विकासन्युज

एनपिएल : चितवनले टस जित्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सोमबार काठमाडौं गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै काठमाडौं गुर्खाजले अब पहिला ब्याटिङ गर्नेछ । चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इङ्ग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् । त्यस्तै काठमाडौंको विदेशी खेलाडीमा इङ्ग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछन् । आजको खेलका लागि सुरक्षा व्यवस्था भने कडा पारिएको छ । यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सविरूद्धको उद्घाटन खेलमा व्यवस्थापनको कमजोरीका कारण दर्शक र सुरक्षाकर्मीबीच झडप भएको थियो । कतिपय दर्शकले टिकट काटेर पनि मैदानभित्र पस्न नपाउँदा तनाव सुरु भएको थियो । जसका कारण आज सुरक्षा व्यवस्था कडा पारिएको हो । शनिबार भएको एनपिएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

हेटौंडा सिमेन्ट उद्योगले पुसको पहिलो सातादेखि उत्पादन गर्दै

बागमती । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो । ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य अझै भईरहेकै छ,’ उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौ ।’ तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाई छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न हुने बितिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको उनले बताए। उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीब्र रुपमा भइरहेकाले छिटै सकिने र त्यस लग्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए । ‘हामीसँगै कच्चा पदार्थको कुनै अभाव छैन्’, अध्यक्ष भण्डारीले भने,‘उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।’ थप कोइला खरिदको प्रक्रिया अघि बढी सकेको छ, त्यसैले कोइलाको समस्या छैन्, उनको भनाई छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअबधीमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

सैंजु एनसीएचएलको डेप्युटी सीईओमा नियुक्त

काठमाडौं । नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को डेप्युटी सीईओमा नियुक्त भएका छन् । उनले आइतबारदेखि कार्यभार सम्हालेका हुन् । सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ । उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् । उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाइमा लान महत्त्वपूर्ण योगदान पुग्ने कम्पनीले विश्वस्त जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । तीन दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण खम्बाको रूपमा रहेको छ । समयसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमाको दायरा फराकिलो बनाउँदै, जोखिम व्यवस्थापनको क्षमता विस्तार गर्दै र ग्राहक सेवामा नवीनता थप्न सफल भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ । व्यक्तिगत बीमा अन्तर्गत सवारी साधन बीमा, व्यक्तिगत दुर्घटना बीमा  र यात्रा बीमा  रहेका छन् भने कर्पोरेट बीमा  अन्तर्गत भबन बीमा , उधोग , समुन्द्रिक , हवाई र इन्जिनियरिङ बीमा  सेवा समावेश छन् । त्यसैगरी कृषि बीमा  अन्तर्गत गाईवस्तु र बाली बीमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बीमा को दावी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालै सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र स्ट्राटेजिक पार्टनरशिप अफ द इयर–नेपाल’ गरी दुई प्रतिष्ठित अवार्डहरू जित्न सफल भएको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवको अवसरमा आफ्नो विचार व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, ‘हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दशकको यात्रामा नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको छ । हाम्रो उद्देश्य ग्राहकहरूलाई छिटो र विश्वसनीय सेवा प्रदान गर्दै नेपालको अर्थतन्त्र र पूर्वाधारको विकासमा योगदान पुर्याउनु हो । यो अवसरमा हामी सबै ग्राहक, कर्मचारी र साझेदारहरूलाई धन्यवाद दिन चाहन्छौं जसको योगदानले हामी ३१औं वर्ष पूरा गर्न सफल भएका छौँ ।’ त्यसैगरी कम्पनीका फाउन्डिङ एमडी एबम् अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले पनि यस अवसरमा आफ्नो विचार राख्दै भने, ‘यस ३१ वर्षको यो महत्वपूर्ण उपलब्धि केवल समयको उत्सव मात्र नभई हिमालयन एभरेष्ट इन्स्योरेन्स परिवारको अथक मेहनत र समर्पणको प्रमाण हो, हाम्रा ग्राहकवर्गको हामी माथिको विश्वास र सम्पूर्ण साझेदारहरूको समर्थनको प्रमाण हो । अब भविष्यतर्फ अघि बढ्दै गर्दा हाम्रो ध्यान ग्राहकहरूलाई थप मूल्य प्रदान गर्ने, प्रविधिगत क्षमताहरूलाई सुदृढ गर्ने र नेपालको आर्थिक तथा सामाजिक विकासमा अर्थपूर्ण योगदान पु¥याउनमा केन्द्रित रहनेछ । हामी व्यक्ति तथा व्यवसायहरूलाई सशक्त बनाउनका लागि आत्मविश्वास प्रदान गर्ने हाम्रो लक्ष्यलाई निरन्तर कायम राख्ने प्रतिबद्धतामा दृढ छौं ।’ हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी वर्षहरूमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।

‘साख मूल्यांकन नतिजालाई अवसरमा बदलौं’

काठमाडौं । नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त नतिजालाई अवसरमा बदल्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिकोत्सवमा शनिबार आयोजित ‘अर्थतन्त्रको प्रबन्धन’ विषयक अन्तक्र्रियामा आर्थिक क्षेत्रसम्बद्ध सरोकारवालाले सार्वभौम साख मूल्यांकनबाट नेपालले पाएको ‘डबल बी माइनस’ नतिजा उत्साहजनक रहेको भन्दै यसबाट लाभ लिनुपर्ने बताए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको सार्वभौम साख मूल्यांकनबाट पाएको नतिजा नेपालका लागि गौरवको विषय रहेको बताए । नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा रहेको भन्दै उनले यो सम्भावनालाई नतिजामा बदल्न आवश्यक रहेको धारणा राखे । सरकारलाई गर्ने आलोचनाको अन्तर्यमा निकास भेटिने भन्दै उनले निरपेक्ष रूपमा मात्र आलोचना नगर्न सुझाव दिए । ‘यो सरकार बनेदेखि आजसम्म आइपुग्दा अर्थतन्त्रमा समस्या थपिएका छन् भने त्यसको जिम्मा म लिन्छु, राम्रो भएको भए जस यो सरकारलाई चाहिँदैन,’ उनले भने । अर्थमन्त्री पौडेलले विरासतमा अत्यन्तै गम्भीर समस्याको चाङ प्राप्त गरेको भन्दै समस्याबीच रहेर काम गर्ने प्रयास गरेको बताए । यहीबीच सकारात्मक सुधार र संकेत देखापरेको उनको दाबी छ । निजी क्षेत्रको मनोबल उकास्न व्यावसायिक वातावरण बन्नुपर्ने र राजनीतिक अस्थिरता त्यसको बाधक रहेको उनले बताए । ‘राजनीतिक अस्थिरताले मुलुकलाई कहालीलाग्दो अवस्थामा पुर्‍याउँछ, त्यस अवस्थामा अर्थतन्त्रमा उल्लेखनीय समस्या समाधान गर्न सक्दैनौं । यो संसदले पनि स्थिर सरकार दिन सकेन,’ उनले भने, ‘संसद् जनताको इच्छाअनुसार बन्यो, तर सरकार स्थिर बनेन, स्थिर सरकार बनाउने आवश्यकता महसुस गरेर यो सरकार बनेको हो । मेरो बुझाइमा यो संसदले बनाउने सबैभन्दा गतिलो सरकार यही हो ।’ योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले मुलुकको सार्वभौम साख मूल्यांकनले सकारात्मक बहस सिर्जना गरेको बताए । उनले अबको बहस सुधारमा केन्द्रित हुनुपर्ने बताए । लगानीका क्षेत्र पहिचान गरी त्यसतर्फ बहस बढाउनुपर्ने उनको भनाइ छ । ‘अर्थतन्त्र चलायमान हुन नसक्नुका पछाडि फरक खालको बहस हुन नसक्नु पनि एक कारण देखिन्छ,’ उनले भने, ‘हामी ५/६ वर्षदेखि एकै खालको बहस गरिराखेका छौं, तर आजको अवस्था फरक छ ।’ अहिले ब्याजदर घटेको, तरलता पर्याप्त रहेको, सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन गर्न खोजेको लगायत कारण विगतभन्दा फरक अवस्था रहेको उनको भनाइ छ । त्यसैगरी नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले समग्र आर्थिक अवस्थाका हिसाबले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिएको भए पनि चुनौती कायमै रहेको बताए । सार्वभौम साख मूल्यांकनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी रहेको उनको भनाइ छ । मुलुकको आर्थिक र वित्तीय अवस्था विगतभन्दा फरक नभएका कारण मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा समेत कुनै प्रावधान संशोधन नभएको उनले बताए । त्यस्तै अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिमात्र जिम्मेवार नभई अन्य क्षेत्रको पनि भूमिका महत्त्वपूर्ण रहने उनले बताए । ‘अहिलेको स्थिति चिर्न राज्यका सबै निकायको उत्तिकै भूमिका हुन्छ, मौद्रिक नीति माथिको निर्भरता घट्नुपर्छ, यदि मौद्रिक नीतिले सही काम गरेको छ भने यसलाई चलाउनु हुँदैन,’ उनले भने । त्यसैगरी अर्थविद् डा. अच्युत वाग्लेले राजस्वका नयाँ स्रोत फेला नपरेको सन्दर्भ निकाल्दै यसले राज्यलाई कमजोर बनाइरहेको बताए । राजस्व उठ्ने ट्रेन्ड कुल गार्हस्थ उत्पादन (जीडीपी) को २४/२५ प्रतिशतबाट घटेर १२/१३ प्रतिशतमा झरेको भन्दै ‘राजस्व नउठ्ने अवस्थामा किन पुग्यौं ?’ भन्दै प्रश्न गरे । राजस्व नउठ्दा सार्वजनिक ऋण थप्नुपरेको भन्दै यसले थप संकट ल्याउनतर्फ समेत सचेत गराए । अबको केही वर्षमै जीडीपीको ६० देखि ६५ प्रतिशतसम्म सार्वजनिक ऋण पुग्ने भन्दै यो थेग्न सक्ने अवस्था हो वा होइन भनेर विश्लेषण गर्नुपर्ने बताए । यी सबै समस्या आउनुका पछाडि आर्थिक व्यवस्थापकीय प्रबन्धन अभाव रहेको उनले बताए । सरकारले हातखुट्टा उठाउनुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै बलियो रूपमा प्रस्तुत हुन सुझाव दिए । अब केही गर्न सकिँदैन भन्ने मानसिकता त्याग्न उनले आग्रह गरे । अर्थविद् वाग्लेले निर्देशनको भूमरीमा मात्र मुलुक फसेको भन्दै निर्देशन दिनुभन्दा राज्य सञ्चालकले रणनीति ल्याएर एक्सनमा जानुपर्ने बताए । उनले गैरआर्थिक व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना गरे । ‘कुनै पनि मन्त्रालयमा ६ देखि ७ महिना सचिव नटिक्ने अवस्था किन आउँछ,’ भन्दै प्रश्न गरे । राज्यले संघीय प्रणाली नै स्वीकार गर्न नसकेको भन्दै यसमा सुधार गर्नसमेत आग्रह गरे । ‘हामी संघीयतामा छौं भनेर किन स्वीकार नगरेको ?,’ उनले प्रश्न गरे, ‘संघीय प्रणाली अनुसार आर्थिक प्रणालीलाई परिचालन गर्नुपर्छ भनेर सोच्दै सोचेनौं ।’ निजी क्षेत्रको अपेक्षा कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका नेतृत्वले अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि निजी क्षेत्रको मनोबल उठ्न नसकेको भन्दै यसमा काम गर्न सरकारलाई सुझाव दिए । नेपाल बैंकर्स संघ अध्यक्ष सुनिल केसीले अप्ठ्यारो परिस्थितिबीच नेपालले पहिलो पटक राम्रो कन्ट्री रेटिङ पाएको बताए । ‘यो राम्रो समाचार हो । दक्षिण एसियामा भारतभन्दा पछाडि भए पनि अन्यभन्दा राम्रो हुनु सुखद हो । यसमा राष्ट्र बैंकको निकै ठूलो योगदान छ । यसले हामीलाई वाह्य क्षेत्रबाट हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ,’ उनले भने । यो अवसरलाई उपयोग गर्नुपर्ने र यो स्तरलाई निरन्तरता दिनु चुनौतीका रूपमा रहेको उनले बताए । पछिल्लो १० वर्षमा पहिलो पटक ब्याजदर ९ प्रतिशतभन्दा कम भएको सन्दर्भ निकाल्दै उनले आर्थिक गतिविधि विस्तारमा जोड दिए । त्यसैगरी नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेश अग्रवालले राम्रो वाह्य सूचकमा रहे पनि निजी क्षेत्र शिथिलतामा रहेको उल्लेख गरे । निर्माण, व्यापार क्षेत्र संकुचनमा रहेको, आयात–निर्यात घटेको भन्दै उनले पुरानो समस्याको बोझ मुख्य कारण रहेको बताए । क्रेडिट रेटिङले निजी क्षेत्रको मनोबल उकास्न सहयोग पुग्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सुस्तता अहिलेको समस्याका रूपमा रहेको बताए । विगतमा लिएका नीतिले समस्या समाधान नभएको हो कि भनेर समीक्षा गर्नुपर्ने बताए । सरकारले अर्थतन्त्र सुधार सुझाव आयोगमा निजी क्षेत्रको सहभागिता गराएकोमा उनले आभार व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दललाई आर्थिक रूपमा एक स्थानमा ल्याउन सफल भएको सन्दर्भ निकाले । उनले लगानी सम्मेलनका बेला कानुन परिवर्तनमा प्राप्त सफलता त्यसकै उपज भएको समेत बताए । ‘निजी क्षेत्रले इस्यु, अडान निजी क्षेत्रको फाइदाका लागि मात्र राख्छ, सामाजिक रूपमा उत्तरदायी छैनन् भन्ने जुन मानसिकता थियो, त्यसले राजस्व संकलनमा असर गरेको छ,’ ढकालले भने, ‘आयात निषेध गरेर समस्या समाधान हुँदैन भन्ने निजी क्षेत्रको भावना छ ।’

कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्दै सिद्धार्थ हस्पिटालिटी

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको पहिलो चार तारे होटल सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रबर्द्धनमा जोड दिएको छ । सिद्धार्थले सोभेनियर सपमार्फत विभिन्न स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्री गरिरहेको हो । सोभेनियर सपमा सिमी, मार्सी चामल, मकै, मह, ओखर, रुद्राक्ष, ग्रीन टीलगायतका उत्पादन राखिएको होटलका अपरेशन म्यानेजर रामकृष्ण तिमिल्सेनाले बताए । उनका अनुसार राउटे र अन्य समूदायले बनाएका काठका सामग्री, थारू समूदायले बनाएका ढकिया, डालो, डोकोलगायतका सामग्री समेत सोभेनियर सपमा राखिएको छ । प्रायस् होटलको सोभेनियर सपमा गरगहना र कपडा राख्ने चलन भए पनि यस होटलमा भने यस क्षेत्रका रैथाने उत्पादन राखिएको हो । ‘यहाँ आउने सेवाग्राहीले कर्णालीको चिनोका रुपमा विभिन्न उत्पादन तथा अर्ग्यानिक कृषिजन्य उत्पादन कोसेलीका रुपमा लैजान सकून भन्ने उद्देश्यले यसको सुरुवात गरिएको हो’, उनले भने, ‘हाम्रो यो प्रयासबाट यहाँका उत्पादनको प्रवर्द्धन तथा बजारीकरण हुनुका साथै किसानलाई प्रोत्साहन हुने अपेक्षा गरेका छौ ।’ रैथाने बालीलगायतका उत्पादन प्रवर्द्धन गर्दै आएको कर्णाली प्रदेशको उद्योग मन्त्रालयअन्तर्गतको लघु ओद्यौगिक ग्राम सञ्चालक समितिको समन्वयमा सिद्धार्थ होटललाई उक्त उत्पादन आपूर्तिका लागि समन्वयन गरिएको सो समितिका अध्यक्ष उदिराम डाँगीले बताए ।

पर्सामा सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ ।  पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका नियमित रुपमा  गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याएका रु १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिए । ‘सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किरानाका सामान पक्रिने क्रम ह्वातै बढेको छ’, उनले भने, ‘पछिल्लो समय त सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर पनि खटाएर चेकिङलाई अझै प्रभावकारी गर्ने कोसिस गरिरहेका छौँ ।’ सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको अवधिमा रु १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटर पाटर््स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै सोही अवधिमा रु दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्य पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै लत्ताकपडा, मेसिनरी पार्टपुर्जालगायतका सामान धेरै तस्करी हुने गरेको देखाउँछ । सशस्त्र प्रहरीले सोही अवधिमा जिल्लामा १४ लाख ५१ हजार मूल्य पर्ने पाँच सय ३१ क्युफिट काठ पनि बरामद गरेर डिभिजन वन कार्यालय पर्सालाई बुझाएको छ । त्यस्तै सोही अवधिमा दुई सय ३६ किलोग्राम गाँजा, १४ दशमलव ९६ किलोग्राम लागुऔषध चरेश पनि बरामद गरेको थियो । सशस्त्र प्रहरीले जिल्लामा आव २०८०-८१ मा भने ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो ।

५.२६ प्रतिशत नगद लाभांश बाँड्ने नेशनल बैंकिङ्ग इन्स्टिच्युटको घोषणा

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले पुस ८ गते बिहान साढे ११ बजे काठमाडौंमा १६औँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभाले कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ कायम गर्ने, सञ्चालक समिति सदस्यको संख्या ५ बाट ७ पुर्याउनेछ । यस्तै, सञ्चालक समितिबाट नियुक्त भएका नेपाल राष्ट्र बैंकका नेफिल मातङ्गि मास्के र ग्लोबल आइएमई बैंकका बिल डागालाई सञ्चालकमा अनुमोदन गर्नेछ ।