विकासन्युज

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत सोमबार वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कर्जा, बचत तथा बैंकिङ सेवा सुविधा जस्ता विषय सम्वन्धी ज्ञान प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । बैंकको कर्मचारीहरुको उपस्थितीमा उक्त प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर देखि मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालय सम्म भएको थियो । यस प्रभातफेरी कार्यक्रमको माध्यमबाट समुदायका सदस्यहरुलाई वित्तीय व्यवस्थापन र आर्थिक अवसरहरुको बारेमा बुझ्न मद्दत पुर्याउने बैंकले विश्वास लिएको छ । उक्त कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागिय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दैछ ।

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुँदै

धनुषा । मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटी १ लाख ६५ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

साढे ७ करोडमा शुक्लाफाँटामा चक्रपथ निर्माण गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं १२ कालागौंडीबाट सडक निर्माण थालिएको हो । नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार ठेक्का प्रक्रियामार्फत सात करोड ४४ लाख ४९ हजार छ सय ३२ रुपैयाँको लागतमा सडक निर्माण गरिन लागेको छ । सडक निर्माणका लागिे सडक निर्माण कम्पनीले जिम्मा पाएको छ । ठेक्का सम्झौता भएको चार महिना पछि सडक निर्माण अगाडि बढाइएको छ । सडक निर्माणका लागि विसं २०८१ असार १६ गते सम्झौता भएको थियो । तत्काल सडक निर्माणका लागि सङ्घीय सरकारबाट एक करोड ५० लाख रुपैयाँ र नगरपालिकाको एक करोड ५० रुपैयाँ गरी तीन करोड रुपैयाँ बजेट परिचालन गरिएको छ । सडकमा भएका संरचना हटाउने, माटो भरान गर्ने, चौडा गर्ने, कल्भर्ट निर्माण गर्ने, होमपाइप राख्ने, ग्याबिन जाली राख्ने कार्यसँगै कालोपत्रेको कार्य गरिने शाखा प्रमुख धामीले बताए । ‘पहिलो चरणमा वडा नं १२ को कालागौंडीदेखि वडा नं ३ को जोनापुरसम्मको ५ दशमलव ९ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रेको कार्य गर्ने गरी ठेक्का सम्झौता भएको छ’, उनले भने । सडकको क्षेत्राधिकार २० मिटर रहेको छ । अहिले नौ मिटर चौडाइको सडकमा ग्राभेलिङ गरिने छ भने सात मिटर चौडाइको सडकमा कालोपत्रे गरिने छ । सडकखण्डको वडा नं १ को खजुवापट्टि र वडा नं ३ को जोनापुर क्षेत्रमा तीन हजार एक सय ९० घनमिटरको ग्याबिन जाली राख्ने कार्य हुनेछ । प्रिमिक्स कार्पेट विधिबाट सडक कालोपत्रेको कार्य हुने शाखा प्रमुख धामीको भनाइ रहेको छ । यसअनुसार कालोपत्रे सडकको मोटाइ दुई सेन्टिमिटर हुनेछ । क्रेसरको ग्राभेल १० देखि १५ सेन्टिमिटर र सोही अनुपातमा सामान्य खाले ग्राभेल राख्ने कार्य हुने छ । पहिलो चरणको सडक कालोपत्रे गर्ने कार्य विसं २०८२ असोज १६ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । चक्रपथ सडकको कूल लम्बाइ करिब ४४ किलोमिटर बढी रहेको छ । यस मध्ये हाल वडा नं १२ को कालागौंडीदेखि वडा नं ६ र ७ को सीमासम्मको १४ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अद्यावधिक गरिएको छ । चक्रपथ सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने कार्य विसं २०७६ मा भएको थियो । डिपिआर बनेको लामो समयपछि सडक कालोपत्र गर्ने कार्यले गति लिएको छ । रासस

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिन माग

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरूले प्रतिक्रिया दिएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान सुरु गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरूपमा सञ्चालन हुन सकेको थिएन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रूपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै उद्योगी व्यवसायीहरू उत्साहित छन् । विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आउन नसक्दा अर्बौंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरूलाई थोरै भएपनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरूले राज्यले नीतिगत रूपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरूको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ । उनीहरूले बहाना गर्ने नभइ अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । जजिरा, थाई र एयर एशियाले विमानस्थलबाट उडान नै सुरु गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको बताए । उनले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको बताउँदै काठमाडौंमाको विमानस्थल विस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको उल्लेख गरे । यस्तै, उनले पर्यटक आगमनको सिजनको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौं आउने पर्यटकमा कमी देखिएको बताए । पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल विस्तार गर्न व्यवसायीहरुले माग गरेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्दा नयाँ अवसरहरू सिर्जना हुने उनकाे भनाइ छ । उनले भैरहवा, बुटवल क्षेत्रका होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएपनि विमानस्थल सञ्चालनमा आउन नसक्दा अर्बाैंको लगानी डुब्ने अवस्थामा रहेको बताए । भैरहवाबाट दीर्घकालीन अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक रहेको बताए । भैरहवा अन्तर्राष्ट्रिय उडानले पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सदुपयोग हुने जानकारी दिए । यस्तै, उनले बुटवल र पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा रहेको बताए । कृषि उत्पादन बिक्री लगायत धेरै क्षेत्रमा राम्रो हुने भन्दै निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको बताए । सरकारले सहुलियत, सुविधा र पूर्वाधारहरु तयार बनाउन सके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटन प्रवर्द्दनमा ठूलो योगदान गर्ने उनले उल्लेख गरे । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने माग उनले राखे । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीको लागि १० घण्टा बन्दा गर्दा अन्तर्राष्ट्रिय उडानहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न थाई, एयर एशिया र जजिरा तीन वायुसेवा कम्पनीहरु उडान सुरु गरेका छन् । उद्योगी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने काम भएको उल्लेख गरे । थाई एयर एशियाले उडान सुरु गरेको भन्दै गौतमबुद्धको जन्मभूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा राखे । यस्तै, उनले थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट सुरु गर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय सबै उडान काठमाडौंबाट हुँदा ठूलो चाप परिरहेको भन्दै केही उडान पोखरा र भैरहवाबाट गर्नुपर्नेमा जोड दिए । बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बिनी पर्यटकको हब बन्नसक्ने बताए ।

प्रभु महालक्ष्मी लाइफको नाफामा २५.७४ प्रतिशत छलाङ, यस्ता छन् अन्य सूचक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २५.७४ प्रतिशत बढी नाफा गरेको हो । गत असोजसम्म कम्पनीले १ अर्ब १७ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.१८ प्रतिशत बढेको हो । तीन महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १२.२७ प्रतिशत बढेर १ अर्ब १५ करोड १४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ खुद भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११.६७ प्रतिशत बढेर १ अर्ब ५७ करोड ८१ लाख रुपैषँ गरेको छ भने कुल खर्च १०.५९ प्रतिशत बढेर १ अर्ब ४५ करोड १८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने १ अर्ब ३१ करोड २७ लाख रुपैयाँ कुद खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ, सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोष ६.९६ प्रतिशत बढेर ९ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४.८९ प्रतिशत घटेर ६२ करोड २५ लाख रुपैयाँ र अन्य इक्विटी १७ करोड ५२ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १.३४ रुपैयाँ बढेर १०.६९ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ५३.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९.३४ रुपैयाँ रहेको छ ।

अपि पावरको सञ्चालकमा खड्का नियुक्त

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा मिलन खड्का नियुक्त भएका छन् । कार्तिक २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । ‘कार्तिक २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको सञ्चालक पदमा मिलन खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो’, नेप्सेमा उल्लेख गरिएको छ ।

डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा सरकारले खोजेको मध्यमार्ग, प्राधिकरणले १२ बजेभित्र लाइन जोड्नुपर्ने

काठमाडौं । सरकारले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतामा मध्यमार्ग अपनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगीलाई पनि मार नपर्ने र विद्युत प्राधिकरणले चाहेको विद्युत बक्यौता पनि असुल गर्न सक्ने मध्यमार्गको विकल्प अपनाएको हो । सरकारले मन्त्रिपरिषदको बैठकमार्फत् टाइम्स डे (टिओडी) मिटरिङ आधारमा १५ दिनभित्र उठाउने निर्णय गरेको छ । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणलाई सो निर्णय गरेर निर्देशन दिने निर्णय गरेको हो । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादमा लाल आयोगको प्रतिवेदन कार्यान्वयनसँगै सार्वजनिक गर्ने पनि निर्णय गरेको छ । बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगमा यसअघि नेपाल विद्युत प्राधिकरणले काटिदिएको बिजुली लाइन जोड्न निर्देशन दिने निर्णय पनि गरेको छ । यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ८ कात्तिकमा बक्यौता विवाद रहेका उद्योगहरूको लाइन काटिदिएका थिए । यसअघि पनि २७ वैशाखमा तत्कालीन प्रचण्ड मन्त्रिपरिषद्ले डेडिकेटेड र ट्रंक लाइन विवादमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यो निर्णय कार्यान्वयन गर्न अस्वीकार गर्दै निर्णय नै उल्ट्याउन लगाएका थिए । अब यस पटक भने कुलमानले सरकारको निर्णय कार्यान्वयन गर्छन् वा आफ्नै अडानमा अगाडि बढ्छन् त्यो भने हेर्न बाँकी छ । प्राधिकरणको निर्णय के हुन्छ ? नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड एवम् ट्रंक लाइनको विवादित बक्यौता ५६ किस्तामा असुल गर्ने निर्णय गरिसकेको छ । प्राधिकरणले पहिलो किस्ता तिरेपछि अहिले काटिएको बत्ती जोडिदिने निर्णय गरेको थियो । प्राधिरणले विवादित रकमको २५ प्रतिशत रकम धरौटी राख्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी ५ प्रतिशत मात्रै कायम गर्ने निर्णय पनि गरेको थियो । उद्योगीहरुले भने सो निर्णयलाई नमान्ने बताएका थिए । तथापि यो निर्णयलाई मान्नै पर्ने स्थितिमा उद्योगी पुगेका थिए । लगभग दुई पक्षबिच कुरा मिल्नै लागेको बेला प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएर टाइम्स डे (टिओडी) मिटरिङ आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेका छन् । यो निर्णयलाई कार्यान्वयन गर्ने हो भने अब प्राधिकरणले प्रत्येक दिन तथा घण्टाको मिटर हेरेर बक्यौता उठाउनु पर्ने हुन्छ ।