विकासन्युज

नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) फूलबारी, पोखरा बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण ग्राहकहरुलाई लक्षित गरी मणिपाल टीचिङ हस्पिटल र मणिपाल कलेज अफ मेटिकल साईन्स्मा विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्र नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत, दीपक कुमार देको उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमूख, मिन वहादूर गूरुङ तथा मेडिकल ग्रुपका प्रमूख कार्यकारी अधिकृत, अनिल ओदूभिलबिच सम्पन्न भएको हो । सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमूख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा मेटिकल ग्रूपका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको बैंकले जनाएको छ । यस सम्झौताबाट ग्राहकबर्गले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरुमा १० देखि १०० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

सम्पदा लघुवित्तको राहत वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामटारले बाढीपिडितहरूलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । राहत कार्यक्रम सिन्धुली जिल्लाको सुनकोशी गाँपालिका रामटार स्थित संस्थाको शाखा कार्यालय रामटारमा मंसिर २२ गते सञ्चालन भएको थियो । कार्यक्रममा प्रमुख अतिथी सुनकोशी गाँउपालिका वडा नं ५ का वडाध्यक्ष सुरथ कुमार बसेल, अतिथीहरुमा सोही गाँउपालिका वडा नं ५ का चन्द्र बहादुर श्रेष्ठ, वित्तीय संस्थाको असुली मुकाम नार्गाजुनको अधिकृत प्रेम बहादुर कार्की लगायत सुरक्षा निकाय प्रतिनिधी तथा अन्य समाजसेवि लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । अविरल वषाले सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाको वडा नं १,२,३,४ र ५ काभ्रे जिल्लाको रोशि गाँउपालिका को वडा नं ११ र १२ र रामेछाप जिल्लाको खाडादेवी गाँउपालिका वडा नं १ र २ का बाढि पहिरोबाट अति प्रभावित शाखा कार्यालय रामटारमा आवद्ध सदस्यहरुलाई राहत स्वरुप जनही १ बोरा चामल, २ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुन का दरले वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीले सम्पदा लघुवित्त संस्थाले कर्जा बचत मात्र नभई दुख परेका सदस्यहरूलाई यसरी राहत वितरण गरेकोमा संस्थालाई हार्दिक धन्यवाद व्यक्त गरेक थिए । संस्थाको पहुचँ हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालय मार्फत १ लाख ७८ हजार भन्दा बढि सदस्यहरूमा सेवा प्रवाह रहेको शाखा प्रमुख सविना सेन्चुरीले जानकारी गराइन् ।

मुग्लिन-पोखरा सडक ५ दिन अवरुद्ध हुने

दमौली । मुग्लिन-पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।

तोलामा १२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

बढ्यो मस्कको सम्पत्ति, ४०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति

एलान मस्क काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार बिहीबार मस्कको नेटवर्थ बढेर ४४७ अर्ब डलर पुगेको छ । यससँगै उनी ४०० अर्ब डलरको आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । विश्वको दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोसको कुल सम्पत्ति मस्कको भन्दा निकै कम छ । बेजोसको कुल सम्पत्ति २४९ अर्ब डलर रहेको छ । एकै दिन कमाए ६३ अर्ब डलर मस्कले एकैदिन ६२.८ बिलियन डलर कमाए । उनको एक दिनको कमाइ विश्वका धेरै अर्बपतिभन्दा बढी छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वको २३ औं धनी व्यक्तिको कुल सम्पत्ति ६३.२ बिलियन डलर छ । उनको एक दिनको कमाइले विश्वका कैयौं धनीहरूको कुल सम्पत्तिलाई पछाडि पारेको छ । यो वर्ष मस्कले अहिलेसम्म २१८ अर्ब डलर कमाइसकेका छन् । यदि उनको एक वर्षको कमाइलाई उनको कुल कमाइ मान्ने हो भने पनि उनी विश्वको चौथो धनी हुनेछन् । २ सय अर्ब डलरभन्दा बढीको कुल सम्पत्तिको हिसाबले एलन मस्कपछि दुई जना मात्र छन् । यसमा जेफ बेजोस र मेटाका मार्क जुकरबर्ग छन् । जुकरबर्गको कुल सम्पत्ति २२४ बिलियन डलर छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । उनको कम्पनी टेस्लाको सेयर बढेपछि मस्कको सम्पत्ति बढेको हो । नोभेम्बर ५ मा भएको निर्वाचनमा ट्रम्प विजयी भएका थिए । नोभेम्बर ४ मा टेस्लाको सेयर मूल्य २४२.८४ थियो । हिजो (बिहीबार) यसको मूल्य ४२४.७७ छ । यस्तो अवस्थामा ट्रम्पको जितपछि टेस्लाको सेयर करिब ७५ प्रतिशतले बढेको छ । टेस्ला बाहेक मस्कको सम्पत्ति उनका अन्य कम्पनीहरू एक्सएआई, स्पेसएक्स आदिमार्फत पनि बढेको छ ।

अन्तर बैंक ब्याजदर ह्वात्तै घट्यो, पौने ७ खर्ब लगानीयोग्य रकम

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिँदा अन्तर बैंक ब्याजदर पनि ह्वात्तै घटेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा पौने ७ खर्ब लगानीयोग्य रकम हुँदा अन्तर बैंक कारोबार पनि घटेको छ भने ब्याजदर पनि न्यूनतम बिन्दुमा छ । बैंकहरूबाट कर्जा प्रवाहमा सुधार नआउँदा बैंकमा पैसा थुप्रिएको छ । अहिले बैंकहरू अधिक तरलताको अवस्थामा पनि छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० कात्तिकमा ३.४७ प्रतिशत रहेकोमा २०८१ कात्तिकमा २.९१ प्रतिशत रहेको छ । २०८० कात्तिकमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ४.३९ प्रतिशत रहेकोमा २०८१ कात्तिकमा २.७७ प्रतिशत रहेको छ । एक वर्षको अवधिमा अन्तर बैंक ब्याजदर करिब ३७ प्रतिशत घटेको छ । २०८१ कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.०२ प्रतिशत, विकास बैंकहरूको ८.९६ प्रतिशत र वित्त कम्पनीहरूको १०.०३ प्रतिशत रहेको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.७४ प्रतिशत, विकास बैंकहरूको १२.०० प्रतिशत र वित्त कम्पनीहरूको १३.३३ प्रतिशत रहेको थियो । २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.०१ प्रतिशत, विकास बैंकहरूको ५.८३ प्रतिशत र वित्त कम्पनीहरूट्कोठ ७.१८ प्रतिशत रहेको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.७६ प्रतिशत, विकास बैंकहरूको ९.११ प्रतिशत र वित्त कम्पनीहरूको १०.०२ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.०७ प्रतिशत, विकास बैंकहरूको १०.४३ प्रतिशत र वित्त कम्पनीहरूको ११.७० प्रतिशत रहेको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ प्रतिशत, विकास बैंकहरूको १३.७० प्रतिशत र वित्त कम्पनीहरूको १४.४८ प्रतिशत रहेको थियो ।

कुमारी क्यापिटल र ध्रुव क्यापिटलबीच सम्झौता, वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य हुने

काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच बिहीबार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब सहमतिमा हस्ताक्षरपश्चात क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवाअन्तर्गत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य गर्नेछ। कुमारी क्यापिटलले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ र भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो । साथै यो आरबीआईद्वारा इजाजतपत्र प्राप्त कम्पनी पनि हो, जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको छ । साथै, कम्पनीले सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयरहरू, अस्पताल, फार्मास्युटिकललगायत जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्ने उद्देश्य राखेको छ । यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय र सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन केन्द्रित हुनेछन् । दुबै कम्पनीबीच भएको यो सम्झौताअन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरूलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपालमा वैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्नेछ । यस साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र दिगो आर्थिक विकासलाई टेवा पुर्‍याउने विश्वास लिइएको छ । सम्झौताअनुसार कुमारी क्यापिटलले नेपालमा लगानी अवसरहरूको पहिचान, कानूनी र वित्तीय परामर्श, परियोजनाको मूल्यांकन र ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडको लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ ।

ज्योति विकास बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीहरूको हात खाली हुने भएको छ। बैंकले उक्त आर्थिक वर्षको लेखपरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वाषिृक साधारणसभामा पेस गरेर अनुमोदन गरिने बैंकले जनाएको छ ।