३ करोड लागतमा सभाहल निर्माण
दमौली । म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको तीन करोड रुपैयाँ लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदैछ । अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।
म्याग्दीमा ८ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण
म्याग्दी । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् । बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सहरी विकास मन्त्रालयको रु एक करोड ५९ लाख र वडा नम्बर ७ चिमखोलामा रु एक करोड ६७ लाख २८ हजार एक सय २६ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वास्थ्य चौकीमा निलगिरिखोला जलविद्युत् आयोजनाको रु २८ लाख ४९ हजार सहयोगमा निर्माण भएको छकोठे भवनमा प्रसूतिगृह सञ्चालन भएको छ । अन्नपूर्ण–३ दाना र वडा नम्बर ७ हिस्तानको औलामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणाधीन छन् । मालिका गाउँपालिका–२ रुममा रु दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ र वडा नम्बर ३ डाडाँगाउँमा रु एक करोड ५९ लाख ८३ हजार सात सय ७२ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, मङ्गला गाउँपालिका–२ रणवाङमा रु एक करोड ३० लाख र धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएर सेवा सञ्चालनमा ल्याइसकिएको छ । छवटा स्थानीय तहका ४५ वडा रहेको सदरमुकाम बेनीमा रहेको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणाधीन छ । धवलागिरिको ताकममा पाँच र मङ्गलाको हाडेभिरमा १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माणाधीन छ । अन्नपूर्ण गाउँपालिका–१ दोवामा निर्माण भएको पाँच शय्याको अस्पताल भवन जनशक्ति र उपकरण अभावका कारण सञ्चालन भएको छैन । बेनी नगरपालिका–१ रत्नेचौर, रघुगङ्गा–१ बेग, अन्नपूर्ण–१ दोवा, वडा नम्बर ५ शिख, मालिका–१ निस्कोटस्थित स्वास्थ्य चौकीले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।
एनआईबीएल इक्विटी पार्टनर्सद्वारा इलेक्ट्रो पावर कम्पनीमा लगानी
काठमाडौं । दिगो व्यवसाय प्रवर्द्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । यो साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्नेछ । एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका जलविद्युत् परियोजनाहरूले आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्धन गर्न राखेको सम्भावनालाई महत्वका साथ लिँदै आएको छ । यो साझेदारीले ऊर्जा सुरक्षामा योगदान पुर्याउँदै ऊर्जा निर्यातको सम्भावनालाई बलियो बनाउन सहयोग पुर्याउने एनआईबीएल इक्विटी पार्टनर्सको विश्वास रहेको जनाइएको छ । यसबारे बोल्दै एनआईएमबी एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, ‘इलेक्ट्रो पावर कम्पनी लिमिटेडसँगको हाम्रो यो साझेदारीले नेपालको ऊर्जा सम्भावनालाई थप उपयोग गर्न सहयोग पुर्याउनेछ । यो परियोजना प्राकृतिक विपत्तिका जोखिमलाई न्यून गर्दै ऊर्जा उत्पादनलाई अधिकतम बनाउन डिजाइन गरिएको छ जसले स्वच्छ ऊर्जा क्षेत्रमा सुरक्षित लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई कायम राख्नेछ । यो लगानीले नेपालको स्वच्छ ऊर्जा सम्भावना उजागर गर्नुका साथै निजी क्षेत्रको लगानीलाई आकर्षित गरी देशको अर्थतन्त्र र भविष्य ऊर्जा सुरक्षामा सकारात्मक प्रभाव पार्नेमा हामी ढुक्क छौँ ।’ इलेक्ट्रो पावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक माधव प्रसाद मैनालीले पनि उत्साह प्रकट गर्दै भने, ‘यो साझेदारीले निर्माण प्रक्रियालाई तीव्रता दिनुका साथै हाम्रो आत्मबल बढाउनेछ र जलविद्युत् परियोजनाको विकासलाई तीव्र गतिमा अघि बढाउन मद्दत गर्नेछ । यस किसिमका लगानीले नेपालको ऊर्जा क्षेत्रमा परिवर्तन ल्याउन, स्वच्छ ऊर्जा प्रवर्धन गर्न र देशको ऊर्जा लक्ष्यलाई सकारात्मक प्रभाव पार्नेछ ।’ एनआईबीएल इक्विटी पार्टनर्स र इलेक्ट्रो पावर कम्पनी लिमिटेडबीचको यो साझेदारी नेपालको स्वच्छ ऊर्जा क्षेत्रमा बढ्दो गएको चासोलाई प्रस्ट बनाएको छ । यो सहयोगले ऊर्जाको माध्यमबाट देशको दीर्घकालीन दिगोपन र आर्थिक समृद्धिमा पनि योगदान पुर्याउने लक्ष्य राखेको छ ।
वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड सङ्कलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ। कार्यालयले गत साउनमा रु १२ अर्ब १६ करोड, भदौमा रु १३ अर्ब २३ करोड, असोजमा रु १३ अर्ब ४७ करोड कात्तिकमा रु ११ अर्ब चार करोड राजस्व सङ्कलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ सङ्कलन भएको थियो ।
कार्वन आम्दानीको रकम नविकरणीय उर्जामा लगानी गर्ने
काठमाडौं । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले कार्वन आम्दानीबाट उठेको रकम नविकरणीय उर्जा प्रवर्द्धनमा लगाउने भएको छ । वैकल्पिक उर्जा विकास समितिका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको अध्यक्षतामा बैकल्पिक उर्जा विकास समितिको बिहिबार साँझ बसेको बैठकले नविकरणीय उर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्वन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो । बैठकले कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवम् ठूला वायोग्याँस, सौर्य सिंचाई, लघु तथा साना जलविद्युत, घरायसी तथा संस्थागत विद्युतीय चुल्हो प्रवर्द्धन तथा नविकरणीय उर्जा प्रविधिको मर्मतसम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरेको बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए । यस्तै, बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग र दुव्र्यवहार (निवारण) आचार संहिता, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ । साथै, केन्द्रअन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्यांकन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारी पत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशकलाई स्वीकृती प्रदान गर्ने निर्णयसमेत गरेको छ । बैठकमा समितिका अध्यक्ष एवम् उर्जामन्त्री खड्काले स्वदेशमा विद्युत खपत वृद्धि गर्ने सरकारले लिएको लक्ष्य पुरा गर्नका लाई केन्द्रले नयाँ सोच एवम् कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको मन्त्री खड्काको भनाई उदृत गर्दै बैठकमा सहभागी केन्द्रका नायव कार्यकारी निर्देशक डा नारायण अधिकारीले जानकारी दिए । यस्तै, बैठकले सन् २०२५ को जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ उर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ देखि उक्त दिवस मनाउने घोषणा गरेको थियो । उर्जामन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपिजी ग्याँसलाई विस्थापनको लागि विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवम् व्यापक रुपमा विस्तार गर्ने कार्यक्रम ल्याउन केन्द्रलाई निर्देशन दिए ।
कुमारी बैंक र आशा लघुवित्तको सेयर बिक्रीमा, कुनको कति कित्ता ?
काठमाडौं । कुमारी बैंक र आशा लघुवित्त वित्तीय संस्थको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक र लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २८ हजार ६६३ कित्ता सेयर बिक्रीमा राखेका हुन् भने आशा लघुवित्तका सेयरधनीले २ लाख ७५ हजार ९२७ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंक र लघुवित्तको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।
२.७२ करोडमा ‘चार्जिङ स्टेशन’ निर्माण, एकैपटक १५ वटा गाडी चार्ज गरिने
काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर-५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा २ करोड ७२ लाख रुपैयाँ लागतमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माण भएको छ । स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरे । स्टेशनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।
१३५.८८ रुपैयाँ पुग्यो अमेरिकी डलरको मूल्य, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.३९ रुपैयाँ र बिक्रीदर १४३.०२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.०७ रुपैयाँ र बिक्रीदर १७२.८३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.०१ रुपैयाँ र बिक्रीदर १५३.६९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.०७ रुपैयाँ र बिक्रीदर ८८.४५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.२३ रुपैयाँ र बिक्रीदर ९६.६५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.८५ रुपैयाँ र बिक्रीदर १०१.२९ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०० रुपैयाँ र बिक्रीदर ३६.१६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९६ रुपैयाँ र बिक्रीदर ३.९८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३६.९९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५५ रुपैयाँ र बिक्रीदर ३०.६९ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३७ रुपैयाँ र बिक्रीदर १२.४२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३८ रुपैयाँ र बिक्रीदर १७.४६ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४३९.९८ रुपैयाँ र बिक्रीदर ४४१.९३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५८.७७ रुपैयाँ र बिक्रीदर ३६०.३६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.३७ रुपैयाँ र बिक्रीदर ३५२.९३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।