विकासन्युज

१०३ रुपैयाँमै सिटिजन्स बैंकको सेयर किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४० दशमलव ८७ कित्ता सेयर बिक्रीमा राखिएको हाे । बैंकको उक्त संस्थापक सेयरमा  सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त सेयरको मूल्य  प्रतिकित्ता १०३ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आवेदन दिँदा सो मूल्य वा साेभन्दा बढी तोकी ७ दिनभित्र आवेदन दिन पर्नेछ ।

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँं : मन्त्री पौडेल

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताए । सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उनको भनाइ छ । उनले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताए । मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उनको भनाइ छ । मन्त्री पौडेलले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने तयारी भइरहेको बताए । उनले तत्कालीन अवस्थामा एक लाख रुपैयाँको स्वास्थ्य बीमा रहेकामा अब यसलाई बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने योजना रहेको बताए । उनले यसका लागि रोजगारीमा आबद्ध कर्मचारीबाट मासिक तलबको दुई प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने व्यवस्था गरिनुपर्ने बताए । यसबाट पैसा नभएकाको पनि उपचार गर्न सहज हुने उनको भनाइ छ । सरकारले उठाउने सबैखाले करमा पनि शून्य दशमलव पाँच प्रतिशत बीमा कोषमा जाने व्यवस्था गरिनुपर्ने भन्दै उनले अहिले उठ्ने स्वास्थ्य बीमा करलाई तेब्बर बनाउनुपर्ने बताए । मन्त्री पौडेलले मुलुकभरीका १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाउँदै अहिले खोप भण्डारणको काम भइरहेको बताए । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार गरिने जस्ता कार्यक्रमले धेरै लाभान्वित भएको बताए । अर्को प्रसङ्गमा मन्त्री पौडेलले स्रोतको अभावका कारण स्वास्थ्य क्षेत्रलाई चाहेअनुरुप विकास गर्न नसकिएको बताए । उनले स्रोतको व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लजाने योजना समेत सुनाए । सो अवसरमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले अस्पतालको सुधारका लागि आवश्यक विभिन्न कुरा समेटिएको मागपत्र पेस गरेका छन् । मन्त्री पौडेलले मागपत्र बुझ्दै पर्वत अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

चालु खाता दोब्बरले बढ्यो, शोधनान्तर स्थिति १.८४ खर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता दोब्बरले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को असोजसम्म चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको छ ।

३ महिनामा वैदेशिक शिक्षाका लागि ३२ अर्ब १८ करोड बाहिरियो

काठमाडाैं । अध्ययनका लागि नेपाली विद्यार्थी विदेशिँदा ३२ अर्ब रुपैयाँ बढी बाहिरिएको छ । चालु आर्थिक वर्षको ३ महिनामा अध्ययनका लागि विद्यार्थी विदेश जाँदा ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिका विद्यार्थीहरू अध्ययनका लागि विदेश जाँदा ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको थियो । अध्ययनका लागि विदेशिने रकम गत वर्षको भन्द यस वर्ष ७३ करोड रुपैयाँ घटेको तथ्यांकले देखाउँछ । यो तीन महिना (साउन, भदौ र असोज)मा नेपालीहरूले विदेश जाँदा ५१ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ भने विदेशीहरू नेपाल आउँदा १७ अर्ब १३ करोड रुपैयाँ भित्रिएको छ । भ्रमण शीर्षकमा नेपाल भित्रिनेभन्दा बाहिरिने रकम ३ गुणा बढी छ ।

दिगो ई–स्टपको तेस्रो आउटलेट नवलपरासीको दलदलेमा

काठमाडौं ।  दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपलाई नवलपरासीको दलदलेमा विस्तार गरेको छ । मंसिर २ गते औपचारिक उद्घाटन गरिएको सो ई–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक बिद्युतिय सवारीसाधनका लागि २ वटा जीबीरटी चार्जर र निजि सवारीसाधनका लागि सिसिएस टु चार्जर जडान गरिएको हो । दलदलेको साथै दिगो ई–स्टप रामटार र कुरिन्टारमा पनि संचालन भईरहेको छ । उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने, ‘ई–स्टपको तेस्रो संस्करण दलदलेमा संचालनपछि राजमार्गका यात्रुहरुलाई निकै उद्धार हुनेछ । यस ई–स्टपले महेन्द्र राजमार्गमा बढिरहेको बिद्युतिय सवारीसाधनलाई चर्जिङ्ग को सुविधा दिनुको साथै रेस्टुरेन्टले सुलभ मूल्यमा सफा र मिठो खानाको सुविधा दिनेछ ।’ दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले दगो ई–स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको बताए । ‘दिगो ई–स्टप एउटा पिट स्टप मात्र होइनस यो एक दर्शन समेत हो । हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि समर्पित छौं’ उनले भने । दलदलेमा दिगो ई–स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्ने जनाइएको छ । यसको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेशनहरू राखिएकाले विद्युतीय सवारी साधनहरू सधैं सडकमा छन् भनी सुनिश्चित गर्ने बताइएको छ ।

३.३६ प्रतिशतले बढ्यो तलब तथा ज्याला

काठमाडौं । कर्मचारी तथा मजदुरको तलब तथा ज्याला सूचकाङ्क बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार कर्मचारी तथा मजदुरको तलब ३.३६ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो वर्षको सोही त्रैमासमा यस्तो सूचकाङ्क ५.६५ प्रतिशतले बढेको थियो । बैंककाअनुसार आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गरी त्रैमासिक रुपमा तलब तथा ज्याला सूचकाङ्क प्रकाशित गरिएको छ । नयाँ तलब तथा ज्याला सूचकाङ्क प्रादेशिक, नेपालस्तरीय औद्योगिक वर्गीकरण र नेपालस्तरीय पेसागत वर्गीकरण गरी तीनवटा ढाँचामा प्रकाशित गरिएको छ । प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.२४ प्रतिशत, मधेश प्रदेशको ४.९९ प्रतिशत, बागमती प्रदेशको २.९५ प्रतिशत, गण्डकी प्रदेशको २.२६ प्रतिशत, लुम्बिनी प्रदेशको ३.६७ प्रतिशत, कर्णाली प्रदेशको ५.०३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.४० प्रतिशत रहेको बैंकले जनाएको छ ।

मूल्यवृद्धि अझै ४.८२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै महँगी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको जनाएकाे छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ भने माछा तथा मासु उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत, मरमसलाको०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.०० प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२६ प्रतिशत, मधेश प्रदेशको ५.०८ प्रतिशत, बागमती प्रदेशको ४.२४ प्रतिशत, गण्डकी प्रदेशको ३.९८ प्रतिशत, लुम्बिनी प्रदेशको ४.४२ प्रतिशत, कर्णाली प्रदेशको ३.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५६ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५० प्रतिशत, तराईको ५.२३ प्रतिशत, पहाडको ४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत रहेको छ । २०८१ असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२२ प्रतिशत, ४.३६ प्रतिशत र २.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.५८ प्रतिशतले घटेको छ ।

साढे २२ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १७.६ महिनाको आयात धान्ने

काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति साढे २२ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत असोजसम्म विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको हो । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा ९.४ प्रतिशतले विदेशी मुद्रा बढेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १६ अर्ब ६० करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड रहेको थियो । तीन महिनामा अमेरिकी डलर ८.७ प्रतिशत बढेको राष्ट्र बैंकको भनाइ छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको असोजमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।