अमेरिकी–इजरायली आक्रमणका बीच इरानीहरूले कुड्स दिवस मनाए
काठमाडौं । प्यालेस्टिनीहरूलाई समर्थन र इजरायली कदमहरूको निन्दा व्यक्त गर्ने वार्षिक कार्यक्रम अन्तर्राष्ट्रिय कुड्स दिवस मनाउन इरानभरका मानिसहरू सडकमा उत्रिएका छन् । सन् १९७९ मा इरानद्वारा स्थापित यो कार्यक्रम रमजानको उपवास महिनाको अन्तिम शुक्रवार मनाइन्छ । यस वर्ष यो मार्च १३ मा र इरानमाथि जारी अमेरिका–इजरायली हवाई आक्रमणका बीच परेको छ । राजधानीमा मानिसहरूले इरानको झण्डा फहराउँदै र इरानका दिवंगत सर्वोच्च नेता अली खामेनी र उनका उत्तराधिकारी मोज्ताबा खामेनीका तस्विरहरू बोकेर १० फरक स्थानबाट मध्य तेहरानको प्रसिद्ध एंगलाब स्क्वायरतर्फ मार्च गरे। प्रदर्शनकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले गरेका अपराधहरूको निन्दा गरे । इरानी सशस्त्र बलप्रति आफ्नो समर्थन व्यक्त गरे र नयाँ सर्वोच्च नेताप्रति निष्ठाको प्रतिवद्धता जनाए । तेहरानमा आयोजित र्‍यालीमा राष्ट्रपति मसुद पेजेस्कियान, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानी, न्यायपालिका प्रमुख गुलामहोसेन मोहसेनी–इजेईका साथै परराष्ट्रमन्त्री सैयद अब्बास अराघची जस्ता मन्त्रीपरिषद्का सदस्यहरू लगायत धेरै उच्च पदस्थ इरानी अधिकारीहरूले पनि भाग लिएका थिए । आधिकारिक समाचार एजेन्सी इर्नाकाअनुसार र्याली सुरु भएको केही मिनेटमै ¥याली मार्ग नजिकैको तेहरानको मध्य क्षेत्रमा अमेरिका र इजरायलले हवाई आक्रमण गरेका थिए । जसमा परी एक जनाको मृत्यु भएको छ । फेब्रुअरी २८ मा, इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण गरेका थिए । जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीका साथै वरिष्ठ सैन्य कमान्डर र सर्वसाधारणको मृत्यु भएको थियो । इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरू र संयन्त्रहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणहरूको लहर शुरु गरेर यसको जवाफ दिएको थियो ।
रास्वपा र राप्रपाले आज टुंग्याउँदै समानुपातिक सांसद सूची
काठमाडौं । आम निर्वाचनपछि प्रतिनिधिसभामा आरामदायी बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज समानुपातिकतर्फका आफ्ना सांसदहरूको अन्तिम सूची टुंग्याउने तयारी गरेको छ । भर्खरै सुरु भएको पार्टीको सचिवालय बैठकले निर्वाचन आयोगले उपलब्ध गराएको कोटा र समावेशी सिद्धान्तअनुसार समानुपातिक सांसदहरूको नामावली सिफारिस गर्नेछ । समानुपातिक निर्वाचन प्रणालीमा रास्वपाले कुल ५७ सिट जितेको छ । संविधान र समावेशी व्यवस्थाअनुसार तीमध्ये ४८ जना महिला र ९ जना पुरुष सांसद रास्वपाले चयन गर्नुपर्ने हुन्छ । यसअघि समानुपातिक सांसद छनोटबारे निर्णय गर्न हिजो नै सचिवालय बैठक बोलाइएको थियो । तर पार्टी सभापति रवि लामिछाने अस्वस्थ भएपछि बैठक आजका लागि सारिएको हो। उता राष्ट्रिय मान्यताप्राप्त पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आजै समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकबाट समानुपातिक सांसदहरूको नाम टुंग्याइने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
चिपको दुनियाँमा मस्कको ‘इन्ट्री’ गिगाफ्याक्ट्री होइन, ‘टेराफ्याब’ को पालो
काठमाडौं । एलन मस्कले शनिबार आफ्नो कम्पनी टेस्लाको कृत्रिम बौद्धिकता (एआई) चिप निर्माण गर्ने ‘टेराफ्याब’ परियोजना सात दिनभित्र सुरु हुने बताएका छन् । मस्कले गत वर्ष नै टेस्लाले एआई चिप बनाउन ‘अत्यन्त ठूलो चिप कारखाना’ निर्माण गर्नुपर्ने सम्भावना रहेको बताएका थिए । टेस्लाले आफ्नो स्वचालित प्रविधि योजनालाई अघि बढाउन पाँचौं पुस्ताको एआई चिप डिजाइन गरिरहेको छ । गत वर्ष कम्पनीको वार्षिक बैठकमा मस्कले सम्भावित उत्पादन योजनाबारे पनि जानकारी दिएका थिए । त्यस समयमा उनले विद्युतीय सवारी निर्माता टेस्लाले इन्टेलसँग सहकार्य गर्न सक्ने सम्भावना रहेको बताएका थिए । उनले भनेका थिए, ‘सायद हामी इन्टेलसँग केही काम गर्न सक्छौं ।’ तर हालसम्म कुनै सम्झौता भने भइसकेको छैन । ‘हामीले कुनै सम्झौता गरेका छैनौं, तर इन्टेलसँग यस विषयमा छलफल गर्नु उपयुक्त हुन सक्छ,’ उनले भनेका थिए । मस्कले यसअघि पनि एआई ५ नामक चिपबारे संकेत दिएका थिए । साथै टेस्लाले ताइवानको टीएसएमसी र दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्ससँग पनि साझेदारी गरिरहेको बताएका छन् । यी एआई चिपहरू टेस्लाको स्वचालित ड्राइभिङ प्रणाली, विशेषगरी फुल सेल्फ ड्राइभिङ सफ्टवेयर सञ्चालनका लागि प्रयोग हुन्छन्। गत वर्ष टेस्लाको वार्षिक साधारणसभामा मस्कले भनेका थिए, ‘हामीले आपूर्तिकर्ताबाट सम्भावित सबैभन्दा राम्रो अवस्थाको चिप उत्पादनको अनुमान लगाए पनि त्यो पर्याप्त हुँदैन ।’ सम्भवतः हामीले ‘टेस्ला टेराफ्याब’ बनाउनुपर्ने हुन्छ। यो ‘गिगा’ भन्दा पनि धेरै ठूलो हुनेछ। हामीलाई आवश्यक पर्ने चिपको मात्रा उत्पादन गर्न अर्को कुनै उपाय देखिँदैन। त्यसैले अत्यन्त ठूलो चिप कारखाना बनाउनैपर्छ,’ उनले थपे ।
पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
काठमाडौं । पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा ३१ लाख रुपैयाँभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा ३१ लाख १० हजार रुपैयाँ भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ । फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौं भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने बैठकले निर्णय गर्ने छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेस केन्द्रीय कार्यालयले निर्देशानुसार अनुरोध गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सिट सो पार्टीले जितेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आज समानुपातिकको नाम टुङ्गो लगाइने बताए। उनले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुनसक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुङ्गो लगाइने रहेको बताए ।
चैतमा ६ बैंकले घटाए ब्याजदर, अधिकतम ५ प्रतिशत पाइने
काठमाडौं । वाणिज्य बैंकहरूको चैतमा पनि ब्याजदर घटेको छ । आज चैत १ गतेदेखि लागू हुने गरी विभिन्न ६ बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । चैत महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०८ प्रतिशत घटेर औसत ४.४९ प्रतिशतमा झरेको छ । जबकि फागुनमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.५७ प्रतिशत थियो । यस्तै, चैतमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०४ प्रतिशत घटेर ३.२९ प्रतिशतमा झरेको छ । यसअघि फागुनमा संस्थागततर्फ औसत ३.३३ प्रतिशत ब्याजदर थियो । चैत महिनाका लागि ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैतमा ब्याजदर घटाएका हुन् । यस्तै, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।
विदेशमा रहेका नेपालीले आजसम्म टक्सार पिखुवा खोलाको आईपीओमा आवेदन दिन सक्ने
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १ गते अन्तिम दिन रहेको छ । फागुन २७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता सेयर श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
ग्यास सिलिन्डर लुकाउने डिलरलाई ५० हजार जरिवाना
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला पारेपछि सो कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । जिल्ला प्रशासन कार्यालयसहित जिल्ला प्रहरी कार्यालय, आयल निगम, स्थानीय जनप्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले पोखराका ५ ग्यास डिलरको अनुगमन गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बजारमा ग्यास अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा एउटा डिलरमा कैफियत भेटिएको र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्कालै जरिवाना गरिएको बताए । अनुगमन टोलीले भण्डारी ट्रेडर्समा भेटिएका ४८ थान ठूला र ३८ थान साना ग्यास सिलिन्डर पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा तत्काल उपभोक्तालाई बिक्री गर्न समेत निर्देशन दिएको छ । प्रशासनको अग्रसरतामा आजै बसेको सरोकारवालाको समन्वय बैठकले एलपी ग्यासको बिक्रीवितरणलाई व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ । प्रशासनले ग्यासको अनावश्यक सञ्चय नगर्न, आधिकारिक प्रमाणपत्र लिएका व्यवसायीले मात्र बिक्रीवितरण गर्न र बोतल वा जर्किनमा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री नगर्नसमेत आग्रह गरेको छ । प्रशासनले ज्येष्ठ नागरिक, पूर्ण रूपले अशक्त र अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई ग्यासमा प्राथमिकता दिन बिक्रेतालाई आग्रह गरेको छ ।