यस्तो छ बिहीबारको तरकारी र फलफूलको मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) रु ९०, गोलभेँडा सानो (लोकल) रु ३०, गोलभेँडा सानो (भारतीय)रु ५०, गोलभेँडा सानो (तराई) रु ४०, आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु १२०, गाजर (तराई) प्रतिकेजी रु ११०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु ३०, बन्दा (नरिवल) प्रतिकेजी रु ३०, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ५०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ४५, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १२०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ६०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १२०, सखरखण्ड प्रतिकेजी ९०, बरेला प्रतिकेजी रु ५०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु ३०, पालुङ्गो साग प्रतिकेजी ९०, चमसुरको साग, रु ९०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ९०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु १००, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले (प्रतिकेजी रु ८०), सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १३०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किवि प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु १००, लसुन हरियो प्रतिकेजी रु २००, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ । रासस
सिटी एक्सप्रेसबाट ४२ हजार पठाउने निराजन ढकालले जिते १८ गुणा बढी पुरस्कार
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने विजेताको नाम घोषणा गरेको छ । कम्पनीले ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौं गुणा’ अभियानको विजेता घोषणा गरेको हो । सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर कलाकार जितु नेपाल र कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितीमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरिएको हो । जसअनुसार कोरियाबाट रेमिट्यान्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९ सय ९ रुपैयाँको १८ गुणा अर्थात् ७ लाख ५४ हजार ३ सय ६२ रुपैयाँ जिते । सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखी मंसिर ३० गतेसम्म चल्ने गरी ६० दिनसम्म उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५ सय रुपैयाँको सिटी पे वालेट टपअप प्रदान गरिएको थियो । जसअन्तर्गत १ हजार ६ सय २० जनाले वालेट टपअप, २४ जनाले स्मार्ट टिभी र ६ जनाले स्मार्टफोन जिते । सिटी एक्सप्रेसले विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटीपे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुरु गरेको छ । साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।
कामना सेवा विकास बैंकद्वारा रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय गरगरेमार्फत रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ । रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर एक कार्यक्रम गरी बैंकको सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनले हस्तान्तरण गरे । कम्प्युटर हस्तान्तरण गरिएकोमा कार्यक्रमको प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल र रुद्रपुर खानेपानी संस्थाका अध्यक्ष नाम बहादुर केसीले धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. ३, ४ र ५ का वडा अध्यक्ष लगायत कामना सेवा विकास बैंकका बुटवल क्षेत्रीय प्रमुख खिमलाल भुसाल र खानेपानी संस्थाका समिति सदस्य एवम् कर्मचारीको उपस्थिति थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिनेछ ।
किसानद्वारा ११ करोडको धान बिक्री
राँझा । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए । ‘धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ’, कार्यालय प्रमुख लामिछानेले भने, ‘स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।’ धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए । ‘पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ’, उनले भने । मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो । गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताए । ‘गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ’, लामिछानेले भने, ‘गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।’ पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए । उनका अनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ । रासस
सन् २०२४ मा भित्रिए साढे ११ लाख पर्यटक, ९३ प्रतिशत पर्यटन पुनरुत्थान
काठमाडौं । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड-१९ महामारी (कोरोना भाइरस) का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ । कोरोनाले तीन वर्ष विदेशी पर्यटक आगमन खुम्चियो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घट्यो । उल्लेखित आँकडाले एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । निर्देशक लामिछानेका अनुसार पर्यटक आगमन सुधार हुनुमा बोर्डले बजारीकरणलाई तीव्रता दिएको तथा नेपालमै पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना, बुद्धिष्ट सम्मेलनका दौरानमा भएका ८ सयभन्दा बढी चार्टड उडान, अन्तर्राष्ट्रिय बेलुन फेष्टिबल चिनियाँ ड्रागन फेस्टिबलका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भएका पर्यटन उत्सव, मेला र प्रदर्शनी रहेको छ । विदेशी पर्यटक आगमन बढाउन बोर्डले क्षेत्रीय पर्यटन प्रवद्र्धनलाइ प्राथमिकतामा राखेको बोर्डले उल्लेख गरेको छ । कुन महिनामा कति पर्यटक ? मार्च महिनामा सबैभन्दा बढी १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबरमा १ लाख २४ हजार ३९३, अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६ पर्यटक नेपाल आएका थिए । डिसेम्बरमा ८९ हजार ७६५, नोभेम्बरमा १ लाख १४ हजार ५०१, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए ।
माछापुच्छ्रे बैंक र युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा, मूल्य १ हजार रुपैयाँ
काठमाडौं । माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ५५ हजार कित्ता सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीलाई बिक्रीमा राखिएको थियो । तर, खरिद गर्न इच्छुक नभएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य तोकेर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ । यस्तै, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । लुवित्तका संस्थापक सेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनुपर्नेछ । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।
८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, ५० प्रतिशतसम्म पाइने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन रहेको छ । लुम्बिनी विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), कालिका पावर, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्तले पुस १९ गते र सूर्योदय वोमी लघुवित्तले पुस २१ गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ८कम्पनीको साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २९ गते काठमाडौंमा १७औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे बोलाएको छ । यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चुक्ता पुँजीको करसहित १.६८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.०९८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले पुस २९ गते डिल्लीबजार काठमाडौंमा ३०औँ वार्षिक साधारण सभा बिहान १० बजे डाकेको छ । यस्तै, हिमालयन डिष्टिलरीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते पर्सामा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । यस्तै, बोटलर्स नेपाल (तराई)ले ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । पुस २६ गते काठमाडौंमा ३८औँ वार्षिक साधारण सभा दिउँसो १२ गते डाकेको छ । यस्तै, कालिका पावरले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते भरतपुर चितवनमा ११ बजे साधारण सभा बोलाएको छ । यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते पोखरा, बुद्धचोकमा १५औँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तले चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न माघ ४ गते नुवाकोटमा १२औँ वार्षिक साधारण सभा साढे ११ बजे आह्वान गरेको छ । यस्तै, सूर्योदय वोमी लघुवित्तले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २८ गते १३औँ वार्षिक साधारण सभा ११ बजे डाकेको छ ।
होटलमा साढे ५ खर्ब लगानी, १० अर्ब बढी विदेशी
काठमाडौं । नेपालको होटल उद्योगमा साढे ५ खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ रहेको छ । तथ्याङ्ककअनुसार होटल उद्योगमा साढे १० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ । नेपालमा १ लाख ४२ हजार २२३ होटल/रेस्टुरेन्ट रहेको तथ्याङ्क छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो । यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र समेटिएको थियो । डा रेग्मीका अनुसार यस पटकको सर्वेक्षणमा होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्राबास/होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ/पार्टी प्यालेसको विस्तृत सङ्कलन रहेकाले यो सर्वेक्षणलाई पहिलो बृहत् सर्वेक्षण भनिएको हो । देशभरका डेढ लाख होटलमध्ये १ हजार १२१ होटलमा पूर्ण विदेशी लगानी रहेको छ । जसमध्ये १ हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ । देशभर ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभरि सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गरेको थियो । सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पुर्याएको योगदानको मापन गर्न सहज हुने विश्वास लिइएको छ । विसं २०७९ साउन १ देखि २०८० असार ३० गतेसम्म सर्वेक्षण गणना गरिएको थियो । पर्यटन विभागबाट तारे होटल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्याङ्क सङ्कलन पूर्णगणना विधिबाट गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । तथ्याङ्कअनुसार १० करोड रुपैयाँभन्दा बढी स्थायी सम्पत्ति भएका होटल/रेस्टुरेन्ट सङ्ख्या ४९३ छन् । तीमध्ये बागमतीमा २१४ छन् । १ करोडदेखि १० करोड रुपैयाँ सम्म सम्पत्ति भएका होटल ८ हजार ७३२ छन् । २ लाखभन्दा कम लगानीमा खुलेका होटल/रेस्टुरेन्ट ६७ हजार ५२१ छन् । तथ्याङ्कमा देशभरि सञ्चालनमा रहेका होटल/रेस्टुरेन्टमध्ये १ लाख ३७ हजार ७१६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ । जसको सम्पत्ति ४ खर्ब १८ अर्ब ६२ करोड रुपैयाँ हाराहारी छ । नेपाली नागरिकको संयुक्त लगानीमा ३ हजार ३२७ होटल/प्रतिष्ठान सञ्चालनमा छन् । जसमा १ खर्ब १४ अर्ब रुपैयाँ लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटल/रेस्टुरेन्ट रहेको छ । सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवन सेवा गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको सङ्ख्या १ लाख ५ हजार ४५९ रहेको छ ।