सिराहामा पुस्तकालय भवन निर्माण गरी एनआईसी एशिया बैंकद्वारा हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको सिराहा जिल्लास्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको हो । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन मंसिर २७ गते समुद्घाटन गरिएको छ । उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव र बैंकका तर्फबाट यस बैंकका मधेश प्रदेश—६ का प्रमुख शंकर ढकाल र सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका ११ सय भन्दा धेरै विद्यार्थी तथा शिक्षकरशिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यसअघि बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भइसकेका छन्
यी तीन कम्पनीहरूले लाभांश वितरण नगर्ने
काठमाडौं । नेप्सेमा सूचीकृत थप ३ कम्पनीहरूले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन् । पुस ३ गते बसेको कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठक र पुस ४ गते बसेको विजय लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । यी कम्पनीहरूले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन् ।
सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने निर्णय उद्योग संघद्वारा स्वागत
काठमाडौं । सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा नेपाल सरकारले २८ मंसिरमा मन्त्रिपरिषद् बैंठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित गरेको थियो । उक्त निर्णयको स्वागत गर्दै नेपाल उद्योग परिसंघसहित समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको जनाएको हो । परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग मिलेर मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको छ । स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले राखेर अघि बढाइएको मेक इन नेपाल स्वदेशी अभियान कार्यान्वयनमा गर्न सरकारको निर्णयले दह्रो साथ दिने परिसंघले जनाएको छ । ‘सरकारको पछिल्लो निर्णयले स्वदेशी अभियानले राखेको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ । ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पूर्ण लागू गर्न परिसंघ अनुरोध समेत गर्दछ,’ परिसंघले विज्ञप्तीमार्फत् भनेको छ । परिसंघले मेक इन नेपाल स्वदेशी अभियानलाई सफल बनाउन नीतिगत सुझावसँगै बिजनेश टू बिजनेस (बीटूबी) पोर्टल संचालनमा ल्याइसकेको छ ।
कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश रहेको छ । साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
१० प्रतिशत लाभांश वितरण गर्ने सर्वोत्तम सिमेन्टको घोषणा
काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश पारित गर्न कम्पनीले पुस २६ गते रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
गणपति लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । संस्थाको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०र/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
काठमाडौं । ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए । ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने जानकारी दिए । ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा नेपाल आइपुगेको हो । सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्न थालेको छ । पन्ध्रदिने अभियान अन्तर्गत अन्र्तगत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिए । उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ । हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको जनाइएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ । ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेले हुने गर्दछ । नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।
हेटौँडा औद्योगिक क्षेत्रमा एक सय २७ वटा उद्योग सञ्चालनमा
मकवानपुर । जिल्लाको हेटौँडा औद्योगिक क्षेत्रमा एक सय २७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् । तीमध्ये स्वदेशी उद्योगहरू मात्रै होइनन् बहुराष्ट्रिय कम्पनीसमेत रहेका छन् । यहाँ हेटौँडा औद्योगिक क्षेत्र सञ्चालनमा छ । उक्त क्षेत्रमा स्थापना भएका प्रमुख उद्योगहरूमध्ये खाद्य उद्योग प्रालि, युनाइटेड ब्रुअरी प्रालि, नेपाल बिस्कुट कम्पनी, नेपाल साबुन उद्योग, पशुको आहार उत्पादन प्रशोधन उद्योग, नेपालपोल उत्पादन प्रालि र काष्ठ फर्निचरलगायत छन् । यसैगरी, उक्त औद्योगिक क्षेत्रमा गोरखालारी चुरोट उद्योग प्रालि, हेटौँडा दुग्ध वितरण आयोजना, नेपाल चियापत्ती उद्योग प्रालि, नेपाल खाने तेल उत्पादन उद्योग, नेपाल कार्टुन उद्योग प्रालि र नेपाल बोट्लर्स उद्योग प्रालि र नेपाल मदिरा उत्पादन उद्योग प्रालिसमेत रहेका छन् । यस क्षेत्रमा विगत दुई दशकअघि स्थापना भएका पुराना छ वटा उद्योग आर्थिक सङ्कटका साथै कच्चापदार्थको अभावमा बन्द अवस्थामा छन् । नेपाल सेन्थेटिक कपडा उद्योग, नेपाल छाला उद्योग प्रालि, नेपाल लाइभस्टक प्रालि, नेपाल वनस्पति घ्यू, नेपाल पोलिथिन प्लाष्टिक प्रालि र नेपाल दाना उद्योग प्रालि बन्द रहेका हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा कपडा उद्योग पनि २०५८ देखि बन्द छ । उक्त औद्योगिक क्षेत्रमा अहिले बहुराष्ट्रिय कम्पनीसहित १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका र अगामी दुई वर्षभित्र ती उद्योगहरूले उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएका औद्योगिक क्षेत्रका वरिष्ठ अधिकृत रमेशकुमार नेपालले जानकारी दिए । औद्योगिक क्षेत्रमा हाल सञ्चालनमा रहेका विभिन्न उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १५ हजार व्यक्तिले रोजगारीको अवसर प्राप्त गरेका छन् । २०२० मङ्सिर २० गते अमेरिकी सरकारको आर्थिक अनुदान र प्राविधिक सहयोगमा तत्कालीन श्री ५ को सरकारले यहाँ हेटौडा औद्योगिक क्षेत्र स्थापना गरेको थियो । औद्योगिक क्षेत्र स्थापनाका क्रममा तीन हजार दुई सय २८ रोपनी जग्गा, हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापनलाई हस्तान्तरण गरिएको थियो । हाल औद्योगिक क्षेत्रमा विभिन्न उद्योगको स्थापनाका क्रममा एक हजार नौ सय ६१ रोपनी जग्गा सम्बन्धित उद्योगका व्यवस्थापकलाई वितरण गरी उद्योग सञ्चालन भइरहेका नेपालले जानकारी दिए । बाँकी रहेको एक हजार चार सय रोपनी जग्गा जगेडामा राखिएको छ । विभिन्न उद्योगका अतिरिक्त औद्योगिक क्षेत्र परिसरमा हाल इलाका प्रहरी कार्यालय, नेपाल बैङ्क सिटी अफिस, सशस्त्र प्रहरी बेस क्याम्प, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश माटो परीक्षण कार्यालय, हेटौँडा वितरण आयोजना र प्रदेश कृषि बीउबिजन कार्यालय सञ्चालन भइरहेका छन् । औद्योगिक क्षेत्रका प्रबन्धक सङ्गीता कुँवरले यहाँ विगत केही वर्षदेखि सशस्त्र प्रहरी बेसक्याम्प स्थापना गरी सुरक्षा पु¥याइएको भए पनि औद्योगिक क्षेत्रभित्रको चारैतिरको सिमाना क्षेत्रमा तारबारको व्यवस्था नहुँदा स्रोतसाधन सुरक्षामा निकै कठिनाइ भएको बताइन । यसका साथै औद्योगिक क्षेत्रमा अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट उपलब्ध नहुँदा थप उद्योग सञ्चालनका लागि समस्या भएको उनको भनाइ छ । यहाँ कतिपय उद्योगीले उद्योग स्थापना गर्ने भनी विगत केही वर्षदेखि जग्गा सम्झौता गरी लिएका छन् तर हालसम्म त्यसको उपयोग हुनसकेको छैन । अब यस विषयमा पनि उच्च तहबाटै आवश्यक निर्णय गरी कामकारबाही गर्न आग्रह गरिएको प्रबन्धक कुँवरले बताइन । ‘जग्गा सम्झौता भएको तर हालसम्म उद्योग सञ्चालनका लागि कुनै संरचना बनेका छैनन् । जग्गा रोक्का गर्ने काम मात्रै भएको छ । यसको उपयोगका विषयमा पनि कुरा भएको छ । साथै सम्बन्धित उद्योग व्यवस्थापकबाट जग्गा फिर्ता लिने प्रक्रिया पनि अगाडि बढाइएको छ’, उनले भनिन् ।