विकासन्युज

नेशनल लाइफका ४०० बढी अभिकर्ताले लिए इन्स्योरेन्स इस्टिच्युट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरूमार्फत कोलकातामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पूरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई कम्पनीले कोलकातामा तालिम प्रदान गरेको हो । कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल बीके नायकको सभापतित्वमा सम्पन्न तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरू जे सेन, मिहिर गोस्वामी, अनिरवन शाहलगायतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए । कलेजका प्रिन्सिपल बीके नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागीहरूलाई स्वागत गरेका थिए । उनले यति धेरै अभिकर्ताहरूलाई नेपालबाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागी गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकामा कम्पनीलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नवीन सोच लिई अगाडि बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेस कन्ट्युनिटी साइकलका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले अभिकर्ताले ग्राहकहरूको रूचि, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्री गर्ने र बिक्रीपश्चात् पनि आफ्ना ग्राहकहरूसँग सधैं सम्बन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्न सक्ने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागी भएका करिब ४०० जनाभन्दा बढी अभिकर्ताहरू र कम्पनीका मार्केटिङ कर्मचारीहरूलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरूले तालिमको प्रमाणपत्र वितरण गरेका थिए । बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको तालिममा सहभागी भई तालिम प्रमाणपत्र प्राप्त गर्नु एउटा ठूलो अवसर भएको र यो अवसर जुराइदिएकामा कम्पनीप्रति आभारी रहेको सहभागी अभिकर्ताहरूले बताएका थिए ।

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ । हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ । सीपीसीएका अनुसार गत वर्ष कूल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो । सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरीको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो । विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो ।

नागरिकका गुनासा सुन्न स्वास्थ्यमन्त्रीले स्थापना गरेको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या संकलन तथा समाधान गर्ने उद्देश्यले गत महिना एकाइ गठन गर्ने निर्णय गरेका थिए । पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स ह्याण्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ । एकाइमा गत पुष ९ गतेसम्म प्राप्त विवरण अनुसार सबैभन्दा धेरै गुनासा अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन् । यसैगरी बिमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४, प्रशासनिक १५, पारिश्रमिकसँग सम्बन्धित १४ गुनासा दर्ता भएका छन् । सुझाव सम्बन्धी ८ तथा अन्य २१ गुनासा दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिए । मन्त्री पौडेलले आम नागरिकको चाहनाअनुसार स्वास्थ्य सेवा सुधार गर्ने क्रममा गुनासो सुन्दै सुनुवाइसमेत गर्ने गरी आवश्यक परे नीतिसम्बन्धी सुधार समेत गर्न सक्ने उद्देश्यले एकाइ गठन गरिएको बताए । आम नागरिकलाई आफ्ना गुनासा भन्ने ठाउँ उपलब्ध होस् भनेर एकाइ गठन गरिएको हो, उनले भने, आएका गुनासा हरसम्भव सम्बोधनको प्रयास भैरहेको छ । तपाईंका गुनासा निर्धक्कसँग राख्नुस् । उनले नागरिकका धेरै समस्या परेका विषय नीतिगत सुधार आवश्यक परे गर्न तयार रहेको पनि बताए ।

१८ अंकले घटेको सेयर बजारमा ७ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३०८ कम्पनीको १ करोड ५७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सुपर म्यादी हाइड्रोपावरको भएको छ । सुपरको ४४ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीनर्जी पावर डेभलपमेन्टको २८ करोड ३२ लाख, सीन्धु विकास बैंकको २५ करोड २४ लाख, हिमालयन पावर पाटनरको १९ करोड ८५ लाख र एनआरएन इन्फ्राइस्ट्रक्चरको १७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

गाउँको सरकारी विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्न आउँछन्

बागलुङ । बसाइँसराइका कारण बागलुङका कयौं ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् । गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीले यस विद्यालयको गरिमालाई थप बढाएको छ । यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थीहरू अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन् । नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो । गत वर्षको तुलनामा यस वर्ष करिब ३५ विद्यार्थी कम छन् । यद्यपि चाप भने उस्तै छ । आर्थिक वर्ष २०८१/८१ मा यस विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत रहेकोमा चालु वर्ष ७१५ जना छन् । कक्षा कोठा अभाव हुँदा कक्षा ११ र १२ बिहानमा सञ्चालन गर्नुपरेको रिजालले बताए । पुस्तकालयको अभाव हुँदा बालबालिकालाई चाहे अनुसार सुविधा दिन नसकेको उनको भनाइ छ । हाल कक्षा ११ र १२ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् । हरेक वर्ष नारायणस्थानभन्दा बाहिर ठाउँबाट आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक गुणस्तर बढाउन थालेपछि तीन वर्षयता ३०० जना विद्यार्थी निजी विद्यालय छोडेर यहाँ आएका छन् । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण शहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माको शहरबाट अध्ययन गर्ने बढिरहेका छन् । सहजरुपमा शिक्षण सिकाइ गर्नका लागि १५ बढी विद्यार्थी भएको कक्षामा ‘सेक्सन’ छुट्टाएर पठनपाठन गराउँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयबाट यहाँ विद्यार्थीको आकर्षण बढेको हो । विद्यालयको शैक्षिक गुणस्तर समेत गण्डकी प्रदेशमा नै अब्बल मानिदै आएको छ । यस विद्यालय आव २०७६÷७७ मा नेपाल सरकारको नमुना विद्यालयमा छनोट भएको थियो । विद्यालयले बिदा कटौती गर्दा विद्यार्थी नियमित विद्यालय आउने गरेका छन्। विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिइएको विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले बताए । विद्यालयले शनिबारबाहेक दशैँमा १० दिन र तिहारमा एक साता मात्रै बिदा गर्ने गरेको उनको भनाइ छ । विद्यालयले एसइइसहित अन्य परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्ने हुँदा अन्य विद्यालयबाट आउने विद्यार्थीको आकर्षण बढेको रिजालले बताए । उनका अनुसार छिमेकी जिल्ला पर्वतको कुश्मा बजारबाट दैनिक दर्जनौँ विद्यार्थी झोलुङ्गे पुल र यान्त्रीक पुल तरेर यहाँ पढ्न आउने गर्दछन् । पर्वत मात्र नभई पोखरा, बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिकादेखि विद्यार्थीहरु यस विद्यालयमा आउने गर्दछन् । यस विद्यालयमा निःशुल्क होस्टेलको सुविधा छ भने यहाँ बस्ने विद्यार्थीले खानाको मात्रै शुल्क तिरे पुग्छ । अहिले १५० जना विद्यार्थीले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् । शिक्षक, कर्मचारी र यस ठाउँको समुदायले विद्यालयप्रति निकै चासो दिएकाले गर्दा विद्यार्थीको आकर्षण बढेको छ । यस ठाउँबाट धेरै मानिस बसाइँसराइ गरेर बाहिर गए पनि छिमेकी गाउँहरुबाट आउने सङ्ख्या बढी हुँदा विद्यार्थीको सङ्ख्यामा कमी छैन । टाढाका विद्यार्थी ल्याउनका लागि विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । गरिब विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासमेत दिइएको छ । नेपाल सरकारको नमुना विद्यालयमा छनोट गरेपछि आव २०७८/७९ देखि पाँच वर्षसम्म सात करोड ५० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेको विद्यालयले जनाएको छ । विद्यालयले १५ वर्षअघि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको थियो । अहिले विद्यालयमा भौतिक संरचनाको अभाव रहेको छ । नमुना विद्यालय अनुदान कार्यक्रमअन्तर्गत पाँच वर्षमा आउने सात करोड ५० लाख मध्ये पाँच करोड भौतिक पूर्वाधार तथा दुई करोड ५० लाख शैक्षक गुणस्तरमा खर्च गर्न थालिएको छ । विसं २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा चारदेखि अनिवार्य कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला लगायतका अतिरिक्त कक्षासमेत सञ्चालनमा छन् । १८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्षक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेका छन् । दरबन्दी बाहेकका शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट तलब खुवाइएको अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द शर्माले बताए । विद्यार्थीमैत्री शिक्षण सिकाइ, अङ्ग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित अध्यक्ष शर्मा दाबी गर्छन् । यस विद्यालयमा ‘बोर्डिङ स्कूल’मा भन्दा राम्रो पढाइ हुने हुँदा कुश्माबाट आएर पढ्ने गरेको कक्षा ८ मा अध्ययनरत छात्र अंकित खत्रीले बताए । दूरीका हिसाबले गशेण माविमा आउन एक घण्टा बढी लाग्ने भए पनि शिक्षण सिकाइ राम्रो हुने हुँदा आफू बजारमा नपढेर गाउँको विद्यालयमा आएको उनको भनाइ छ । विद्यालयको वातावरणसमेत पढ्नका लागि निकै अनुकल रहेको सुनाउँदै परियारले यसभन्दा माथिल्लो कक्षा पनि यहीँबाटै उत्तीर्ण गर्ने बताउँछन् । बागलुङ नगरपालिकाले आगमी पौस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्न थालेको छ । त्यसअघि नै यस विद्यालय बालमैत्री बनिसकेको छ । विद्यालयमा पढाइ राम्रो हुने हुँदा अन्य जिल्ला र पालिकाबाट अभिभावकले कोठा भाडामा लिएर आफ्ना छोराछोरीसमेत पढाउने गरेका छन् । रासस

सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो, साँझसम्म आदेश हुनसक्ने

कास्की । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत, कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ । जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले थुनछेक बहस सकिएकाले बिहीबार साँझसम्ममा इजलासबाट थुनछेकको आदेश हुनसक्ने जानकारी दिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो । उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए । आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ता काफ्लेलगायतले जवाफी बहस गरेको जिल्ला अदालतले जनाएको छ । प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आजै हुने न्यायाधीवक्ता काफ्लेले बताए । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत जोडिएका छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा रहेको न्यायाधीवक्ता काफ्लेले बताए ।

बढी रोजगारी दिने १० ठूला कम्पनी, को हुन् मालिक ?

काठमाडौं । नेपालमा रोजगारी सिर्जना हुन सकेन भनेर बेला बखत ठूलो बहस हुन्छ । देशमा युवाले रोजगारी नपाएर विदेसिन बाध्य भए भन्ने धारणाले स्थान पाउँछ । ठूला उद्योग तथा कम्पनी नभएकै कारण देशमा रोजगारी गर्ने वातावरण भएन भन्ने गुनासो पनि प्रयाप्त सुनिन्छ । तर, नेपालमा हजारौंलाई रोजगारी दिने कम्पनीहरु पनि छन् । जसले हजारौंलाई रोजगारी दिएका छन्, लाखौंलाई निर्भर बनाएका छन् । आज यो समाचार सामग्रीमा देशका सबैभन्दा बढी रोजगारी दिने कम्पनीको विषयमा चर्चा गर्दैछौं । भाटभटेनी सुपरमार्केट भाटभटेनी सुपर मार्केटको नाम नसुन्ने प्रायः कमै होलान् । तपाईं सहरमा बस्नुहुन्छ भने भाटभटेनीको नाम सुनेकै हुनुपर्छ । सन् १९८४ स्थापना भएको यस कम्पनीका मालिक मीनबहादुर गुरुङ हुन् । यसको मुख्य कार्यालय काठमाडौंको टंगालमा छ भने २७ वटा आउटलेटमार्फत् सेवा दिइरहेको छ । रोजगारी सिर्जनाका हिसाबले देशकै ठूलो यो सुपरमार्केटलाई गुरुङले ४० वर्षअघि ३५ हजार रुपैयाँ लगानीमा खोलेका थिए । हाल भाटभटेनी सुपर मार्केटले खुद्रा व्यापारमा देशव्यापी सञ्जाल बनाएको छ । काठमाडौं उपत्यकामा मात्रै १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा यसका शाखा छन् । काठमाडौं उपत्यकामा टंगाल, महाराजगञ्ज, टोखा, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, कृष्णगल्ली, सातदोबाटो, सानागाउँ र थिमिमा भाटभटेनीका शाखा सञ्चालनमा छन् । त्यस्तै, काठमाडौं बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा र बिर्तामोडमा चलिरहेका छन् । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनीमा हाल झण्डै १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यसले वार्षिकरूपमा ३२ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै आइरहेको छ । भाटभटेनीमा खाद्यान्न, लुगाकपडासहित खेलकुदका सामग्री, सिनेमा हलदेखि रेस्टुरेन्ट लगायतको सुविधा उपलब्ध छ । भाटभटेनीले अबको पाँच वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ । यसमा ६० प्रतिशत हिस्सा मीनबहादुर र ४० प्रतिशत उनकी श्रीमती सावित्रा घले गुरुङको रहेको छ । भाटभटेनीमा करिब सवा २ अर्बको लगानी छ । हाल मुख्य कार्यालय टंगालकामा रहेको भाटभटेनीको नयाँ स्वरूपमा निर्माण कार्य चलिरहेको छ । उक्त भाटभटेनीको भवन डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको छ । गरुड सेक्युरिटी गरुड सेक्युरिटी नेपालको सबैभन्दा ठूलो रोजगारी दिने अर्को ठूलो कम्पनी हो । कर्मचारीको संख्याको हिसाबले यो कम्पनी दोस्रो स्थानमा छ । जसको नेतृत्व सबलचन्द्र शाहले गरिरहेका छन् । विसं २०६२ सालमा स्थापना भएको यो कम्पनीको केन्द्रीय कार्यालय बाँसबारी, काठमाडौंमा छ । यस कम्पनीले सुरक्षा क्षेत्रमा विगत १९ वर्षदेखि सेवा गर्दै आइरहेको छ । यो कम्पनी सुरक्षा क्षेत्रका लागि परिचित छ । यसको मुख्य उद्देश्य ग्राहकहरूलाई कम्पनीमा उपलब्ध उत्कृष्ट सुरक्षा सेवाहरू प्रदान गर्नु रहेको छ । साथै यस कम्पनीले चालक, हाउसकिपिङ र क्लीनरहरू, आतिथ्यता, प्राविधिक र मर्मतसम्भार, कार्यालय सहयोगी कर्मचारीहरू र अन्य सुविधा व्यवस्थापन सेवाहरूको बोर्ड तयार गरी सेवा प्रदान गरिरहेको छ । दुई दशकको अवधिमा गरुड सेक्युरेटी देशको नम्बर वान सेक्युरेटी कम्पनी बनेको छ । विभिन्न अर्धसरकारी, व्यावसायिक प्रतिस्ठान, संस्थान, बैंक तथा वित्तीय संस्था, अस्पताल तथा ठूल्ठूला कन्सर्ट तथा कार्यक्रममा सुरक्षा प्रदान गर्नका लागि यो कम्पनीले सुरक्षाकर्मी उपलब्धत गराउँछ । शाहका अनुसार कम्पनीका काठमाडौं उपत्यकाभित्र २ वटा तथा देशैभरमा १० वटा शाखाहरू रहेका छन् । यस कम्पनीले झण्डै ६ हजारलाई रोजगारी दिएको छ । यस कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५८ करोड ८३ लाख ७२ हजार ६ सय ५५ रुपैयाँ कारोबार गरेको थियो । यस्तै, आव २०७९/८० मा १ अर्ब ७२ करोड १७ लाख ४२ हजार ४ सय ७० रुपैयाँ कारोबार गरेको छ । यो कम्पनी सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल सरकारबाट बढी रोजगारी दिएको कम्पनीका रुपमा समेत सम्मानित समेत भएको थियो । सूर्य नेपाल बढी रोजगारी दिने कम्पनीमा सूर्य नेपाल पनि पर्छ । वि.सं २०४३ सालमा स्थापना भएको सूर्य नेपालका अध्यक्ष अध्यक्ष सञ्जीव पूरी हुन् । यसको मुख्य कार्यालय काठमाडौंको कान्तिपथमा छ । यो कम्पनी नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने सूचीको अग्रस्थानमा रहदै आएको छ । सूर्य नेपालको प्रमुख उत्पादन चुरोट हो । त्यसबाहेक यसले अगरबत्ती र सलाई पनि उत्पादन गर्छ । त्यस्तै, कम्पनीले होटल व्यवसायमा पनि लगानी गरेको छ । काठमाडौंको बुढानीलकण्ठमा ७२ रोपनी जग्गामा पाँचतारे होटल निर्माणाधीन छ । उक्त कम्पनीको देशभरि १ सयभन्दा बढी थोक वितरक रहेका छन् । यस कम्पनीले ५ हजार जनालाई रोजगारी दिएको छ । सरकारले यस कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा बर्सेनि सम्मानसमेत गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा २८ अर्ब ९९ करोड करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो । यस्तै, सन् २०२२ मा कम्पनीले २७ अर्ब १ करोड ४० लाख रुपैयाँको चुरोट व्यापार गरेको थियो । यस्तै, सन् २०२१ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २४ अर्ब ४७ करोड, सन् २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो । जी फोर एस सेक्युरिटी सर्भिसेज जी फोर एस सेक्युरिटी सर्भिसेज नेपाल रोजगारदाता कम्पनी हो । यसको स्थापना वि.सं २०२७ सालमा भएको थियो । यसका मालिक सुन्दरप्रताप राना हुन् । यसको मुख्य कार्यालय काठमाडौंको बालुवाटारमा रहेको छ । यो देशको सबैभन्दा ठूलो सुरक्षासम्बन्धी मल्टिनेशनल कम्पनी हो । उसो त जी फोर एस नेपाल विश्वकै नम्बर एक सेक्युरिटी कम्पनी हो । जसको सुरुआत बेलायतबाट भएको थियो । त्यसपछि यो विश्वभर विस्तार भएको हो । यस कम्पनीले सुरक्षा सेवा प्रदान गर्दै आएको छ । यस्तै, कम्पनीले विगत २८ वर्षदेखि ४ हजारभन्दा बढी अनुभवी तालिमप्राप्त सुरक्षाकर्मी तथा सरसफाइ श्रमिकमार्फत विभिन्न विदेशी राजदूतावास, कुटनीतिक नियोग, प्रतिष्ठित बहुराष्ट्रिय प्रतिष्ठान, बैंक, प्रतिष्ठित होटल, अस्पताल, कलकारखानामा आफ्नो सेवा दिँदै आएको छ । हाल यस बहुराष्ट्रिय कम्पनीले सुरक्षा गार्ड सेवा, सुरक्षा प्रणाली र अन्य सुरक्षा समाधानहरूको क्षेत्रमा ठूलो प्रभाव पु¥याएको छ । हाल यस कम्पनीमा देशभरमा ४ हजार ७ सय जनाले रोजगारी पाएका छन् । रिलायन्स स्पिनिङ मिल्स रिलायन्स स्पिनिङ मिल्स देशकै ठूलो निर्यातकर्ता र रोजगारदाता भएको अर्को कम्पनी हो । कम्पनीको कार्यालय काठमाडौंमै छ भने कारखाना सुनसरीमा छ । वि.सं २०५१ सालमा स्थापना भएको यो कम्पनीको मुख्य सेयरधनी पवन गोल्यान, शशिकान्त अग्रवाल र अक्षय गोल्यान हुन् । यस कम्पनीले धागोको उत्पादन वि.सं २०५४ सालदेखि सुरु गरेको हो । २ करोड ६० लाख पूँजीमा स्थापना भएको यो कम्पनीले अहिले वार्षिक १२ अर्ब रुपैयाँको कारोबार गर्छ । कम्पनीले ५ हजार जनालाई रोजगारी दिएको छ । हाल उद्योगभित्रै २८० परिवार बसोबास गर्ने यो कम्पनीले कामदारको स्वास्थ्य उपचार पनि कारखानाभित्रै गर्ने व्यवस्था गरेको छ । यो कम्पनीले बर्सेनि अर्बौं मूल्यको धागो उत्पादन गरी देशमा आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न योगदान दिँदै आएको छ । यसको अधिकृत पुँजी दुई अर्ब ६० करोड, जारी पुँजी एक अर्ब ९० करोड र चुक्ता पुँजी एक अर्ब ७१ करोड रहेको छ । करिब ६ अर्बभन्दा धेरै निर्यात आय गर्दै आएको रिलायन्स स्पिनिङले विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्दै आएको छ । अहिले पनि कम्पनीको विस्तार गर्ने काम भइरहेको अध्यक्ष पवन गोल्यानले बताए । एनसेल एनसेल नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी हो । यो नेपालमा बढी रोजगारदाता भएको ठूलो कम्पनी पनि हो । यसको स्थापना विसं २०६१ सालमा भएको थियो । कम्पनीले २००५ देखि आफ्नो सेवा सुरु गरेको थियो । यसका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ हुन् । यसको मुख्य कार्यालय काठमाडौंको लौनचौरमा रहेको छ । यस कम्पनीले सन् २००५ को सेप्टेम्बर १७ बाट आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो । यो कम्पनीको स्थापना हुँदा ‘मेरो मोबाइल’ नाम राखिएको थियो । सन् २००८ मा स्विडेनको कम्पनी टेलिया सोनेरा ग्रुपले खरिद गरी सन् २०१० पछि मेरो मोबाइलको नाम फेरेर एनसेल बनाइएको थियो । फेरि सन् २०१६ मा टेलिया सोनेरासँग मलेसियाको आजियटा ग्रुपले एनसेलको सेयर किन्यो । ७ वर्षपछि ‘नेपालमा लगानीको वातावरण नभएको’ विज्ञप्ति निकाल्दै आजियटा बाहिरियो । सन् २०२० मा एनसेल प्रालिबाट पब्लिक लिमिटेड बनेको छ । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ । अहिले यसको मुख्य लगानीकर्ता शतिसलाल आचार्य छन् । सन् २०१० मै थ्रीजी सेवा विस्तार गरेको एनसेलले २०१७ मा फोरजी  सेवा दिएको थियो । हाल देशको करिब ९० प्रतिशत क्षेत्रफलमा फोरजी सेवा पुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई हाइस्पिड डेटा र भिडियो कन्टेन्ट प्रयोग गर्न सजिलो भएको छ । हाल १ करोड ३० लाखभन्दा धेरैले एनसेलको सिम प्रयोग गर्छन् । हाल बजार निरन्तर घट्दो क्रममा रहेकाले एनसेललाई डिजिटल बनाई डेटा बाहेकका नयाँनयाँ सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार एनसेलले विगतका १९ वर्षमा १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गरेको छ । साथै यसले स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्बभन्दा बढीको योगदान गरेको छ । एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरूमा योगदान गर्ने दाबी गरेको छ । यो कम्पनी नेपालको एक ठूलो करदाताको रूपमा पनि परिचित छ । गत आर्थिक वर्ष २०८०/८१ सम्म विभिन्न शीर्षकमा यसले सरकारलाई ३ खर्ब २० अर्बभन्दा बढी राजस्व बुझाइसकेको जानकारी दिएको छ । हाल कम्पनीमा प्रतयक्ष तथा अप्रत्यक्ष गरि २५ हजारले रोजगारी पाएका छन् । यस कम्पनीको वार्षिक आम्दानी ३४ अर्ब रहेको बताइएको छ । एनसेल हरेक वर्ष सर्वाधिक कर तिर्ने कम्पनीका रुपमा पनि सम्मानित हुँदै आएको छ । अरिहान्त मल्टीफाइबर ग्रुप अरिहान्त मल्टीफाइबर ग्रुपको स्थापना सन् १९९३ भएको थियो । यसको कार्यालय विराटनगरमा छ भने यस कम्पनीका प्रबन्ध निर्देशक राजकुमार (आरके) गोल्छा हुन् । आरके गोल्छा ग्रुपका अरिहान्त इन्फ्रास्ट्रक्चर लिमिटेड, अरिहान्त स्टिल एण्ड एलोय कास्टिङ प्रालि र अरिहान्त रियल स्टेट डेभलपर कम्पनी सञ्चालनमा छन् । यस कम्पनीले झोला र बोराजस्ता पर्यावरणमैत्री उत्पादनहरू उत्पादन गर्ने गर्दछ । यो नेपालको अग्रणी जुट उत्पादक हो । यस कम्पनीले वार्षिक रूपमा २५ हजार मेट्रिक टन जुट प्रशोधन गर्दछ । यस्तै, अरिहान्त ग्रुपमा देशभर विभिन्न २२ वटा व्यापारिक क्षेत्र ‘बिजनेस युनिट’ मा छन् । अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उद्याेग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट हुन् । ग्राहकको आवश्यकता र अपेक्षालाई पुरा गर्ने हिसाबले उत्पादन गर्ने र सेवा दिने अरिहान्त ग्रुपको उद्देश्य हो । यस कम्पनीले ४ हजार ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको बताएको छ भने अप्रत्यक्ष जोड्दला १० हजार पुग्ने कम्पनीको दाबी छ । कान्तिपुर सेक्युरिटी सर्भिस कान्तिपुर सेक्युरिटी सर्भिस कम्पनी नेपालको प्रमुख सुरक्षा सेवा प्रदायकहरू कम्पनीमध्ये एक हो । यसको स्थापना विसं २०५५ सालमा भएको थियो । कम्पनीका प्रबन्ध निर्देशक खेमराज भण्डारी हुन् । यसको मुख्य कार्यालय काठमाडौंको चावहिलमा छ । कम्पनीले देशभर नेपाल बैंक, दूरसञ्चार, विद्युत प्राधिकरण लगायत ९० भन्दा बढी राज्यका महत्त्वपूर्ण निकाय, संस्था तथा प्रतिष्ठान, घरहरू, व्यापारिक संस्थाहरू र अन्य संस्थागत स्थानहरूमा सुरक्षा सुनिश्चित गर्नका लागि ठूलो संख्यामा सुरक्षा गार्ड, सवारी चालक, प्राविधिक लगायतका जनशक्ति उत्पादन गरी विभिन्न क्षेत्रमा खटाउँदै आएको छ । यस्तै, कम्पनीले ७ वटै प्रदेश र ७७ वटै जिल्लामा माग अनुसारको सेवा दिन जति बेला पनि तत्पर रहेको दाबी गरेको छ । यस कम्पनीका विराटनगर, हेटौँडा, पोखरा, बुटवल तथा धनगढीमा शाखा कार्यालयहरू रहेका छन् । देशभर कम्पनीमा हाल ४ हजार जनाले रोजगारी पाएका छन् । यस कम्पनीले सुरक्षा गार्डहरू, प्रहरी सेवा र अन्य सुरक्षा समाधान गर्दै आएको छ । यस कम्पनीको प्रमुख उद्देश्य भनेको जोखिम र सुरक्षा उल्लंघनहरू न्यून गर्न प्रभावकारी सुरक्षा समाधानहरू पेश गर्नु रहेको छ । त्रिवेणी स्पिनिङ मिल्स त्रिवेणी स्पेनिङ मिल्स प्रालि नेपालको एक प्रमुख रोजगारी दिने कम्पनी हो । जसले कपडा र धागो उत्पादन गर्ने काम गर्दछ । वि.सं २०५२ सालमा संघाई परिवारले त्रिवेणी स्पिनिङ मिल्सको स्थापना गरेका हुन् । यस कम्पनीका अध्यक्ष रामचन्द्र संघाई हुन् । यसको कार्यालय बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा रहेको छ । कम्पनीले धागो उत्पादन गर्ने, पोलिस्टर, भिस्कोस र यार्लिक ब्लेन्डेड यार्न उत्पादन गर्दै आएको छ । जसमा नेपाली स्पिनिङको धागो स्वदेशलगायत भारत र टर्कीमा निर्यात हुने गरेको छ । कम्पनीले विभिन्न प्रकारका सिंथेटिक धागोहरू विभिन्न प्रकारका मिश्रणहरूमा उत्पादन गर्दछ र सबै प्रकारका बुनाई र बुनाईका लागि गणना गर्ने गर्दछ । त्रिवेणीको वार्षिक धागो उत्पादन क्षमता १४ हजार ६ सय ८९ टन रहेको छ । उद्योगले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । त्रिवेणी ग्रुपको बैंक, बिमा, उत्पादन र व्यापारमा लगानी रहेको छ । यस कम्पनीमा हाल झण्डै २ हजार जनाले रोजगारी पाएका छन् । बुद्ध एयर नेपालको आन्तरिक उडानमा रहेका ९ वटा वायुसेवामध्ये बुद्ध एयर सर्वाधिक जहाज भएको कम्पनी हो । यसको स्थापना वि.सं २०५४ सालमा भएको हो । यसका मालिक बिरेन्द्र बस्नेत हुन् । बुद्ध एयरको स्थापनाको २६ वर्षमा २ करोड यात्रुलाई सेवा दिएको थियो । बुद्ध एयर हाल नेपालको आन्तरिक उडानमा पहिलो नम्बरमा छ । नेपालमा मात्रै हैन, एसियामै सर्वाधिक एटीआर विमान उडाउनेमा बुद्ध एयरको नाम अग्रपंक्तिमा आउँछ । पछिल्लो तथ्यांकअनुसार बुद्धले दैनिक ओहोरदोहोर गर्दा अधिकतम देशभर १ सय ४८ वटा उडान भर्छ  । २०५४ असोज २५ देखि व्यावसायिक उडान सुरु बुद्ध एयरमा हाल झन्डै १५ सय जनाले रोजगारी पाएका छन्  । बुद्धले दैनिक ७ देखि ८ हजार यात्रुलाई सेवा दिँदै आइरहेको छ । भित्री उपत्यकामा पर्ने सुर्खेत र तुम्लिङटारदेखि तराईका समेत गरी १५ वटा गन्तव्यका ४३ वटा हवाई रुटमा बुद्धका जहाज बिहान ६ देखि राति १२ बजेसम्म उडान गर्दै आइरहेका छन् । यस्तै, बुद्धले विराटनगर, भैरहवा, पोखरा, भरतपुरमा जहाज राखेर बिहानै त्यहाँबाट संघीय राजधानीमा उडान भर्दै आइरहेको छ । कोभिड चल्दा चल्दै दुइटा एटीआर जहाज थपेको बुद्धले हालसम्म ६ वटा जहाज थपिसकेको छ । यसले अब पोखराबाट भारतको नयाँ दिल्लीमा जेट विमानबाट उडान गर्ने लक्ष्य राखेको छ । उक्त एयर स्थापना भएदेखि नेपालमा ४० वटा वायुसेवा कम्पनी बन्द भइसकेका छन् । तर, यो बुद्ध एयर निरन्तर व्यावसायिक विस्तारमा छ । वार्षिक ३० लाख यात्रुलाई सेवा दिइरहेको बुद्धले भने दैनिक ४ करोड रुपैयाँ हाराहारीमा टिकट र कार्गोबाट आम्दानी गर्ने गर्दछ । बुद्धले एक दिन उडान बन्द गर्नुपरेमा नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने गरेको जनाइएको छ । यसले लोडरदेखि पाइलटसम्मलाई वार्षिक साढे २ अर्ब रुपैयाँ तलबमा मात्रै खर्च गर्छ  । जसमा न्यूनतम ५० हजारदेखि ३ लाख रुपैयाँसम्म र औसत तलब डेढ लाख हाराहारीमा दिने गरेको छ । बुद्ध एयर जहाज संख्या, लगानी, बजार हिस्सालगायत विविध पाटोबाट नेपालकै सर्वाधिक ठूलो आन्तरिक वायुसेवा कम्पनीका रूपमा परिचित छ । बुद्धसँग हाल १७ थान जहाज सञ्चालनमा छन्, र ती सबै एटीआर जहाज हुन् । एटीआरमा पनि दुईथरी जहाज छन् । एउटा एटीआर ४२ सिरिजको छ, जसमा ४७ सिट हुन्छ । त्यस्तै, अर्को एटीआर ७२ सिरिजको छ, जसमा ७२ सिट हुन्छ । बुद्धसँग ४२ सिटे जहाज तीनवटा र ७२ सिटे जहाज १४ वटा छन् । बुद्धले एयरले हाल भद्रपुर, विराटनगर, तुम्लिङटार, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढी तथा पर्वतीय उडान गर्दै आएको छ। त्यसबाहेक काठमाडौंबाट भारतको बनारसका लागि हप्तामा दुई उडानसमेत गर्दै आएको जनाएको छ । बुद्धको वर्तमान बजार हिस्सा ६५ प्रतिशत रहेको ५ भने स्थापनादेखि बुद्धले हालसम्म २ करोडभन्दा बढी यात्रुलाई सकुशल गन्तव्य पुर्याएको बताएको छ। तिनमा ९० प्रतिशत नेपाली यात्रु छन् भने १० प्रतिशत विदेशी अथवा भारतीय रहेको एयरले जनाएको छ। हाल यसमा झण्डै २ हजार जनाले रोजगारी पाएका छन् भने वार्षिक ७ अर्ब बढी सञ्चालन आम्दानी गर्दै आएको छ ।

पुस मसान्तभित्र कर बुझाउन विभागको ताकेता

  काठमाडाैं । आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ । विभागले आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न ताकेता गरेको हो । आयकर ऐन, २०५८ (संशोधनसहित)को दफा ९४ को उपदफा (१) बमोजिम आव २०८१/८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ बमोजिम आव २०८१/ ८२ को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुने रकम २०८१ पौष मसान्तभित्रै तिर्नु पर्ने व्यवस्था रहेकाे पनि विभागले उल्लेख गरेको छ । सोहीअनुसार विभागले सूचना जारी गरेको हो । विभागले ठूला करदाता कार्यालय, मध्यम स्तरीय कर दाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा कर र कर विवरण बुझाउन अनुरोधसहितको सूचना जारी गरेको हाे ।