चांगान नेपालले बुटवलमा सार्वजनिक गर्यो दिपल इभी
बुटवल । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ । आइतबार बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गरेका हुन् । दिपल इभी सार्वजनिक गर्नुहुँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गरे । उनले चांगान र अन्य ब्रान्डहरुले बिक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ । हामीले ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं,’ उनले भने । चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ६ सयभन्दा बढी बिक्री भएका छन् । विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो । दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो । एमएडब्लु वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निशुल्क चार्जर पाउनेछन् । ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ ।
वीरगञ्जमा यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात
वीरगञ्ज । छठपर्व मनाएर काठमाडौं फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगञ्जबाट हेटौँडा–काठमाडौं चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ । हाल वीरगञ्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने जयमोद ठाकुरले गत शनिबार आफ्नो छोरा वीरगञ्ज–हेटौँडा हुदैँ काठमाडौ जाँदा इलेक्ट्रिक बसले दोब्बर भाडा असुलेको गुनासो गरे । ‘मेरो छोरालाई वीरगञ्जबाट काठमाडौं पठाउँदा अन्य बेलाभन्दा दोब्बर भाडा तिरेर पठाए । अरु बेला वीरगञ्जबाट काठमाडौं जाँदा आठ सय ५० रुपैयाँसम्म लिने गरिन्थ्यो तर अहिले यातायात व्यवसायीले एक हजार पाँच सयसम्मको भाडा मागे । यसरी जथाभावी ढङ्गले भाडा असुल्नेलाई प्रहरीले कारबाही गर्न सकिरहेको छैन’, उनले भने । ठाकुरले वीरगञ्जका यातायात व्यवसायीले बढी भाडा असुलेको विषयलाई लिएर आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत पोष्ट गरेका छन् । व्यवसायीले अरु बेला टिकट दिने गरे पनि हाल टिकट छैन भनेर बढी मूल्य दिनेलाई मात्रै उपलब्ध गराउने गरेको आरोप लगाए । वीरगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष राखेको भए पनि प्रहरी प्रशासनले यात्रुलाई राहत र विचौलियालाई कानुनी दायरामा ल्याउन नसकेको ठाकुरको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट भने बढी भाडा लिएको भन्दै गुनासो आएपछि अनुगमनमा जाँदा गुनासोकर्ता नै सम्पर्कमा नआउँदा कारबाही गर्न समस्या भइरहेको दाबी गर्छन् । ‘शनिबार पनि बढी भाडा लिएको भन्दै फोनमा गुनासो टिपाएपछि हामी त्यसबारे बुझ्न जाँदा पीडितपक्ष सम्पर्कमा नै आएनन्, अनि के आधारमा कारबाही गर्नु’, उनले भने, ‘हामीले परवानीपुरमा पनि नियमित जाँच गरिरहेका छौँ । कतिपय यात्रु बढी भाडा तिरेर जाँदा पनि ट्राफिक प्रहरीलाई रिपोर्ट नगर्दा त्यस्ता सवारीसाधनलाई कारबाही गर्न समस्या भइरहेको छ ।’ पर्साका ट्राफिक प्रहरी प्रमुख भट्टले वीरगञ्जको गण्डकचोकबाट बढी भाडा लिएको गुनासो आएसँगै आइतबार एउटा सवारीसाधनलाई बढी भाडा लिएको भन्दै फिर्ता गराउन लगाएको जानकारी दिए । ‘आइतबार बढी भाडा लिएको भन्ने एउटा सवारीसाधनबाट बढी भाडा फिर्ता पनि गरायौँ ।’ उनले भने, ‘बढी भाडा लिएको सवारीसाधनलाई आवश्यक कारबाही गर्नका लागि यातायात व्यवस्था कार्यालय वीरगञ्जलाई सिफारिस गरेका छौँ ।’ रासस
वर्तमान सरकार आफ्नै कारणले ढल्छ : माओवादी केन्द्र
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन् । उनले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाए । देशमा असाधारण परिस्थिति बन्दै गएको बताए । असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरुको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको जानकारी दिए । उनले सरकार राजनीतिक दलहरु फुटाउने चलखेलमा लागिरहेको आरोप समेत लगाए । संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए । राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको आरोप लगाए । ‘यो सरकार त आफ्नै कारणले जान्छ जान्छ तर फेरि यो हामीले जनतालाई सही ढंगले परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा दिशा निर्देश गर्नुपर्छ’, उनले भने । प्रवक्ता सापकोटाले जनतालाई सही ढंगले परिवर्तन र अग्रगमनका पक्षमा दिशा निर्देश गर्न जरुरी रहेको बताए ।
आर्थिक सुधारका काम हुँदैछ : प्रधानमन्त्री ओली
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् । सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औँ दीक्षान्त समारोहमा सरिक हुने क्रममा सोमबार यहाँ आएका हुन् । प्रधानमन्त्री ओली सो प्रतिष्ठानको कुलपति हुन् ।
बागलुङ दुर्घटना : मृतक पाँचै जनाको भयो पहिचान
बलेवा (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग २ च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् । भ्यान सडकदेखि पाँच सय मिटरभन्दा धेरै तल खसेको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनामा घाइते भएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीष शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई धौलागिरि अस्पतालमा उपचार भइरहेकाे छ ।
सस्तो मुल्यमा ल्यापटप दिन्छु भन्दै साढे २७ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै २७ लाख ६० हजार रुपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, ‘पक्राउ परेका सुजनसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मुल्यमा ल्यापटप उपलब्ध गराइदिने भनि विश्वास दिलाइ पीडितलाई ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रुपैयाँ रकम लिइ ल्यापटप नदिइ ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिमध्येका सुजनलाई काठमाडौंको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो ।’ निजलाई ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए ।
इच्छुमती सफाइमा महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा सोमबार महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिए । इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन् । विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो । छ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोत्तल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो । महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ । महानगरले काठमाडौं उपत्यकामा भएर बग्ने वाग्मती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि यसरी सफाइ गर्दै आएको छ । नागरिकस्तरबाट सुरु भएको वाग्मती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरे पनि उपत्यकाका अन्य नदी भने सफा हुन सकेका छैनन् ।
विमानस्थलमा सुन तस्करी गर्ने यो अचम्मको तरिका, करोडौं मूल्यको तस्करीमा एयरपोर्ट स्टाफ संलग्न
काठमाडौं । विमानस्थलमा हुने सुन तस्करीसँग सम्बन्धित धेरै समाचार आउने गर्दछन् । कसैले पेटमा लुकाएर सुन ल्याउँछन् त कसैले शरीरको अन्य भागमा लुकाउँछन् । जहिले पनि तस्करहरू पक्राउ पर्छन्, तिनीहरू प्रायः यात्रीहरू नै हुन्छन् । तर, विमानस्थलका कर्मचारीले सुन तस्करी गर्लान् ? त्यो पनि यात्रा बिना ! के यो सम्भव छ ? भारतको मुम्बई एयरपोर्टमा यस्तै एउटा घटना बाहिर आएको छ । त्यहाँको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई कर्मचारीलाई राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले पक्राउ गरेको छ । उनीहरूमाथि सुन तस्करीको आरोप छ । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उनीहरूले यो तस्करी बिना यात्रा गरेका हुन् । यी दुई सदस्यमध्ये एक जना महिला हुन् । महिलाको साथबाट ३ किलोभन्दा बढी सुन बरामद भएको छ । यसको बजार मूल्य २.५ करोड भारुभन्दा धेरै छ । एयरपोर्टबाट बाहिर निस्कने प्रयास भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार पक्राउ परेका दुई सदस्यमध्ये एक ग्राउन्ड ह्यान्डलिङ स्टाफ मेम्बर हुन् । दोस्रो अभियुक्त महिला हुन् । उनी एयरपोर्टमा ग्राहक सेवा कार्यकारी पदमा कार्यरत थिइन् । विमानस्थलमा सुन तस्करी हुने जानकारी डीआरआई अधिकारीलाई प्राप्त भएको थियो । सुन तस्करीमा संलग्न भएको आशंकामा विमानस्थलको एक्जिट गेटमा एक महिला कर्मचारीलाई प्रहरीले रोकेकाे थियाे । यी महिला सेलेबी नास एयरपोर्ट सर्भिसेज इन्डिया प्राइभेट लिमिटेडकी कर्मचारी हुन् । पेस्टको रूपमा सुन फेला महिलाको शरीरमा छानबिन गर्दा उनको साथबाट ३ हजार ३५० ग्राम (३.३५ केजी) सुन पेस्ट (घोल)का दुईवटा प्याकेट बरामद भएको थियो । प्याकेटको मूल्य लगभग २.६७ करोड भारु छ । यो सुन भन्सार ऐन, १९६२ अन्तर्गत बरामद गरिएको हो । दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तस्करीका लागि यो विधि महिलासँग सोधपुछ गर्दा उनले तस्करी गर्ने तरिका सुन्दा छक्क पर्न सक्नुहुन्छ । यो तस्करीमा विमानस्थलमा कार्यरत ग्राउन्ड ह्यान्डलिङ स्टाफको पनि संलग्नता रहेको छ । ग्राउन्ड ह्यान्डलिङ स्टाफले उक्त सुन फ्लाइट नम्बर ईवाई २०० मा रहेको फोहोर बोक्ने गाडीबाट निकालेका थिए । त्यसपछि उनले त्याे सुन महिलालाई दिए । त्यसपछि ती महिलाले आफ्नो एरोड्रोम इन्ट्री परमिट (एईपी) प्रयोग गरेर विमानस्थलबाट बाहिर तस्करी गर्ने प्रयास गरिन् । तर अनुसन्धानका क्रममा उनी पक्राउ परिन् । प्रारम्भिक अनुसन्धानका अनुसार दुवैले विशेष सिन्डिकेटका लागि तस्करीमा सघाएको देखिएको छ । यद्यपि सम्पूर्ण विवरण भने थप अनुसन्धानपछि मात्र थाहा हुनेछ । (एजेन्सीको सहयोगमा)