विकासन्युज

जलवायु परिवर्तनको महिलाले स्वास्थ्यमा संकट, महिनावारी अनियमित र बाँझोपनको समस्या

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उनको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौंमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किँदा समस्या पुनः दोहोरिन थाल्यो । ‘यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ’, उनले बताइन् । प्रजननमै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाइन् । उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य जस्तै हुँदै गएको छ । खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार धेरैजसो महिलाहरू स्वास्थ्य संस्था पुग्दा प्रजननसम्बन्धी समस्या लिएर आउने गरेका छन् । कतिपय महिलाहरू आफ्नो समस्या चुपचाप सहेर बस्छन् भने केहीले मात्र जाँच गराउन आइपुग्छन् । महिनावारीको अवधि लम्बिने, असामान्य रगत स्राव हुने र गर्भधारणमा समस्या उत्पन्न हुने घटना बढिरहेको शेर्पाले बताइन् । ‘पहिले मेरो महिनावारी नियमित थियो तर अहिले महिनावारी अनियमित भइसकेको छ । यो परिवर्तन जलवायु परिवर्तनकै कारण भएको जस्तो लाग्छ’ सगरमाथा क्षेत्रकै अर्का एक शेर्पा थरकी महिलाले परिचय नखुलाउने शर्तमा भनिन् । ‘विगतमा यस्तो हुँदैन थियो तर पछिल्लो १५ वर्षमा यहाँको परिवर्तनले हामी महिलालाई धेरै असर गरेको छ । मेरो मात्रै होइन, मेरा धेरै साथीहरूको पनि प्रजननमा समस्या भइरहेको बताएका छन् । उनीहरूको महिनावारी समयमा नहुने, रगत धेरै बग्ने, गर्भपतन हुने जस्ता समस्या यहाँका लागि सामान्य जस्तै भइसकेको छ । पुरुषहरूलाई खासै असर नगरे पनि महिलाहरूलाई यसको असर बढी छ ।’ हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ । महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेका छन् । लबुचेका सङ्गम राई भन्छन्, ‘पछिल्लो केही वर्षयता चैत–वैशाखमा धेरै हिमपात हुने क्रम बढिरहेको छ । यो हिमपात पुस–माघमा हुनुपर्ने हो । अब समय त धेरै फेरियो ।’ हिमालमा यस्ता परिवर्तनका असरहरू देखिने क्रम बढ्दो छ । जलवायु परिवर्तनले सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा अनपेक्षित चुनौती थपेको छ । सगरमाथा क्षेत्रको खुम्बु हिमनदी छोटिँदै गएको र आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरूले बताएका छन् । आरोहीहरूद्वारा छोडिएका सामग्री र फोहोरका कारण तापक्रममा थप असर परिरहेको छ । पर्यटन व्यवसायी साङ्गे शेर्पा भन्छन्, ‘आधार शिविर वर्षैपिच्छे खाल्डोमा परिणत हुँदैछ । यो राम्रो संकेत होइन ।’ यसले स्थानीय पर्यावरण मात्र नभई महिलाहरूको जीवनशैली र स्वास्थ्यमा समेत असर पुर्‍याएको अभियान्ता प्रजिता कार्कीले बताइन् । ‘महिलाहरू घरदेखि बाहिर समेत बढी केन्द्रित हुने भएकाले चुलोमा देखिएको असरदेखि हिमालको फेदमा देखिएको असरको सिकार बढी मात्रामा महिलाहरू भइरहेका छन् । यसलाई रोक्न र समाधान गर्न सबै एक हुनुको विकल्प छैन’, कार्कीले भनिन् । प्रजनन स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव महिनावारी अनियमितताले महिलाहरूको जीवनमा ल्याउने दीर्घकालीन असरलाई नजरअन्दाज गर्न नसकिने खुम्बु क्षेत्रका स्वास्थ्यकर्मीहरूको भनाइ छ । गर्भाधानमा समस्या, बच्चा जन्माउने क्षमतामा गिरावट र मानसिक स्वास्थ्यमा प्रभाव जस्ता समस्या जलवायु परिवर्तनसँग सम्बन्धित हुने संकेत देखिएको छ । स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा जलवायु परिवर्तनले महिलाहरूको हर्मोन सन्तुलनमा असर गरिरहेको हुनसक्छ । यो समस्या समाधान गर्न विशेष स्वास्थ्य योजना र परामर्श सेवाको आवश्यकता छ । जलवायु परिवर्तनका कारण हर्मोन असन्तुलन र त्यसको शारीरिक तथा मानसिक प्रभावले महिलाहरूको प्रजननमा असर गरेको हुनसक्ने नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जीव तिवारीको तर्क छ । ‘यहाँका महिलाहरूमा जलवायु परिवर्तनको असर भएको महसुस भयो तर यो गहिरो खोज र अध्ययनको विषय हुन सक्छ । यो सामान्य विषय भने होइन । यसलाई सामान्य सम्झँदै जाने हो भने भोलिका दिनमा यहाँका महिलाहरूमा ठूलो प्रजनन समस्या नदेखिएला भन्न सकिन्न’, उनले भने । स्थानीय उत्पादन र खेतीमा गिरावट खुम्बु क्षेत्रका खेतीयोग्य बालीमा समेत गिरावट आएको छ । खुम्जुङकी पासाङ ल्हामु शेर्पाका अनुसार गहुँ, जौ र फापरजस्ता बाली अब उब्जाउन कठिन भएको छ । ‘पहिले कति धेरै उवा र फापर हुन्थ्यो । अहिले बाली लगाउने बारी पनि बाँझो छोडिएको छ’ उनले भनिन् । कृषि उत्पादन घट्नुले महिलाहरूको पोषण र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ । खुम्जुङ क्षेत्रमा फल्ने हिमाली खेतीहरू अहिले उत्पादन हुनै छोडेको स्थानीय बताउँछन् । यसले गर्दा बालबालिकादेखि महिलाहरूको पोषणमा असर पर्न सक्ने सम्भावना बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । खेती नै हुन छोडेपछि विगतमा उवा, फापर, जौ जस्ता बालीहरू उब्जाउ हुने जग्गाहरू बाँझो पाखामा परिणत भएको स्थानीय फुरी शेर्पाले बताइन् । हिमनदीहरू खस्कँदै, हिमालहरू काला पत्थरमा परिणत हुँदै सगरमाथा क्षेत्रका हिमनदीहरू छोटिँदै र पातलिँदै गइरहेका छन् । आरोहीहरूका लागि आधार शिविरका रूपमा परिचित क्षेत्रहरू अहिले पहिरोको जोखिममा परेका छन् । पर्यटन व्यवसायी कर्मा शेर्पा १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका छन् । उनी भन्छन्, ‘पहिला आधार शिविरका हिमनदी चहकिला र सफा देखिन्थे, तर अहिले त आधार शिविर नै खाल्डो जस्तो देखिन्छ । हिउँ कम हुँदै गएर कालापत्थर देखिन थालेको छ ।’ पछिल्लो एक दशकमा हिमनदीहरूको पग्लिने दर तीव्र भएको छ । स्थानीय जानकार पासाङ शेर्पाका अनुसार यस क्षेत्रको तापक्रम वृद्धि र विगतमा आरोहीहरूद्वारा छोडिएका फोहोरले ग्लेसियरको संरचनामा प्रत्यक्ष असर पारेको छ । सगरमाथा क्षेत्र जलवायु परिवर्तनको सबैभन्दा प्रत्यक्ष असर भोग्ने हिमाली क्षेत्रहरूमध्ये एक हो । बेमौसमी हिमपात अनियमित वर्षा र अस्वाभाविक तापक्रमले यहाँको हावापानीलाई परिवर्तन गरिरहेको छ । ‘पहिले पुस–माघमा हिउँ पर्दथ्यो, अहिले चैत–वैशाखमा हिउँ पर्न थालेको छ । यसले पर्यावरणीय सन्तुलन खलबलिएको छ’, गोरक्सेपका व्यवसायीहिरा कुलुङले भने । यस्तो परिवर्तनले हिमालको फेददेखि शिखरसम्मको जैविक र भौतिक संरचना जोखिममा परेको उनको भनाइ छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हालै अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएको देखाएको छ । सगरमाथा आरोहीहरूले आधार शिविरमा छोडेका फोहोरले पनि यहाँको तापक्रममा असर पुर्‍याएको छ । प्लास्टिक, खाद्यान्नका प्याकेट र अन्य गैर जैविक फोहोरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरूको तर्क छ । पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार आरोहीहरू यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन् । सधैँ चाँदी झैँ टलक्क टल्कने हिमालहरू काला पहाडमा परिणत हुँदैछ जसका कारण पनि जलवायु परिवर्तनको असरको चपेटामा सगरमाथा क्षेत्र परेको पुष्टि हुने नाम्चेका लामाकाजी शेर्पाले बताए । उनले भने, ‘सगरमाथा नै अब कालो पहाड जस्तो देखिन थालेको छ, नाम्चेबाट देखिने हिमालहरू हेर्दा विरक्त लाग्ने भइरहेको छ । यी सबै समस्या जलवायु परिवर्तनको असरले नै देखिरहेको अभ्यास हुन्छ ।’ जलवायु परिवर्तनको कारण र समाधान जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । वातावरणविद् डा राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योगहरू र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ । युनेस्कोको प्रतिवेदनअनुसार तापक्रमको वृद्धिले विश्व सम्पदा सूचीका प्राकृतिक सम्पदामा गम्भीर जोखिम थपिएको छ । यदि तापक्रम वृद्धिको नयाँ गति रोकिएन भने दुई डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना छ, जसले सगरमाथा क्षेत्रका हिमालहरू संरक्षणमा ठुलै मूल्य चुकाउनुपर्ने थापाको भनाइ छ । हिमालहरू पग्लिएर गइरहेका छन् । सामूहिक कदमको आवश्यकता सगरमाथा क्षेत्रको पर्यावरणीय र सामाजिक समस्याको समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सामूहिक प्रयास गर्न आवश्यक छ । जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न शक्ति राष्ट्रहरूले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । ‘यदि विश्वव्यापी तापक्रम वृद्धिमा रोक लागेन भने सगरमाथाका हिमनदीहरू केही दशकमै समाप्त हुनेछन्,’ डा थापाले चेतावनी दिए । जलवायु परिवर्तनले महिलाहरूको स्वास्थ्य र जनजीवनमा परेको असरले यो क्षेत्रका चुनौतीहरूको व्यापक अध्ययन र समाधानको खाँचो देखाएको छ । हिमाली क्षेत्रका महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि थप अनुसन्धान, स्वास्थ्य सेवा विस्तार र जलवायु परिवर्तन न्यूनीकरणमा ठोस कदम चाल्नु अपरिहार्य छ । रासस

टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक

नेपालगन्ज । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निम बहादुर चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रालिका महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्री र गो कर्णाली यातायात प्रालिका अध्यक्ष पदम थापा सहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका एजीएम सेल्स, सीभीबीयू कृष्ण चन्दले नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बीएस६ उत्कृष्ट यातायात समाधान भएको बताए । उनले भने, ‘यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ । सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ । ग्राहकहरूको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौं ।’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका कमर्सियल भेइकल्स बिजनेस युनिट (सीभीबीयू) का प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले भने, ‘टाटा म्याजिक बीएस६ ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ । यसको प्रविधि, आराम र सुरक्षा फिचरले यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ ।’ उनले यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको बताए । टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएस२ संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि बीएस३, बीएस४ हुँदै अब बीएस६ संस्करणसम्म आइपुगेको हो । सो गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको सिप्रदीको दावी छ । हालसम्म ४ हजार भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन् । टाटा म्याजिक बीएस६ पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वास कम्पनीले राखेको बताएको छ । टाटा म्याजिक बीएस६ मा ६९४ सीसी पेट्रोल इन्जिन रहेको छ, जसले ३० एचपी पावर र ५५ एनएम टर्क जेनेरेट गर्छ । फाइभ स्पिड गियरबक्स रहेको सो गाडीमा १३ इन्चको टायर रहेको छ । डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इको स्विच, एबीएस र सबै पांग्रामा एन्टी–रोलबार लगायतका विशेषता रहेका छन् । चालक र यात्रुहरूको सहजताका लागि सो गाडी विशेष रुपमा डिजाइन गरिएको छ ।

नाफा वृद्धिमा आक्रामक बने एनआईसी एसिया, सिटिजन्स र राष्ट्रिय वाणिज्य बैंक, यी ८ बैंकको उत्कृष्ट ‘कमब्याक’

काठमाडौं । नाफा वृद्धिमा तीन वाणिज्य बैंक आक्रामक देखिएका छन् । व्यवसाय विस्तार तथा ऋण असुलीमा बढी प्राथमिकता दिँदा तीन बैंकले राम्रो नाफा वृद्धि गरेका हुन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासको पहिलो महिनामा राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया र सिटिजन्स बैंकबीच नाफा वृद्धिमा प्रतिस्पर्धा देखिएको हो । असोजको तुलनामा कात्तिक राष्ट्रिय वाणिज्य बैंकले २६५ प्रतिशतले नाफा वृद्धि गरेको छ भने एनआईसीले २५१ प्रतिशत र सिटिजन्स बैंकले १२१ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत असोजसम्म १५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकले कात्तिकसम्म ५५ करोड २० लाख रुपैयाँको खुद नाफा गरेको छ । यस्तै, असोजमा ११ करोड रुपैयाँ खुद नाफा गरेको एनआईसी एशियाले कात्तिकसम्म नाफा आक्रामक रुपमा बढाएर ३८ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । असोजसम्म १९ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको सिटिजन्स बैंकले कात्तिकसम्म भने ४३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकको तथ्यांकबाट देखाउँछ । लक्ष्मी बैंक, सिद्धार्थ, सानिमा र कुमारी, बैंकले पनि सन्तोषजनक रुपमा नाफा वृद्धि गरेका छन् । असोजको तुलनामा कात्तिकसम्म लक्ष्मीले ९९.३९ प्रतिशत, सिद्धार्थले ७४.७८ प्रतिशत, सानिमाले ६३ प्रतिशत र कुमारीले ४७.५१ प्रतिशतको नाफा वृद्धि गरेको देखिएको छ । ग्लोबल आईएमई, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तुलनामा कमजोर देखिएका आधा दर्जन बैंकले कात्तिकमा उत्कृष्ट कम ब्याक गरेको देखिन्छ । माछापुच्छ्रे, एभरेष्ट र एनएमबि बैंकले पनि राम्रो नाफा वृद्धि गरेका छन् । कात्तिकसम्म २० वटा वाणिज्य बैंकले करिब २२ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । असोजको तुलनामा बैंकहरुको खुद नाफा ३७ प्रतिशतले बढेको हो । असोजसम्म वाणिज्य बैंकहरुले कुल १६ अर्ब रुपैयाँ खुद नाफा गरेका थिए । कात्तिकसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिलले कात्तिकसम्म २ अर्ब ६९ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ भने ग्लोबल आईएमईले २ अर्ब ११ करोड ४० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । एक महिनाको अवधिमा नबिल बैंकको ३० प्रतिशत, ग्लोबल आईएमईको ३९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको २४ प्रतिशत र प्राइम कमर्सियल बैंकको नाफा २६ प्रतिशतले बढेको छ । यस्तै, कात्तिकसम्म कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ, एभरेष्टले १ अर्ब ५० करोड ९० लाख, एनएमबिले १ अर्ब ४८ करोड ३० लाख, प्रभुले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १३ करोड ७० लाख, लक्ष्मी सनराइजले १ अर्ब ६ करोड ९० लाख र नेपाल एसबिआईले १ अर्ब ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो अवधिसम्म नेपाल बैंकले ९३ करोड ८० लाख, हिमालयन बैंकले ९१ करोड ८० लाख, माछापुच्छ्रेले ६८ करोड ९० लाख, सिद्धार्थ बैंकले ६६ करोड ७० लाख, सानिमाले ६५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

४ महिनामा फाइनान्स कम्पनीको खुद नाफा साढे २१ करोड, ६ वटा घाटामा

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिनामा फाइनान्स कम्पनीहरूले २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा ११ वटा फाइनान्स कम्पनीले खुद नाफा आर्जन गर्दा ६ कम्पनी भने घाटा व्योहोरेका छन् । साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले १५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा मन्जुश्री फाइनान्सले १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, आईसीएफसी फाइनान्सले ८ करोड ४६ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड ९ लाख, गोर्खाज फाइनान्सले ३ करोड ६१ लाख र मल्टीपर्पज फाइनान्सले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । घाटा व्योहोर्ने कम्पनीको अग्र स्थानमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेको छ । गुहेश्वरीले कार्तिकमा १४ करोड ५७ लाख घाटा व्योहोरेको छ । यसैगरी, रिलायन्स फाइनान्सलाई १० करोड ५६ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई ८ करोड १७ लाख, पोखरा फाइनान्सलाई समान ६ करोड ४३ लाख, समृद्धि फाइनान्सलाई २ करोड ६४ लाख र वेस्ट फाइनान्सलाई २ करोड ३३ लाख रुपैयाँ घाटा लागेको छ । कुन कम्पनीलाई खुद नाफा/घाटा कति ?

पर्सामा रवि लामिछानेको बयान सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं हुँदै हवाई जहाजमार्फत सिमरा, बारा लगिएको थियो । त्यहाँबाट पर्सा प्रहरीले आफ्नो भ्यानमा राखेर लामिछानेलाई पर्सा लगेको थियो । सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो । त्यतिबेला उनको प्रेसर सामान्य बढी रहेको बताइएको छ । आज मंगलबार बिहानबाट भने लामिछानेको बयान सुरु गरिएको हो ।

संक्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकतामा छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । मंगलबार ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारहरूको पदपूर्ति गर्ने काम गरिरहेको बताए । सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानव अधिकार आयोगको सुझाव तथा सिफारिस, अन्तर्राष्ट्रिय मापदण्ड, देशभित्र मेलमिलाप र शान्ति हाँसिल गर्ने लक्ष्यहरू अनुरुप संक्रमणकालीन न्यायलाई पीडितमैत्री रुपमा व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय मानव अधिकार आयोगका कार्यहरू थप प्रभावकारी तथा चलायमान बनाउन आवश्यक सहयोगका लागि सरकार सधैँ तत्पर रहेको उल्लेख गरे । प्रत्येक वर्ष प्रतिवद्धता जनाउँदै आएको भएपनि आयोगको भवन निर्माण कार्य विलम्व हुन गएको भन्दै आगामी वर्ष उच्च प्राथमिकतामा राखेर काम अघि बढाउने प्रीतवद्धता जनाए । ‘वर्तमान सरकार संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका पदाधिकारहरुको पदपूर्ति गर्ने काम गरिरहेको छ,’ उनले भने । उपप्रधानमन्त्री पौडेलले आयोगको केन्द्रिय, प्रदेश र शाखा कार्यालयहरुको लागि भौतिक तथा आर्थिक श्रोत साधन र अन्य सुधारका निम्ति आवश्यक पर्ने बजेट विनियोजनको व्यवस्थालाई समयानुकुल परिमार्जन गर्दै लैजाने बताए । मानव अधिकार आयोगको सांगठनिक संरचनालाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने जानकारी दिए ।

जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । भक्तपुर नगरको ऐतिहाकि महत्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । सोमबार रातिबाट नवदुर्गा भवानीको जात्रा सुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा मंगलबार रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको पूजा हुने भवानी जात्रामा तान्त्रिक विधिद्वारा पूजाअर्चना गर्ने गरिन्छ । भवानी जात्रामा तान्त्रिक अनुष्ठान गर्ने गरिन्छ । वर्षको ८ महिनासम्मको मकुण्डोसहितको जात्रा हरेक वर्ष यसै समयमा दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणको भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ । पशुपतिनाथका मुल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा गरी पशुपतिको जल र मुल प्रसाद भैरवको हातमा चढाउने चलन रहेको पाइन्छ । पशुपतिको मुलचोकमा देवगणको नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुजेश्वरी देवतालाई नाचको रूपमा भेट गरी दक्षिणतर्फ रहेको शिवालय चोकमा मुः बाहाँं लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ । यसैगरी, जय वागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछा मार्ने जात्राको लागि खः जुयेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिम दुमको माछा मार्ने नाचसँगै महाकाली नाच र सेतो भैरवले माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाच सम्पन्न गरी पुनः भक्तपुर नपामा फर्किने चलन छ । सोही स्थानमा देवगणहरूले आफ्नो देवताको मकुण्डो, पोशाकदेखि आवश्यक सामानहरू खर्पन अथवा खमुमा राखेर बोक्दै जानुपर्ने परम्परा अहिलेसम्म छ ।

नर्सिङ संघमा व्यापक राजनीति, नर्सहरू निराश

काठमाडौं । नेपाली नर्सहरूमा चुनावी सरगर्मी बढेको छ । मंसिर २८ गते हुने नेपाल नर्सिङ संघको २०औँ केन्द्रिय कार्यसमितिको निर्वाचनको मिति नजिकिएसँगै नर्सहरूमा चुनावी सरगर्मी बढेको हो । अहिले नर्सहरू चुनावी प्रचारप्रसारमा जुटेका छन् । जिल्लादेखि केन्द्रका नर्सहरू आ-आफ्नो पक्षमा मत माग्न दौडधुप गरिरहेका छन् । चुनावका लागि प्रजातान्त्रिक र प्रगतिशील दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।  प्रगतिशील समूहबाट बागी उम्मेद्वार पनि अध्यक्षको प्रतिस्पर्धामा रहेकाले यो पटकको चुनाव अझै रोचक बन्ने देखिएको छ । विशेषगरी चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी निकट नर्सहरू चुनावी मैदानमा उत्रेका छन् । उनीहरूले दुई दुई दल मिलाएर प्यानल बनाएका छन् ।  नेकपा एमाले र नेकपा माओवादी निकटका नर्सहरूले संयुक्त प्रगतिशील प्यानलमा दिएर उम्मेद्वारी घोषणा गरेका छन् भने,  नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरूको संयुक्त नर्सिङ पेशागत प्यानल समूह बनाएर उम्मेद्वारी दिएका छन् । प्रगतिशील तर्फबाट चन्द्रकला शर्मा र पेशागत तर्फ गंगा  थापा अध्यक्षका लागि मैदानमा उत्रेका छन् । दुवै समूहलाई टक्कर दिदैँ प्रगतिशील समूहबाट एमाले निकट बसन्ती थापाले बागी उम्मेदवारका रुपमा अध्यक्षको मैदानमा आएकी छन् ।  यतिबेला नर्सिङ संघको अध्यक्षका लागि तीन जना उम्मेद्वार मैदानमा छन् । अध्यक्ष पदका तीनै जना उम्मेद्वार आ आफ्नो जितका लागि कसरत गरिरहेका छन् ।  अहिले चुनावी मैदानमा उत्रेका तीनै जना उम्मेदवारहरू आफैमा सक्षम र योग्य व्यक्ति हुन् । उनीहरू करिब  चार दशकदेखि यही विषयमा काम गर्दै आएका छन् । आउनुहोस् जानौँ कसको अनुभव कति   गंगा थापा  नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरूको संयुक्त नर्सिङ पेशागत प्यानलबाट अध्यक्ष पदकी उम्मेद्वार हुन् गंगा थापा । उनी त्रिवि शिक्षण अस्पताल नर्सिङ अफिसरको रुपमा कार्यरत छिन् । ३६ वर्षदेखि नर्सिङ पेशमा आवद्ध उनी अहिले पनि यही पेशामा आवद्ध रहेकी छिन् । उनी यो भन्दा अघिको कार्यकालमा संघको उपाध्यक्षमा पदमा थिइन् । नेपाली नर्सहरूको समस्या र उनले भोग्दै आएको कुराबारे लामो समयदेखि जानकार उनले अध्यक्षमा निर्वाचित भइसकेपछि यो विषयमा आवाज उठाउने पहिलो काम भएको बताएकी छन् । नर्सहरूको पेशागत सुरक्षा सुनिश्चता गर्नेदेखि यो पेशालाई गुणस्तर, आधुनिक तरिकाले लैजाने र देशभर विस्तार गर्ने उनको योजना छ ।  बसन्ती थापा बसन्ती थापा नेपाल नर्सिङ संघको अध्यक्ष पदको स्वतन्त्र उम्मेद्वारी हुन् । सरकारी अस्पताल र कलेजमा विगत ३८ वर्षदेखि कार्यरत उनी अहिले अवकाश प्राप्त प्राध्यापक हुन्  । करिब ४ दशकदेखि स्वास्थ्य क्षेत्रमा आवद्ध उनी स्थापनाको ६३ वर्षसम्म पनि कुनै काम हुन नसकेको बताउँदै अब राजनीतिबाट अलग भएर काम गर्नुपर्नेबेला आएको बताउँछिन् ।   लामो समयदेखि काम गर्दा नर्सहरूको समस्या नजिकबाट थाहा भएको बताउँदै उनले यो अवधिसम्म प्रयास धेरै भएको तर, कार्यान्वयन गर्न नसकिएको बताउँदै अब पदभन्दा संस्थालाई दिगो बनाएर लैजानुपर्ने बताइन् । अघिल्लो कार्यकालमा महासचिव बनेकी थापा संस्था र पदाधिकारी गरेको कामप्रति सन्तुष्ट नहुँदा आफै मैदानमा आउनु परेको बताउँछिन् । ‘मैले हामी प्यानुल बनाएर जानुभन्दा सबैपक्षको विज्ञहरूलाई मिलाएर जाउँ, संस्थालाई राम्रो बनाउँ भन्दा कसैले सुनेन,’ उनी भन्छिन्, यहाँ राजनीकिरण धेरै भयो संस्थालाई राम्रो बनाउनुभन्दा पदमा कसरी पुग्ने भन्ने होड चल्यो, मेरो कुराको सुनुवाइ नहुँदा आफै आउनुपर्ने बाध्यता आयो ।’ थापाले नर्सहरूको पेशागत क्षमता र दक्षता अभिवृद्धि गर्दै सेवाको गुणस्तर सुधार्न विशेष ध्यान दिने प्रतिबद्धता गरेकी छन् । भन्छिन्,‘नेपाली नर्सहरूले धेरै दुःख झेल्नुपरेको छ, २४ घण्टा डिउटीमा खटरे महिनमा ८ देखि १० हजार पाइरहेका छन्, मेरो योजना भनेकै उनीहरूको पेशागत सुरक्षा र दक्षता अनुसारको पारिश्रमिक उपलब्ध गराउने रहेको छ ।’ चन्द्रकला शर्मा  चन्द्रकला शर्मा नेपाल नर्सिङ संघको अध्यक्ष पदका लागि संयुक्त प्रगतिशील समूह तर्फबाट अध्यक्ष पदको उम्मेद्वार हुन् । ३३ वर्षदेखि यही क्षेत्रमा कार्यरत उनी हाल उनी सरकारी सेवाबाट अवकाश प्राप्त प्रोफेसर हुन् । उनले महाराजगञ्ज नर्सिङ क्याम्पसको सहायक प्रमुखको रुपमा पनि काम गरेकी थिइन् । २०७५ सालमा नेपाल नर्सिङ परिषदको अध्यक्ष समेत भइसकेकी उनी अहिले नर्सहरूले पाइरहेको समस्या समाधान गर्न अध्यक्षको पदका लागि चुनावमा होमीएको बताउँछिन् । मैले लामो समयदेखि कलेज र अस्पतालमा काम गरेकी छुँ, नर्सहरूको समस्या नजिकबाट थाहा पाएकी छुँ,’उनी भन्छि, ‘अब मैले काम गरेको अनुभव र समस्या समाधानका लागि प्यानल सहित अघि बढेका हौँ ।’  राजनीतिको गन्ध  नर्सहरू प्यानल बनाएर निर्वाचनमा जाँदा धेरैले नर्सिङ क्षेत्रमा पनि राजनीति घुसेको तर्क गरेका छन् । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा आबद्ध नर्सहरू राजनीति लगाइनु राम्रो सन्देश नभएको धेरैको भनाइ छ ।  नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसी राजनीतिको गन्ध आएको बताउँछिन् । २००१८ सालदेखि नर्सिङ संघको निर्वाचन हुँदै आएपनि यसरी दलनिकट खुलेर नआएको बताउँदै उनी यो पटक खुलेरै पार्टीनिकट आवद्ध भइ चुनावमा जानु दुखद भएको बताउँछिन् ।   पहिले बामपन्थी, प्रजातान्त्रिक भन्ने थिएन, म अध्यक्ष हुँदा पनि सरला केसी समूह भनेर चुनावमा गएकी थिएँ, उनी भन्छिन्, अहिले त प्रगती शिल भनेर नै मैदानमा साथीहरू आउनुभएको छ यसमो सन्देश समाजमा राम्रो जाँदैन । उनी राजनीतिक आस्था व्यक्तिगत रुपमा भएपनि पेशागत तरिकाले लाग्दा राजनीति घरसाउनु राम्रो नहुने बताउँछिन् । राजनीति गर्ने आकाक्ष हुनेलाई खुला ठूलो ठाउँ रहेको बताउँदै उनी नर्सिङ संगमै बसेर राजनीति गन्ध आउन नहुने बताउँछन् ।   नेपाल नर्सिङ संघ नर्सहरूको एक व्यवसायिक संगठन हो । जुन गैर राजनीतिक र गैर साम्प्रदायिक संगठन हो । जुन कुनै वर्ग र धर्मको प्रभावबाट बाहिर रहने भनिएको छ । यो गैर राजनीतिक संगठन भएकाले पनि यसमा राजनीति गर्न नहुने विज्ञहरू बताउँछन् ।  निराश नर्स नर्सहरूको पेशागत सुरक्षा र हकहितको लागि भन्दै उम्मेद्वार मैदानमा गइरँहदा केही अस्पतालमा कार्यरत नर्सहरू भने कसैलाई मत नदिने तयारीमा छन् । आफ्ना हकहितको लागि कसैले केही गर्न नसकेको बताउँदे यो निर्वाचनमा समाहित नहुने उनीहरूको भनाइ छ ।  वीर अस्पतालमा कार्यरत एक नर्सले यो चुनावमा कसैलाई मतदान नगर्ने बताएकी छन् । करिब १ दशकदेखि अस्पतालमा कार्यरत उनी नर्सको हितको लागि काम गर्ने भन्दै भोट मागेपनि पदमा पुग्दा कसैले गुनासा समेत नसुन्ने बताउँदै कसैलाई भोट नदिने बताइन् । ‘म जस्तै भोट नहाल्ने धेरै जना हुनुहुन्छ, जो नेपालमै काम गर्ने मन हुादा समेत विदेशको तयारी गरिरहनुभएको छ,’ उनी भन्छिन्,‘नियमित डिउटीमा खटिनेहरूको दुःख उस्तै हो, आउँछन एक छिन् भोट माग्छन्, जान्छन् पीडामा परेकाहरू आवाज कसैले सुन्दैन ।  ‘उनले नेपालमा नर्सिङ पढेका धेरै नर्सहरू विदेश जाने तयारीमा रहेको बताइन् । महारजगञ्ज अस्पतालमा कार्यरत अर्की नर्सको गुनासो पनि उस्तै छ । उन्ले पनि यो चुनावमा कसैलाई मतदान नगर्ने निर्णय गरेकी छिन् । ‘अहिले चुनावी प्रतिसपर्धामा रहेका दुवै समूहका प्रतिबद्धता हे¥यौँ, ति प्रतिबद्धता नयाँ होइनन्,’ उनी भन्छिन्, ‘जव चुनाव आउँछ, प्रतिवद्धता ल्याएर भोट माग्न पुग्छन्, भोट पाइसकेपछि सबै विर्सन्छन्, नर्सको हितमा भन्दा कसरी राजनीति गर्ने पद पाउने भन्ने मात्र छ ।’  अस्पतालमा कार्यरत धेरै जसो नर्सहरूको गुनासो यस्तै छ । केही नर्सले ४ वर्ष लगाएर पढेको खर्च १० वर्ष काम गर्दा पनि उठाउन नसकेको बताउँदै नेपालमा बसेर काम गर्ने वातावरण नै नरहेका बताएका छन् । प्यानल बनाएर चुनाबी प्रतिस्पर्धामा उत्रेका दुईवटै प्यानलका प्रतिबद्धता भने एकै नासका छन् ।  चन्द्रकला शर्माको प्यानलले २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ भने गंगा थापाको प्यानलले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । दुपैका प्रतिबद्धतामा नर्सहरूलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा को व्यवस्था गर्नेदेखि लिएर रात्रिकालीन सेवाको एक दिनको तलब बराबर र सार्वजनिक बिदा तथा चाड पर्व बिदाका दिनहरूमा सेवा गरे बापत यथोचित भत्ताको व्यवस्थाका लागि पहल गर्ने, सुत्केरी भएको २ वर्ष सम्म र ५० वर्ष नाघेका नर्सहरूलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाको लागि पहल गर्ने सम्मका बुँदा रहेका छन् ।  २० मतदान केन्द्र, १५ सय मतदाता  नेपाल नर्सिङ संघ वि.सं. २०१८ सालमा स्थापना भइ नर्सहरूको पक्षमा वकालत गर्दै आएरहेको पेशागत संस्था हो । यो संस्थाले नर्सहरूको पेशागत हकहितवारे आवाज उठाउँदै आएको छ ।संघमा आवद्ध करिब एक हजार वाँच सय बढी नर्सहरू रहेका छन् । उनीहरूले आफुलाई पायक पर्ने मतदान केन्द्रमा गएर मतदान गर्न सक्ने छन् । त्यसका लागि देशभरका २० ठाउँमा चुनावी मदतान केन्द्र बनाइएको छ ।  झापाको लागि प्रादेशिक अस्पताल भदपुर, मोरङ्गको कोशी अञ्चल अस्पताल, सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,  धनकुटाको जिल्ला अस्पताल, राजविराजको गजेन्द्र नारायण सिंह अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल,बिरगञ्जको विरगंज नर्सिङ क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।  यस्तै चितवनको भरतपुर अस्पताल, काठमाडौंको केन्द्रिय कार्यलय, नेपाल नर्सिङ्ग संघ, लाम्जिपाट भक्तपुरको भक्तपुर अस्पताल, मकवानपुरको हेटौडा अस्पताल मकवानपुर,पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको लुम्बिनी अञ्चल अस्पताल, पाल्पाको  जिल्ला अस्पताल, पाल्पा, दाङ्गको दाङ्ग उपक्षेत्रिय अस्पताल,नेपालगञ्जको भेरी अस्पताल, नेपालगंज सुर्खेतको प्रादेशिक अस्पताल,जुम्लाका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,रोल्पाको जिल्ला अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा मतदान केन्द्र रहेका छन् । यि मतादान केन्द्रमा पायक पर्ने नर्सहरूले मतदान गर्ने छन् ।