विकासन्युज

लक्ष्मी सनराइजको अगुवाइमा अप्पर मर्स्याङ्दी हाइड्रो बन्ने, २१.४० अर्ब लागत लाग्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच सो कम्पनीले लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेवा क्षमताको अप्पर मर्स्याङ्दी-१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत २१.४० अर्ब रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ । अपर मर्स्याङ्दी हाइड्रोपावर-१ ले पौष १०, २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै पौष ०९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकको रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक र संस्थापकहरूको लगानी रहने छ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरू मध्ये सह-अगुवा ग्लोबल आईएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ । सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्य एकको रूपमा रहने विश्वास कम्पनीले लिएको छ ।

आन्तरिक उडान ठप्प हुँदा अलपत्र यात्रु, काटेको टिकट के हुन्छ ?

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौं बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन । काठमाडौं विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौंबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुन नसकेको जानकारी दिए । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उनले बताए । उनका अनुसार उडान समयमै हुन नसकेपनि यात्रुले काटेको टिकटमा आजै वा अर्को दिन पनि यात्रा गर्न सक्ने बताए । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । ‘तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ,’ मौसमविद् महर्जनले भने, ‘बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।’ उनले पश्चिमी न्यून चापीय प्रणालीको बढी प्रभाव सोमबार र मंगलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताए ।

पन्ध्र सयले घट्यो सुनको मूल्य

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटी एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । गत शुक्रबार एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन

काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले विश्व अटोमोबाइल बजारमा हलचल मच्चाएको छ । गत वर्ष कम्पनीको बिक्री ४१ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस अवधिमा कम्पनीले कूल ४२ लाखभन्दा बढी गाडी बिक्री गरेको छ । यो कम्पनीले विद्युतीय र हाइब्रिड सवारीसाधन उत्पादन गर्दै आइरहेको छ । गत वर्ष कम्पनीले १७.९ लाख ईभीहरू बेचेको थियो र एलन मस्कको टेस्लालाई उछिन्न नजिकै पुगेको थियो । टेस्लाको बिक्री १० वर्षभन्दा बढीमा पहिलो पटक घटेको छ । कम्पनीले यस अवधिमा १७.९ लाख सवारीसाधन बिक्री गरेको थियो भने सन् २०२३ मा १८ लाख सवारीसाधन बिक्री गरेको थियो । बीवाईडीको उदयले संसारभरका अटो कम्पनीहरूको निद्रा बिथोलेको छ । हालै जापानका दुई ठूला कम्पनीले मर्जरको घोषणा गरेका छन् । परम्परागत विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले चीनको विद्युतीय कार (इभी) बजारमा आफूलाई अनुकूल बनाउने समय सकिँदै गएको विश्लेषकहरू बताउँछन् । विश्लेषकहरू कम्पनीहरूले चीनमा आफ्नो स्थायित्व कायम राख्न स्थानीय कम्पनीसँग साझेदारी गर्नैपर्ने दावी गर्छन् । चीनमै ९० प्रतिशत बिक्री बीवाईडीले आफ्ना ९० प्रतिशत कार चीनमा बेच्दै आइरहेको छ, जुन टेस्लाका साथै जर्मनीको फक्सवागन र जापानको टोयोटाका लागि महत्त्वपूर्ण बजार हो । चीनमा कडा प्रतिस्पर्धा र सरकारी अनुदानका कारण ईभीको माग बढिरहेको छ । फक्सवागन, फर्ड र जनरल मोटर्सले बिक्री लक्ष्य घटाएका छन् । हालै जापानी अटो कम्पनी होन्डा र निसानले मर्जरका लागि वार्ता सुरु गरेका छन् । चिनियाँ कम्पनीसँग विश्वका अधिकांश कम्पनी ध्वस्त पार्ने क्षमता अक्टोबरमा युरोपेली संघ (इयू) ले चीनबाट ईभी आयातमा ४५.३ प्रतिशत ट्यारिफ लगाएको थियो । अमेरिकाले पनि चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अझै बढाउने धम्की दिएका छन् । यसका बावजुत पनि बीवाईडी धेरै देशमा आफ्नो उपस्थिति बढाउँदैछ । यो कम्पनीमा के छ जसले विश्वव्यापी अटो उद्योगको निद्रा बिथोलेको छ ? कम्पनीले ब्राजिल, हंगेरी, थाइल्याण्ड र उज्वेकिस्तानमा एसेम्बली लाइन निर्माण गरिरहेको छ । यसले इन्डोनेसिया र मेक्सिकोमा पनि एसेम्बली लाइन खोल्ने योजना बनाएको छ । गत वर्ष मस्कले चिनियाँ कम्पनीसँग विश्वका अधिकांश कम्पनी ध्वस्त पार्ने क्षमता रहेको बताएका थिए । बीवाईडीको स्थापना बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे । सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डस्ट्रीमा प्रवेश गरेको थियो । अमेरिकी अधिकारीको अपमान २००३ मा बीवाईडीले कार निर्माण गर्ने एउटा कारखाना किन्यो । सुरुवातमा उसले धेरै कठिनाइहरूको सामना गर्नुपर्‍यो । २००७ को कुरा हो, बीवाईडीले कार निर्माण गर्दै थियो  । उसले आफ्नो सबैभन्दा नयाँ मोडेल ग्वाङ्झाउ अटो शोमा प्रदर्शनीका लागि राखेको थियो । त्यतिबेला अमेरिकी अधिकारीहरूले यसको धेरै मजाक उडाएका थिए । कारण थियो कि उक्त कारमा रंग पनि ठीकसँग लगाइएकाे थिएन र यसको ढोका पनि ठीकसँग फिट भएको थिएन । बीवाईडीको लोकप्रियता २००८ मा बीवाईडीकाे बिक्री बढ्न थाल्यो । २०१२ सम्ममा माग बढेपछि उत्पादन बढ्यो । कम्पनीका सीमित मोडलमात्र थिए । २०१६ मा कम्पनीले अडीका प्रख्यात डिजाइनर वोल्फगाङ एगरलाई बोर्डमा भित्र्यायाे । एगरले सयौं कार इन्जिनियरहरू ल्याए र बीवाईडीको मोडलहरूको मुहार पूर्ण रूपमा परिवर्तन गरे । हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भयो । बीवाईडीले सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने योजनासमेत बनाइसकेको छ । उक्त ब्याट्रीले राम्रो दूरी प्रदर्शन गर्ने अपेक्षा बीवाईडीको छ । आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा कृत्रिम बौद्धिकता  (एआई)लाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणासमेत गरिसकेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको बीवाईडी हाल विश्वभर करिब १० लाख कर्मचारीसहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । सम्बन्धित सामग्री :  होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी बेलायतमा ईभीको वर्चश्व बढ्दै, आगामी दशकसम्म पेट्रोलबाट चल्ने कारको संख्या आधा घट्ने झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस गरिब किसानको छोराले बनाएको ‘हुन्डाई’, विश्वको तेस्रो ठूलो कार कम्पनी

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आइतबार नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार २१ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणमा लगानी गर्ने बैंकले साँवा र ब्याज माघ १३ गते फिर्ता पाउनेछन् । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

तोरीबारीमा टिकटक बनाउनेको भीड

म्याग्दी । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक-मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ । सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थोगी नसक्नुको भीड छ । पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिए । उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताए । अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताए । रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ । तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् । पहेँलै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् । रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीयवासी नेत्रबहादुर महतले बताउए । उनले भने, ‘रत्नेचौर पर्यापर्यटनको आकर्षक स्थल बनेको छ । रत्नेचौरको मौलिकतालाई जोगाएर कृषि पर्यटकीय गाउँ बनाउन यहाँका स्थानीय लागिपरेका छन् ।’ केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताए । रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन  सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । ‘पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खान मानिस आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ’, स्थानीय महतले बताए । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडाध्यक्ष टेकबहादुर थापाले बताए । तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रियस्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमका बेलामा प्रवर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रूपमा पर्यटक भित्र्याउन सकिने थापाको भनाइ छ । रासस

दानाखोला हाइड्रोमा ६ बैंकको ७.४७ अर्ब लगानी, ऋण दिलाएर सर्वसाधारणलाई सेयर दिने

काठमाडौं । मनाङको नासौं गाउँपालिकामा रहेको डोना खोला (टोपोमा दाना खोला)मा दानाखोला जलविद्युत आयोजना निर्माण गरिने भएको छ । लालुपाते हाइड्रोपावर कम्पनी प्रालिले ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको हो । ९ अर्ब ९६ करोड रुपैयाँ लागतमा आयोजना बन्ने लालुपाते हाइड्रोका कार्यकारी अध्यक्ष मोहन कुमार डाँगीले जानकारी दिए । उनका अनुसार विभिन्न बैंकबाट ७ अर्ब ४७ करोड रुपैयाँ (७५ प्रतिशत) र प्रवद्र्धकहरूबाट २ अर्ब ४९ करोड रुपैयाँ (२५ प्रतिशत) रकम व्यबस्थापन गरिनेछ । प्रवद्र्धकको पुँजीमध्ये १० प्रतिशत अर्थात् २४.९ करोड रुपैयाँ स्थानीय र २० प्रतिशत अर्थात् ४९.८ करोड रुपैयाँ सर्वसाधारणलाई सेयर जारी गरी ७४.७ करोड रुपैयाँ संकलन गरिनेछ । कम्पनीका अनुसार बाँकी १ अर्ब ७४ करोड रुपैयाँमध्ये हालसम्म १ अर्ब रुपैयाँ संकलन गरी ८३ करोड खर्च भइसकेको छ । उक्त आयोजनामा प्राविधिक जनशक्ति र व्यापारीक घरानाको समेत लगानी रहनेछ । स्वपुँजीको प्रवद्र्धकहरूले लगानी गर्ने खुद रकम १ अर्ब ७४ करोडरुपैयाँमा हालसम्म भएको लगानी घटाएर ७४.३ करोड रुपैयाँ चार जना संचालक समूहबाट लगानी संकलन गरि राखीएको छ । र थप लगानी पनि सोही अनुसार गरिने बताइएको छ । सानिमा बंैकको नेतृत्वमा बैंकबाट लिइने ७ अर्ब ४७ करोड ऋण लिइनेछ । जसमा सानिमा बंैकले १ अर्ब ९७ करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सिटिजन बैंकले १ अर्ब रुपैयाँ, राष्टिय वणिज्य बैकले १ अर्ब रुपैयाँ, कृषि विकास बैकले १ अर्ब रुपैयाँ, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले १ अर्ब रुपैयाँ र नेपाल एसबीआई बैकले १ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको छ । एचआइडिसिएल र नेपाल एसबीआई बैकले शशर्त हस्ताक्षर गरेकोले जसले अगाडि निर्णय गर्छ उसैबाट ऋण लिइने अध्यक्ष डाँगीको भनाइ छ । आयोजनाको व्यापारिक उत्पादन प्राकृतिक विपत्ती नआएमा २०८४ कार्तिक २ गते रहेको छ । उक्त आयोजना नासौं गाउँपालिकाको वडा नं. २, ३ र ५ मा बन्नेछ । जसमा वडा नं. २ को नाँचै गाउँ मुख्य प्रभावित क्षेत्र हो । शतप्रतिशत गुरुङ्ग रहेको उक्त वडामा ४२ घरधुरी रहेका छन । स्थानीय बासिन्दाको अपेक्षा सेयर लगानी र रोजगारी रहेको अध्यक्ष डाँगीले बताए । ‘कम्पनीले ४२ घरधुरीलाई बैंकबाट ऋण दिलाएर भएपनि सेयर लगानी गराउने र सकेसम्म तालिम गराएर भएपनि स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनेछ । प्रतिवद्धता वातावरणीय अध्यन प्रतिवेदन स्वीकृत हुनुपूर्व आयोजित सार्वजनिक सुनुवाई गरेको छ । सोही बमोजिम सहभागी गराउँदै आइएको छ,’ उनले भने, ‘कम्पनीको स्पष्ट नीतिका कारण स्थानीय सर्वसाधारण र जनप्रतिनिधिहरूको सहयोग राम्रो छ ।’ दाना खोला जलविद्युत आयोजनाको बाँध स्थल समुद्री सतहबाट २ हजार ८२१.५ मिटरको उचाइमा रहनेछ । सो बाँध लगत्तै २ वटा इन्टेक हुँदै दाना खोलाको पानी भूमिगत डिसेन्डरमा प्रवेश गर्नेछ । डिसेन्डरबाट ३ किलोमिटर हेडरेस सुरुङ्ग हुदै पानी १.६ किलोमिटर पेन्स्टक सुरुङ्गमा प्रवेश गर्नेछ । हेडरेस र पेन्स्टकको बीच २४० मिटर लम्बाईको सर्ज सुरुङ्ग रहने छ । पेन्स्टक पश्चात भूमिगत विद्युतगृह र भुमिगत स्वीचर्याड रहने बताइएको छ । विद्युतगृह समुन्द्री सतहबाट १ हजार ८२५ मिटरमा रहेको छ । जसमा ३ वटा पेल्टन टर्वाइन रहने छन र पानी ४१५ मिटर टेलरेस सुरुङ्ग हुँदै मस्र्याग्दी खोलामा छोडिनेछ । यो आयोजना शतप्रतिशत भुमिगत हुनेछ । अध्यक्ष डाँगीका अनुसार आयोजनास्थलमा विद्युत गृहको क्याम्प, आर्मी क्याम्प निर्माण सम्पन्न भएका छन । पहुँचमार्ग निर्माण द्रुतगतिमा भइ रहेको छ । आयोजनाका लागी आवश्यक नीजी जग्गा खरिद गरिएको छ । प्राराम्भिक वाताबरणीय परीक्षण अनुसार आयोजनालाई आवश्यक पर्ने ४.८ हेक्टर जग्गा मन्त्रिपरिषदमा जाने प्रकृयामा रहेको छ । नेपालको प्राकृतिक जल सम्पदालाई भरपूर उपयोग गर्न क्यु सिस्टम खुल्ला गर्नुपर्ने अध्यक्ष डाँगीले माग गरे । उक्त आयोजना क्यु ४३.७ अनुसार डिजाइन गरिएको र क्यु ३४.११ अनुसार डिजाइन गर्दा आयोजनाको क्षमता ८३.३ मेगावाट हुने उनको भनाइ छ । नेपाल सरकार र भारत सरकारले नितिगत व्यबस्था गरी बीटुबी ब्यापार गर्न सक्ने वातावरण बनाएमा वर्षायाममा ४÷५ महिना ८३.३ मेगावाट उत्पादन गरी १११.९०२ गिगावाट विद्युत भारत निर्यात गर्ने गरी भारतीय कम्पनी मणीकरण पावरसँग ःसम्झौता गरिएको उनले बताए । क्षमता वृद्धि गरी उत्पादन गर्न आयोजनामा थप १ अर्ब ३० करोड रुपैयाँ लाग्ने उनले जनाए । वर्षायाममा भारतीय रूपैया सरदर ४.५० रुपैयाँमा बिक्री गरी वार्षिक थप लगभग ७० करोड रुपैयाँ आय हुनेछ । नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता अनुसार हिउँदयाममा ३०.७० प्रतिशत र वर्षायाममा ६९.३० प्रतिशत विक्री गरी पहिलो वर्ष १ अर्ब ७७ करोड रुपैयाँ र ८ वर्ष ३ प्रतिशतका दरले वृद्धि गरी ९ वर्षमा २ अर्ब २० करोड रुपैयाँ प्राप्त हुने अध्यक्ष डाँगीले दाबी गरे । समग्रमा आयोजना लागत ११ अर्ब २६ करोड रुपैयाँ र वार्षिक आय ९ वर्षदेखि ३ अर्ब रुपैयाँ हुनेछ भने मेगावाटको हिसाबले प्रति मेगावाट लागत १३.५ करोड हुनेछ ।

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी) रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ४५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, आलु रातो प्रतिकेजी रु ५०, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ११०, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ४०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ३५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ५०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १२०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु ३०, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकेजी रु ३५, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३३० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु १००, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेको छ । मितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किवि प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १८०, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ । रासस