लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ। सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो। हिजो मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी थुनछेक बहस आज हुने बताइएको छ। आज लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्नेछन्। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।
दक्षिण कोरियाली राष्ट्रपति पक्राउ, मार्शल ल लगाउन खोज्दा आफै हिरासतमा
दक्षिण कोरिया । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योल पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो। निलम्बित राष्ट्रपति योलका समर्थक र विरोधीहरू उनी पक्राउ पर्नुअघि उनको घरबाहिर जम्मा भएका थिए। समर्थकहरूले योललाई पक्राउ गर्नबाट रोक्ने प्रयास गरेका थिए। प्रहरीले यसअघि पनि योललाई पक्राउ गर्ने प्रयास गरेको थियो। प्रहरी पक्राउ गर्न गए पनि योलले आफ्नो सुरक्षामा खटिएका सैनिक परिचालन गरी रोकेका थिए। आज पक्राउपछि राष्ट्रपति योलले एक भिडियो सन्देश जारी गर्दै आफू विरुद्धको अनुसन्धान गैरकानूनी भएको बताएका छन्। योलले गत वर्ष डिसेम्बर ३ मा मार्शल ल लगाउने घोषणा गरेका थिए। तर विरोध प्रदर्शनपछि केही घण्टापछि त्यसलाई फिर्ता लिएका थिए। मुलुकमा सैन्य शासन लगाएपछि दक्षिण कोरियाको संसदले उनीविरुद्ध महाभियोगको प्रस्ताव पारित गरेको थियो। महाभियोगको प्रस्ताव पारित भएसँगै उनी पदबाट निलम्बित भएका थिए। तर उनलाई राष्ट्रपति पदबाट बर्खास्तै गर्ने वा पछि पुनर्बहाली गर्ने भन्ने विषयमा त्यहाँको संवैधानिक अदालतले मंगलबार मात्र सुनुवाइ सुरु गरेको छ।
महको बजारीकरण गर्न प्रदर्शनी मेला आयोजना
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अग्र्यानिक खाद्य, पोषण कर्नर, अग्र्यानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायत सामग्री प्रदर्शनमा राखिएका छन् । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला नेपाल मौरीपालन कृषक महासङ्घ कर्णाली प्रदेशको आयोजनामा मङ्गलबारदेखि सुरु भएको हो । यही माघ ३ गतेसम्म सञ्चालन हुने प्रादेशिक मह मेलाको शुभारम्भ गर्नुहँदै कर्णाली सरकरका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले गर्दै उत्पादनका हिसाबले अत्यन्तै पवित्र मानिने मौरीको मह प्रदर्शनी मेलाले कर्णालीको उत्पादन, मूल्य शृङ्खला, महत्व र यसको पहिचान देशविदेशमा पुग्ने बताए । उनले मह उत्पादक किसानलाई नयाँ–नयाँ प्रविधि, ज्ञान, औजार सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए । नेपाल मौरीपालन कृषक महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष लीलाराम ढकालले मेलामा ३२ प्रदर्शनी कक्ष राखिएको जानकारी दिँदै यसबाट मह उत्पादक किसानलाई प्रवद्र्धन हुने बताए ।
लिबर्टी इनर्जीको सेयर खरिदका लागि आजदेखि बोलपत्र पेश गर्न सकिने
काठमाडौं । लिबर्टी ईनजी कम्पनीले आजदेखि सेयर लिलाम विक्री सुरु गरेको छ । कम्पनीले हकप्रद निष्कासन गर्दा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत विक्री गर्न लागेको हो । कम्पनीको सेयर व्यक्ति, कम्पनी तथा संघ, संस्थाहरुले आजदेखि माघ ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गरेर आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । यसमा आवेदन प्रभु बैंकको विराटनगर, बीरगंज शाखा, जाउलाखेल, हेटौंडा, पोखर, बुटवल, सुर्खेत र धनगढी शाखा मार्फत दिन सकिने जनाइएको छ । कम्पनीले मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
अमेरिकी डलरले फेरि बनायो नयाँ रेकर्ड, १ डलर बराबर १३८ रुपैयाँ ९२ पैसा
काठमाडौं । अमेरिकी डलरले निरन्तर नयाँ रेकर्ड बनाएको छ। हिजो मंगलबार १३८ रुपैयाँ ८३ पैसा पुगेर रेकर्ड बनाएको डलरको मूल्यले आज बुधबार पनि फेरि नयाँ रेकर्ड बनाएको हो। आज अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा रहेको छ भने खरिददर १३८ रुपैयाँ ३२ पैसा छ। यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै, युरोपियनको खरिददर एक सय ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङको खरिददर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ६३ पैसा कायम छ। अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलरको खरिददर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। जापानी येन १० को खरिददर आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ। केन्द्रीय बैंकका अनुसार थाई भाटको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० तोकिएको छ। हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ २९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ८५ पैसा तय भएको छ।
आज केहि स्थानमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । तराईका केही भू-भागमा हुस्सु रकुहिरो लागेको अवस्था छ। आज दिउँसो देशभर आंशिक बदली देखि मूख्यतया सफा रहने छ । आज राति लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
ग्लोकल स्किल हिरो अवार्ड- २०२५ सम्पन्न, गायक केसीलगायत ४ जना सम्मानित
काठमाडौं । ग्लोकल आफ्टर स्कुल प्रालिको आयोजनामा ग्लोकल स्किल वीक २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र १०० भन्दा बढीको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रम हिजो द सोल्टी होटेलमा सम्पन्न भएको हाे । एक हप्तासम्म सन्चालन गरिएको उक्त ग्लोकल स्किल वीकमा सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीहरू एवम विभिन्न मनोरन्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम विभिन्न निकायसँगको साझेदारीको लक्ष्य लिई सीपमुलक रोजगारीका अवसर, सीपप्रतिको बढदो महत्त्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्त्व उजागर गर्ने लक्ष्यका साथ पौष २२ देखि पौष २९ सम्म स्किल वीक कार्यक्रम सञ्चालन भएको थियो । यस कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, एवम विज्ञान तथा प्रविधि गरी ४ फरक क्षेत्रका सीपहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा यिनै ४ विधाका ४ प्रेरक व्यक्तित्वहरूलाई ग्लोकल स्किल हीरो अवार्ड २०२५ बाट सम्मानित गरिएको थियो । कलाको पहिलो स्तम्भअन्तर्गत गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको थियो । उनी २०२४ मा स्पटिफाइमा सर्वाधिक सुनिने नेपाली गायक हुन् । त्यसैगरी, उद्यमशीलता विधामा स्किल हिरोको रूपमा सामाजिक उद्यमी र खाली सिसी म्यानेजमेन्ट प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सम्मान गरियो । ‘खाली सिसी फ्रेन्ड्स’ अन्तर्गत खालि सिसीले १३ हजारभन्दा बढी फोहोर बेच्ने व्यक्तिहरूको सञ्जाल बनाएको छ जसले नेपालमा फोहोरलाई कुशलतापूर्वक एवम सहज रुपमा व्यवस्थापन गर्दै आएको छ । आयुषी २०१८ मा फोर्ब्सको ३० अन्डर एसियाको सामाजिक उद्यमी वर्गमा पर्न सफल भएकी थिइन् । यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजका संस्थापक तथा प्रिन्सिपल समीर थापालाई सम्मानित गरियो । नेपालमा विश्वस्तरीय आतिथ्य सेवा र शिक्षा ल्याउन उनको महत्त्वपूर्ण योगदान रहेको छ । आतिथ्य क्षेत्रको बृहत अनुभवको साथ उनले यस क्षेत्रमा योग्य कामदारहरुको गम्भीर कमीलाई सम्बोधन गर्न २००१ मा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना गरेका थिए । साथै विज्ञान तथा प्रविधि विधामा सानुकाजी श्रेष्ठ सम्मानित भए । वनले सानैदेखि गर्मी मौसमसँग लड्न बाँसबाट बन्ने लचिलो फ्यान लगायत व्यावहारिक आविष्कारहरू सिर्जना गरेका थिए । १८ वर्षको उमेरदेखि लजिस्टिकमा काम गर्न थालेका सानुकाजीले सरकारी कार्यालयहरू, कूटनीतिक नियोगहरू, निगमहरू र यु.एन.डि.पि मा विविध अनुभवहरू हासिल गरेका छन् । इम्बार्क कलेजले सञ्चालन गरेको उक्त ग्लोकल स्किल वीकमा सीएनआई र नेपाल चेम्बर अफ कमर्सले इन्डोर्स गरेको थियो । त्यस्तै, नेपाल पर्यटन बोर्डले प्रोमोट गरेको थियो भने युरोपियन युनियन, भारतीय दूतावास, र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदारको रुपमा सहभागी थिए । त्यस्तै, होन्डा, कोका–कोला, डब्लुडब्लुएफ र सिजि मोटर्स पार्टनरको रुपमा सहभागी थिए । कार्यक्रमका प्राविधिक साझेदारको रुपमा यूएनडीपी र यूके स्किल्स पार्टनरशिप थिए । होटल पार्टनर द सोल्टी काठमाडौं रहेको थियो भने इन्टरनेट पार्टनर वल्र्डलिंक रहेको थियो । यति एयरलाइन्स, एयरलाइन्स पार्टनर थियो र नो नेक्स्ट क्वेस्चन आउटरीच पार्टनर रहेको थियो ।
आठौं संस्करणको विराट एक्स्पोमा व्यावसायिक सहकार्यका लागि विराट बजार बीटुबी पेभिलियनको व्यवस्था
काठमाडौं । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आठौं संस्करणको विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । उक्त एक्स्पोको अवलोकन गर्ने उद्योगी व्यवसायीहरूका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरूप एक्स्पो स्थलमा बिजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरिएकाे छ । यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरूले अर्को सम्बन्धित व्यवसायसँगको व्यावसायिक सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन् । यो पेभिलियनमा औद्योगिक विकासका लागि व्यावसायिक विकासका सेवाहरूको इकोसिष्टम अभिवृद्धि गर्ने विश्वास गरिएकाे छ । साथै एक्स्पोका मुख्य कार्यक्रमहरू उजागर गर्न यस पेभिलियनलाई आयोजक उद्योग संगठनले सेन्टर फर एक्सिलेन्सका रूपमा प्रस्तुत गर्दै छ । पेभिलियनअन्तर्गत बीटुबी डेस्कमा सबै प्रकारका व्यवसायीहरूले अर्को सम्बन्धित व्यवसायसँगको व्यावसायिक सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन् । विशेषगरी एसएमईसहरूसँग अन्य उद्योगहरूको व्यावसायिक सम्पर्क बढाउने गरी यसले काम गर्ने छ । त्यसैगरी, बजार प्रवर्धनका लागि मेरो देश मेरै उत्पादन, बिजनेश क्लिनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रक्रिया तथा स्टेपवाई स्टेप प्रक्रिया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, वैदेशिक लगानीको प्रक्रिया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सूचनाहरू भएको एकीकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जी इफिसियन्सी कार्यक्रम, इण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरूको डिजिटलाइजेशन भर्सनसहितको एकीकृत सेवाहरूको व्यवस्था यो पेभिलियनमा गरिने छ ।