अण्डाको मूल्य १५ रुपैयाँ बढ्यो, प्रतीक्रेट ५ सय रुपैयाँ
काठमाडौं । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मुल्य बढाएको हो । संघको पुस ४ गते बसेको बैठकले बिक्री मूल्य १५ रुपैयाँ बढाएको हो । यससँगै मध्यम किसिमको प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रतीक्रेट ५ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । यसअघि गत मंसिर २७ गते बसेको बैठकले मध्यम किसिमको प्रतीक्रेट ४ सय ७० रुपैयाँ र ठुलो अण्डा प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकेको थियो । एक सातामा नै अण्डाको मूल्य बढाएको हो । संघका अनुसार चितवनलाई आधारमानी पुस ५ गतेदेखि अण्डाको नयाँ बिक्री मुल्य लागू हुनेछ । उक्त मूल्यमा कारोबार गर्न संघले अनुरोध गरेको छ । चितवनबाट लोड भइ देशभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ लाग्नेछ ।
विद्युत् प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी मागेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै पाँचौँ तहदेखि दसौँ तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदका लागि कर्मचारी मागेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत प्राधिकरणले ९५३ जना स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्राधिकरणले दसौँ तह अन्तर्गत प्राविधिकतर्फ एक जना प्रबन्धक माग गरेको छ भने आठौँ तह प्रशासनतर्फ सहायक निर्देशक दुई जना र एक जना सहायक प्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो । यस्तै, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त मागेको हो । प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर, सुपरभाइजर लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुष २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माग ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।
महुली लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, मूल्य १ सय रुपैयाँ
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आज पुस ५ गतेदेखि थप सार्वजनिक सेयय (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तमा सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १९ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लगातार चौंथो दिन अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार चौंथो दिन पनि नयाँ उचाई कायम गरेको छ । गत पुस २ गतेदेखि नयाँ रेकर्ड कायम राख्दै आएको डलरको मूल्यले आज पुस ५ गते शुक्रबार पनि नयाँ रेकर्ड कामय गरेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.८२ रुपैयाँ र बिक्रीदर १३६.४२ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो पुस ४ गते सबैभन्दा धेरै खरिदर १३५.६३ रुपैयाँ र बिक्रीदर १३६.२३ रुपैयाँ थियो । आज युरोपियन यूरोको एकको खरिदर १४१.३९ रुपैयाँ र बिक्रीदर १४२.०१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.६५ रुपैयाँ र बिक्रीदर १७२.४१ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.५९ रुपैयाँ र बिक्रीदर १५२.२६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.८८ रुपैयाँ र बिक्रीदर ८५.२६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.४० रुपैयाँ र बिक्रीदर ९४.८२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.०१ रुपैयाँ र बिक्रीदर १००.४५ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१५ रुपैयाँ र बिक्रीदर ३६.३१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९४ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९८ रुपैयाँ र बिक्रीदर ३७.१४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१५ रुपैयाँ र बिक्रीदर ३०.२८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३३ रुपैयाँ र बिक्रीदर १२.३८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४८ रुपैयाँ र बिक्रीदर १७.५६ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.९७ रुपैयाँ र बिक्रीदर ४४२.९२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.०७ रुपैयाँ र बिक्रीदर ३६१.६६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.७८ रुपैयाँ र बिक्रीदर ३५४.३४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
रसुवागढी नाकाबाट ३ हजार सवारी नेपाल भित्रिए, २ सय बढी कन्टेनर भन्सार प्रकृयामा
काठमाडौं । केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा २ दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमा सुरक्षाकर्मीले जनाएका छन् । स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका २ सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार सवारीसाधनका हकमा रसुवागढी नाकाबाट सबैभन्दा बढी ईभी आयात हुने गरेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिर मसान्तसम्म सानाठूला गरी ३ हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएका छन् । वर्तमान अवस्थामा राजस्व आर्जनको प्रमुख स्रोत सवारी साधनकै बढी हिस्सा भएको प्रमुख भट्टराईले जानकारी दिए । चालु आव २०८१/८२ को प्रथम चौमासिकअन्तर्गत करिब १२४ अर्बको सामग्री आयात भई १२ अर्बभन्दा बढी राजस्व आर्जन भएको भन्सार कार्यालयले जनाएको छ । रसुवागढी नाकाबाट अन्यन्तै न्यून माल सामग्री निर्यात हुने गरेको बताइन्छ । प्राप्त विवरणानुसार ऊनी गलैँचा, बक्रम कपडा, तयारी कपडा, चाउचाउ, नुडल्स, जडीबुटी, अगरबत्ती, भाँडामा झ्ने स्टिलउड र काठका सामग्री छन् । आयाततर्फ भने जुत्ताचप्पल, तयारी पोशाक, विद्युतीय सामग्री छन् । आयातका साथसाथै गैरकानुनी तवरका व्यक्तिसमेत सल्बलाउन थालेका कारण राजस्व चुहावत नियन्त्रण र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले मितेरी पुलमा २४सै घण्टा पालो पहरा दिइरहेका कारण सीमाक्षेत्र शान्त रहेको भन्सार अधिकारी बताउछन् । विसं २०७२ देखि पूर्ण रूपमा चालु भएको रसुवागढी नाकामा सडकमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन सञ्चालनमा निकै असहज बन्दै गएको सवारी चालकले बताएका छन् । सडक सुधारका लागि थोरै खर्चले धेरै काम हुने चालकहरूले सुझाव पनि दिएका छन् । स्याफ्रुबेँसी-रसुवागढी खण्डका वर्षायाममा होचो अग्लो भएको स्थानलाई सम्म बनाइ रोलारले पेलिदिने व्यवस्था भएमा हिउद यामलाई सवारीसाधन गुढाउन सहज हुने डिब्बा चालक जङ्गबहादुर तामाङले सुझाव दिए । सडक अधिकारीको भने न्यून उपस्थिति हुने गरेको स्थानीयले जानकारी दिएका छन् ।
गोरूगाडा, हलो, मलको खाली बोरासहित हजारौँ किसान सडकमा, मल उपलब्ध गराउन माग
काठमाडौं । गहुँ बाली लगाउने बेलामा मलको चरम अभाव खेप्दै आएको भन्दै सप्तरी जिल्लाका किसानले कृषि औजारसहित मल उपलब्ध गराउनुपर्ने माग गरेका छन् । जनमत पार्टीका संसदीय दलका नेतासमेत रहेका प्रदेश सांसद महेशप्रसाद यादवको अगुवाइमा किसान सडकमा उत्रिएका हुन् । गहुँ बाली लगाउने बेलामा मलखाद नपाउँदा समस्या भएको भन्दै पटकपटक सम्बन्धित निकायमा लिखित र मौखिक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएकाले बाध्य भई सडक सङ्घर्षमा उत्रनुपरेको किसानले बताएका छन् । स्थानीय राजरङ्गशालाबाट गोरूगाडा, हलो, मलको खाली बोरालगायत सामानसहित हजारौँका सङ्ख्यामा निस्केको किसानका जुलुस ‘मलखादको व्यवस्था गर, किसानको समस्या समाधान गर, कालोबजारी बन्द गर, पर्याप्त मल किन वा किन्न देऊ, कालोबजारी गर्नेहरूलाई कारबाही गर’ लगायत नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेको थियो । बजार परिक्रमापश्चात राजविराजको सहिद दशन चोकमा जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहको अध्यक्षतामा आयोजित विरोध सभामा प्रदेश सांसद यादव, हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलगायतले बर्सेनि उत्पन्न हुने मलखाद अभावको स्थायी समाधान नखोजिए आन्दोलनमा जाने बताएका छन् । सप्तरीमा ७० हजार हेक्टर खेतीयोग्य जग्गा छ । तर मलखाद अभावमा आधा जग्गामा पनि खेती गर्न कठिन भइरहेको हुनमाननगर कङ्कालिनी नगरपालिका–१ का किसान फुलटेन विश्वासले गुनासो गरे । मलखाद वितरण गर्ने काम साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले गर्ने गरे पनि ती दुवै निकायमा अहिले मागअनुसारको मलखाद नहुँदा समस्या भएको जनाइएको छ । मलखादबिनाको खेतीले उत्पादन राम्रो दिन्न, प्रदर्शनमा सहभागी किसान विजुली सरदारले भने, ‘बर्सेनि रासायनिक मलको प्रयोग गरेको खेतलाई त्यही मल नै चाहिन्छ, तर बजारमा चरम अभाव छ ।’
काल बन्दै वैदेशिक रोजगारी, १४ हजार बढीको मृत्यु, साढे ३ हजार अङ्गभङ्ग भएर फर्किए
फाइल फोटो काठमाडौं । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार २१३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो । बुधबार परेको उक्त दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त दिवस मनाउन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा दिवस मूल समारोह समिति नै गठन गरेर साताव्यापी कार्यक्रम आयोजना गरेको हो । समितिले सार्वजनिक गरेको विवरणानुसार बोर्ड स्थापनापछिको उक्त अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका मात्रै ३ हजार ४४० जना श्रमिक छन् । उनीहरूलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको सचिव निरौलाले जानकारी दिए । नेपालबाट विभिन्न १११ मुलुकमा नागरिक आप्रवासीका रूपमा गएका उनले बताए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८.१ करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६.९ करोड रहेको छ । आप्रवासीमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ देखि लागू भएको छ । त्यसैले अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीहरूको योगदानलाई मान्यता दिनका लागि विश्वव्यापी रूपमा यो दिवस मनाउन आह्वान गरेको छ । त्यसैले नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवार, सञ्चÞार जगत्लगायत विभिन्न पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्त्वपूर्ण योगदान गरेको छ । अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति रहेको श्रम मन्त्रालयले जनाएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम, श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, रिटनी उद्यमशीलता कार्यक्रम कार्यान्वयन गरिने आदि समावेश छ । आव २०८०/८१ मा गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँको रकम नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । आव २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः थम स्वीकृतिसमेत) लिई वैदेशिक रोजगारीमा गएका ८० हजार १७२ महिलासहित कुल ७ लाख ४१ हजार २९७ जना श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घरपरिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारहरूको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुगेको समितिले जनाएको छ । विश्व बैंकको अक्टोबर, २०२४ को प्रतिवेदनअनुसार नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी यसको रहेको छ । त्यसैले सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आप्रवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने निर्णय भएअनुसार विविध कार्यक्रम भइरहेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने राहदानी, सीप तालिम तथा अभिमुखीकरणलगायत कागजात तयार पार्न स्थानीय तह तथा जिल्लास्तरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगरपालिका तथा गाउँपालिकालगायत निकायको महत्त्वपूर्ण भूमिका छ । यसर्थ सबैको सरोकारको विषय भएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसले स्थानीयस्तरमा समेत विशेष महत्व राख्ने सचिव निरौला बताउँछन् । श्रम मन्त्रालयका उपसचिव वसन्त बोहरा आप्रवासी नीति नै परिमार्जन गरेर वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन लागिएको बताउँछन् । अहिले उक्त नीति सुझावको चरणमा रहेको उनले बताए । मन्त्रालयका अर्का उपसचिव महेश पराजुली ९८.९ प्रतिशतले रेमिट्यान्स औपचारिक च्यानलबाट पठाएको अध्ययनमा पाइएको र समस्यामा परेका मानिसहरूको सङ्ख्या न्यून रहेको बताउँछन् । उनले कमाएको रकम घरपरिवार व्यवस्थापनमा बढी खर्च भएको देखिएकाले त्यसलाई आयआर्जनमा लगाउनका लागि प्रोत्साहन र सचेतना जरूरी रहेको र यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन भएको छ । आन्दोलनरत शिक्षक तथा कर्मचारीका अनुसार उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको हो । प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियोे । उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए । आन्दोलनका क्रममा रजिष्ट्रारबाट गठित वार्ता समितिसँग पटकपटक छलफल भएपछि २०८१ साल पुस ४ गते उपकुलपतिबाट छुट पदसमेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै, गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदका सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको आन्दोलित कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । सो प्रतिबद्धताका आधारमा आन्दोलनरत शिक्षक तथा कर्मचारीले आजबाट आन्दोलनका सबै कार्यक्रम स्थगन गरी नियमित कार्यालय कामकाजमा फर्किने जानकारी गराएका छन् ।