विकासन्युज

सिद्धार्थ बैंकका २ सेयरधनीले लगानी थपे, ५ जनाले बेचे सेयर

काठमाडौं । सिद्धार्थ बैंकका दुई संस्थापक सेयरधनीले आफ्नो सेयर स्वामित्व बढाएका छन् । बैंकका ठूला संस्थापक सेयरधनी विरेन्द्रकुमार शाह र पूनम चन्द अग्रवालले थप सेयर खरिद गरेर आफ्नो स्वामित्व बढाएका हुन् । गत असारसम्म शाहसँग बैंकको १.५४ प्रतिशत अर्थात् २१ करोड ६९ लाख २८ हजार १ सय रुपैयाँ र अग्रवालसँग ०.९७ प्रतिशत अर्थात् १३ करोड ७३ लाख ४४ हजार २ सय रुपैयाँ सेयर स्वामित्व छ । जबकी अघिल्लो वर्ष शाहसँग ०.९९ प्रतिशत अर्थात् १३ करोड ९१ लख ५५ हजार ५ सय रुपैयाँ र अग्रवालसँग ०.९७ प्रतिशत अर्थात् १३ करोड ६४ लाख ५५ हजार ७ सय रुपैयाँ मात्रै सेयर स्वामित्व थियो । तर, गत वर्ष आधा दर्जन सेयरधनीले बैंकको सेयर बिक्री गरेर आफ्नो स्वामित्व घटाएको देखिन्छ । जसमा अशोक कुमार बाहेटी, मदन लाल केडिया, राजेश कुमार केडिया, विनय कुमार शाह माडवारी र विमल कुमार केडियाले बैंकको सेयर बिक्री गरेर स्वामित्व घटाएका हुन् । बैंकका अनुसार अशोक कुमार बाहेटीको १.४८ प्रतिशत अर्थात् २० करोड ८० लाख ९० हजार १ सय रुपैयाँ, मदन लाल केडियाको ०.७६ प्रतिशत अर्थात् १० करोड ७३ लाख ७८७ हजार ३ सय सेयर, राजेश कुमार केडियाको ०.७८ प्रतिशत अर्थात् ११ करोड ६५ हजार ५ सय रुपैयाँ, विनय कुमार शाह माडवारीको ०.५५ प्रतिशत अर्थात् ७ करोड ८१ लाख ५३ हजार ९ सय रुपैयाँ, विमल कुमार केडियाको ०.६५ प्रतिशत अर्थात् ९ करोड १६ लाख ३५ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व कायम राखेका छन् । जबकी अघिल्लो वर्ष अशोक कुमार बाहेटीको १.४९ प्रतिशत अर्थात् २० करोड ९४ लाख ६८ हजार ६ सय रुपैयाँ, मदन लाल केडियाको १.०८ प्रतिशत अर्थात् १५ करोड २३ लाख ८७ हजार ३ सय रुपैयाँ सेयर, राजेश कुमार केडियाको ०.८८ प्रतिशत अर्थात् १२ करोड ३७ लाख ६४ हजार १ सय रुपैयाँ, विनय कुमार शाह माडवारीको ०.७७ प्रतिशत अर्थात् १० करोड ८१ लख ५३ हजार ९ सय रुपैयाँ र विमल कुमार केडियाको ०.६६ प्रतिशत अर्थात् ९ करोड २६ लाख ३५ हजार रुपैयाँ सेयर स्वामित्व थियो । बैंकमा सबैभन्दा ठूलो सेयरधनी प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनी रहेको छ । यस कम्पनीको बैंकमा ३.२३ प्रतिशत अर्थात् ४५ करोड ५३ लाख २३ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत अर्थात् ४१ करोड ५७ लाख ३२ हजार ६ सय रुपैयाँ, रतनलाल कोडियाको २.४८ प्रतिशत अर्थात् ३४ करोड ९७ लाख ७० हजार ३ सय रुपैयाँ, सविता केडियाको १.९२ प्रतिशत अर्थात् २७ करोड १२ लाख ९ हजार २ सय रुपैयाँ, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत अर्थात् २५ करोड ५१ लाख ३० हजार ८ सय रुपैयाँ, पवन कुमार अग्रवालको १.७६ प्रतिशत अर्थात् २४ करोड ८४ लाख ९ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, सुवोध तोदीको १.५५ प्रतिशत अर्थात् २१ करोड ८३ लाख ६९ हजार ८ सय रुपैयाँ, नरपत सिंह जैनको १.४५ प्रतिशत अर्थात् २० करोड ५० लाख ६ हजार ४ सय रुपैयाँ, दिनानथ केडियाको १.४१ प्रतिशत अर्थात् १९ करोड ८१ लख ५९ हजार ७ सय रुपैयाँ, आदित्य केडियाको १.३९ प्रतिशत अर्थात् १९ करोड ६० लाख २४ हजार २ सय रुपैयाँ, महावीर इन्भेष्टमेन्ट प्रालिको १.३७ प्रतिशत अर्थात् १९ करोड २७ लाख ९९ हजार ७ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, तुषार तोदीको १.२८ प्रतिशत अर्थात् १८ करोड १ लाख ७१ हजार ५ सय रुपैयाँ, सुरेश कुमार रुंङगटाको १.२१ प्रतिशत अर्थात् १७ करोड ३ लाख ९२ हजार ८ सय रुपैयाँ, विनोद कुमार अग्रवालको ०.९४ प्रतिशत अर्थात् १३ करोड १७ लाख ५३ हजार ८ सय रुपैयाँ, भरत कुमार तोदीको ०.८७ प्रतिशत अर्थात् १२ करोड ३० लाख १६ हजार रुपैयाँ, राजकुमार टिब्रेवालाको ०.८१ प्रतिशत अर्थात् ११ करोड ३६ लाख ६४ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, राजेन्द्र कुमार अग्रवालको ०.७६ प्रतिशत अर्थात् १० करोड ७१ लख १३ हजार १ सय रुपैयाँ, श्याम सुन्दर अग्रवालको ०.७५ प्रतिशत अर्थात् १० करोड ५३ लाख १६ हजार ७ सय रुपैयाँ, सुरेश कुमार केडियाको ०.७२ प्रतिशत अर्थात् १० करोड १२ लाख ३० हजार रुपैयाँ, केशरी चन्द कुचेरियाको ०.६७ प्रतिशत अर्थात् ९ करोड ५० लाख १२ हजार ५ सय रुपैयाँ, शशिकला अग्रवालको ०.६३ प्रतिशत अर्थात् ८ करोड ९२ लाख ९८ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, मनिष जैनको ०.६३ प्रतिशत अर्थात् ८ करोड ८९ लाख ९७ हजार ७ सय रुपैयाँ, जगदिश कुमार अग्रवालको ०.६१ प्रतिशत अर्थात् ८ करोड ६४ लाख ५१ हजार १ सय रुपैयाँ, शम्भु कुमार कन्दोइको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३२ लाख ८८ हजार १ सय रुपैयाँ, कबिन्द्र बहादुर श्रेष्ठको ०.५९ प्रतिशत अर्थात् ८ करोड २९ लाख ६३ हजार १ सय रुपैयाँ, सरोज शर्माको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ४८ हजार ९ सय रुपैयाँ र इन्दिरा राजभण्डारीको ०.५० प्रतिशत अर्थात् ७ करोड ३ लाख ८४ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

धनकुटा । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीको सङ्ख्या एक लाख ४४ हजार एक सय ३९ रहेकामा गत आव २०८०/८१ मा डेढ लाखभन्दा बढी वृद्धि भई दुई लाख ९७ हजार ५७ पुगेको स्वास्थ्य कार्यालयले स्पष्ट गरेको छ । यसैगरी नसर्ने रोगअन्तर्गत दोस्रो स्थानमा रहको मधुमेह (चिनी रोग) देखिएका बिरामीको सङ्ख्या गत आवमा एक लाख ८६ हजार तीन सय ८७ रहेकामा चालु आर्थिक वर्षको पाँच महिनामा १५ हजार तीन सय ३९ रहेको छ । त्यस्तै तेस्रो स्थानमा धुवाँ–धुलो र धूमपानबाट हुने दीर्घकालीन प्रकृतिको स्वाशप्रस्वास (सिओपिडी) रोगसँग सम्बन्धित बिरामी देखिएको कार्यालयले जनाएको छ । दम रोगसँग मिल्दोजुल्दो यस किसिमको रोगबाट ५५ हजार नौ सय ५९ जना प्रभावित भएको सो कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी चालु आर्थिक वर्षको पाँच महिनामा कोशी प्रदेशमा चार हजार सात सय ७८ जना स्वाशप्रस्वासका बिरामी देखिएका छन् । त्यस्तै चौँथोमा रहेको मानसिक रोगसँग सम्बन्धित बिरामीको सङ्ख्या ३३ हजार तीन सय ३१ र पाँचौंमा दमका बिरामी ३१ हजार सातसय ४९ जना रहेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा एक हजार तीन सय १७ जना मानसिक रोगबाट पीडित रहेको पनि प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ । समग्रमा कोशी प्रदेशमा छ लाख ४९ हजार तीन सय ८२ जना उच्च रक्तचाप, मधुमेह, दमजस्ता नसर्ने प्रकृतिका रोगबाट प्रभावित रहेको सो कार्यालयले स्पष्ट गरेको छ । कार्यालयका निर्देशक डा सुरेश मेहताका अनुसार उच्च रक्तचापको समस्याबाट ३५ वर्षभन्दा माथिका उमेर समूहका मानिस बढी प्रभावित भएका छन् । झापा जिल्लामा मात्र आव २०८०/८१ मा ९९ हजार एक सय ७३ जना रक्तचापको समस्याबाट पीडित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मोरङमा ५२ हजार चार सय ५०, इलाममा ३८ हजार सात सय २२, सुनसरीमा ३५ हजार सात सय ८० र उदयपुरमा ११ हजार तीन सय ३४ जना रक्तचापसँग सम्बन्धित बिरामी रहेका छन् । डा मेहताका अनुसार आफ्नो घरमा तयार हुने रेशादार एवं हरियो सागसब्जीसहितको प्राङ्गारिक खानाभन्दा होटल तथा बजारका खानामा जोड दिँदा, दैनिक आहारविहार र व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा तथा मध्यपान, धूमपान र मादकपदार्थ सेवनमा व्यक्तिको लत बस्दा उच्च रक्तचापका बिरामीको सङ्ख्या वृद्धि भएको हो । रासस

प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घट्यो : बालेन शाह

काठमाडौं । प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरेका छन् । क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने,  ‘पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो, यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ । यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ । पहिले क्यासिनोमा खर्च गरिएको रकमको ५ प्रतिशत शुल्क थियो । अहिले प्रति टिकटमा ५० रुपैयाँ तोकिएको छ ।’ उनका अनुसार पहिले मेला महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको ५ प्रतिशत कर थियो, अहिले महानगरपालिका भित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ । यस्ता नीतिगत भ्रष्टाचारलाई लेखापरीक्षणका क्रममा कसरी सम्बोधन हुन्छ’, परीक्षण अधिकारीलाई प्रश्न गर्दै उनले भने । प्रदेशले कर घटाएकोमा रूष्ट महानगर प्रमुख शाहले अगाडी भने, ‘यसरी राजस्व घटे पछि महानगरपालिकाले चलचित्र, कला तथा सिर्जनाको प्रोत्साहन तथा प्रवर्धनमा कार्यक्रममा बजेट राख्न पाएन । अर्कोतिर संविधानले स्थानीय सरकारको एकल अधिकारका रुपमा दिएको बहाल कर संघीय सरकारले संकलन गरिरहेको छ । यसबाट पनि महानगरपालिकाको आय घटेको छ। नीतिगत यस्ता विषयलाई पनि लेखा परीक्षणका क्रममा औल्याउनु पर्छ ।’

सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित

काठमाडौं । जनताको मताधिकारका आधारमा शासन सञ्चालनका लागि निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा चुनाव हुनु अपरिहार्य मानिन्छ । प्रजातान्त्रिक मुलुकहरूमा जनताले मत दिएर चुनिएका जनप्रतिनिधिबाट शासित हुने अपेक्षा हरेक नागरिकले राखेका हुन्छन् । सन् २०२४ मा विश्वका १०० भन्दा बढी देशमा चुनाव भए, र यी देशमा विश्वको कूल जनसंख्याको झण्डै आधा व्यक्ति बसोबास गर्दछन् जसमा विश्वका सबैभन्दा बढी जनसंख्या भएका १० मध्ये सात वटा मुलुकमा चुनाव सम्पन्न भएका छन् । यसै वर्ष ठूलो जनसंख्या भएका ब्राजिल, भारत, संयुक्तराज्य अमेरिका, पाकिस्तान, मेक्सिको, इन्डोनेसिया, फ्रान्स, बेलायत, दक्षिण अफ्रिका र रसियामा चुनाव भए । साथै युरोपेली संसदका लागि जुन महिनामा चुनाव भयो । नेसनल डेमोक्रेटिक इन्स्टिच्यूटका अनुसार, यी चुनावमा लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका मुलुकमध्ये ८० प्रतिशत मुलुककाे चुनावमा सत्तारूढ दल पराजित भएका थिए । विश्व राजनीतिमा प्रभावशाली मानिएका दुई ठूला प्रजातान्त्रिक मुलुकहरू भारत र संयुक्तराज्य अमेरिकामा निर्वाचन भए । यी निर्वाचनकाे नतिजा भारतमा अप्रत्यासित नदेखिए पनि अमेरिकी चुनावी परिणामले धेरैलाई आश्चर्यचकित बनायो । संयुक्तराज्य अमेरिकाको ४७ औं राष्ट्रपतिका लागि नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भए । उनले राष्ट्रपतिका लागि ५३८ इलेक्टोरल कलेज भोटमध्ये ३१२ मत पाएको थियो । डेमोक्रेटिक पार्टीका प्रभावशाली उम्मेदवार कमला ह्यारिसले यसपटक अमेरिकी सर्वोच्च पद राष्ट्रपतिमा विजयी हुने आंकलन थियो । तर स्वीङ स्टेट भनिने राज्यमै ह्यारिसले नराम्रो पराजय भोग्न बाध्य भइन् । ट्रम्पको दल रिपब्लिकन पार्टीले सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा समेत झिनो भए पनि बहुमत हासिल गरेको छ । ट्रम्पको विजयसँगै अमेरिकी दुबै सदनमा रिपब्लिकन पार्टीको विजयले ट्रम्पका केही एजेन्डालाइ लिएर विश्वव्यापी चासो, चिन्ता व्यक्त हुँदै आएको छ । खासगरी ट्रम्पका आप्रवासन, सीमा सुरक्षा र विश्वमा हाल चलिरहेका गाजा, युक्रेन र सिरिया द्वन्द्व जस्ता विषयमा के हुने भन्ने अन्याैल कायमै छ । उता छिमेकी मुलुक क्यानाडा, युरोपेली मुलुकहरू र चीनसँगको व्यापार द्वन्द्व पनि सङ्घारमै छ । अमेरिका प्रथम को नारालाई सार्थक बनाउन अबरोध गर्ने जुनसुकै मुलुकमाथि करको डन्डा चलाउने ट्रम्पको योजनालाई लिएर विश्वव्यापी विरोध भइरहेकै छ । दक्षिण एसियामा चुनावी नतिजा नेपालको निकट छिमेकी मुलुक भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) कै नेतृत्वमा केन्द्रमा सरकार बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भाजपाले एकल प्रचण्ड बहुमत सहितको नतिजा ल्याउन नसके पनि संसदमा सबैभन्दा ठूलो दलको हैसियतले सरकार बनाएको छ । ५४३ सदस्यीय लोकसभामा २४० स्थान जितेको भाजपाले गठबन्धनका दलहरूको समर्थनमा सरकार बनाएको छ । भारतलाई स्थिरता दिने गरी प्रधानमन्त्री मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएको छ । भारतको यस चुनावी नतिजाबाट छिमेकी मुलुकहरू उत्साहित बनेका छन् । खासगरी भारतले अघि सारेको नेभरहुड फर्स्ट नीति बमोजिम भारतले व्यवहार गरेको भनिए पनि छिमेकी मुलुकहरूले त्यस बमोजिम लाभ प्राप्त गर्न भने सकेका छैनन् । तैपनि, चीन भारतबीच गलवान क्षेत्रको तनावलाइ मत्थर बनाएर दुबै देशबीच सम्बन्ध सामान्यीकरणको प्रयास भने जारी रहेका खबर आइरहेका छन् । चाँडै दुबै देशका उच्च नेतृत्वले एकअर्काका मुलुकको भ्रमण गर्ने तयारी भइरहेको समाचार छ । नेपालजस्तो दुबै देशको बीचमा रहेको मुलुकका लागि यो निश्चय पनि खुसीको कुरा हो । दक्षिण एसियाली मुलुक पाकिस्तानमा पनि यसै वर्षको फेब्रुअरी ८ मा संसदका लागि चुनाव भयो । पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमा राखेर तथा उहाँको दल पाकिस्तान तेहरिक–ए इन्साफ (पिटिआई) लाई चुनावी प्रतिस्पर्धा गर्नबाट बन्चित गराएर भएको आम निर्वाचनबाट पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (नवाज) सबैभन्दा ठूलो दल बन्न सफल भएको थियो, तर बहुमत थिएन । उसले बेनजिर भुट्टोका छोरा बिलाबल भुट्टोको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीको समर्थनमा सरकार बनाएको छ । यस चुनावमा अनेक चुनौतीका बीच इमरान खानको पार्टीको समर्थनमा स्वतन्त्र रुपमा उठेका उम्मेदवारहरुले संसदमा दोस्रो स्थान ओगटेका छन् । मार्च ९ मा सम्पन्न राष्ट्रपतिको चुनावमा पाकिस्तान पिपुल्स पार्टीको समर्थनमा उठेका आशिफ अलि जर्दारी राष्ट्रपति चुनिएको छ । दक्षिण एसियाली मुलुक श्रीलंकामा राष्ट्रपति र संसदको चुनाव यसै वर्ष सम्पन्न भए । गत वर्ष जनविद्रोहबाट त्यहाँको महिन्दा राजपाक्षको सरकार पतन भएसँगै रनिल विक्रमासिंघेले अन्तरिम सरकारको नेतृत्व गरी चुनाव सम्पन्न गराउनु भएको थियो । २१ सेप्टेम्बर २०२४ मा सम्पन्न यस चुनावबाट श्रीलंकाको जनथा विमुक्थी पेरामुना (जेभिपी) पार्टी समर्थित वामपन्थी नेता अनुरा कुमारा दिस्सानायके राष्ट्रपतिमा विजयी भए । साथै २०२४ नोभेम्बर १४ मा सम्पन्न संसदीय निर्वाचनमा पनि उनकै घटक दल (नेसनल पिपुल्स पावर) ले बहुमत हासिल गरेको छ । कोभिड पछि अस्तव्यस्त बनेको श्रीलंकाली अर्थतन्त्र उकास्न, राजनीतिक तहमा रहेको नातावाद र भ्रष्टाचार रोक्न तथा देशको जर्जर अर्थव्यवस्थामा सुधार ल्याउन नयाँ सरकार सफल हुने अपेक्षासाथ श्रीलंकाली जनताले अपार समर्थन र विश्वास गरेका छन् । चीनका कारण भारत र श्रीलंकाबीचको सम्बन्धमा दरार उत्पन्न भएको भन्दै आलोचना भइरहेको समयमा श्रीलंकाली नवनिर्वाचित राष्ट्रपति दिस्सानायकेले भारतको भ्रमण गरी सम्बन्ध सामान्यीकरण गर्ने प्रयास थाल्नु भएको छ । उता माल्दिभ्समा समेत यसै वर्ष २०२४ अप्रिल २१ मा संसदको चुनाव भयो । यी चुनावमा राष्ट्रपति मोहम्मद मोइज्जुको दल पिपुल्स नेसनल कंग्रेस (पिएनसी) ले बहुमत हासिल गरेको छ । यसबीच छिमेकी मुलुक भारतसँगको तिक्ततापूर्ण सम्बन्धमा सुधार ल्याउन मोइज्जुले भारतको पटकपटक भ्रमण गरेका छन् । बंगलादेशमा जनवरी ७ मा सम्पन्न आम निर्वाचन भने विवादको घेरामा परेको थियो । प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीले बहिस्कार गरेको यस चुनावमा शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ अवामी लिगले प्रचण्ड बहुमत हासिल गरेको थियो । शेख हसिना पुन: प्रधानमन्त्रीमा चुनिए पनि जनताले विद्रोह गरेपछि शेख हसिना स्वयं देश छाडेर हाल भारतमा आश्रय लिइरहहेको छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अहिले नयाँ अन्तरिम सरकार बनेको छ, र यसले सम्भवतः यसै वर्ष चुनाव गर्दैछ । भुटानमा पनि यसै वर्ष जनवरी ९ मा ४७ सदस्यीय नेसनल एसेम्ब्लीका लागि निर्वाचन सम्पन्न भयो । चुनावमा पिपुल्स डेमोक्रेटिक पार्टीले २४ स्थानमा विजयी हुँदै सरकार बनाएको छ । चुनावपछि छिरिङ तोग्बे प्रधानमन्त्री बनेको छ । दक्षिण अमेरिका र अफ्रिका संयुक्तराज्य अमेरिकाको छिमेकी मुलुक मेक्सिकोमा पनि यसै वर्ष राष्ट्रपति र संसदको दुबै सदनका लागि २०२४ जुन २ मा चुनाव भयो । चुनावमा तत्कालीन राष्ट्रपति आन्द्रेस मानुअल लोपेज ओब्राडोरकै दल समर्थित उम्मेदवार क्याउडिया शेनबम इतिहासमै सर्वाधिक मत ल्याएर विजयी भयो । उनी मेक्सिकोको इतिहासमै पहिलो महिला राष्ट्रपति हुन् । मध्य एवं दक्षिण अमेरिकी मुलुकहरु उरुग्वे र भेनेजुएलामा पनि चुनाव सम्पन्न भए, तर भेनेजुएलाको निर्वाचन विवादास्पद थियो । भेनेजुएलामा जुलाई २८ मा भएको निर्वाचनबाट छ वर्षे कार्यकालका लागि निकोलस मदुरो पुन: राष्ट्रपतिमा विजयी भएको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय चुनावी पर्यवेक्षकहरुले यो चुनाव स्वतन्त्र र निष्पक्ष नभएको बताएका छन् । चुनावमा पराजित भएको भनिएका विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजले भेनेजुएला छाडेर स्पेनमा शरण लिएको छ । नेल्सन मण्डेलाको देश दक्षिण अफ्रिकामा मे २९ मा नेसनल एसेम्ब्लीका लागि आम निर्वाचन भएको थियो । सन् १९९४ यता सातौँ पटक भएको यस चुनावमा मण्डेलाले स्थापना गरेको अफ्रिकन नेसनल कंग्रेस (एएनसी) लाइ ठूलो झड्का लागेको थियो । पार्टीभित्रको तिब्र विवादका बीच संसदमा सबैभन्दा ठूलो पार्टी हुन एएनसीले सफलता हासिल गरे पनि बहुमत गुमाएको थियो । एएनसीकै पूर्व नेता एवं पूर्व राष्ट्रपति ज्याकोब जुमाले एएनसीलाइ कडा टक्कर दिएका थिए । साना तीन पार्टीको समर्थनमा एएनसीका नेता सिरिल रामाफोसा पुन: राष्ट्रपतिमा निर्वाचित भएर नयाँ गठबन्धन सरकार निर्माण भएको छ । अफ्रिकी मुलुकहरु घाना, चाड, मोजाम्बिक, नामिबिया, रुवान्डा, सेनेगल, टोगो, ट्युनिसिया, अल्जेरिया, बोत्सवाना, मौरिटानिया, मौरिसस समेतका मुलुकमा राष्ट्रपति वा संसदका लागि चुनाव सम्पन्न भएका छन् । एसियाली मुलुकहरूमा चुनाव एसियाली मुलुकमध्ये सन् २०२४ को जलवायू सम्मेलन (कोप २९) आयोजना गरेको अजरबैजानमा फेब्रुअरी ७ मा सम्पन्न निर्वाचनमा इल्हाम अलियेभले ९२ प्रतिशत मत पाएर पाँचौं पटक राष्ट्रपतिमा निर्वाचित भएको थियो । उनी सन् २००३ देखि निरन्तर अजरबैजानको राष्ट्रपति हुन् । यसै मुलुकमा सेप्टेम्बर १ मा संसदको पनि चुनाव भएको थियो, र अलियेभकै न्यू अजरबैजान पार्टीले बहुमत हासिल गरेको छ । बीस करोडभन्दा बढी जनसंख्या रहेको इन्डोनेसियामा यसै वर्षको फेब्रुअरी १४ मा राष्ट्रपति, उपराष्ट्रपति र संसदका लागि निर्वाचन भएको थियो । चुनावबाट पूर्व सेनाप्रमुख एवं रक्षामन्त्री प्रबोओ सुबिआन्तो राष्ट्रपतिमा निर्वाचित भएको थियो तर उनको दल भने संसदमा तेस्रो स्थानमा रहेको थियो । अर्को एसियाली मुलुक इरानमा पनि जुलाई ५ मा राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । इरानी राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि नयाँ राष्ट्रपतिका लागि निर्वाचन हो । चुनावबाट स्वतन्त्र एवं सुधारवादी उम्मेदवार मसुद पेजेस्कियान निर्वाचित भयो । गाजा युद्ध, लेबनानमाथि इजरायली हमला, सिरियामा विद्रोहीको सत्तारोहण तथा इजरायल र इरानबीच एकअर्का मुलुक लक्षित क्षेप्यास्त्र प्रहारजस्ता भूराजनीतिक घटनाले इरानी नयाँ सरकारमाथि चौतर्फी दबाब छ । उता जापानमा पनि अक्टोबर २७ मा संसदका लागि चुनाव भयो । भ्रष्टाचार काण्डहरुबाट गुज्रेको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले चुनावमा निकै ठूलो हार व्यहोर्नु परेको थियो, तथापि संसदमा सबैभन्दा ठूलो दल बनेको थियो । साना दलसँग मिलेर एलडिपीले सरकार बनाएको छ । युरोपेली मुलुकमा चुनाव युरोपेली मुलुकहरु अस्ट्रिया, बेलारुस, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, फिनल्यान्ड, जर्जिया, हंगेरी, आइसल्यान्ड, लिथुआनिया, मोल्दोभा, स्लोभाकिया र बेलायतमा राष्ट्रपति वा संसदका लागि चुनाव भएका थिए । यी चुनावमा खासगरी आप्रवासन, आर्थिक तथा युक्रेन मामिलालाई लिएर जनमत बाँडिएको छ । अर्को विवादास्पद चुनाव रसियाको राष्ट्रपतिका लागि मार्चमा भएको थियो । यहाँ राष्ट्रपति भ्लादिमिर पुटिन पुन: उम्मेदवार बनेको थियो, र ८८ प्रतिशतभन्दा बढी मतसहित पाँचौं कार्यकालका लागि विजयी भयो । खासगरी उनका प्रखर विरोधी अलेक्सी नाभाल्नीको विवादास्पद रुपमा फेब्रुअरीमा जेलभित्रै निधन भएपछि त पुटिनका लागि चुनाव अझ सहज ठानिएको थियो । युक्रेन युद्धमा तीन वर्षदेखि होमिएको रसियामा नाभाल्नीलाई राष्ट्रपतिको उम्मेदवार हुन समेत बन्चित गरिएको थियो । उता, फ्रान्सको ५७७ सदस्यीय नेसनल एसेम्ब्लीका लागि जुन ३० र जुलाई ७ मा गरी दुई चरणमा आम निर्वाचन भयो । चुनावमा राष्ट्रपति इमानुएल म्याँक्रोको दललाई ठूलो झड्का लागेको थियो जसका कारण फ्रान्सेली सरकार अस्थिरताको भूमरीमा परेको छ । बेलायतमा भने जुलाई ४ मा भएको निर्वाचनले उलटफेर नतिजा ल्यायो । कन्जरभेटिभ्स पार्टीका नेता एवं प्रधानमन्त्री ऋषि सुनकको दलले नराम्रो पराजय व्यहोर्यो । छ सय ५० सदस्यीय हाउस अफ कमन्सका लागि भएको चुनावमा विपक्षी लेबर पार्टीले ४११ स्थान जितेर सरकार बनायो । अघिल्लो चुनावमा ३६५ स्थान जितेको ऋषि सुनकको दलले यस चुनावमा १२१ स्थान मात्र जितेर नमिठो हार व्यहोरेको थियो । विश्वभर हाल भइरहेका चुनावी प्रकृयाहरूले लोकतान्त्रिक विधिलाइ थप सबल बनाउन भूमिका खेलेको देखिए पनि कतिपय चुनावी परिणामलाइ आम जनता र स्वतन्त्र चुनावी पर्यवेक्षणले शंकाको घेरामा राखेका छन् । स्वतन्त्र, भयरहीत र निष्पक्ष चुनाव मार्फत समावेशी नेतृत्व चयन गर्न सकिए सबै वर्ग, लिङ्ग, क्षेत्र, समुदायको उत्थान र अपनत्व विकास हुने निश्चित छ । रासस (अन्तरार्ष्ट्रिय समाचार र न्यूज एजेन्सीमा आधारित)

सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.६९ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३१५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भएको छ । प्रभु महालक्ष्मीको ४६ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख, हिमालयन डिस्टीलरीको ११ करोड ७८ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज विकास बैंकमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.४० प्रतिशतले बढेकाे छ । फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.८७, जीवन बीमा ०.३७, उत्पादन ०.८०, निर्जीवन बीमा ०.७७ प्रतिशतले बढेकाे छ । व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ ०.१५ प्रतिशतले घटेकाे छ । बिहीबार न्यादी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

भ्रष्टाचार एक अर्कालाई खुइल्याउने हतियार बन्यो, कुन-कुन फाइल खोल्ने हो छलफल गरौं : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरुबारे छलफल गर्न प्रश्ताव गरका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रुपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रश्ताव गरेका हुन् । उनले समितिको बैठकमा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीलाई आमन्त्रित गरेर भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको जानकारी दिए । फाइल खोल्ने विषय सरकारमा बसेर धम्क्याउने र सरकारबाट बाहिर गएको मान्छेले फाइल खोल्न लागेकै कारण सरकार ढल्यो भन्ने अस्त्रको रुपमा प्रयोग गर्ने गरेको बताए । फाइल खोल्ने विषयमा नागरिक आजित भएको अवस्था सिर्जना भएको उल्लेख गर्दै शिर्ष नेतृत्वबाट यस विषयमा छलफल गर्न जरुरी रहेको जानकारी दिए । ‘भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने हो । फाइल खोल्ने फाइल खोल्ने भन्ने विषय मात्र कसरि आयो भने कहिले सरकारमा बसेको मान्छेले म फाइल खोलिदिन्छु भन्ने, कहिले सरकारबाट बाहिर गएको मान्छेले मैले फाइल खोलिदिन लागेको थिएँ त्यसकारणले यस्तो भयो भन्ने भयो । बाहिर बसेका मान्छेलाई फाइल कसले खोल्छ ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? हामीले त अख्तियारले फाइल खोल्ने कानून बनाउँदैछौं’, उनले भने । उनले शेरादरबार, ललितानिवास, गिरिबन्धु लगायतका सबै भ्रष्टाचारसम्बन्धी फाइलहरु खोल्नुपर्ने धारणा राखे ।

शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्नेलाई तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको विहीबार बसेको बैठकमा अध्यक्ष दाहालले उक्त प्रकरणमा संलग्नलाई कारबाही गरी उक्त जग्गा सरकारका नाममा ल्याउन आफ्नो पूर्णसहयोग रहने स्पष्ट पारे । ‘कानुन विपरित काम भएको छ भने तत्काल कारबाही गर्नुस् । जसरी ललिता निवासको जग्गा सरकारका नाममा फिर्ता ल्याइएको छ, त्यसरी नै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा मैले सरकारलाई धन्यवाद नै दिन्छु ।’ राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनीरुपमा आफ्नो नाममा ल्याउँछ भने जोकोही भए त्यसलाई कानुनको दायरामा ल्याइनुपर्ने उनको भनाइ थियो । कुनै विषयमा छानबिन गर्दै जाँदा आफू नै संलग्न भएको भए पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ भनेको प्रसङ्ग स्मरण गर्दै उनले शेरा दरबारलगायत अन्य प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न आग्रह गरे । ‘मैले प्रधानमन्त्रीका रुपमा रहँदा जो कोही पनि कानुन मिचेर वा कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिन्छ भने कसैलाई पनि छुट दिन सकिँदैन भनेको थिएँ’ पूर्वप्रधानमन्त्री दाहालले भने, ‘मैले आफ्ना पार्टीका नेता दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ भनेको थिएँ, शेरा दरबारमा गैरकाुननी काम भएको भए सरकारले कारबाही गर्नुपर्छ ।’

फोटोनको माउन्टेन ईभी भ्यान नेपालगञ्जमा पनि किन्न पाइने, खुल्यो शोरूम

नेपालगञ्ज । भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान नेपालगन्ज पुगेको छ । फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत् आफ्नो माउन्टेन ईभी भ्यानको अनावरण गरेको हो । विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ किलोवाट आवर ब्याट्री रहेको छ भने ३०० किमीसम्मको रेन्ज प्रदान गर्दछ । उद्घाटनको अवसरमा फोटोन नेपालले ३ दिने एक्सक्लुसिभ टेस्ट ड्राइभ कार्यक्रमको पनि आयोजना गरेको छ । फोटोन नेपालले सुर्खेत रोड, मिलननगरमा नयाँ शोरुमको पनि उद्घाटन पनि गरेको छ । ग्राहकको सुविधा र सहायता अझ बढाउनका सञ्चालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको छ । माउन्टेन ईभी भ्यान नेपालगञ्जजस्ता सहरहरूमा स्कूल यातायात, सरकारी फ्लिट र कर्मचारी सटलसहित विभिन्न कार्यमा प्रयोगको लागि उपयुक्त छ। १४-१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्दछ । माउन्टेन ईभी भ्यानमा अटो होल्ड नियन्त्रण, स्मार्ट पार्किङ सहायता र हिल होल्ड नियन्त्रण, दुई ड्राइभिङ मोड, आर१६ टिकाउ टायर जस्ता फिचर छन् । असाधारण पुलिङ पावर, विस्तारित रेन्ज र उच्च स्तरका विशेषताका साथ माउन्टेन ईभी भ्यानले नेपालको विद्युतीय सवारीको बजारमा नयाँ मानक स्थापित गरेको फोटोनका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले जनाएको छ । नेपालभर अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्ने एमएडब्लू समूह र वृद्धि समूहबीचको साझेदारीमा सन् २०१४ देखि कार्यरत एमएडब्लू वृद्धि अन्तर्गत फोटोन नेपाल सञ्चालित छ । एमएडब्लू वृद्धिले नेपालमा फोटोनसँगै सोकोन, सेरेस, नामी र चांगनजस्ता ब्रान्डका सवारी र पाटपुर्जा उपलब्ध गराउँदै आएको छ ।