संघीय मामिलाले भन्यो : शिक्षकलाई मासिक तलब दिनु
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकको तलब मासिकरूपमा उपलब्ध गराउन सबै स्थानीय पालिकालाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मन्त्रालयलाई ताकेता गरेपछि सबै पालिकालाई शिक्षकको तलब उपलब्ध गराउन पत्राचार गरेको हो । ‘शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भई आएको हुँदा पत्रको छायाँ प्रति यसै साथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ संघीय मन्त्रालयको पत्रमा छ । शिक्षकहरूले तलब नपाएको गुनासो गरेपछि शिक्षा मन्त्रालयले स्थानीय सरकारलाई तलब उपलब्ध गराउन भनेको थियो । तर, कतिपय पालिकाले तलब उपलब्ध नगराएपछि शिक्षा मन्त्रालयले संघीय मन्त्रालयमार्फत पत्र पठाएको थियो ।
कर्मचारीको निःशुल्क बीमा गरिने
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले कर्मचारीको निःशुल्क बीमा गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा नीति बमोजिम नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिक तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन आग्रह गरेको हो । नगरपालिकाले स्वास्थ्य बीमा सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरिसकेको छ । नगर प्रमुख मोहन प्रसाद बस्नेतले एक सूचना जारी गर्दै भनेका छन्, ‘नागार्जुन नगरपालिकाको निःशुल्क स्वास्थ्य बीमा सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत भएको सन्दर्भमा राष्ट्रिय स्वास्थ्य बीमा नीति बमोजिम नागार्जुन नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिक तथा नागार्जुन नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई नगरपालिकाको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम अनुसार निःशुल्क स्वास्थ्य बीमा गरिने भएकोले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।’
नेपाल एसबिआई बैंकले गर्यो राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयलाई सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलालीस्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक वितरण गरेको छ । उक्त सामाग्रीहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, बसन्ती बलामी र प्रधानाध्यापक, जंग वहादुर तारामीलार्ई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका सुदुर पश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भन्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
बचतपत्रमा बैंकभन्दा बढी ब्याज हुँदा पनि लगानीकर्ताको आकर्षण कम
काठमाडौ । नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकहरूले प्राथमिकता दिने गरेका छन् । यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा भने अत्यन्त कम छ । बैंकको मुद्दती निक्षेपभन्दा बढी ब्याज दिने बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । यसको प्रचारप्रसारको अभाव, केही प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यसप्रति लगानीकर्ता आकर्षित हुन सकेका देखिँदैनन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मुख्यतः दुई प्रकारका बचतपत्र जारी गर्दै आएको छ । पहिलो, ‘नागरिक बचतपत्र’, जुन नेपाली नागरिकको बचत परिचालन गरी आन्तरिक ऋण जुटाउन प्रयोग गरिन्छ । दोस्रो, ‘वैदेशिक रोजगार बचतपत्र’, जुन वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक वा फर्केका नागरिकका लागि लक्षित उपकरण हो । यी बचतपत्रहरू पाँचवर्षे अवधिका हुन्छन् र हालको ब्याजदर क्रमशः साढे सात र साढे आठ प्रतिशतले रहेको छ । यो ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा धेरै आकर्षक भए पनि यसको महत्त्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन । बचतपत्र पूर्ण रूपमा सुरक्षित लगानी हो । यसमा सरकारले मूलधनको ‘ग्यारेन्टी’ गरेको हुन्छ । साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधै जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने हुँदा यसमा लगानी गर्दा अन्य क्षेत्रमा पनि लगानीका अवसर खुल्नुका साथै दोस्रो बजारमा यसको सहज कारोबारले बचतपत्रलाई छिटो तरलता प्रदान गर्छ । बचतपत्र फाइदाहरू हुँदाहुँदै पनि बचतपत्र लगानीकर्ताको रोजाइमा पर्न नसक्नुका पछाडि प्रचारप्रसारको कमी र धेरै लगानीकर्तालाई यसबारे जानकारी नहुनु रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए । ‘बचतपत्रप्रति नागरिकको कम आकर्षणका केही ठोस कारणहरू छन् । पहिलो र मुख्य समस्या यसको प्रचारप्रसारको अभाव हो’, पुडासैनीले भने, ‘बचतपत्रको प्राथमिक निष्कासन प्रक्रिया निकै सजिलो भए पनि यसबारे धेरैलाई जानकारी छैन । बजारको सीमित जानकारी र पहुँचले पनि बचतपत्रप्रति लगानीकर्ताको चासो घटाएको हुनसक्छ ।’ बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती निक्षेप र अन्य बचत योजनाको प्रचार व्यापक रूपमा गर्ने भए पनि बचतपत्रका बारेमा पर्याप्त जानकारी प्रवाह गरिएको पाइँदैन । बचतपत्रलाई तत्काल तरलतामा रुपान्तरण गर्न सकिन्छ । अर्थात् आफूले खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ । ‘बचतपत्र धनीले आफूले चाहेका बेला बजार निर्माताका रूपमा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलै बिक्री गर्न सक्छन् । कसैले बिक्री गर्न चाहेमा बैंकले खरिद गर्दिन भन्न पाउँदैन । यसकारण बचतपत्रलाई एकदमै तरल प्रकृतिको मान्न सकिन्छ’, पुडासैनीले भने, ‘जसकारण भोलिका दिनमा बैंकहरूको ब्याजदर बढ्यो भने पनि बचतपत्र बेचेर मुद्दती निक्षेप लगानी गर्नसक्ने विकल्प खुला छ ।’ नेपालमा वित्तीय साक्षरताको कमी पनि बचतपत्रप्रति कम आकर्षण हुनुको अर्को कारण हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत सहजै कारोबार गर्न सकिने भए पनि धेरैजसो नागरिकलाई यी माध्यमहरूको प्रयोगबारे प्रस्ट जानकारी छैन । आमनागरिकले आफ्नो बचतलाई सुरक्षित रूपमा परिचालन गर्न सकिने साधनका रूपमा बचतपत्रलाई बुझ्न सकेका छैनन् । बचतपत्रमा लगानी आकर्षित गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले केही सुधारका प्रयासहरू गरिरहेको पुडासैनीले जानकारी दिए । अनलाइन माध्यमबाट सजिलै आवेदन दिन सकिने, बचतपत्रको ब्याज रकम सिधै खरिदकर्ताको बैंक खातामा जम्मा हुने, दोस्रो बजारको कारोबारलाई सहज बनाउन प्रक्रियागत सुधार र दोस्रो बजारमा कारोबार गरेबापत ग्राहकसँग लिइने शुल्क कटौतीजस्ता प्रयास भएको उनले बताए । विदेशमा रहेका नेपालीहरूका लागि लक्षित वैदेशिक रोजगार बचतपत्रले उनीहरूको आम्दानीलाई सुरक्षित लगानीमा रूपान्तरण गर्न सहयोग पुर्याउने भए पनि त्यो अवसरका सदुपयोग भने हुन नसकेको पुडासैनीले स्वीकारे । ‘विगतमा केही वैदेशिक रोजगार बचतपत्र एक प्रतिशतभन्दा कम सस्क्राइब (खरिद) भएका उदाहरण पनि छन् । तर पछिल्लो समय विस्तारै बचतपत्र खरिद गर्नेहरूको सङ्ख्या बढिरहेको छ’, उनले भने । दश प्रतिशत ब्याजदर दिइएका वैदेशिक रोजगार बचतपत्र २०८१, २०८१ ‘क’, २०८२ र ११ प्रतिशत ब्याज दिइएको २०८५ को एक प्रतिशतभन्दा कम खरिद भएको थियो । साढे १२ प्रतिशत ब्याज दिइएको वैदेशिक रोजगार बचतपत्र २०८४ को भने कुल निष्कासित रकमको ११ दशमलव ३४ प्रतिशत खरिद भएको थियो । अहिले पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही मङ्सिर १२ गतेदेखि वैदेशिक रोजगार बचतपत्र–२०८६ (क) निष्कासन गरेको छ । कूल ५० करोड रुपैयाँ बराबरको निष्कासन रहेको पाँच वर्ष अवधिको यो बचतपत्रमा साढे आठ प्रतिशत ब्याजदर दिइने कार्यालयले जनाएको छ । यो बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुनेछ । घटीमा १० हजार रुपैयाँ र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका र निजका परिवारले खरिद गर्न पाउने यो बचतपत्रको आगामी पुस १४ गतेसम्म बिक्री खुला रहेको छ । सरकारले बचतपत्रको लोकप्रियता बढाउन थप कदम चाल्नु आवश्यक छ । यसको प्रचारप्रसारलाई तीव्रता दिने, प्रक्रियागत जटिलता हटाउने, र वित्तीय साक्षरता अभिवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्छ । बचतपत्रजस्तो सुरक्षित र लाभदायक उपकरणलाई नागरिकहरूको पहिलो रोजाइ बनाउने हो भने यसले निजी बचतलाई परिचालन गरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । रासस
युनियन मेवा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लक्ष्मी सनराइज क्यापिटलले युनियन मेवा हाइड्रो लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १०० रुपैयाँ अंकित दरका ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँ रकम बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेको छन् । युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
उद्यमीलाई नपत्याउने बैंक, पैसाभन्दा पहिला आइडिया
मैले जुन क्षेत्र रोजेकी छु, यसमा कहिल्यै पछुतो लागेन । अहिले त झन् ममा उत्साह थपिएको छ । केही दिनअघि मात्र बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १ सय जना प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्यो, त्यसमा नेपालबाट मेरो नाम पर्दा मेरो खुसीको सीमा छैन । यसले पनि मलाई थप हौसला पुगेको छ । मेरो आफ्नो नामभन्दा पनि देशको नाम अगाडि आयो भन्ने मलाई लागेको छ । जुन मुद्दाको लागि म लगायत हामी केही युवा लडेका थियौं, त्यो एजेण्डालाई मूल्यांकन गरेको जस्तो लागेको छ । नेपाली समाजले हेर्ने भनेको राजनीतिक अथवा निजामती कर्मचारीमा पनि ठूलो पदमा पुगेका महिलाहरूलाई हो । तर, बीबीसीले सामाजिक मुद्दा उठाएका महिलालाई अगाडि बढाएर मेरो कामको मूल्यांकन गर्दै मलाई छनोट गर्यो, यो नै ठूलो कुरा हो । फेरि हाम्रो समाजमा आर्थिक, सामाजिक, राजनीतिकलगायत विभिन्न विषयका मुद्दाहरू आएपनि वातावरणका मुद्दा खासै अगाडि आएको पाइँदैन । जबकि यो सबैको आधार भनेको वातावरण हो । वातावरण बिग्रियो हाम्रो जीवनका साथै समाज र अर्थतन्त्र पनि हुँदैन । हामीले यही कुरा बुझेर वातावरणको दिगो पक्षमा लागेका हौं । तर आजभोलि ग्लोबल्ली रूपमा यो विषयमा आवाज उठ्न थालेपछि नेपालमा पनि प्राथमिकतामा पर्दै आएको छ । हाम्रो विगतलाई हेर्ने हो भने हाम्रो जीवनशैली, हाम्रो दर्शन वातावरणसँग मिलेर बाँचेको छ । अहिले हामी यी कुराहरू बिर्संदै गएका छौं । वातावरण अझै पनि प्राथमिकताको विषयमा पर्दैन । यो मात्र नभई सामाजिक क्षेत्रको विषयसमेत त्यति प्राथमिकतामा पर्दैन । अहिले हाम्रा कलेजहरूमा शिक्षा संकाय, मानविकीलगायतका विषयमा विद्यार्थी पाउन मुस्किल छ । समाजशास्त्र, मानवशास्त्रलगायतका विषय कसैले पढ्नुपर्छ भनेर पनि भन्दैन र पढ्न विद्यार्थीको पनि रुचि हुँदैन । बरु पढ्ने विद्यार्थीलाई पनि सबैभन्दा कमजोरको रूपमा हेरिन्छ । यी विषय पढ्दा पैसा हुँदैन, भविष्य नै छैन भन्ने तरिकाबाट हेरिन्छ । अभिभावकले पनि डाक्टर, इन्जिनियर लगायतका प्रतिष्ठित विषय पढाउन बढी जोड दिन्छन् । त्यसैले पनि म डाक्टर पढ्न छोडेर यो विषय रोजेकी हुँ । आज म डाक्टर पढेको भए यो अवसर पाउने थिइनँ । मैले जति अवसर पाएँ यही क्षेत्रमा लागेर पाएकी हुँ, यसमा मलाई आज गर्व लाग्छ । हरेक क्षेत्रमा समस्या छन् । हरेक क्षेत्रमा समस्या समाधान गर्ने मान्छे चहिन्छ । सबैलाई एउटै कुरा महत्त्व लाग्छ भन्ने पनि छैन, कसैलाई कुनै क्षेत्रमा जान मन लाग्छ त कसैलाई कुनै । मलाई वातावरणको क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्यो र यो क्षेत्र रोजें । मैले यो क्षेत्र रोज्दा बुवाआमादेखि शिक्षक आफन्तहरू सबै जना खुसी थिएनन् । धेरैले डाक्टर बन्न छोडेर यो के विषय रोजेको हो ? यो पढेर अब के गर्छौ भन्ने कुरा पनि गरे । तर मेरो इच्छा यही क्षेत्रमा केही गर्ने थियो । मैले कुरा सबैको सुनें तर, काम आफ्नो गरें । तर अहिले आएर सबैजना खुसी हुनुहुन्छ । मलाई देखेर धेरै साथीहरूले मेरै बाटो पनि पच्छाएका छन् । केही फरक विषय पनि पढ्दा हुने रहेछ भन्ने कुराहरू पनि अहिले आएको छ । नयाँ विषय पढ्यो भने पो नयाँ बाटो बन्छ, नयाँ काम गर्ने अवसर पाइन्छ भन्ने बुझाइ अहिले हुँदै गएको छ । हाम्रो समाजमा कुनै पनि निर्णय सामाजिक प्रेसरले हुन्छ । समाजको प्रेसर अभिभावकमाथि, अभिभावकको प्रेसर छोराछोरीप्रति हुन्छ । समाजले कुन करिअरलाई राम्रो मान्छ, कहाँ गयो भने बढी पैसा कमाउन सकिन्छ, कहाँ जाँदा बढी इज्जत पाइन्छ भन्ने कुरामा यी सबै कुरा हुँदै आएका छन् । हामीभन्दा पहिलेको पुस्तामा सरकारी जागिर खानसम्म मात्र पढिन्थ्यो । त्यसपछि अहिलेको पुस्तामा आफ्नो छोराछोरीलाई आफ्नो रोजाइका विषयहरू पढाउनतिर बढी लगाइयो । तर अहिले कतिपय अभिभावकले छोराछोरीका चाहनाअनुसार विषय छनोट गर्छन् भने धेरैजसो विद्यार्थी अन्य फरक विषयहरू रोजेर अध्ययन गरिरहेको पाइन्छ । कानुन, आइटी क्षेत्रमा पनि विद्यार्थी पढिरहेका छन् । कतिपय विद्यार्थी प्रेसरमा आफ्नो मन नभएको विषय पढिरहेका छन्, जसले गर्दा उनीहरू मानसिक दबाब झेल्न बाध्य छन् । यसमा अभिभावक र समाजको ठूलो भूमिका हुन्छ । कुनै पनि विषय राम्रो नराम्रो भन्ने हुँदैन । हरेक विषयको आ-आफ्नो स्कोप छ । हामीलाई उद्यमी पनि चाहिएको छ, किसान पनि चाहिएको छ । एउटा समाज चल्न पेशा, उद्योग सबैथोक चाहिन्छ । जतिबेला हामीले समाजलाई केही लाभ दिन्छौं त्यहीअनुसार हामीले पनि केही पाउँछौं । एउटा पत्रकारले कहिले कसैले नउठाएको मुद्दा उठाएर पनि समाजलाई केही दिन सक्छ । सामाजिक अभियन्ता बनेर पनि केही गर्न सकियो, वकिल बनेर राम्रो केस जिताउन सकियो, व्यापार गरेर त्यसमा रोजगारी सिर्जना गर्न सक्यो । हरेक क्षेत्रबाट कैले दिने के हो ? त्यो कसरी दिन सक्छु र त्यो दिएवापत के फाइदा हुन्छ ? भन्ने विषयमा सोच्न आवश्यक छ । मैले के दिएँ मैले वातावरणको विषयमा आवाज उठाउँदै आएकी छु । जब मैले यो क्षेत्रमा कदम चालें त्यो बेला यो विषय उपेक्षित मुद्दा थियो । मैले दिन खोजेको सन्देश भनेको नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने हो । राम्रो काम गर्न नेपालबाट बाहिर जान पर्दैन । नेपालमै बसेर अझ बढी गर्न सकिन्छ, आफूले समाजलाई जति गर्यो त्योभन्दा बढी पाउन पनि सकिन्छ भनेपछि हरेक हिसाबले नेपालमै राम्रो छ भन्ने हो । अर्कोको प्रेसरमा अर्काको इच्छाअनुसार चल्न पनि पर्दैन । अर्को कुरा यदि मैले यो काम अहिले सुरु गरिनँ भने सुरु हुन अझ धेरै समय लाग्ला, अथवा नहोला पनि । कपडाको झोला धेरै बिर्सिसकेको अवस्था थियो । हामी प्लाष्टिकको झोलामा गइसकेका थियौं । मैले वातावरणमैत्री पनि हुने राम्रो पनि हुने हुनाले कपडाको झोला राम्रो हुन्छ भनेर सम्झाउने काम गरें । यति गर्दा रोजगारी सिर्जना पनि हुन सक्छ भन्ने लाग्यो । वातावरणीय समस्या र सामाजिक समस्या मिलायो भने अर्को समाधान निस्कन्छ भन्ने कुरा पनि हामीले सिकायौं जस्तो लाग्छ । कुनैपनि उद्यम गर्दा त्यसले उद्यमसँगै समाजलाई पनि राम्रो गर्न सकिन्छ भन्ने हिसावले काम गर्यौं । मसँगै काम गर्ने धेरै साथीहरू अहिले आफ्नै बिजनेस गरिरहनुभएको छ । उहाँहरूको मान्यता पनि यही छ । समाजलाई के दिने र त्यसबाट कसरी लिने भन्नेकुरालाई मध्यनजर गर्दै काम गरिरहनुभएको छ । यतिसम्म कि डेलिभरी गर्दा पनि पेट्रोलभन्दा पनि इलेक्ट्रोनिक गाडी रोज्नुहुन्छ । यस्तो सोच राख्ने अहिले हजारौं युवाहरू छन्, यो पनि खुसीको कुरा हो । अब महिलाहरूको रोजगारीको कुरा गरौं । अनौपचारिक काम नपाउने, पाइहाले पनि जाँदा सुविधा नपाउने, रोजगारदाताले हेप्ने विभिन्न खालका समस्या थियो । नेपाल सरकारले अहिले पनि यो विषयमा ध्यान दिएको छैन । हामी भेट्न जाँदा पनि वैदेशिक रोजगारमा जाने महिलाहरू प्रक्रिया राम्रोसँग मिलाउन नसकेको अवस्थामा आन्तरिक कुरा त सोच्नै भ्याएको छैन भन्नुभयो । त्यो बेलादेखि नै हामीले ‘हाम्री बहिनी’ जब प्यालेसमेन्ट सर्भिस सुरु गरेका थियौं । यसमा करिब १४ सय दिदी बहिनीहरूलाई तालिम दिएर रोजगारदाताहरूसँग काम गर्ने घण्टा, दिने पैसा कुरा गरेर रोजगारको अवसर दिएका छौं । अहिले त्यस्ता धेरै संस्थाहरू आइसकेका छन् । अर्को भनेको हिमालको सरसफाइ त्यसको फोहोर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा पहिलो पटक ‘अभनी भेन्चर्स ’को थ्रु पायनर पनि गर्यौं । त्यस्तै, प्लाष्टिकको र्यापर व्यवस्थापन नहुँदा वातावरणमा नै समस्या देखिएको छ, हामीले पहिलो पटक यो व्यवस्थापन पनि गर्याैं । हामीले यस्तै कामहरू गर्दै आएका छौं । ‘हाम्री बहिनी’ सुरुवात गर्दा झोला उत्पादन गर्नेदेखि लिएर तालिम दिएर घरघरमा काम गर्नेहरू करिब १३ सय जना हुनुहुन्छ । अर्को अहिले जुन फोहोरमैला व्यवस्थापन गर्ने देशभरको नेटवर्क छ, त्यसमा तीन सयदेखि चारसय जनालाई रोजगारी दिइएको छ । उनीहरूले मासिक तलबको रूपमै काम गरिरहनुभएको छ । पैसाभन्दा पहिला आइडिया कुनै पनि काम गर्न पेसा चाहिन्छ नै । तर, पैसा भएर मात्र हुँदैन । पहिले म के गर्दैछु भन्ने सोंच्नुपर्यो । त्यसपछि त्यसको आवश्यकता कहाँ कति छ ? यो आपूर्ति कति गर्न सक्छु भन्ने आफ्नो भूमिका के हुन्छ भन्ने थाहा पाउनु पर्यो । यसका लागि समय लाग्छ । मैले भर्खर पढाइ सक्दा मसँग पैसा पनि थिएन । मैले कहिले भोलेन्टियरको रूपमा काम गरें , त्यसपछि फण्डरेज गरेर पनि काम गरें । सुरुमा हामीले प्लान्टेसनको काम सुरु गर्दा तीनकुनेमा साथीहरूको समूह मिलेर भोलेन्टरिङ गर्दा पैसा लिन पनि गाह्रो भयो । त्यहाँ वरिपरी बैंकहरू थिए, उहाँहरूले व्यक्तिको खातामा हाल्न मिल्दैन, तपाईंहरूको संस्था चाहिन्छ भन्नुभयो । त्यसपछि संस्था चाहिँदो रहेछ, बैंक खाता चाहिँदो रहेछ भनेर संस्था दर्ता गर्यौं । मैले भन्न खोजेको पैसा भएर मात्र हुँदैन, त्यसका लागि अनुभव पनि चाहिन्छ । पैसा छ भनेपनि एकछिन त्यो पैसा त्यत्तिकै राख्नुहोस्, त्यसमा आफ्नो विज्ञता बनाउनुहोस् र लगानी गर्नुहोस् भन्छु । अर्को कुरा नेपालमा केही उद्यम गर्छुभन्दा पनि कुनै पनि बैंकले पत्याउँदैनन् । महिलाहरूलाई उद्यम गर्नको लागि बिना धितो लोनहरू दिने भनिन्छ तर, खोज्न जाँदा थोरै रकम त्यसमा पनि अलिकति पैसा बढाउँदा धितो अनिवार्य खोज्दो रहेछ । गर्नुपर्छ भनेर नै पढेको १० देखि १२ कक्षासम्म पढ्दा म के बन्न चाहन्छु, त्यसका लागि कुन विषय पढ्ने भन्ने कुरा त्यति थाहा हुँदैन । मैले पनि डाक्टर बन्ने होला भन्नेबाहेक केही सोचेकी थिइनँ । तर पछि बुझदै जाँदा यो फिल्ड मेरो लागि होइन भन्ने लाग्यो । म गर्ने होला, कुन विषय पढ्ने होला, भनेर बुझ्दै जाँदा वातावरण विज्ञान भन्ने विषय पनि रहेछ । त्यो सुन्नेबित्तिकै मलाई चासो लाग्यो । त्यो विषयमा मैले बुझें- त्रिचन्द्र कलेजमा यो विषय पढाइ हुने रहेछ । मैले २-३ महिना कक्षा लिएरै पढें । १ वर्षयता एमबीबीएसको तयारी गर्दै थिएँ भने अर्कोतिर यो विषयमा पनि बुझ्दै थिएँ । त्यसपछि मैले उताको तयारी छोडेर यो विषय लिएर पढ्न थालें । वातावरणमा सबै कुरा पर्छ । पृथ्वी छैन भने हाम्रो अस्तित्व नै छैन भन्ने थाहा पाएँ र यो विषय रोजें । मेरो नेचर पनि घुम्ने भेटघाट गर्ने भएकाले पनि यो विषय रोजेकी हुँ । विकासले विनाश ल्याउँदै हाम्रा केही पक्षहरू राम्रा छन् । केही सुधार गर्नुपर्ने छन् । प्रकृतिले जे दिएको छ, त्यो नेपालजस्तो कुनै ठाउँमा छैन । २३ प्रतिशत संरक्षित क्षेत्र, जंगल ,कल्चर आफ्नो जीवनशैली राम्रो छ । तर, यसलाई हामीले उपभोग गर्न जानेका छैनौं । हामीले विकासमा नाममा विनाश गरेका छौं । यहाँ भूकम्प आउँछ, मनुसनमा विपत्ति आउँछ । यो सब कारण भनेको हामीले गरेको भनेको विकासले हो । जताततै रोड खनेर सिमेन्टले टालेर विकास हुँदैन । खोलानाला विनाश गरेर विकास हुँदैन । अब बागमतीको जस्तो अवस्था हिमालमा पनि नआउलान भन्न सकिँदैन । अहिले सबै मान्छे शिक्षित छन्, पढेलेखेका छन् । उनीहरूलाई यस्ता सबै कुरा थाहा हुनुपर्ने हो तर साक्षर हुनुभनेको सबै कुरा बुझ्ने भन्ने हुँदैन रहेछ । अहिले विकासको मोडल नै विकसित देश जस्तो बनाउनु हो भन्ने आइसकेको छ । हामीले विकास भनेको ठूलठूला भवन हुनु पर्यो, उद्योग कलकारखाना हुनुपर्यो र सबैको घरघरमा सडक पीच हुनुपर्यो भन्नेमात्र ठानेका छौं । तर हामीसँग जे छ, त्यसलाई जोगाएर अरूभन्दा युनिक कसरी बन्ने भन्नेबारे कसैको ध्यान गएको छैन । यो देशलाई अन्य देश जस्तो होइन, नेपाललाई नेपालजस्तो बनायो भने सबैभन्दा राम्रो हुन्छ भन्ने मेरो बुझाइ हो । यसमा अब जनप्रतिनिधि, सरकोरवाला सबैले ध्यान दिनुपर्छ । योजना यसमा ग्राउण्डमा गर्ने काम त रोकिँदैन, यो जारी नै रहन्छ । ग्राउण्डमा काम गरेको हुनाले नै यस्ता-यस्ता समस्या छन्, यसका लागि यस्तो नीति बनाउनुपर्छ भनेर भन्ने सकेका छौं । अब हामीले गर्ने बनाउने भनेको नीति हो । ग्राउण्डको कामलाई अझै राम्रोसँग बढाउन कुन नीति कसरी बनाउन सकिन्छ र यो नीतिको थ्रु कसरी नेपालभर लागू गर्न सकिन्छ भन्ने हो । प्लाष्टिकलाई नियन्त्रण गर्ने कुरा होस्, फोहोरमैलालाई राम्रोसँग व्यस्थापनको कुरा होस्, यसमा प्रयास निरन्तर रहन्छ र अहिले पनि नीतिगत कामहरू भइरहेका छन् । अब मलाई फोहोर र प्वालाष्टिकमा मात्र सधैंभरि अल्झिएर बस्नु छैन । यो पहिले समाधान गरौं, योभन्दा महत्त्वपूर्ण कुरा भनेको जलवायु परिवर्तनको असरले गर्दा पानीको स्रोत सुक्दै गइरहेको छ । यसकाे असर पानीमा परेको छ । कहीं सुख्खा छ भने कहीं पानी नै पानी । अब कसरी मुहानलाई संरक्षण गर्ने भन्नेमा केन्द्रित हुन्छु । समस्यालाई पहिचान गर्नुपर्यो । वातावपरण यस्तै हो भन्ने सोच्नुभएन । बुझेपछि सबैले यसमा आफ्नो भूमिका निभाउनुपर्छ । हाम्रो जीवनशैली सुधार्नुपर्यो । अर्को नीति बनाउनु सुझाव दिनुपर्यो । यो कोही एक्लैले गर्न सक्दैन, यसमा सबै आफ्नो ठाउँमा सचेत रहेर काम गर्नुपर्छ । यसमा स्थानीयतहको सबैभन्दा ठूलो भूमिका छ । फोहोरमैला व्यवस्थापन, सडक बिस्तारदेखि गिट्टी खानी प्रयोग गर्ने अधिकार सबै स्थानीय तहलाई छ । अब सुरु स्थानीय तहबाटै गर्नुपर्छ । यसको लागि सरकारले बजेट छुट्याएर स्थानीय तहलाई सहयोग गर्नुपर्छ । (दिगो विकास उद्यमी शिलशिला आचार्यसँग गरिएको कुराकानीमा आधारित )
स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत आयोजना निर्माण गर्ने
काठमाडौं । स्पेनको मुख्य बिजुली उपयोगिता कम्पनी, इबेरडोलाले पश्चिमी युरोपमा सबैभन्दा ठूलो जलविद्युत पावर प्लान्ट निर्माण गर्ने भएको छ । देशको उत्तरपश्चिमी क्षेत्र गालिसियाको ओरेन्सको सिल बेसिनमा पम्प गरिएको भण्डारण पावर प्लान्ट वा गीगाब्याट्री, कन्सोमा अर्को वर्षबाट काम सुरु हुनेछ । कम्पनीले हालै परियोजनाको विवरणहरू जारी गर्न थालेको बताएको छ । प्लान्टले उच्च उचाइको सेन्जा जलाशयलाई तल्लो उचाइको बाओ जलाशयसँग जोड्नेछ । ऊर्जा उत्पादन र भण्डारण गर्नको लागि ६९० मिटरको उचाईको फाइदा उठाउनेछ । १०० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्न नयाँ पूर्वाधारमा १.५ अर्ब युरो (१.५८ बिलियन अमेरिकी डलर) लगानी गरिरहेको इबरड्रोलाले निर्माण परियोजना पूरा हुन ६ वर्ष लाग्ने बताएको छ । कन्सो प्लान्टले जलाशयहरू बीचको पानी पम्प गर्न दिनको समयमा उत्पादित अतिरिक्त सौर्य ऊर्जा प्रयोग गर्नेछ । जहाँ यसलाई टर्बाइनहरू मार्फत बिजुली उत्पादन गर्न आवश्यक नभएसम्म भण्डारण गरिनेछ । प्लान्टको क्षमताको लागि यसले प्रतिवर्ष ४ हजार जिडब्ल्युएच उत्पादन गर्नेछ । जुन स्पेनको कुनैपनि आणविक पावर स्टेशनले उत्पादन गरेको भन्दा झन्डै दोब्बर हो ।
एनपीएलको अवसरमा सामसङको टीभी किन्दा ३१ प्रतिशतसम्म छुट, ४ केमा लाइभ हेर्ने मौका
काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ऐतिहासिक सिजनको अवसर पारेर टीभीमा ३१ प्रतिशतसम्म आकर्षक छुट ल्याएको छ । यस अफरमा क्युएलईडी टीभी, क्रिस्टल युएचडी ४ के टीभी र एफएचडी टीभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ । ग्राहकका लागि १२ महिनाको अवधिमा शून्य ब्याजदरमा आफ्नो मनपर्ने टीभी सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश छ । यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन् । एक्सचेन्ज पार्टनर (अर्कोस्टोर डटकम) द्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ । यो अफर पुस १६ गतेसम्म रहने बताइएको छ । सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरि यो अफर उपलब्ध गराइएको छ।