विकासन्युज

पक्षघात उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए । ‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गैरहेको पायौं’, पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसलाई रोक्न सरकारले नै औषधी प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको हो ।’ रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ । थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गैरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । जुन औषधीको एउटा मात्राको मुल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले औषधी नपाएकै कारण धेरैको ज्यान गैरहेकाले मन्त्रालयले यस औषधीको प्राप्ति र सहज उपलब्ध गराउन पहल मन्त्री पौडेलको सचिवालयले जनाएको छ । अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए । मन्त्रालयले यी औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरुमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा. राजु पौडेलले बताए ।

भेस्पा र अप्रिलियाको एक्टिभेशन कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक विक्रेता डेल्टा अटो कर्पले देशभरका प्रमुख सहरमा विभिन्न कार्यक्रमसहित भेस्पा र अप्रिलिया स्कूटरको एक्टिभेशन ‍सफलतापूर्वक सम्पन्न गरको छ । बागमती प्रदेशका मुख्य सहर चितवन जिल्लाको भरतपुर महानगरपालिकाको नारायणघाटमा टेस्टराइडको आयोजना गरी नारायणगढदेखि गोलाघाटसम्म स्कुटर र्‍याली, मकवानपुर जिल्लाको हेटौंडामा टेस्टराइडको आयोजना गरी हेटौंडाबाट मकवानपुरगढीसम्म स्कुटर र्‍याली, तथा गण्डकी प्रदेशको नवलपुर जिल्लाको गैंडाकोट, कावासोती, कास्की जिल्लाको पोखरा, बागलुङ जिल्लाको बागलुङजस्ता सहरमा टेस्टराइड, तथा पोखरादेखि धाम्पुससम्म स्कुटर र्‍यालीकाे आयोजना गरियो । साथै लुम्बिनी प्रदेशको बुटवलमा टेस्टराईडका साथै बुटवलबाट लुम्बिनीसम्म स्कुटर र्‍यालीकाे आयोजना गरिएकाे थियो । ग्राहकहरूको उल्लेखनीय सहभागिताका कारण र्‍याली निकै रोमाञ्चित भएकाे थियाे । यसका साथै सो र्‍याली पुग्ने ठाउँमा राईडर्स समुदायका लागि आकर्षक एवं सहभागितामूलक कार्यक्रमहरूकाे पनि आयोजना पनि गरिएको थियो । डेल्टा समूहले यो अवधिमा ट्राफिक प्रहरीहरूको सहभागितामा विभिन्न कलेजमा सचेतनामूलक कार्यक्रम पनि गरेको थियो । कम्पनीले योजना सफल बनाउन योगदान पुर्‍याउन सबै ग्राहक, डिलर, र सहकर्मीरूलाई धन्यवाद व्यक्त गरेको छ । स्मरण रहोस्डेल्टा अटो कर्पले हालसालै हट डिल्स नामक उपभोक्ता योजना पनि ल्याएको थियो जसअन्तर्गत भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकहरूले तुरुन्तै ७ हजार ५०० रुपैयाँ छुटका साथ हुडी, स्कुटर कभर, हेलमेट, र कि रिंगजस्ता आकर्षक उपहार प्राप्त गरेका थिए । साथै तुरुन्त फाइनान्सको सुविधा र पुरानो स्कुटरसँग नयाँ स्कूटरको एक्सचेन्ज विकल्पले ग्राहकहरूको अनुभवलाई अझ स्मरणीय बनाएको थियो । भेस्पा र अप्रिलिया स्कूटरका उत्कृष्ट प्रविधि, स्टाइलिश डिजाइन, र उच्च विश्वसनीयताले शभरका ग्राहकहरूको मन जित्न निरन्तर सफल भइरहेको छ ।

डीएभी कलेजको तेस्रो बीसीए अन्तर-कलेज फुटसल कप सम्पन्न

काठमाडौं । ललितपुरस्थित डीएभी कलेजले तेस्रो बीसीए अन्तर-कलेज फुटसल कप पुष २९ देखि माघ २ गतेसम्म भव्य रूपमा सम्पन्न गरेको छ । डीएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागीता रहेको थियो । टुर्नामेन्टको उद्घघाटन सत्रमा, लुम्बिनी बुटवलका स्ट्राइकर जिलेस्पी जङ्ग कार्की, डीएभी कलेजका अध्यक्ष अनिल केडिया, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकायका सहायक डिन चिरञ्जीवी आचार्य, डीएभी कलेजका चिफ एकेडेमीक एडभाइजर एसोसिएट प्रोफेसर मनोजकुमार चौधरी, शिलापत्र डटकमका अध्यक्ष विनय खकुरेल, त्रिशुली भिल्लाका जनरल म्यानेजर सन्देश दवाडी र बीसीए कलेजका एकेडेमिक हेड शशि भूषण चतुर्वेदी सहभागी भई खेलाडीहरूलाई हौषला प्रदान गरेका थिए । उद्घाटन सत्रमा सहभागी कलेजहरूका प्रतिनिधि शिक्षक र कर्मचारीहरूसमेत उपस्थित भई खेलमा थप रौनकता प्रदान गरेका थिए । बीसीए कलेजहरू बीच नेपालमै प्रथम पटक आयोजना गरिएको बीसीए कप मेन्स इन्टरकलेज फुटसल टुर्नामेन्टलाई निरन्तरता दिँदै तेस्रो संकरण आयोजना गरिएको डीएभी कलेजले जनाएको छ । यस वर्ष नागार्जुन कलेजले डीएभी बीसीए अन्तर-कलेज कप र नगद पुरस्कार एक लाख पचास हजार रूपैयाँ हात पार्‍याे । प्रथम विजेता टोलीलाई त्रिशुली भिल्लाले समेत फ्री र्‍याफ्टिङ प्याकेज प्रदान गर्‍याे । त्यसैगरी, रनर-अप स्थान हासिल गर्दै पास्कल कलेजले ७५ हजार रूपैयाँसहित रनर-अप ट्रफी हात पार्‍याे । उक्त प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अर्वाड जित्न सफल भए । विजेता र उपविजेता दुवै टोलीलाई मेडलसहित मेरीट सर्टिफिकेटद्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा अध्यक्ष अनिल केडियालगायत कलेजका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । टुर्नामेन्टलाई भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न एन्फा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र मधुकर आचार्यको योगदान रहेको थियो । टुर्नामेन्ट अवधिभर सहभागी कलेजका विद्यार्थी र शिक्षकहरू गरी करिब पाँच हजार दर्शकहरूको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता डीएभी इभेन्ट क्लबको आयोजना र डिएभी कलेजको सर्मथनमा सञ्चालन गरिएको हो । टुर्नामेन्टको सञ्चालन विभागीय प्रमुख सुदिप अधिकारी, वीज्जीडिएभी ईभेन्ट क्लबका प्रेसीडेन्ट र रहिता शाक्य, भाइसप्रेसीडेन्ट मनश्री शाक्य र सेक्रेटरी महेश्वर सिलवालले गरेका थिए ।

सेयर बजारमा ५ अर्बको कारोबार, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा झरेको छ । आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार २९६ कम्पनीको १ करोड १७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै करोबार सिन्धु बिकास बैंकको भएको छ । सिन्धुको २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, आज ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बोटर्लस नेपाल, विन नेपाल लघुवित्त र मन्दाकीनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै बिहीबार पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

थाइल्यान्डमा नम्बर वान बन्यो ‘नेटा’

काठमाडौं । चिनियाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाइल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै, ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो। नेटा ब्रान्डल अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउँदै आएको छ । आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितिलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ । नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरूलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्रीपछिको बजार र सुविधालाई विशेष ध्यानमा राखिँदै आएको कम्पनीको दाबी छ । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरू नेपालमा पनि बिक्रि वितरण गर्दै आइरहेको छ । नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहान व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ । १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८० बढी किलोमिटर दायरा छ र यो सीएटीएका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी नेटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ । १८५ मिलिमिटर ग्राउन्ड क्लियरन्स रहेकाले गाडीले चालकलाई सुरक्षा महसुस गराउने कम्पनीको दाबी छ । कम्पनीका अुनसार सीएटीएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ ।

आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल चयन

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल सर्वसम्मतिले चयन भएका छन् । कम्पनीको माघ २ गते बसेको बैठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरिएको जनाएको छ । अध्यक्ष चयनसँगै कम्पनीले वित्तीय स्थायित्व र दीर्घकालीन रणनीतिहरू कार्यान्वयनमा थप योगदान पुर्‍याउने विश्वास लिएको छ।

अडानीले अम्बानीलाई पछि पारे, रियालन्स इन्डस्ट्रिजसँगको गत वर्षको सम्झौता दोब्बर

काठमाडौं । भारत तथा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले २०२४ मा लगानीकर्ताहरूलाई नकारात्मक प्रतिफल दियो । दश वर्षभन्दा बढी समयपछि पहिलो पटक यस्तो भएको हो । यसका साथै मर्जर र प्राप्तिको सन्दर्भमा पनि अडानी समूहले रिलायन्स इन्डस्ट्रीजमाथि अग्रता लिएको थियो। बिजनेस स्ट्यान्डर्डको रिपोर्टअनुसार गौतम अडानीका कम्पनीहरूले गत वर्ष ६.३२ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका थिए भने रिलायन्सले केवल ३.१४ अर्ब डलरको मर्जर र अधिग्रहण सम्झौतामा हस्ताक्षर गर्न सफल भएको थियो । २०२३ को तुलनामा अडानीको सम्झौता २६५.३ प्रतिशतले बढेको छ भने रिलायन्सको सम्झौता ६४.२ प्रतिशतले घटेको छ । रिलायन्स भारतकाे दोस्रो ठूलो औद्योगिक घराना हो भने अडानी समूह तेस्रो ठूलो औद्योगिक घराना हो । टाटा समूह पहिलो नम्बरमा छ । विगत ६ वर्षदेखि रिलायन्स र अडानी समूहबीच मर्जर र अधिग्रहणमार्फत आफ्नो क्षेत्र विस्तार गर्न प्रतिस्पर्धा भइरहेको छ । सन् २०२४ मा देशमा कुल ९८.७ बिलियन मूल्यको एमएन्डए सम्झौताहरू भएका थिए, जसमध्ये शीर्ष ५ सूचीबद्ध कम्पनीहरूको हिस्सा लगभग १५.२८ प्रतिशत छ । आम्दानीको हिसाबले शीर्ष १० समूहहरूको हिस्सा १६ प्रतिशत छ । यदि हामीले विगत पाँच वर्षको तथ्याङ्क हेर्‍यौं भने रिलायन्सले २०२० मा २६.०८ अर्ब डलरको एमएन्डए सम्झौता गरेको थियो । त्यसपछि कम्पनीले आफ्नो खुद्रा र दूरसञ्चार उद्यममा रहेको आफ्नो हिस्सेदारी बेचेको थियो । २०२२ मा अडानी समूहले १६.५६ अर्ब डलरको सम्झौता गरेको थियो । यसमा सिमेन्ट क्षेत्रमा समूहको प्रवेश समावेश थियो । सन् २०२४ मा जेएसडब्ल्यूले २.३२ अर्ब डलरको सम्झौता गरेको थियो भने टाटा समूहले १.६६ अर्ब डलरको एमएन्डए सम्झौता गरेको थियो । बिर्ला एभीले १.६४ अर्ब डलरको सम्झौता गरेको थियो । यसैगरी, लार्सन एण्ड टुब्रोले ०.२७ अर्ब डलरको सम्झौता गरेको थियो । निजी इक्विटी र सार्वभौम लगानीकर्ताहरू एमएन्डएमा महत्त्वपूर्ण खेलाडीको रूपमा देखा परेका छन् । सन् २०२३ मा भारतीय कम्पनीहरूले कुल ८३.२ अर्ब डलरको सम्झौता गरेका थिए भने सन् २०२२ मा यो संख्या १९३.२ अर्ब डलर थियो । यो सन् २०२१ मा १४१.६ अर्ब डलर, २०२० मा ११५.४ अर्ब डलर र २०१९ मा ११६.३ अर्ब डलर थियो ।

अमेरिकामा धेरै खर्च भएपछि नेपालमै जमे अल्बर्ट, बाँचिरहेका छन् तनावरहित र आनन्दमय जीवन

काठमाडौं । अल्बर्ट ग्रिनवुड हाल ५६ वर्षका भए । उनले आफ्नो करिअरभर राम्रो तलब दिने जागिर गरे तर, उनी अमेरिकामा बढ्दो मुद्रास्फीतिप्रति चिन्तित थिए । अवकाशपछि जीवन कठिन हुनेछ भन्ने डरले उनलाई गाजेको थियो । बढ्दो खर्चबाट थकित ग्रिनवुडले धेरै अमेरिकीहरूजस्तै विदेश जाने निर्णय गरे । ग्रिनवुड नेपाल आएका हुन्, यहाँ थोरै अमेरिकीहरू बस्छन् । उनकी श्रीमती काठमाडौंमै हुर्केकी थिइन् । उनी आफ्नो परिवारसँग नजिक रहन र कम लागतमा राम्रो जीवन बिताउन यहाँ सरेका हुन् । धेरै अमेरिकीहरू आजकल अवकाश लिनको लागि सस्तो ठाउँ खोजिरहेका छन् । ग्रिनवुड सन् २०२३ मा यहाँ आएका हुन् । त्यसबेलादेखि उनको बचत र अवकाश आम्दानीले जीवनलाई कम तनावपूर्ण र रमाइलो बनाएको छ । ग्रिनवुड दर्जनौं अमेरिकीहरूमध्ये एक हुन् जो अवकाश पछि विदेशमा बसोबास गरिरहेका छन् । उनले अमेरिकामा अवकाशको लागतको बारेमा चिन्ता व्यक्त गरे । धेरै अमेरिकीहरू अवकाशको लागि पूर्ण रूपमा तयार छैनन् । धेरै सेवानिवृत्तहरू भन्छन् कि उनीहरूको बचत प्रायः पर्याप्त हुँदैन । न्यूयोर्क र बोस्टनमा अध्ययन ग्रिनवुड फिलाडेल्फियामा हुर्केका थिए । उनले आफ्नो कलेज शिक्षा न्यूयोर्क र बोस्टनमा गरे । उनले एमबीए गरेका छन् । धेरै ब्रान्ड व्यवस्थापन र व्यवसाय विकास कार्यहरू उनले सम्हालेका छन् । आफ्नो करिअरको केही वर्षभित्रै उनले राम्रो कमाउन थाले । त्यसपछि उनी न्यूयोर्क सहरको एक एसियाली खाद्य कम्पनीको बिक्री प्रमुख बने । ग्रिनवुडले ५५ वर्षको उमेरमा अवकाश लिए । ग्रिनवुडलाई थाहा थियो कि उनी अमेरिकामा आरामसँग अवकाश लिन सक्छन् । तर, उनी बढ्दो स्वास्थ्य सेवा लागतको बारेमा चिन्तित थिए । उनले कम्पनीबाट स्वास्थ्य बीमा पनि लिएका थिए, तर त्यो त्यति राम्रो थिएन । उनी न्यूयोर्कको जाडो र देशको राजनीतिक वातावरणबाट पनि थकित थिए । उनी र उनकी ३९ वर्षीया श्रीमती आईभीएफमार्फत बच्चा चाहन्थे । तर, यसको लागत ६० हजार डलर (८३ लाखभन्दा बढी) अनुमान गरिएको थियो । बढ्दो घर भाडाले उनीहरूलाई अन्य विकल्पहरू पनि विचार गर्न बाध्य बनायो । उनी न्यूयोर्क सहरको उत्तरमा रहेको वेस्टचेस्टर काउन्टीमा रहेको एउटा सानो घरको भाडा प्रति महिना ३ हजार ५०० डलर (४ लाख ८४ हजार ५००) तिर्थे । भाडा र अरू सबै कुराको बीचमा राम्रो तलब हुँदा पनि बचत गर्ने धेरै ठाउँ थिएन । उनलाई न्यूयोर्कको सामाजिक वातावरण धेरै आक्रामक लाग्यो । उनी अवकाशमा बाँच्न सक्षम हुन सक्थे होला । तर, उनी कुन स्तरमा यो काम गर्छन् भन्ने सोचमा थिए । २०२३ मा श्रीमतीसँग नेपालमा बसोबास ग्रिनवुड र उनकी श्रीमती अवकाशपछि नेपाल जान चाहन्थे । केही वर्षको आर्थिक योजनापछि उनीहरू मे महिनाकाे पहिलाे दिनै यहाँ आए । काठमाडौं आउनुभन्दा एक वर्ष अगाडि ग्रिनवुडले आफ्नो घर बेचेका थिए । उनले सबै महत्त्वपूर्ण काम पहिले नै सम्पन्न गर्ने प्रयास गरे । उनले आफ्ना बिरालाहरूलाई नेपाल कसरी लैजाने भनेर पनि निर्णय गरिसकेका थिए । उनी आफ्नी श्रीमतीमार्फत प्राप्त गरेको दीर्घकालीन भिसालाई अन्तिम रूप दिँदै राजाको दरबार नजिकै भाडाको घरमा केही समय बसे । उनले सहरको एक भव्य क्षेत्रमा बगैंचासहितको चार बेडरुम भएको घर लगभग १,१५० डलर (१ लाख ५९ हजार १९७ रुपैयाँ) मा भाडामा लिए । अमेरिकाकाे तुलनामा यहाँ भाडामात्र सस्तो नभइ खानाको मूल्य लगभग आधा छ । जबकि औषधिहरू प्रायः एक तिहाइ मूल्यमा उपलब्ध हुन्छन् । ग्रिनवुड र उनकी श्रीमतीले बिजुलीमा महिनाको ३५ डलर (करिब ५ हजार रुपैयाँ) खर्च गर्छन्, जुन सधैं लगभग उस्तै रहेको उनको भनाइ छ । उनीहरूको मोबाइल योजना प्रति महिना लगभग ७ डलर (करिब एक हजार ) छ । उनी फोहोर व्यवस्थापनको लागि हरेक छ महिनामा २२ डलर (३ हजार रुपैयाँ) तिर्छन् । ग्रिनवुडले लगानीबाट प्रति महिना लगभग ३ हजार (४ लाख १५ हजार) कमाउँछन् । उनले आफ्नो अवकाशमा यात्रालाई महत्त्व दिएका छन् । यसमा थाइल्याण्ड, जापान र सिंगापुरको यात्रा समावेश छ । उनले लामो पैदल यात्रा, लेखन र सामुदायिक संलग्नताको दिनचर्या अपनाएका छन् । बालबालिका हुर्काउन अमेरिकाभन्दा यहाँ सस्तो र सुरक्षित छ । आईभीएफ उपचारको लागत लगभग ३ हजार डलर (४ लाख १५ हजार रुपैयाँ ) छ । काठमाडौंमा बालबालिकाको स्वास्थ्य सेवा राम्रो छ । उनकी श्रीमतीका आफन्तीहरू उनीहरूनजिकै बस्छन् जसले आफ्नो बच्चाको हेरचाह गर्न मद्दत गर्न सक्छन् । उनीहरूले कसरी आरामदायी रहने भन्ने बारेमा मार्गदर्शन दिइरहेका छन् ।