानीय सरकारको साथ सहयोग भयो र प्लास्टिक निषेध गर्न सकियो भने स्थानीयस्तरमा रोजगारी सिर्जनादेखि व्यवसाय चलायमान बन्दै जाने विश्वास गरेका छौँ,’ उनले भने । दुई वर्ष सम्भाव्यता अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याइएको अर्का सञ्चालक करन कार्कीले बताए । उद्योगको भविष्य स्थानीय सरकार र व्यापारीमा निर्भर रहने उनको भनाइ छ । ‘स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर वातावरणमैत्री झोलाको प्रयोगलाई प्रोत्साहन गर्न सक्नुपर्छ । यो अहिलेको आवश्यकता हो भने सरकारले ल्याएको कार्ययोजनाको कार्यान्वयन गर्ने आधार पनि हो, हामीले प्लास्टिकको विकल्पको आधार तयार गरेका छौँ । यसमा व्यापारी र सरकारको साथ चाहिएको छ,’ कार्कीले भने । भारतसँग खुला सिमाना भएकाले प्लास्टिकका झोला सहजै चोरीपैठारीबाट नेपाली बजारमा भित्रने समस्या रहेको बताउँदै कार्कीले सोही कारण बजारीकरणमा चुनौती हुने उल्लेख गरे । प्लास्टिकको झोला बजारमा प्रतिकेजी ३ सय रुपैयाँमा उपलब्ध हुँदा उद्योगले उत्पादन गरेको वातावरणमैत्री झोला प्रतिकेजी ३५० रुपैयाँमा बिक्री गर्नु परिरहेकाले बजारीकरणमा समस्या हुने उनको भनाइ छ । स्थानीय बजारमा उत्पादन भएको झोला खपत नहुँदा धनगढीमा भने राम्रो माग भइरहेको कार्कीले बताए । ‘धनगढीमा प्लास्टिक निषेध गरिएको छ । त्यहाँ हाम्रो उद्योगको झोलाको माग बढिरहेको छ, स्थानीय बजारमा व्यापारी महँगोमा झोला खरिद गर्न चाहिरहनुभएको छैन,’ उनले भने । गत असोज १ गतेदेखि सञ्चालनमा आएको उद्योगले २० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । तत्काल नागरिकमा विश्वास दिलाउन नसकिए पनि निकट भविष्यमा आफैँ माग बढेर जाने विश्वास उनीहरुको छ ।

३२५ अर्ब डलर नगद लिएर बसेका वारेन बफेटको के छ योजना ?

काठमाडौं । अमेरिकाका प्रशिद्ध लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेले लगातार आफ्नो क्यास (नगद) वृद्धि गरिरहेको छ । तेस्रो त्रैमासिकमा कम्पनीको नगद सञ्चिति रेकर्ड ३२५.२ बिलियन डलर पुगेको छ । यो भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजको मार्केट क्यापभन्दा करिब ११७ अर्ब डलर बढी हो । मुकेश अम्बानीको कम्पनीको मार्केट क्याप हाल २०८ बिलियन डलरको आसपास छ । ९४ वर्षीय बफेटले सन् १९६५ देखि बर्कशायरको नेतृत्व गर्दै आएका छन् र कम्पनीको बाघडोर उपाध्यक्ष ग्रेग एबललाई सुम्पने अपेक्षा गरिएको छ । प्रश्न यो छ- अमेरिकी बजार रेकर्ड स्तरमा छ भने बफेटले किन यति धेरै नगद जम्मा गरिरहेका छन् ? अमेरिकाको एसएन्डपी ५०० इन्डेक्स अक्टोबर २०२३ देखि ४० प्रतिशतले बढेको छ । कम्पनीको १२ महिनाको इतिहासमा यो सबैभन्दा ठूलो छलाङ हो । बफेट आफ्नो कम्पनीलाई जोखिममा राख्न चाहँदैनन् । उनले आफ्नो नगद होल्डिङ मात्र बढाएका छैनन्, उनले आफ्नो ट्रेजरी बिल पनि बढाएर २८८ बिलियन डलरमा पुर्‍याएका छन् । बर्कशायर ह्याथवेले तेस्रो त्रैमासिकमा कुनै पनि कम्पनीको सेयर किनेको छैन भने गत वर्षको सोही अवधिमा कम्पनीले ३४५ मिलियन डलरकाे सेयर किनेको थियो । पछिल्लाे दुई वर्षमा कम्पनीको नगद मौज्दातमा उल्लेखनीय वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वर्कशायरको नगद विश्वका धेरै कम्पनीको मार्केट क्यापभन्दा बढी बर्कशायर ह्याथवेको नगद ब्यालेन्स विश्वका धेरै कम्पनीकाे मार्केट क्यापभन्दा बढी छ । तेस्रो त्रैमासिकमा कम्पनीले विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको १४.३ बिलियन डलरको सेयर बेचेको छ । पछिल्ला दुई वर्षमा बफेटले १०० अर्ब डलरको एप्पलको सेयर बेचेका छन् । (एजेन्सीहरूकाे सहयोगमा)