विकासन्युज

मेटलाइफ ‘फर्चुन म्यागजिन’को विश्वको सबैभन्दा प्रशंसित कम्पनीको सूचीमा

काठमाडौं । मेटलाइफ ‘फर्चुन म्यागजिन’ २०२५ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू’ को सूचीमा पर्न सफल भएको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरू समावेश भएका थिए । मेटलाइफका अध्यक्ष र प्रमुख कार्यकारी अधिर्कत (सीईओ) मिशेल खलाफले भने सम्मान पाउँदा निकै खुसी भएको बताउँदै विश्वस्त भविष्य निर्माण गर्ने परम्परालाई निरन्तर विस्तार गर्न सक्ने बताए । पछिल्ला २५ वर्षभन्दा बढी समयदेखि फर्चुन र कर्न फेरीले सहकार्य गर्दै कर्पोरेट प्रतिष्ठाका आधारमा कम्पनीहरूको पहिचान र मूल्यांकन गर्दै आएका छन् । ३ हजारभन्दा बढी शीर्ष कार्यकारीहरू, निर्देशकहरू र वित्तीय क्षेत्रका सदस्यहरूलाई आफ्नै उद्योगका प्रतिष्ठानहरूलाई नौ विशेषताका आधारमा मूल्यांकन गर्न भनिन्छ । यी विशेषताहरूमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय स्थायित्व र प्रतिभा आकर्षित तथा कायम राख्ने क्षमता जस्ता तत्वहरू समावेश छन् । मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के-के छन् ?

काठमाडौं । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङकाले उक्त विधेयक पेस गरे । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराए । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालको ‘प्लेटफर्म’ सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन उक्त विधेयक अघि बढाइएको स्पष्ट पारे ।  विधेयकमा डिजिटल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म एवं संस्थाले सञ्चालन अनुमति लिनुपर्ने, अनुमतिपत्रको नवीकरण गर्नुपर्ने, प्लेटफर्म सञ्चालनमा रोक लगाउन सक्ने, अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त, सामाजिक सञ्जाल प्लेटफर्मबाट विषयवस्तु हटाउन निर्देशन दिनसक्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त उल्लेख गरिएको छ । यस्तै साइबर बुलिङ र स्टकिङ्ग तथा आइडी ह्याक, सेक्सटोर्सन वा एक्सटोर्सन गर्न नहुने, अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रचारप्रसार तथा डिपफेक भिडियो अपलोड वा प्रचारप्रसार एवं बेनामी वा छद्मभेषी पहिचान बनाउन नहुनेलगायत विषय विधेयकमा समेटिएका छन् । विधेयकमा सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी अनुमतिपत्रको अवधि दुई वर्षको हुने र नवीकरण गर्न चाहेमा १५ दिन अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । अनुमतिपत्र प्राप्त व्यक्तिले मुलुकको शान्ति सुरक्षा, अमनचयन, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमानतमा खलल पुग्ने वा राष्ट्रहित प्रतिकूलका विषयवस्तु प्रसार गरे वा गराएमा सामाजिक सञ्जाल प्लेटफर्मको अनुमतिपत्र खारेज गर्न सक्ने तथा तोकिएको सर्त पालना नगरेमा सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था विधेयकमा गरिएको छ । यस्तै सामाजिक सञ्जाल प्रयोकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्वीरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच, मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रचारप्रसार, प्रचलित कानुनले निषेध गरेको वस्तुको विज्ञापन तथा कारोबार गर्न नपाउने उल्लेख छ । गलत मनसायले सामजिक सञ्जालमा पोष्ट, सेयर, लाइक, रिपोष्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग  वा मेन्सन गरेमा सामाजिक सञ्जाल प्रयोगकतालाई रू पाँच लाखसम्म जरिवाना हुनेछ । उक्त ऐनको कार्यान्वयनबाट नेपालमा विद्युतीय स्वरूपमा रहेको सूचना सुरक्षा तथा वैयक्तिक विवरणको गोपनियताकोस्तरमा वृद्धि हुने, साइबर सुरक्षाका लागि आवश्यक कानुनी तथा संरचनागत व्यवस्था भई साइबर सुरक्षाको अवस्थामा सुधार हुने तथा सूचना प्रविधिसम्बन्धी व्यवसायहरू व्यवस्थित, नियमित तथा मर्यादित भई यस क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुने सरकारको भनाइ छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० हाल कार्यान्वयनमा रहेको छ । आव २०८०/८१ को बजेटमा समेट सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने तथा सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्थामा सुधार गरिनेछ भन्ने उल्लेख छ ।

‘महालक्ष्मी कल सेन्टर’ को सुरुवात, गुनासा तथा जिज्ञासा सम्बोधन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतरूपमा उपलब्ध सेवामा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो । बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी कल सेन्टर’ बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरूको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरू सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङसम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरुबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडि बढाउने लगायतका काम गर्नेछ । बैंकले कलसेन्टरमार्फत आएका गुनासा/जिज्ञासा/उजुरीहरूको सम्बोधन गर्ने जनाएको छ । यसबाट ग्राहकहरूको समस्याहरूको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

सलिकोले इनड्राइभका प्रयोगकर्ताको दुर्घटना बीमा गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच सम्झाैता भएकाे छ । इन्ड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा गर्नेसम्बन्धी सम्झाैता भएको हाे । कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (चंकी क्षेत्री) र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रीता पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरूको मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रकम भुक्तानी गर्नेछ । यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ । साथै बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभागमार्फत दाबी गरि लिन सक्नेछन्। उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

नयाँ साझेदार खोज्दै ‘निसान’, ताइवानको ‘फक्सकन’ सँग सहकार्य गर्न इच्छुक

निसानका सीईओ माकोटो उचिदा । फाइल तस्बिर । काठमाडौं । होन्डासँग मर्जर हुने वार्ता असफल भएपछि निसान हाल नयाँ साझेदारहरूसँग काम गर्न खुला रहेको जनाइएको छ । ताइवानको फक्सकन निसानको सम्भावित साझेदारमध्ये एक हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विभिन्न कठिनाइ भोगिरहेको जापानी कार निर्माता निसान अहिले फेरि एउटा दोबाटोमा छ । यसअघि निसानले ठूलो प्रतिद्वन्द्वी होन्डासँग मिलेर विश्वकै तेस्रो ठूलो कार निर्माता बन्ने वार्ताबाट पछि हट्ने निर्णय गरेको थियो । यो सम्झौता पूरा भएको भए विश्वव्यापी कार उद्योगमा ठूलो परिवर्तन ल्याउने आँकलन गरिएको थियो । निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोटो उचिदाले बिहीबार होन्डाका सीईओ तोशिहिरो मिबेसँग भेटघाट गरेका थिए । यो वार्तामा होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउने प्रस्ताव राखेपछि उचिडाले छलफल अन्त्य गर्न चाहेको बताएका थिए। नयाँ साझेदारीको खोजीमा निसान निसान अब विशेषगरी प्रविधि कम्पनीहरूसँग सहकार्य गर्न खुला रहेको छ । कम्पनी इलेक्ट्रिक गाडी, स्वचालित कार र चीनमा छिटो अगाडि बढिरहेका कार निर्माताहरूसँग प्रतिस्पर्धा गर्न चाहन्छ । एक स्रोतका अनुसार निसान ताइवानको ‘फक्सकन’सँग पनि सहकार्य गर्न इच्छुक छ । फक्सकन जो विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माण कम्पनी हो र एप्पलको आईफोन उत्पादन गर्छ । उसले आफ्नो इलेक्ट्रिक गाडी निर्माण व्यवसाय विस्तार गर्न खोजिरहेको छ । डिसेम्बरमा फक्सकनले निसानसँग सहकार्य गर्ने प्रस्ताव राखेको थियो तर निसानले अस्वीकार गरेको थियो । फक्सकनको विद्युतीय सवारीसाधन (ईभी) व्यवसाय निसानका पूर्व वरिष्ठ कार्यकारी जुन सेकीले नेतृत्व गरिरहेका छन् । सेकीलाई निसानको सीई‌ओ बन्ने सम्भावित उम्मेदवारको रूपमा हेरिएको थियो तर उचिदा सीईओ बने । निसान र होन्डाका प्रवक्ताहरूले वार्ताको स्थितिबारे कुनै टिप्पणी गरेका छैनन् । दुबै कम्पनीहरूले फेब्रुअरीको मध्यसम्म आफ्नो भविष्यको रणनीति टुंग्याउने उद्देश्य राखेका छन् । फक्सकनले पनि तुरुन्तै कुनै प्रतिक्रिया दिएको छैन । बढ्दो मतभेद गत डिसेम्बरमा होन्डा र निसानले एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए जसअन्तर्गत तिनीहरूलाई एउटै होल्डिङ कम्पनीअन्तर्गत एकत्रित गर्ने विषयमा छलफल गरिएको थियो । तर यी वार्ताहरू विभिन्न मतभेदका कारण जटिल बनेको स्रोतहरूले बताएका छन् । मुख्य रूपमा होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउन चाहेको कारण वार्ता अवरुद्ध भएको हो । निसान पक्षले यो प्रस्ताव स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ । यसबारे अन्तिम निर्णय लिन कम्पनीले अर्को हप्ता तेस्रो त्रैमासिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुअघि एक बोर्ड बैठक बस्ने जनाइएको छ । जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार होन्डाको हालको धारणा भनेको यदि निसान सहायक कम्पनी बन्ने कुरामा सहमत भए मात्र एकीकरणको सम्भावना रहनेछ। के हुन्छ निसानको भविष्य ? होन्डा टोयोटा पछाडि जापानको दोस्रो ठूलो कार निर्माता हो भने निसान तेस्रो ठूलो कार निर्माता कम्पनी हो । यदि यी वार्ताहरू पूर्ण रूपमा बन्द भए भने निसानको भविष्यमा थप चुनौतीहरू आउन सक्छन् । कम्पनी हाल नै पुनर्संरचनाको योजना कार्यान्वयन गरिरहेको छ जसअन्तर्गत ९ हजार कर्मचारी कटौती गर्ने र आफ्नो विश्वव्यापी उत्पादन क्षमता २० प्रतिशतले घटाउने योजना बनाइसकेको छ । (एजेन्सीहरूको सहयोगमा ) मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी

११ अंकले घट्यो नेप्से, ८ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा झरेको छ । आज ३०५ स्टकको ८४ हजार २८० पटक कारोबारमा एक करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार चार उपसमूहको सूचक बढेको छ भने बाँकीको घटेको छ । वित्त ०.८०, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.२५ प्रतिशतले बढेको छ । घटेका उपसमूहहरूमा बैंकिङ ०.३५, विकास बैंक १.३५, होटल तथा पर्यटन ०.२४, जलविद्युत ०.५०, लगाानी ०.३९, जीवन बीमा ०.७६, म्युचल फण्ड ०.३४, नीर्जीवन ०.५७ र अन्य १.३० प्रतिशतले घटेको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा बढी ३१ करोड १६ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सीईडीबी होल्डिग्सको ३० करोड ६२ लाख, सेन्ट्रल फाइनान्सको २० करोड ७ लाख, नेपाल रिइन्स्योरेन्सको १५ करोड ८० लाख र सप्तकोशी विकास बैंकको १४ करोड ९० लाखको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

६ जना व्यवसायीले सुरु गरेको करेन्टले तहल्का पिट्दै, ५ अर्ब कारोबार, १५ देशमा निर्यात

काठमाडौं । काठमाडौंका प्रवेश कुँवर करेन्ट चाउचाउका पारखी हुन् । उनले हप्तामा कम्तीमा पनि तीन दिन करेन्ट चाउचाउ खान्छन् । विशेषगरी उनको दिउँसोको खाजा नै करेन्ट चाउचाउ बनेको छ । पहिला एकैखाले चाउचाउ खाने प्रवेशको अहिले स्वाद फेरिएको छ । हाल उनी नेपालमै उत्पादन भएको पिरो चाउचाउ खान रुचाउँछन् । करेन्ट मसालेदार र पिरो चाउचाउ हो । प्रवेश भन्छन्, ‘स्वाद नै क्या मज्जा छ, मलाई हट एन्ड स्पाइसी खानेकुरा भनेपछि खुबै मनपर्छ, त्यसैले करेन्ट बेला–बेला खाऊँ–खाऊँ लागिरहन्छ ।’ यशोदा फुड्स हाल नेपाली बजारमा निकै प्रख्यात नाम हो । जसले देशभित्रै उपलब्ध पदार्थको प्रयोग गरी करेन्ट चाउचाउ उत्पादन गरिरहेको छ । यतिमात्रै हैन, यशोदा फुड्सले देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल पनि भएको छ । विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा समेत ठूलो सहयोग गरिरहेको छ । रुपन्देहीका ६ उद्योगीहरू चुन्नु पौडेल, मधु घिमिरे, कमल मालपानी, नरिश्वर पौडेल, ऋषिराम भण्डारी र श्रवण बेरिवालले चलाएको कम्पनीको मुख्य कार्यालय तिलोत्तमा नगरपालिकाको पत्थरडाँडामा छ । छोटो समयमै चर्चामा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेल हुन् । सन् २०१७ देखि चाउचाउको उत्पादन थालेको कम्पनीले छोटो अवधिमा नै बजारमा तहल्का पिटिरहेको छ । चाउचाउ बजारमा ‘हट एण्ड स्पाइसी’ को आफ्नो छुट्टै पहिचान बनाएको करेन्टले पछिल्लो समय नेपाली बजारमा मात्र हैन, अन्तर्राष्ट्रिय बजारमा समेत छल्याङ मारिरहेको छ । केही समयअघिसम्म पिरो र मसलादार स्वादका स्वदेशी चाउचाउ नहुँदा केही कोरियन र जापानी नुडल्सहरूले नेपालको बजार लिइरहेको थियो । तर, कम्पनीले सोही बजारलाई बुझेर स्वदेशमा नै सर्वसुलभ मूल्यमा स्वादिलो र पिरो चाउचाउ उत्पादन थालेपछि आयातित चाउचाउ विस्तापित भएका छन् । कारखाना थप्दै आफ्नो उत्पादनको माग र लोकप्रिय बढ्दै गएपछि एशोदा फुड्सले थप कारखाना थप्दैछ । हाल बुटवल र कपिलवस्तुमा चन्द्रोटामा कम्पनीले कारखाना बनाउँदैछ । ६ वर्षअघि ‘लाली’ चाउचाउबाट उत्पादन थालेको यशोदा फूड्सले सँगै भुजिया, चिजबल्स, कुरकुरे पनि उत्पादन गर्न थाल्यो । वाईवाई, रमपम, प्रीति जस्ता तयारी चाउचाउको दबदबा रहेको अवस्थामा आफ्नो पहिचान बनाउन निकै मिहिनेत गरेको कम्पनीले पछिल्लो समय विभिन्न स्वाद र प्याकेटमा करेन्ट चाउचाउ उत्पादन गर्दै आइरहेको छ । करेन्टको बेग्लै स्वाद, हट एण्ड स्पाइसी र मसलेदार चाउचाउ भएकाले नै बजारमा स्थापित बन्न सफल भएको कम्पनीका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताए । चुन्नप्रसाद पौडेल । ‘करेन्टको बेग्लै स्वाद, हट एण्ड स्पाइसी र मसलेदार चाउचाउ भएकाले नै बजारमा स्थापित बन्न सफल भएका हौं,’ उनले भने, ‘स्वदेशी बजारमा मात्र होइन, आज विश्वका करिब दुई दर्जन मुलुकमा करेन्टको उच्च माग छ ।’ दैनिक १८ हजार प्याकेट उत्पादन कम्पनीका अनुसार हाल दैनिक २० टन अर्थात् १८ हजार प्याकेट करेन्ट चाउचाउ उत्पादन हुन्छ । तर, बजारको माग बढ्दा पछिल्लो समय यो उत्पादनले बजारको माग धान्न हम्मेहम्मे परिरहेको छ । कम्पनीले छिट्टै थप उत्पादन गर्ने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने योजना बनाएको छ । हाल कम्पनीले वार्षिक ३० हजार नौ सय मेट्रिक टन करिब ३१ करोड प्याकेट करेन्ट चाउचाउको उत्पादन तथा निर्यात गरिरहेको छ । कम्पनीले भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, भुटान, कोरिया, जापान, नेदरल्याण्ड, मलेसिया, दुबई पाकिस्तानलगायत विश्वका १५ देशहरुमा करेन्ट चाउचाउको निर्यात गर्दै आएको छ । ८० करोड रुपैयाँ बढीको चाउचाउ विदेश निर्यात भएको छ । कम्पनीका अनुसार गत बर्ष ५ अर्ब रुपैयाँको कारोबार गरेको थियो । एशोदा फुड्सले २०२१ मा २ अर्ब ६६ करोड ६० लाख रुपैयाँ बराबरको चाउचाउको व्यापार गरेको थियो । यसैगरी, २०२२ मा ३ अर्ब ४३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, सन् २०२३ मा कम्पनीले ४ अर्ब ९६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भयो । यसरी करेन्टको बजार आक्रामक रूपमा बढ्दै गर्दा चार दशकदेखि यही बजारमा एकछत्र राज गर्दैआएको वाइवाइमाथि चुनौती बढेको छ । व्यापारको बजार हिस्सा अब करेन्टले थप खोस्ने स्थिति बनेको छ । २ हजारभन्दा बढीलाई रोजगारी कम्पनीले देशभर प्रत्यक्ष्य रूपमा २ हजारभन्दा बढी मानिसलाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा ५ हजारलाई रोजगारी दिएको छ । सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तबाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामग्रीको बजारमा प्रव्रेश गरेको कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि ७ जिल्लाका करिब १० हजारभन्दा बढी कृषकमार्फत अकबरे खुर्सानीलगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ । करेन्टले देशभित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँग विदेशी आयतित चाउचाउ पनि घटेको छ । देशको खस्कँदो अर्थतन्त्रमा निर्यातमार्फत् केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफूजस्तै अन्य स्वदेशी उत्पादकहरूलाई पनि प्रोत्साहन गरिरेहको छ । लामो अनुसन्धानपछि नेपालमै उत्पादित पिरो चाउचाउले बजार पाउन सक्छ भन्ने पक्कापक्कीपछि यशोदा फुड्सले ‘करेन्ट’को उत्पादन सुरु गरेको हो । उत्पादनको ८ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ । विदेशमा पनि करेन्ट चाउचाउको मनग्य माग रहेको उत्पादक कम्पनी बताउँछ । यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष १ करोड अमेरिकी डलर (१ अर्ब ३९ करोड रुपैयाँ) बराबरको निर्यात हुन्छ । नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा, धनगढी, सुर्खेतजस्ता मुख्य सहरमा बढी बिक्री हुन्छ । नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ । कम्पनीकै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरु गरिसकेका छन् । यशोदा फूड्सले गुल्मी, अर्घाखाँची, स्याङ्जा, भोजपुर, इलाम, मकवानपुर, काभ्रे लगायत जिल्लाबाट पनि खुर्सानी खरीद गर्ने गर्दछ । चाउचाउमा प्रयोग हुँदै आएको ८० प्रतिशतजति कच्चा पदार्थ स्वदेशी नै रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार मैदा, मटर, प्याजलगायत कच्चा पदार्थ स्वदेशकै खपत हुन्छ । आयात गरिने २० प्रतिशतमा तेल तथा अन्य मरमसला पर्छन् ।

जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी

सुर्खेत । जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ रुपैयाँ आम्दानी गरेका हुन् । ‍ जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य जिल्ला खपत भएको कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले जानकारी दिए । जिल्लामा छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आइएको छ । गत वर्षको तुलनामा किसानले बोटबाट मनग्य मूल्य पाएकाले बजारीकरणमा समस्या नपरेको उनले बताए । ’यस वर्ष बोटबाट ५० देखि रु ८० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री भएको छ । किसानले सुरुमा रु ५० मा बिक्री गरेकामा अन्तिम समयसम्म प्रतिकिलो रु ८० सम्म मूल्य पाएका हुन्,’ आचार्यले भने । उनका अनुसार जिल्लाको कुसे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । किसानको खेतबारीमा पुगेर मल प्रयोग, काँटछाँट तथा औषधि दिनेसम्मको प्राविधिक सहायता दिएर सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताए । कुसे- ५ दम्दालाका किसान रामबहादुर मल्लले पछिल्लो समय सुन्तलाखेतीबाट मनग्य आम्दानी हुनुका साथै बजारीकरणको समस्या नरहेको बताए । पहिले सुन्तलाका लागि बजारको समस्या भए पनि अहिले सुर्खेत, नेपालगञ्जबाट व्यापारी बारीमा पुग्ने खरिद गरेका उनको भनाइ छ । पहिले अन्नबाली लगाउने खेतबारीलाई किसानले आजभालि सुन्तला बारी बनाउन लागेका कुसे- ५ दम्दालाकी जानुका मल्लले बताए । उनका अनुसार खेतीपातीभन्दा सुन्तलाबाट आम्दानी बढी हुने भएकाले यसतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय, पालिकाका कृषि शाखाले किसानका लागि प्राविधिक तथा यान्त्रिकीकरणमा सहयोग गर्दै आएका छन् ।