विकासन्युज

ङादी ग्रुपको १.८५ अर्ब को हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । ङादी ग्रुप पावरले आज पुस २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजारको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो । त्यसैले मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । केयरएनपि डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

पर्यटनमन्त्रीले गरे त्रिभुवन विमानस्थलमा निर्माणाधीन पूर्वाधार निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायतका पूर्वाधारको अवलोकन गरेका छन् । पर्यटनमन्त्रीसहितको टोलीले आज विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गतका कामको अवलोकन गर्नुका साथै प्रगतिबारे जानकारी लिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ देखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिरहेको छ । निर्माणाधीन पूर्वाधार अवलोकन गर्दै मन्त्री पाण्डेले हाल भइरहेका काम सन्तोषजनक रहेको बताए । उनले निर्धारित समयमै निर्माण सम्पन्न भइ उडान सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले तोकिएकै समयमा काम सम्पन्न गर्न तीन वटा ठेक्का सम्झौता गरेर काम भइरहेको जानकारी दिए । विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्ने छ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुने जनाइएको छ ।

पशुपतिनाथमा आज धनुर्मास पूजा गरिँदै, तातोपानीले नुहाउने कार्यक्रम

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि मङ्गलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीदेखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । परम्पराअनुसार मङ्गलबार रातिदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उनले बताए । उनका अनुसार उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत रहेको छ । यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

तराईमा कुहिरो, हिमालमा हिमपात, यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशीका पहाडी भू-भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि, केन्द्रबिन्दु चीन

काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल-चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । भूकम्पको काठमाडौं उपत्यका सहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको हो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब १ सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए । केन्द्रले ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते ७.६ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स-साना भूकम्प गइरहेको छ ।

डलरको भाउ नयाँ उचाइमा, एक डलरको १३७.६३ रुपैयाँ

काठमाडौं । अमेरिकी डलरको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि पुस २१ गते खरिदर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । आज युरोपियन यूरोको एकको खरिदर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.७८ रुपैयाँ र बिक्रीदर १७२.५३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.९१ रुपैयाँ र बिक्रीदर १५२.५७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.०८ रुपैयाँ र बिक्रीदर ८५.८५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.६७ रुपैयाँ र बिक्रीदर ९६.०९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.६९ रुपैयाँ र बिक्रीदर १०१.१३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५९ रुपैयाँ र बिक्रीदर ३७.७५ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.३१ रुपैयाँ र बिक्रीदर ३७.४७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३८ रुपैयाँ र बिक्रीदर ३०.५१ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४५ रुपैयाँ र बिक्रीदर १२.५१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६३ रुपैयाँ र बिक्रीदर १७.७० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४४.५९ रुपैयाँ र बिक्रीदर ४४६.५४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३.५० रुपैयाँ र बिक्रीदर ३६५.०९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.९२ रुपैयाँ र बिक्रीदर ३५७.४८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

एका बिहानै काठमाडौंमा गयो भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्पको गएको छ । काठमाडौं लगायत भक्तपुर, ललितपुर जिल्लाामा भूकम्पको गएको हो । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि घरभित्रका मानिसहरू बाहिरि निस्किएका छन् । भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।

२९ वर्षदेखि ओडारमा व्यवसाय, पुष्पलाल मार्ग सञ्चालन हुँदा बढ्यो व्यापार

काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौं ओहोरदोहोर गर्न थालेपछि कार्कीले ‘चिया चमेना’को व्यापार सुरु गरेका हुन् । तत्कालीन समयमा कार्कीले ओडारबाट सुरु गरेको व्यापार अहिले जस्ताको छानो हालेर परिमार्जन गरिएको छ । ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरासहित नौ जनाको परिवारको पालपोषण यही ओडारको पसलबाट भएको आम्दानीबाट गरिरहेको बताए । जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलगुढीमा १८ वर्षसम्म ज्याला मजदूरी गरेर केही रकम लिई उनी स्वदेश फर्किएका हुन् । सोही बेलादेखि सुरु गरेको ओडारको पसल अहिले उनीहरूको सहज रूपमा जीविकोपार्जन भइरहेको छ । ओडारको पसलमा किराना सामान, चिया, खाजा र अनुरोध भएमा खानासमेत खुवाउने व्यवस्था भएको कार्कीले जानकारी दिए । ‘त्यसबेला यहाँ लगाएको वरपीपल अहिले सित्तल बस्ने चौतारो बनेको छ भने बाँसका झाङ फैलिँदै गइरहेका छन्, केरा, अम्बा आटीलगायत फलफूलहरू पनि पाक्ने बेला भए पनि बाँदरले दुःख दिने गरेको छ,’ उनले भने । चार/पाँच आना जग्गामा गरेको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि विकल्पको खोजीमा यहाँ आइपुगेको कार्कीले बताए । यही व्यापारबाट तामाकोसी–५ मा छ आना जग्गा किनेर भूकम्प प्रतिरोधी दुईकोठे कच्ची घर बनाएको उहाँले उल्लेख गरे । सबै छोराछोरीको विवाह गरिसकेका कार्की आफ्नी ६२ वर्षीया श्रीमती डम्बरकुमारीको साहारमा पसल चलाउने र घरायसी काम गर्ने गर्छन् । ‘पाँच छोरीको विवाह गरेर आआफ्नो घर पठाइसके, दुई छोरामध्ये जेठोको पनि विवाह भइसक्यो, कान्छो काठमाडौंमा छ,’ कार्कीले भने । पसलबाट सुरुआती चरणमा दैनिक २ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्म व्यापार हुने गरको बताउँदै कार्कीले ग्राहकले आधुनिक बसाइ, खाना खोज्नाले अहिले दैनिक रु पाँच–छ सयको मात्र बिक्री हुने उल्लेख गरे । गत असोजमा १२ गते आएको बाढीका कारण रोशी खोलाले बिपी राजमार्ग अवरुद्ध पारेपछि काठमाडौंबाट रामेछाप, दोलखा, सोलु र सिन्धुलीका विभिन्न भागमा काठमाडौंबाट आउनेजाने सवारीसाधन पुष्पलाल मार्गबाट सञ्चालन हुँदा आफ्नो व्यापार बढेको कार्कीले बताए । बिपी राजमार्ग सञ्चालनमा आई खुर्कोटको पुलसमेत बनेपछि पुनःव्यापार घटेको उनले सुनाए । विसं २०७२ को भूकम्पले समेत ओडारमुनिको ओडारका पसलमा कुनै क्षति नपुगेको उनले बताए । ‘पटकपटक वडा र पालिकाले भूकम्पको जोखिम भएकाले यहाँ नबस्न अनुरोध गरिरहेका छन् । लामो समयदेखि यही बसेर व्यापार गरेको र केही संरचना पुनःनिर्माण गरिसकेका यहाँबाट अन्यत्र जान सबेको छैन,’ उनले भने । ओडारमा अहिले पनि बिजुली बत्ती नजोडिएको भन्दै कार्कीले पटकपटक प्रयास गरे पनि ऐलानी जग्गामा अस्थायी बासोबास भएकाले विद्युत् प्राधिकरणले खम्बा र मिटर नदिएको गुनासो गरे । सोही कारणले साँझ अबेरसम्म बस्न नसकिने र व्यापार पनि कम हुने उनको बुझाइ छ । ‘मैले रोपेको बाँसमध्ये सात झाँङ फस्टाएर अएकाले बिक्री गर्नेबेला भएको छ । वर, पीपल ठूला भएर सित्तल बस्ने चौतारो बनिसकेको छ । केरा आँटी, अम्बालगायत फलफूलहरू फल्न लागिसकेका छन् । यो ठाउँ छाडेर काहीँ जान मन लाग्दैन,’ कार्कीले भने । स्थानीय सरकारले विद्युत्को व्यवस्था गरिदिए व्यापार गर्न सहज हुने उनको भनाइ छ । प्रायजसो निजी सवारीसाधनमा यो सडक मार्ग भएर ओहोरदोहोर गर्ने मानिस यहाँको पसलमा चिया, खाजा खाएर कार्कीसँग कुराकानी गरेर मात्र गन्तव्यतर्फ लाग्ने गर्दछन् ।