अमेरिकी डलरको मूल्यले फेरि राख्यो नयाँ कीर्तिमान, कति पुग्यो ?
काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरि नयाँ कीर्तिमान राखेको छ । लगातार उकालो लागेको अमरिकी डलरको भाउ आज शुक्रबार पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ७९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रूपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ २० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ १३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ०७ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ८७ पैसा र बिक्रीदर आठ रूपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६९ पैसा र बिक्रीदर ३० रूपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १२ रूपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ पाँच पैसा र बिक्री दर १९ रूपैयाँ १४ पैसा तोकिएको छ । यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रूपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रूपैयाँ ९५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ५१ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा निर्धारण भएको छ ।
ललितपुरका विभिन्न स्थानमा आज ४ बजेसम्म बिजुली कटौती हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज शुक्रबार बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना जारी गरी बिजुलीको खम्बा परिवर्तन गर्नका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ । बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ ।
नेपाली विद्यार्थी विदेश पढ्न जाँदा ५ महिनामा साढे ४७ अर्ब बाहिरियो, भ्रमणमा ८५ अर्ब सकियो
काठमाडौं । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ४१ करोड बराबरको खर्च गरेका छन् । विवरणअनुसार भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेको थियो । गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको थियो ।
बालबालिकालाई स्थानीय तहको संरचनाबारे जानकारी दिन ललितपुर महानगरमा नमूना बाल नगरसभा सुरु
काठमाडौं । ललितपुर महानगरमा चौथो नमूना बाल नगरसभा सुरु भएको छ । नमूना बाल नगरसभा ललितपुर महानगर र महानगर स्तरीय बाल क्लब सञ्जालले अन्य विभिन्न संघसंस्थासँग सहकार्य गरी चौथो नमूना बाल नगरसभाको आयोजना गरेको हो । बालबालिकालाई स्थानीय तहको संरचना, कार्यप्रणाली लगायतका विषयमा जानकारी दिन आयोजना गरिएको नमूना बाल नगरसभाको बिहीबार सामाजिक विकास समितिका संयोजक एवम प्रवक्ता राजु महर्जनले उद्घाटन गरे । कार्यपालिका, नगरसभा, नगर प्रमुख, ‘उपप्रमुखको जिम्मेवारी थाहा पाउन नमूना बाल नगरसभा महत्त्वपूर्ण रहेको सामाजिक विकास समितिका संयोजक एवम कार्यक्रमका प्रमुख अतिथि राजु महर्जनले बताए । उनले भने, ‘विद्यार्थीलाई यो कार्यक्रम निकै उपयोगी हुन्छ, सबैभन्दा नजिकको सरकार कसरी सञ्चालन हुन्छ, त्यो बुझ्न सजिलो हुन्छ । ’ सामाजिक विकास समितिका सदस्य एवं वडा नंं.१८का अध्यक्ष दामोदर खड्काले नमूना बाल नगरसभा सिक्ने, सिकाउने महत्त्वपूर्ण ठाउँ भएको बताए । बाल नगरसभामा सहभागी बालबालिका भविष्यका कर्णधार भएको बताउँदै यो कार्यक्रममा सहभागी भएका मध्येबाट नै भविष्यका नगर प्रमुख, उपप्रमुख उत्पादन हुने धारणा राखे । बाल नगरसभामा सिकेका कुरा विद्यालय, विश्वविद्यालयमा सिकेको ज्ञानभन्दा पनि महत्त्वपूर्ण हुने बताए । सामाजिक विकास समिति सदस्य उमा श्रेष्ठ बज्राचार्यले यो कार्यक्रम उपयोगी भएको बताइन् । ललितपुर महानगर सामुदायिक विकास शाखाकी प्रमुख सरिता महर्जनले बालबालिकालाई लोकतन्त्र, लोकतान्त्रिक संस्कृति , नगरसभा, कार्यपालिका गठन, विषयगत समितिको काम, कर्तव्य लगायतका बारेमा जानकारी दिने बताइन् । उनले भनिन्, ‘यी सम्पूर्ण विषयमा विज्ञबाट बालबालिकालाई जानकारी दिन्छौं , त्यसपछि नमूना बाल नगरसभा गर्छौं । ’ यो कार्यक्रम सूचनामूलक, ज्ञानवर्द्धक र उपयोगी भएको उनले बताइन् । कार्यक्रमकी अध्यक्ष प्रार्थना श्रेष्ठले कार्यक्रम उपलब्धिमूलक हुने बताउँदै सक्रिय सहभागिताको लागि अनुरोध गरिन् ।
आइतबार हुँदैछ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड गर्ने मिति तय भएको छ । माघ ६ गते आइतबार आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । कम्पनीले पौष २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेकोमा १९ लाख भन्दा धेरै आवेदकले आवेदन दिएका थिए। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको थियो । जसमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरूका लागि, ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो ।
उपत्यकाभित्र ‘नो हर्ज प्लिज’ अभियान फेरि लागू गरिने
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ । बिहीबार ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजदुर ट्रेड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ‘नो हर्ज प्लिज ’अभियानलाई पूर्णरूपमा लागू गर्ने बताएका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले २०७३ सालमा यस अभियान सुरु गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनता चेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई जोडतोडका साथ कार्यान्वयन गर्ने जानकारी दिए । उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न र सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । घिमिरेले भने, ‘यातायातलाई व्यवस्थित बनाई सेवाग्राहीलाई सेवा सहज दिन तत्पर छौं । यो अभियानले दुर्घटनालाई नियन्त्रण गर्ने विश्वास छ । ’ त्यस्तै, यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सबै क्षेत्रमा सुधार देखिए पनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसेकेको बताए । भक्तपुरदेखि काठमाडौंसम्म द्रुतबसको सेवा सुरु गरे पनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उनको भनाइ छ । उनले यातायात क्षेत्रलाई सुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्ने पनि बताए ।
क्रेस्ट माइक्रो लाइफले पायो आईपीओ निष्काशनको अनुमति
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ। बिहिबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ गते सेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता निष्काशनको अनुमति पाएको जनाएको छ । प्रति कित्ता १०० रुपैयाँमा सेयर निष्काशन हुनेछ । सेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।
चालु आर्थिक वर्ष सुरु भएयता हालसम्म बने १२ पुल, ६५५ वटा निर्माण गर्ने लक्ष्य
फाइल तस्बिर । काठमाडौं । सरकारले देशभर साउनदेखि पुससम्म १२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार चालु आर्थि वर्ष २०८१/०८२ जम्मा ६५५ वटा पुल निर्माण गर्ने लक्ष्य लिएको छ । जसमा चालु आव वर्ष सुरु भएयता पुससम्ममा १२ वटा पुल निर्माण गरेको जनाएको छ । यस्तै, ३७३ वटा पुल निर्माणाधीनको चरणमा रहेका छन् भने १२४ वटा पुल ठेक्का हुन बाँकी रहेको विभागले जनाएको छ । यसैगरी, १४६ वटा पुल योजनामा परेका छन् । सरकारले गत वर्ष देशभरमा दुई सय २२ पुल निर्माण गरेको थियो । अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको सडक विभागले जनाएको छ । विभागमा बजेटको अभाव भएकाले कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको सडक विभागअन्तर्गतको पुल महाशाखाका इन्जिनियर सवत खरेलले बताए । उनले भने, ‘विभागले सोचेअनुसारको प्रगति भएको छैन । विभागमा बजेटको अभाव छ । त्यसैले आयोजनाहरू सुस्त छन् ।’ विभागले पुल कहाँ-कहाँ बने भन्नेबारे खुलाएको छैन । हालसम्म देशभर सडक पुलको संख्या ३ हजार ७ सय १४ पुगेको छ ।