विकासन्युज

४ किमी सडक बनाउन ७ वर्षमा १४ पटक म्याद थप, तर कलोपत्रे समेत भएन

बागलुङ । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ । सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् । विसं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । अहिले सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छभने सडकमा बिछ्याइएको ग्राभेल बर्खाको पानीले बगाएको छ । काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेका अनुसार उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर गएका छैनन् । सडकको एकलेखेतबाट एक किमी सडकमा नाली पनि निर्माण भएको छैन । सम्झौताअनुसार काम भएको भए यतिबेला चिल्लो सडकमा सवारी गुडेका हुन्थे । पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको निर्माण व्यवसायीले सडक अलपत्र छाडेर हिँडेको छ, अहिले निर्माण भइसकेका संरचनामा पनि क्षति भएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो । उक्त सडकको कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरवाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठमै म्याद सकिएको निर्माण व्यवसयीले चौथो पटक म्याद थप गरेर आगमी चैतसम्म पुर्याएको छ । काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन दिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिए । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नर्फकिँदा समस्या भएको छ । भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काम ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताए । उनले केही समयमा सडक कालोपत्र गर्ने दाबी गरे । सडकको सुरुमा एक्लेखेतमा पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ । अहिले रेश जाने सडक धुलाम्मे छभने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा बिग्रेको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीय बताउँछन् ।

मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीको आतङ्क

मोरङ । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो । माउ हात्ती छावा (बच्चा)सहित आएको गाउँमा आएको थियो । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतङ्कित नहुन र सकेसम्म जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गरे । ‘हामी जङ्गल क्षेत्र तथा हात्ती प्रभावित क्षेत्रमा आवश्यक पोलबत्तीको काम गरिरहेका छौँ’, उनले भने, ‘नागरिकको जीउधनको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो, काम पूरा गर्न समय लाग्छ ।’ नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको र स्थानीयवासीलाई रातभर त्रास दिएको यहाँका वडाध्यक्ष खेम न्यौपानेले बताए । उनले हात्तीको त्रासका कारण यहाँका स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपरेको उल्लेख गरे । विगत तीन साताअघि सुन्दरहरैँचा–५ गुरुङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको वनमा दाउरा काटेर घर फर्कँदा जङ्गली हात्तीको आक्रमणबाट निधन भयो । साथै एक महिनाअघि सुन्दरहरैँचा–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गरेको मोरङ डिभिजन वन कार्यालयले जनाएको छ । जङ्गली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेको प्रहरीले जनाएको छ । सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा दैनिकजसो हात्तीको हुल देखिने गरेको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको छ । यसबीच मोरङमा एक वर्षमा दुई जङ्गली हात्ती मृत फेलापरेका छन् । एउटा जङ्गली हात्तीलाई विगत वर्षमा यहाँ गोली हानेर हत्या गरिएको थियो । जङ्गली हात्तीका कारण एक महिनामा सुन्दरहरैँचामा तीन जनाको ज्यान गइसकेको छ ।

पोखरामा दाइँ महोत्सव : नयाँपुस्ता र विदेशी पर्यटकमाझ चिनाउने उद्देश्य

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ । पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने सो परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्त्वपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराइने छ । “पोखराको बढ्दो सहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न स्थापित हुनेछ”, उनले भने । पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ । पोखरा महानगरपालिकाभित्रका खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको अवस्थामा यसको जगेर्ना गर्न प्रथम दाइँ महोत्सव सफल हुने परिषद्का महासचिव जीवनराज सापकोटाले बताए ।

आरएसडिसी लघुवित्तको नाफा घट्यो, कस्ता छन् अन्य सूचकहरु ?

कठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थाले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७४.९१ प्रतिशत घटेको छ। त्यस्तै, संस्थाको कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६८ प्रतिशत घटेको छ। संस्थाको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। पुस मसान्तसम्ममा संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ रहेको छ। नाफासँगै संस्थाको प्रतिसेयर आम्दानी पनि घटेको छ। संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसाले घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१.६१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ। ९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ पुस मसान्तसम्ममा संस्थाले ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

निगमको ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि हवाई सेवा बन्द

गुल्मी । रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो । नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा बन्द भएपछि यहाँका यात्रुहरू समस्यामा परेका बताउनुभयो । निगमले विसं २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान सुरु गरेपछि जिल्लामा हवाई सेवा सञ्चालनमा आएको थियो । निगमले जिल्लामा व्यावसायिक उडान सुरु गरेसँगै सातामा तीन पटकसम्म उडान गर्दै आएको थियो । यात्रुहरूको बढ्दो चापका कारण निगमले तत्कालीन अवस्थामा उडान सङ्ख्यामा वृद्धि गरी सातामा चारपटकसम्म उडान गर्दै आएको थियो । समय समयमा निगमका जहाज ग्राउन्डेड हुन थालेपछि सातामा दुईपटक र एकपटक हुँदै हाल जिल्लामा पूर्ण रूपमा हवाई उडान बन्द भएको हो । निगमसँग थोरै मात्र ट्विनअअटर जहाज रहेका बताउँदै जहाजहरूको इन्जिन साइकल सकिएपछि सेवा अवरुद्ध बनेका विमानस्थलका स्टेसन प्रमुख थापाले जानकारी दिए । दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएका र ग्राउन्डेड भएका जहाजको मर्मत गर्ने काम भइरहेकाले जिल्लामा सेवा नियमित हुन अझ केही समय लाग्ने उनले बताए । पछिल्लो समयमा रेसुङ्गा विमानस्थलबाट निगमले साताका एकपटक बिहीबार मात्र उडान गर्दै आएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे उडान गर्दै आइरहेको थियो । निगमले काठमाडौँबाट रेसुङ्गाका लागि सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि रु सात हजार तीन सय भाडादर निर्धारण गरेको छ । दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले बिहानको समयमा मात्र उडान गरिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ । यहाँबाट काठमाडौँका लागि २१ महिनाको अवधिमा एकतर्फी रूपमा ९० वटा उडान भइसकेका छन् । हालसम्म दुवैतर्फबाट गरी दुई हजार दुई सय ५३ यात्रुले हवाई सेवा लिएका स्टेसन प्रमुख थापाले जानकारी दिए । पछिल्लो समयमा हवाई सेवा सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको थियो । हवाई सेवाका लागि यात्रुहरूको अत्यधिक चाप हुँदाहुँदै पनि निगममा जहाज अभाव हुँदा नियमित सेवा सञ्चालन गर्न नसकिएको थापाले बताए ।

दक्षिण कोरियाका साना तथा मझौला उद्योग संकटमा

काठमाडौं । राष्ट्रपति युन सुक योलको महाभियोगमा चलिरहेको राजनीतिक अनिश्चितताका कारण दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरूले घाटा व्यहोर्नु परेको छ । कोरिया फेडेरेसन अफ एसएमईले हालै गरेको सर्वेक्षण अनुसार ५१३ उत्तरदाता एसएमईमध्ये २६.३ प्रतिशतले राजनीतिक अस्थिरताका कारण नोक्सान भएको बताएका छन् । सियोल महानगरीय क्षेत्रमा इलेक्ट्रोनिक कम्पोनेन्ट निर्माता कम्पनीका महाप्रबन्धक पार्क ब्युङ–जिनले भने,‘मुख्य कम्पोनेन्टका विदेशी आपूर्तिकर्ताहरूले जम्मा रकमको कुल भुक्तानीको ३० प्रतिशतबाट ७० प्रतिशतमा पु¥याएका छन् । कतिपयले डेलिभरी अघि पूरा भुक्तानी गर्नुपर्नेछ । तर उनीहरु देशमा राजनीतिक गतिरोधको बारेमा चिन्तित छन् ।’ उनले बारम्बार विदेशी आपूर्तिकर्ताहरूलाई सम्झौताहरू पूरा गर्न अनुरोध गरेको बताए । यूनको महाभियोग पछि कार्यवाहक राष्ट्रपतिको रूपमा प्रधानमन्त्री हान डक सूलाई महाभियोग लगाएपछि, दक्षिण कोरियाली विनिमय दर ओरालो लागेको छ । विनिमय दरमा तीव्र गिरावटले कच्चा पदार्थ र ऊर्जाको आयातमा धेरै निर्भर रहेको दक्षिण कोरियाको अर्थतन्त्रलाई गम्भीर धक्का पुगेको छ । ‘अमेरिकी डलर बलियो हुँदा कच्चा पदार्थको लागत र डलर निर्धारित ऋणको बोझ बढ्नेछ । देशको व्यवसायलाई जोखिममा पार्ने र आयात मूल्यमा वृद्धिले पनि वित्तीय तनावलाई बढाउँछ, अर्थशास्त्रीहरूले भनेका छन् । यता, महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । योलमाथि ३ डिसेम्बर २०२४ मा देशमा ‘मार्सल ल’ लागू गरेको अभियोगमा छानविन गर्न पक्राउ गरिएको जनाइएको छ । योलले गत गत महिना देशमा आपतकालिन अवस्था घोषणा गर्दै सैन्य कानुन लगाउने घोषणा गरेका थिए।

खेतीयोग्य जमिन सबै बाँझो, विद्यार्थीलाई सिकाउन कौसी खेती

गलकोट । देशभर खेतीयोग्य जमिन बाँझो हुँदै गर्दा बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् । उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको छ । विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन् । यी तरकारी उनीहरुले आफैँ पनि पकाउँछन् भने केही र बिक्री पनि गर्छन् । तीन वर्ष पहिले प्रत्येक विद्यार्थीले रु ५० सङ्कलन गरेर ५० वटा गमला किनेका थिए । गमलामा मौसमअनुसारको तरकारी रोप्थे । फलेपछि शिक्षक विद्यार्थीले बाँडेर खान्थे । विद्यालयले विद्यार्थीलाई उत्पादनसँग जोड्न र स्थानीय पाठ्यक्रमअनुसार अध्यापनका लागि ‘स्थानीय उत्पादन’ शीर्षकमा ५० पूर्णाङ्कको प्रयोगात्मक सिकाइका लागि तरकारीखेतीमा प्रोत्साहन गरेको थियो । तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्था सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो । सिवाइसीले जिल्लाका ३५ भन्दा बढी विद्यालयमा ‘शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन’ (थ्रि जेरो) नामक क्लब गठन गरी विद्यार्थीलाई व्यावसायिकतामा जोड्दै आएको छ । तीन वर्ष पहिलेदेखि प्रयोगात्मक कक्षाका लागि गमलामा तरकारीखेती गर्दै आएका विद्यार्थीलाई गत साउनमा सिवाइसीले बीउविजनसहित कृषि सामग्री उपलब्ध गराएको थियो । मल, तरकारीको बीउ र नर्सरी व्यवस्थापनका लागि विभिन्न उपकरण समेत सिवाइसीले उपलब्ध गराएको थियो । त्यसयता पक्की भवनको छतमै नर्सरी स्थापना गरेर तरकारी फलाइरहेका छन् । आफँैले उत्पादन गरेको तरकारी दिवा खाजामा समेत उनीहरुले प्रयोग गर्दै आएका छन् । विद्यार्थीले विद्यालयमा मात्र होइन घर–घरमा तरकारीखेती गर्न सुरु गरेका छन् । कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीहरु उत्साहित भएर विद्यालय आउछन् । उनीहरु दिनभरी नर्सरी र तरकारी खेतीमा रमाउछन् । विद्यालयको थ्रि जिरो क्लबका संरक्षक तथा शिक्षक भूपेन्द्रबहादुर खड्काले भने, “क्लबले यटपटक काउली, ब्रोकाउली र विभिन्न प्रकारका सागका विरुवा उत्पादन गरेर विद्यार्थीलाई वितरण गरेको छ ।” कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने एक सय जना विद्यार्थीलाई विभिन्न हिउँदे तरकारीका विरुवा वितरण गरिएको उनको भनाइ छ । विद्यार्थीले विद्यालयमा मात्रै नभइ घरमा समेत आफै तरकारीखेती गरिरहेको क्लबका अध्यक्ष सनिसा क्षत्रीले बताए । “विदेशमा पढ्दै काम गर्दै गर्ने गरेको सुनिन्छ, यहाँपनि व्यवहारिक शिक्षाको कुरा हुन्छ”, शिक्षक खड्काले भने “देश सुहाउँदो, हाम्रो भूगोल सुहाउँदो व्यावसायिक कृषि प्रणालीलाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई उत्पादनसँग जोडेर सानो उमेर मै उद्यमी बन्ने प्रेरणा प्रदान गर्नु स्थानीय उत्पादन कार्यक्रम र क्लबको उद्देश्य हो ।” यस अभियानलाई बागलुङ नगरपालिका वडा नम्बर ९ ले पनि सहयोग गर्दै आएको अध्यक्ष क्षेत्रीले बताए । विद्यालयका प्रधानध्यापक कुमार उपाध्यायका अनुसार तरकारी उत्पादन र बिक्रीका लागि दुई वटा थ्रि जिरो क्लब छन् । एउटा क्लबले उत्पादनको काम गर्छ भने अर्काले बिक्री वितरणको काम गर्छ । विद्यालयको हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप र विभिन्न विशेष कार्यक्रममा विद्यार्थीले आफूले उत्पादन गरेका तरकारीका परिकार बनाउँछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बिक्री गर्छन् । बिक्रीबाट भएको आम्दानी तरकारीको बीउ, मल खरिदमा खर्चने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाले बताए । रासस

प्रभु बैंकमा प्रभु ग्रुपले घटाउँदै आफ्नो सेयर, एसियन लाइफले बढाउँदै स्वामित्व

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट प्रभु ग्रुपले आफ्नो सेयर स्वामित्व घटाउँदै आइरहेको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा प्रभु ग्रुपको नाममा २८ लाख ५१ हजार ९७८ कित्ता सेयर रहेको थियो । गत आव ०८०/०८१ मा आइपुग्दा बैंकमा ग्रुपको नाममा २३ लाख ५४ हजार कित्ता सेयर रहेको छ । अघिल्लो आवमा बैंकमा ग्रुपको स्वामित्व १.२१ प्रतिशत रहेको थियो भने गत आवमा ग्रुपको स्वामित्व ०.९९ प्रतिशतमा सिमित भएको छ । यता, एसियन लाइफ इन्स्योरेन्सले भने आफ्नो स्वामित्व बढाउँदै लगेको छ । अघिल्लो आवमा एसियन लाइफको नाममा ८० लाख ३७ हजार ९२२ कित्ता सेयर थियो । गत आवमा आइपुग्दा इन्स्योरेन्सको नाममा १ करोड ७५ लाख ९ हजार कित्ता सेयर रहेको छ । इन्स्योरेन्सले ३.४१ प्रतिशतबाट आफ्नो स्वामित्व वृद्धि गरेर ४.९९ प्रतिशत पुराएको छ । एसियन लाइफ सो बैंकको सबैभन्दा ठुलो सेयरधनी हो । दोस्रो ठुलो सेयरधनीमा गौरभ अग्रवाल रहेका छन् । उनको नाममा ६३ लाख ७९ हजार कित्ता सेयर तथा २.७१ प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, नागरिक लगानी कोषको नाममा ५९ लाख ५१ हजार कित्ता सेयर रहेको छ । बैंकमा नागरिक लगानी कोषको २.५३ प्रतिशत स्वामित्व रहेहो छ । यसैगरी, चौथो ठुलो सेयरधनीमा प्रभु ग्रुप रहेको छ भने पाँचौ ठुलो सेयरधनीम मिजास भट्टचन रहेका छन् । मिजासको ०.८० प्रतिशत स्वामित्व रहेको छ । सुदिप आचार्यको र अम्बिका शर्मा लामिछानेको स्वामित्व समान ०.६० प्रतिशत रहँदा ज्यानु श्रेष्ठको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचन र स्वरुप गुरुङको समान ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्टको ०.५२, शिवम् सिमेन्टको ०.५१ र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।