महानगरको सम्मान : दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार
काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । कामपाद्वारा शनिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डङ्गोललगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगदसहित सम्मान गरिएको हो । लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो । खेलतर्फ तेक्वान्दोका सङ्गिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित भएका छन् । सम्मानित व्यक्तित्वलाई नगद एक लाख ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो । समारोहमा कामपाका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर सङ्कलन गर्ने सवारीलगायत उपकरण प्रदर्शन गरिएको थियो । शनिबार बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना, पेयपदार्थ र ‘एक वडा एक नमूना उत्पादन’ अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु गरिएको कामपाले जनाएको छ । आजै साङ्गीतिक कार्यक्रम आयोजना हुनेछ । उक्त कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय ब्याण्ड, महेस काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमलगायत कलाकारले प्रस्तुति दिने कार्यक्रम छ ।
अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लुएचओ
नैरोबी । अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । बिहीबार विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सार्वजनिक गरेको ‘ट्र्याकिङ फाइनान्सियल प्रोटेक्शन’ प्रतिवेदनमा डब्ल्यूएचओले उक्त तथ्याङ्क उल्लेख गरेको छ । अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले भने, ‘आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च महाद्वीपका कमजोर नागरिकहरूको लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्त्याउन सक्छ । यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्छ, जसले उनीहरूको अवस्था बिग्रन सक्छ ।’ सन् २००० र सन् २०१९ बीचको अवधिमा आफ्नो घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको सङ्ख्या वार्षिक २५ लाखले बढेको जनाइएको छ । प्रतिवेदनका अनुसार उच्च स्वास्थ्य खर्चमा विश्वभरका गरिबमध्ये आधा अफ्रिकामा बसोबास गर्छन् । अत्यधिक खर्चले अफ्रिकी नागरिकहरूलाई खाद्यान्न, कपडा र आश्रय जस्ता आधारभूत आवश्यकताहरूमा खर्च घटाउन बाध्य तुल्याउन सक्ने प्रतिवेदनले जनाएको छ । यसले धेरै अफ्रिकी देशहरूले अत्यधिक स्वास्थ्य खर्चको बोझलाई सम्बोधन गर्न बलियो नीति र विधायी ढाँचाहरू अपनाएका छन् । रासस
साढे १० करोडको लगानीमा सञ्चालनमा आयो २० वटा विद्युतीय माइक्रोबस
काठमाडौं । सामाखुसी यातायात प्राइभेट लिमिटेडले १० करोड ३० लाख रुपैयाँ लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० वटा माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए । ‘काठमाडौं उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,’ उनले भने । सामाखुसी यातायातले हाल ८० वटा माइक्रोबस तथा ५० वटा ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ । काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले बताए । प्रालिले हाल ३५० जना चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
कागेश्वरीमा एक महिलाले आफ्नै शरीरमा लगाइन आगो
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा-८मा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् । शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए । एसपी अधिकारीका अनुसार उनी बा३५प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् । उनका अनुसार आगोले महिला घाइते भएकी छिन् । घाइते भएकी उनलाई प्रहरीको टोलीले उद्दार गरेर साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्याएको छ ।
विद्युत् विधेयक संशोधन हुन्छ, पीपीए खुल्छ : ऊर्जामन्त्री खड्का
काठमाडौंं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सुझावसहित विद्युत् विधेयक संशोधन हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एसिएन पेन्ट्सले संयुक्तरुपमा शुक्रबार आयोजना गरेको ‘इन्फ्रास्ट्रक्चर इनोभेसन एन्ड सस्टेनेबल डेभलपमेन्ट’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खड्काले निजी क्षेत्रको साथ नभई २८ हजार ५०० मेगावाटको लक्ष्य पुरा गर्न नसकिने भन्दै निजी क्षेत्रका सुझाव समेटेर विद्युत् विधेयक संशोधन हुने दाबी गरेका हुन् । ऊर्जा क्षेत्रको विकास भए मात्र मुलुकको विकास सम्भव हुने भन्दै मन्त्री खड्काले छिट्टै पाइपलाइनमा रहेका ऊर्जा आयोजनाहरूको विद्युत् खरिद विक्री सम्झौता (पीपीए) खुला हुने पनि बताएका छन् । ऊर्जा आयोजनाको खर्च र आम्दानी पहिले नै तय हुने भएकाले अरुभन्दा सुरक्षित व्यवसाय भएपनि मौसमी प्रतिकुलताले हुने जोखिम प्रवर्द्धकको हातमा नरहेकोले त्यसको सजाय प्रवर्द्धकलाई दिन नहुने पनि खड्काले बताए । ऊर्जामन्त्री खड्काले नेपालले पछिल्लो समय भारतमा ९५० र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिरहेको बताउँदै सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्दा १५ हजार मेगावाट विद्युत् यिनै देशमा निर्यात गर्ने लक्ष्य राखेको बताए । तर, उक्त लक्ष्य हाँसिला गर्नका लागि निजी क्षेत्रको साथ बिना सम्भव नहुने भएकाले निजी क्षेत्रलाई सँगै लैजान उनीहरूका सरोकारका विषय सम्बोधन गर्न आफू सधैँ तयार रहेको मन्त्री खड्काको भनाई थियो । ‘निजी क्षेत्रले जे जति मागहरू राखेको छ, ती सबै मागको विषयमा म जानकार छु । ती सबै माग पुरा हुन्छन् ।’ खड्काले भने । डेडिकेटेड तथा ट्रंक लाइनको विषयमा उद्योगीले भुक्तानी गर्नु पर्दैन भनेर आफूले कहीँ कतै कहिले पनि नभनेको तर, उद्योग बन्द गरेर पैसा उठाउनु हुँदैन भन्ने पक्षमा आफू रहेको पनि खड्काले बताए । उद्योग बन्द हुँदा, विद्युत् खपत भएन, सरकारले राजस्व गुमायो, श्रमिकले रोजगारी गुमायो, उत्पादनको लागत बढ्यो, यसले चेन अफ इफेक्ट पारेको छ । सरकारी निकायले सरकारको राजस्वमा असर पार्ने, अर्थतन्त्रमा असर पार्ने यस्तो काम पनि गर्न हुन्छ ? खड्काले विद्युत् प्राधिकरणलाई प्रश्न गर्दै भने । मन्त्री खड्काले स्रोतमाथिको अधिकार गरिब तथा धनी सबै वर्गका लागि हुने भएकाले सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न वर्गका लागि सरकारले दुई लाखदेखि पाँच लाखसम्मको बिना धितो सहुलियत ऋणको व्यवस्था गरेको पनि बताएका थिए । कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले उत्पादन जस्तै प्रसारण र वितरणमा पनि निजी क्षेत्रलाई सहभागी गराउने विषयमा आयोगले गृहकार्य गरिरहेको बताए । उनले अहिलेको प्रसारण सञ्जालमा ग्रिड कोड लागू भएमा उत्पादक आफैले बढी उत्पादन भएको विद्युत् विक्री गर्न सक्ने पनि बताए । हिजो थोरै विद्युत् उत्पादन हुँदा विद्युत् खपत कम होस भन्ने उद्देश्यले धेरै विद्युत् खपत गर्नेको बढी बिल आउने बिलिङ प्रणाली विकास गरिएको भन्दै आजको दिनमा विद्युत् धेरै भएर खेर जाने अवस्थामा धेरै खपत गर्नेलाई थोरै बिल आउने बिलिङ प्रणाली विकास गर्नका लागि आयोगले तयारी गरेको पनि उनले बताए । कार्यक्रममा इप्पानका उपाध्यक्ष आशिष गर्गले देशको समृद्धिको आधार ऊर्जा विकास मात्र भएको र यसको दिगो र प्रविधिमैत्री विकास आजको आवश्यकता भएको बताए । इप्पानका उपमहासचिव प्रकाश दुलालले कार्यक्रम सञ्चालन गर्दै निजी क्षेत्रले उत्पादनमा हात हालेको २५ वर्ष भित्र २६ सय मेगावाट भन्दा धेरै विद्युत् उत्पादन गरिसकेको र निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेका आयोजना मध्ये ८० प्रतिशत निजी क्षेत्रकै अगुवाइमा रहेको बताए । कार्यक्रममा इप्पानका उपाध्यक्ष आनन्द चौधरीले नेपालमा विद्युत् उत्पादनको सम्भावना, २८ हजार ५०० मेगावाटको लक्ष्य र १० वर्षमा १० हजार मेगावाट निर्यातको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । एसिएन पेन्टसका कन्स्ट्रक्सन केमिकल विभाग प्रमुख डेनिस ज्याकोबले हाइड्रोपावर सेक्टरमा विश्वव्यापी ट्रेन्डमा रहेका सस्टेनेबल एन्ड इनोभेसन प्राक्टिसका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पीआईएले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
इस्लामावाद । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रको लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) बीच विचाराधीन वित्तीय दायित्वहरू समाधान गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । पाकिस्तान नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नादिर शफी दारका अनुसार एफएएलाई भुक्तान छिट्टै हुने अपेक्षा गरिएको छ । एफएए प्रतिनिधिमण्डललाई फेब्रुअरी वा मार्चमा पाकिस्तान भ्रमण गर्ने मार्ग प्रशस्त हुनेछ । एआरवाई न्यूजका अनुसार यसले पाकिस्तानलाई एफएएसँग ‘श्रेणी एक’ स्थितिमा पुनः वर्गीकृत गर्ने सम्भावना बढाउँछ, जसले अमेरिकाको लागि सीधा उडानहरू पुनः सुरु गर्न अनुमति दिन्छ । पीआईएको संयुक्त राज्यका उडानहरू सन् २०१७ मा निलम्बन गरिएको थियो । सरकारले तीनवटा विद्युत वितरण कम्पनीसहित पीआईएको निजीकरण वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने योजना रहेको बताए । प्रारम्भमा अक्टोबर १ सम्ममा टुङ्ग्याउने गरी निजीकरण प्रक्रिया चलिरहेको नागरिक उड्डयनले जनाएको छ । रासस
नाफिजका ३ सदस्य पुरस्कृत
काठमाडौं । आर्थिक पत्रकारहरूको छाता संगठन नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का तीन सदस्य पुरस्कृत भएका छन् । नाफिजको १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभाको अवसरमा आवेदन परेकामध्ये तीन उत्कृष्ट समाचार पुरस्कृत भएका हुन् । सातौं महासभाको अवसरमा विभिन्न विषयमा खोजमुकल समाचार लेख्ने नाफिजका सदस्यहरूलाई सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कार, सिविफिन नाफिज बैंकिङ पुरस्कार र ढुन्डिराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कारका लागि दूध किसानको समस्याको समाचारका लागि अनलाइन खबरका अमृत चिमरिया र सिविफिन नाफिज बैंकिङ पुरस्कार टक्सार म्यागजिका अनुप आचार्यलाई प्रदान गरिएको छ । आचार्यले बैंकको काउन्टर ग्यारेन्टीको समाचारले उक्त पुरस्कार पाएका हुन् । पुरस्कृत हुने दुवै जनाले नगद ५०/५० हजार र प्रमाण पत्र प्रदान गरिएको छ । शारदादेवी–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कारमा उकालो डटकमका लोकेन्द्र विश्वकर्मा एक लाख रूपैयासहित पुरस्कृत भएका छन् । उनले राष्ट्रपति शैक्षिक सुधार परियोजनाका विकृतिका समाचारका लागि उक्त पुरस्कार पाएका हुन् । तीनजना पुरस्कृत आर्थिक पत्रकारलाई सुचना, सञ्चार तथा प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो ।
बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्कियो : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्किएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अग्रवालले विदेशी मुद्राको सञ्चितिमा चाप पर्दा लिएको नीतिहरुले गर्दा पछिल्लो समय अर्थतन्त्रलाई थप समस्यामा पारेको बताएका हुन् । उनले पछिल्लो समय ऋणको माग नभएको नीजि क्षेत्रले ऋण निलएको भन्ने विषयमा सरकारको स्थिर नीति मुख्य कारण रहेको बताए । उनले युवा पलायन देशको सबैभन्दा ठूलो समस्या रहेकाले त्यसको लागि सूचना प्रविधि क्षेत्रको विकास गरेर युवाहरुलाई रोक्नको लागि आवश्यक पहल गर्न सरकारसँग अग्रह गरे । उनले सरकारले नीतिगत स्थिरता र विदेशी लगानी ल्याएर सूचना प्रविधिको विकास गर्नुपर्ने बताए । उनले भने, ‘उद्योगहरू ३०/४० प्रतिशतमा चलिरहेका छन्, कर्जा प्रवाह भएन भनिएको छ, दिर्घकालिन जोखिम देखेर व्यावसायीले कर्जा नलिएका हुन् भन्नेबारे खासै चासो दिइएको छैन् ।’’