विकासन्युज

सरकारी बैंकमा सर्वसाधारणको आकर्षण बढाउन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय भवनको आज पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताए । देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्नेगरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उनले उल्लेख गरे । देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्न तत्पर रहेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारले निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको स्पष्ट पारे । पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटकपटक बैठक तथा छलफल गरिरहेको बताउँदै उनले यसको सञ्चालनमा सरकार गम्भीर रहेको बताए । सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश उद्योग, कृषि तथा पर्यटन विकासका प्रचुर सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । प्रतिनधिसभा सदस्य दामोदर वैरागीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक रामप्रसाद ज्ञवालीले आर्थिक सूचकहरूले देशको अर्थतन्त्र सकारात्मक दिशामा गएको बताए । बैंकका सञ्चालक लक्ष्मण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रकाश बराल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललले देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।

बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन् । रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उजका प्रेस संयोजक भीम थापाले जानकारी दिए । उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको र उनलाई सामान्य चोट लागेको नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

होटल क्षेत्रको नाफा साढे ११.२९ प्रतिशत बढ्यो, सिटि घाटामा कालिञ्चोक धनात्मक

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा होटल तथा पर्यटन क्षेत्रको नाफा साढे ११.२९ प्रतिशत बढेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूले चालु आवको पुस मसान्तसम्ममा ४८ करोड ३६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकी गत वर्षको पुसमा ४३ करोड ४५ लाख १६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेका थिए । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटल नोक्सानीमा छ भने ओरियण्टेल होटल्सको नाफा घटेको देखिन्छ । चन्द्रागिरी हिल्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ५.७८ प्रतिशत बढेर ६ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ७.६४ प्रतिशत घटेर ४२ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ७५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी ६८.११ प्रतिशत घटेर २४ लाख ४२ हजार रुपैयाँ र कुल आम्दानी ८.३० प्रतिशत घटेर ३६ करोड ७० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७६ लाख ५९ हजार रुपैयाँ अन्य आम्दानी र ४० करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३१.७७ प्रतिशत घटेर ८ करोड ७३ लाख रुपैयाँ, कर्मचारी खर्च ७.३० प्रतिशत बढेर ८ करोड ८३ लाख रुपैयाँ, प्रशासन खर्च ८.५४ प्रतिशत घटेर ५ करोड २१ लाख रुपैयाँ र कुल खर्च ०.८१ प्रतिशत बढेर १४ करोड ४ लाख रुपैयाँ गरेको छ । १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४१ लाख ९५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४७ पैसा बढेर ८.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९९.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०१.८४ गुणा रहेको छ । कालिञ्चोक दर्शनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ८५ लाख ७० हजार रुपैयाँ ऋणात्मक थियो । पुस मसान्तसम्ममा कम्पनीको आम्दानी ३०४.२६ प्रतिशत बढेर ३ करोड ८ लाख रुपैयाँ, सञ्चालन आम्दानी ३१.२९ प्रतिशत घटेर २ करोड ९० लाख रुपैयाँ, अन्य आम्दानी १११.४१ प्रतिशत बढेर ४ करोड ९५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४४ लाख ६५ हजार रुपैयाँ आम्दानी, ४० लाख २० हजार रुपैयाँ सञ्चालन आम्दानी र ३ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कर्मचारी खर्च ७३.७१ प्रतिशत बढेर ५६ लाख ६८ हजार रुपैयाँ, अन्य खर्च ८४.६१ प्रतिशत बढेर ५९ लाख ४८ हजार रुपैयाँ र वित्तीय खर्च २७९.३० प्रतिशत घटेर ५२ लाख २१ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले २६ लाख ८१ हजार रुपैयाँ कर्मचारी खर्च, ३४ लाख २४ हजार रुपैयाँ अन्य खर्च र २८ लाख २८ हजार रुपैयाँ वित्तीय खर्च गरेको थियो । ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ८५ लाख ९७ हजार रुपैयाँ धनात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी १.५८ रुपैयाँ रहेको छ । सोल्टी होटलको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १४.६८ प्रतिशत बढेर ३० करोड १७ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ३१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १६.०५ प्रतिशत बढेर १ अर्ब २१ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कर्मचारी खर्च १२.३८ प्रतिशत बढेर २८ करोड ८ लाख रुपैयाँ, प्रशासन खर्च १९ प्रतिशत बढेर १३ करोड ४५ लाख रुपैयाँ र कुल खर्च १५.८२ प्रतिशत बढेर ८४ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले कर्मचारी खर्च २४ करोड ९८ लाख रुपैयाँ, प्रशासन खर्च ११ करोड ३० लाख रुपैयाँ र कुल खर्च ७३ करोड २८ लाख रुपैयाँ गरेको थियो । कम्पनीको चुक्ता पुँजी ५ प्रतिशत बढेर ९२ करोड ८९ लाख रुपैयाँ र सञ्चित नाफा ०.३६ प्रतिशत बढेर १ अर्ब ४९ करोड २ लाख रुपैयाँ पुगेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ०.२८ रुपैयाँ बढेर ३.२५ रुपैयाँ पुगेको छ । ओरियण्टल होटल्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४६ प्रतिशत घटेर २८ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चान आम्दानी १२.२० प्रतिशत घटेर ४९ करोड १७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५६ करोड १ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल नाफा १३.१७ प्रतिशत घटेर ४९ करोड ९६ लाख रुपैयाँ र अन्य आम्दानी ४८.४५ प्रतिशत घटेर ७९ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ५५ लाख रुपैयाँ कुल नाफा र १ करोड ५४ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रशासन खर्च १३.४२ प्रतिशत बढेर ९ करोड ८६ लाख रुपैयाँ, वित्तीय खर्च ९.४३ प्रतिशत घटेर २ करोड ५७ लाख रुपैयाँ र कुल खर्च ८.७४ प्रतिशत घटेर ४३ करोड ७२ लाख रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ र जगेडा कोष १.४६ प्रतिशत बढेर २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.१८ रुपैयाँ घटेर २.५६ रुपैयाँमा सीमित भएको छ । सिटि होटल चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४९ लाख रुपैयाँ नोक्सानीमा छ । गत वर्षको सोही अवधिमा होटलले ११ करोड ७९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चान आम्दानी २.९८ प्रतिशत घटेर २३ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी ३९.६६ प्रतिशत घटेर २ करोड १४ लाख रुपैयाँ, बिक्री आम्दानी ९.५१ प्रतिशत घटेर ५ करोड ९० लाख रुपैयाँ र कुल आम्दानी ७.६५ प्रतिशत घटेर २५ करोड ७१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५४ लाख रुपैयाँ अन्य आम्दानी, ६ करोड ५२ लाख रुपैयाँ बिक्री आम्दानी र २७ करोड ८५ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ४.७१ प्रतिशत घटेर ४ करोड ७५ लाख रुपैयाँ, प्रशासन खर्च ५.१६ प्रतिशत बढेर ५ करोड ९३ लाख रुपैयाँ र कुल खर्च ६.५६ प्रतिशत घटेर १७ करोड ४६ लाख रुपैयाँ गरेको थियो । १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी कम्पनीको अन्य इक्विटी २६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक छ । तारागाँउ रिजेन्सी होटल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २.८३ प्रतिशत बढेको हो । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.८१ प्रतिशत बढेर ६९ करोड ४८ लाख रुपैयाँ, अन्य आम्दानी ३.८२ प्रतिशत बढेर ७ करोड ८५ लाख रुपैयाँ र कुल आम्दानी ८.२८ प्रतिशत बढेर ७७ करोड ३४ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको पुसमा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी, ७ करोड ५६ लाख रुपैयाँ अन्य आम्दानी र ७१ करोड ४२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ र जगेडा कोष २८.७० प्रतिशत बढेर १ अर्ब १० करोड ८ लाख रुपैयाँ गरेको छ । कम्पनीको प्रशासन खर्च ५.११ प्रतिशत बढेर १८ करोड ६७ लाख रुपैयाँ गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ पैसा घटेर ९.५२ रुपैयाँमा सीमित भएको छ ।  

अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी घरेलु तेल र ग्याँस उत्पादनलाई आंशिक रूपमा निर्यातको लागि नेतृत्व लिने जिम्मा दिइएको, राष्ट्रिय ऊर्जा प्रभुत्व परिषदको अध्यक्षता आन्तरिक मामिला मन्त्री डग बर्गमले गर्ने छन् । ट्रम्पले राष्ट्रपति कार्यालयभित्र कार्यकारी आदेशमा हस्ताक्षर गरिरहँदा बर्गमले भने, ‘राज्य लुइसियानामा कमनवेल्थ एलएनजीलाई तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात गर्न अनुमति दिनेछ।’ नयाँ निर्देशनसँगै नयाँ अपतटीय तेल र ग्यास ड्रिलिङमा बाइडेनको निर्देशनमा प्रतिबन्ध लगाइएको लगभग ६३५ मिलियन एकड (२.५७ मिलियन वर्ग किलोमिटर) अपतटीय सङ्घीय जल क्षेत्र अब तेल र ग्यास उत्पादनको लागि खुला भएको छ । राष्ट्रपति ट्रम्पले भने, ‘यदि तपाईं यसलाई कम्पनीको दृष्टिकोणबाट हेर्नुहुन्छ भने, तपाईं नेट वर्थको पक्षमा हनुहुन्छ भन्ने बुझिन्छ । उनीहरूले हाम्रो नेटवर्थ नष्ट गरेका छन्। हामी यसलाई फिर्ता गर्दैछौँ।’

लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका उपरथी ढकाललाई ‘यूएन लेभल-३’ अस्पतालमा पुर्याइएको थियो । अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए । घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेवनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेवनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ । लेवनानका प्रधानमन्त्री र लेवनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

३०% कम खर्च गर्ने भौतिकमन्त्री भन्छन्- नेपालको सडक यातायात सुरुङ युगमा प्रवेश गर्‍यो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको सात महिनामा कुल २८.१५ प्रतिशतमात्र खर्च गरेको छ । वर्तमान सरकार गठन भएको २ सय दिन पुगेको अवसरमा मन्त्रालयद्वारा गरिएका कार्यको जानकारी सार्वजनिक गर्दै चालु आव सकिन ५ महिना मात्र रहँदा अझै ७० प्रतिशतभन्दा बढी खर्च गर्न बाँकी रहेको जनाइएको हो । चालु आवमा मन्त्रालयका लागि चालुतर्फ ७ अर्ब ४८ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ १ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ गरी १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबीच पहिलो १ सय दिन (असोज ६ सम्म) सम्पन्न गर्ने १० र दोस्रो १ सय दिन (माघ १७ सम्म)मा सम्पन्न गर्ने १२ वटा मुख्य कार्यक्रम र तिनको लक्ष्यसहित सम्झौता गरिएको थियो । यातायात पूर्वाधारको विकास र यातायात प्रणालीको नीतिगत व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको यस मन्त्रालयले आफू र मातहतका सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र नेपाल पानीजहाज कार्यालयमार्फत सम्पादन भएका मुख्य कार्य, हासिल भएका उपलब्धि सार्वजनिक गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पहिलो १ सय दिनका लागि निर्धारित १० र २ सय दिनका लागि निर्धारित १२ कामका क्षेत्रमा किटान गरिएको लक्ष्यहरूको प्रगति लक्ष्य उन्मुख रहेको दाबी गरे । ‘यस अवधिमा मन्त्रालयले कतिपय ठूला आयोजना व्यवस्थापनमा देखिएका समस्या र स्रोत साधनको सीमितताका बाबजुद उच्च प्रतिफल हासिल गर्न आवश्यक सबै प्रयत्न गरेको छ, आगामी दिनमा आयोजना व्यवस्थापनका समस्या समाधान गरी जनअपेक्षा पूरा गर्न अझै प्रभावकारी ढङ्गले लाग्नेछौँ,’ उनले भने । हालसम्मका मुख्य प्रगति हालसम्म कुल कालोपत्रस्तरको नयाँ सडक दुई लेनको २४६ किलोमिटर र दुई लेनमाथिको ३०.५८ किलोमिटर सम्पन्न भएको मन्त्रालयको प्रगतिमा देखिएको छ । यसैगरी ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकामा ८२ प्रतिशत कार्य सम्पन्न भएको, काम गर्ने क्रममा देखिएका केही प्राविधिक विषयलाई सम्बोधन गरी आगामी चैत मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको मन्त्री दाहालले जानकारी दिए । उनका अनुसार नेपालको सडक यातायात क्षेत्र सुरुङ युगमा प्रवेश गरेको र सोही सिलसिलामा सिद्धबाबा मार्गको मुख्य सुरुङ खन्ने कार्यमध्ये चालु आवमा ८७६ मिटर सम्पन्न भएको छ । ‘उक्त सुरुङमार्गको सम्पूर्ण १ हजार १२६ मिटर खन्ने कार्य सम्पन्न भई प्रधानमन्त्रीबाट भर्चुअल रूपमा अन्तिम ब्रेकथ्रु भइसकेको छ । यसबीचमा काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङमार्गको पनि ब्रेकथ्रु भएको छ,’ उनले भने, ‘नागढुङ्गा सुरुङमार्ग निर्धारित समयमा सम्पन्न हुने अवस्थामा छ । सम्पन्न हुनासाथ सुरुङमार्गबाट यातायात सञ्चालन गर्नेगरी ‘मोडालिटी’ तयार भइरहेको छ ।’ नेपाली सेनाबाट निर्माणाधीन तराई-मधेस द्रुतमार्गको काम तीव्र ढङ्गले अगाडि बढेको छ । काठमाडौंतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रको समस्या समाधान गर्न सरोकार भएकाहरूसँग छलफल भइरहेको मन्त्री दाहालले जानकारी दिए । मन्त्रालयका सचिव केशवकुमार शर्माले सबै जिल्ला सदरमुकामलाई बाह्रै महिना राष्ट्रिय सडक सञ्जालसँग जोड्नेगरी यातायातको पहुँच विस्तार गर्ने सरकारको योजनाअनुसार काम भएको उल्लेख गरे । उजले सदरमुकामसँग जोड्न बाँकी हुम्लाको सिमिकोट जोड्नका लागि खार्पुनाथस्थित चुवाखोलामा बेलिब्रिज जडान गर्न नेपाली सेनालाई जिम्मा दिई कार्य अगाडि बढाइएको जानकारी दिए । उनकाका अनुसार राष्ट्रिय गौरवका पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी राजमार्ग र कालीगण्डकी करिडोरको विभिन्न खण्डमा ५६ किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा ७८.५ किमी सम्पन्न भएको छ । माघ मसान्तसम्ममा ४१ वटा पुल निर्माण सम्पन्न भएका छन् । ‘हेम्जा-नयाँपुल सुरु-ङमार्ग र कास्कीको विस्तृत सम्भाव्य अध्ययन कार्य सम्पन्न भएको छ । दुम्कीबास-बर्दघाट सुरूङमार्गको विस्तृत डिजाइन सम्पन्न भएको छ । तमोर कोरिडोर (चतरा-मुलघाट-सुभाङखोला) खण्डमा १४ किमी कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । रानी-विराटनगर-धरान खण्डको तरहरा-सेउती खण्डको पाँच दशमलव तीन किमी सडक चार लेनमा कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । भेडेटार-रवि-राँके खण्डमा केही सडक कालोपत्र भई निर्माण र विस्तार भइरहेको छ,’ सचिव शर्माले भने । सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडकअन्तर्गत खुर्साने, पाल्पाबाट पटौटी, अर्घाखाँचीसम्म विभिन्न स्थानको कार्य सम्पन्न भएको छ । पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवल खण्ड लामो समयदेखि निर्माण अवरुद्ध भइरहेकामा विभिन्न तह र चरणमा भएको छलफलपश्चात हाल निर्माणले तीव्रता लिएको छ । यसैगरी बुटवल चन्द्रौटा सडकको ६९ किमीमध्ये बुटवल गोरसिङ्गे खण्डको ५० किमी सडक चौडा गर्न ठेक्का सम्पन्न भई निर्माण सुरु भएको मन्त्रालयले जनाएको छ । रानी-विराटनगर-किमाथाङ्का (कोशी राजमार्ग) ट्रयाक खोल्ने कार्य भई यो सडक चीन, भारत र नेपालको त्रिदेशीय सडक सञ्जालका रूपमा जोडिएको छ । पृथ्वी राजमार्गको मुग्लिन-पोखरा पूर्वी खण्डमा ४.७५ किमी तथा पश्चिम खण्डमा ८.६८ किमी सडक चार लेन कालोपत्र सम्पन्न भई निर्माण अन्तिम चरणमा पुगेको छ । सचिव शर्माले गत आवमा भएको कामको भुक्तानी दायित्व रकम निर्माण व्यवसायीलाई भुक्तानी गरिसकिएको र यस आवमा सृजित दायित्व भुक्तानी गर्न प्रक्रिया अगाडि बढाइएको बताए । यातायात व्यवस्थापनतर्फ जिपिएस जडान गर्ने सम्बन्धमा यातायात तथा सवारी क्षेत्रका सम्बन्धित ‘स्टेकहोल्डर’सँग छलफल र परामर्शबाट प्रतिबद्धतासमेत प्राप्त भई सार्वजनिक सवारीसाधनमा जिपिएस जडान निरन्तर रूपमा अगाडि बढिरहेको छ । माघ मसान्तसम्म १ लाख ६९ हजार ४३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको मन्त्रालयले जानकारी दिएको छ । माघ मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट ३७ हजार ९५४ थान उत्पादन र ७ हजार ४७६ थान जडानका लागि यातायात कार्यालयमा वितरण गरिएको छ । जल यातायाततर्फ सुनकोशी र नारायणी नदीमा जलयान सञ्चलनका लागि अवरोध हटाउने तथा निर्माण गर्ने लक्ष्य रहेकामा कोशी नदीमा अवरोध हटाई जलयान सञ्चालन भइरहेको र नारायणगढमा रहेको नारायणी नदीको पुलबाट देवघाटसम्म जलमार्ग विस्तार कार्यको लागि बोलपत्र आह्वान भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय यातायात नीति, २०८१, सार्वजनिक सडकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१, सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१ र सडक सुरक्षासम्बन्धी विधेयक, २०८१ को मस्यौदा सुझाव तथा रायका लागि सातवटै प्रदेशमा पठाइएको छ । रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटस्थित सुनकोशी नदी पुल, अरनिको राजमार्गस्थित लिपिङ पुल, अरनिको राजमार्गस्थित खाँगदल पुल, उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदी पुल, धादिङ जिल्लास्थित आँखुखोलामा पुल, बेलिब्रिज निर्माण गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । बिपी राजमार्गलगायत बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको स्थायी रूपमा निर्माण तथा मर्मत र वैकल्पिक सडक निर्माणका लागि २५ अर्ब रुपैयाँको बजेट तथा स्रोत सुनिश्चितता गर्न र यस आवका लागि ६ अर्ब रुपैयाँको बजेट निकासा हुन अर्थ मन्त्रालय तथा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् तथा पुनर्निर्माण प्राधिकरणमा अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

कुनै पनि निकायमा फाइल एक टेबलमा ७ दिनभन्दा बढी राखेमा कारबाही हुने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँग आवश्यक छलफल गरी समस्या समाधान गरी अघि बढ्ने बताएका छन् । मन्त्रालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उद्योग वाणिज्य तथा आपूर्ति विभागका प्रमुख मोतिलाल दुगडसहितको टोलीसँग भएको भेटमा मन्त्री भण्डारीले निजी क्षेत्रले के चाहेको हो ? त्यो यथार्थ बुझ छलफलका माध्यमबाट समस्या समाधान गरिने उल्लेख गरे । ‘अब बजेट बनाउने काम सुरु हुन लागेको छ । बजेट बनाउने क्रममा निजी क्षेत्रका समस्या पहिचान गरी समाधानका विकल्पको खोजी गर्नेछौँ,’ उनले भने । मन्त्री भण्डारीले पछिल्लो समय कुनै पनि निकायमा फाइल एक टेबलमा सात दिनभन्दा बढी राखेमा कारबाही हुने व्यवस्था गरिसकेको जानकारी दिए । उनले भने, ‘हामी सर्वसाधारण तथा उद्योगी व्यवसायीको विषयमा चिन्तित छौँ । विद्यमान समस्या समाधान गर्न र देशलाई उन्नतितर्फ अघि बढाउन योजनाबद्ध काम गरिरहेका छौँ ।’ मन्त्रालय सुधार कार्यक्रममा लामो छलफल हुँदा निजी क्षेत्र नआएको भन्दै उनले किन नआएको भनी प्रश्न गरे । ‘बजेटमा सधैँ निजी क्षेत्रले राम्रो छ भनेर स्वागत गर्ने तर पछि कार्यान्वयनको क्रममा विरोध गर्ने गरेका छन् । यो नकारात्मक परम्परा हो, यसको अन्त्य जरुरी छ,’ उनले भने । मन्त्री भण्डारीले उद्योगी व्यवसायीका जायज माग सम्बोधन गर्दै विद्यमान समस्या समाधानका लागि आफू सधैँ तयार रहेको प्रतिबद्धता जनाए । आगामी आर्थिक वर्षको बजेटमा अर्थ मन्त्रालयलाई दिने करलगायत परामर्शको तयारीका लागि एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागलाई सुझावपत्र ल्याउन उनले आग्रह गरे । अहिलेको सरकारले निजी क्षेत्रसँग छलफल र संवादका माध्यमबाट औद्योगिक क्षेत्रको समस्या समाधान गरेको भन्दै कतिपय योजनाहरू निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न लागिएको जानकारी दिए । एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले सरकारको संस्थानका रूपमा रहेका उत्पादनमूलक उद्योग सञ्चालनको खाका तय गर्न आग्रह गरेको थियो । कतिपय उद्योगले उल्लेख्य प्रतिफल दिन नसकेको भन्दै सार्वजनिक निजी साझेदारी (पिपिपी) ढाँचामा सञ्चालन गर्न उक्त टोलीले सुझाव दिएको थियो । विभाग प्रमुख मोतिलाल दुगडले बुटवल धागो उद्योग, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, जडीबुटी कम्पनी, नेपाल औषधि लिमिटेडलगायत मुलुकमा औद्योगिक परिवर्तन ल्याउन सक्ने सम्भावना रहेका संस्थान भए पनि प्रतिफल दिन नसकेका बताए । उनले ती उद्योगहरूमा रहेका सम्पत्ति सरकारको नाममा सेयर कायम हुने गरी निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिनुपर्ने सुझाव दिए । सरकारले अध्यादेशमार्फत ऐनहरू संशोधन गरेको विषयमा विभाग प्रमुख दुगडले प्रशंसा गर्दै निजी क्षेत्रले राखेका माग र अर्थतन्त्रसँग जोडिएका समस्या समाधान गर्नेगरी संशोधन भएको बताए । ‘त्यसको हामी स्वागत गर्छौँ । निजी क्षेत्रको भवना बुझेर अध्यादेश आएकामा सरकारलाई धन्यवाद दिन चाहन्छौँ,’ उनले भने । निजी क्षेत्रको समस्या सुन्ने सरोकारवाला निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेकाले सबै किसिमका समस्या समाधान गर्न छलफल गर्नुपर्नेमा उनले जोड दिए । भेटमा उद्योगी व्यवसायी किशोर प्रधानले पछिल्लो समय स्वदेशी बजारमा उद्योगी व्यवसायी टिक्न नसक्ने अवस्थामा रहेकाले पुँजी पलायन भइरहेको बताए । पछिल्लो समय व्यावसायिक वातावरण बिग्रदै गएको विषयमा उजले सरकारको ध्यानाकर्षण गराए ।

संसदमा जनताका विषयवस्तु उठाएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ : सांसद कंसाकार

प्रतिनिधिसभामा आएको दुई वर्षभयो । यो दुई वर्षको कार्यकाल मेरो लागि अत्यन्त चुनौतीपूर्ण नै रह्यो । किन भने म करिब ११ वर्ष अगाडि तेजाब आक्रमणबाट पीडित भएको व्यक्ति हुँ । त्यसपछि दुई वर्ष जति कुमारी बैंकमा काम गरेँ । मलाई पहिला राजनीतिक क्षेत्र मन पर्दैनथ्यो । मन नपराइनपराइ पनि केही नयाँ गर्नुपर्छ भन्ने उद्देश्यले राजनीतिमा आएको हो । राजनीतिमा आएपछि धेरै कुरा सिक्ने अवसर पाएँ । हिजोको दिनमा सडकमा आन्दोलन गरेर हरेक कुराको लागि आवाज उठाइरहेकी थिएँ । त्यही आवाज मैले आज सदनमा उठाइरहेको छु । सदनमा बसेर जनताको काम गर्न पाइरहेको छु । हिजो म जस्तै एसिड आक्रमणमा परेकाहरूको लागि आवाज उठाइरहेको हुन्थे भने आज सम्पूर्ण देश र जनताका लागि आवाज उठाइरहेको छु । जनताको पक्षमा कानुन निर्माणका लागि पहल गरिरहेको छु । संविधान जारी भएको करिब १० वर्ष भएको छ । यो १० वर्षको अवधिलाई हेर्ने हो भने संविधान पूर्ण रूपमा कार्यान्वयन भएको छ भन्ने त होइन, तर केही कार्यान्वयन भएको छ । तर जब कानुन बन्छ, त्यो कानुन व्यावहारिक रूपमा हेर्दा अदालती प्रक्रियासम्म मात्र रहन्छ । कानुन बनाउने मात्रै होइन कि सांसद भएपछि त्यसलाई कार्यान्वयन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विसं २०७७ तिर तेजाबसम्बन्धी अध्यादेश आयो । त्यसका लागि कानुन पनि बनेको छ । कानुन बनिसकेपछि अदालती प्रक्रिया मात्रै भयो । जस्तो, ८ वर्षदेखि २० वर्षसम्म कैद भन्ने कुरा आएको थियो । अदालतले फैसला सुनायो, कैद पनि तोकियो तर पीडितले पाउनुपर्ने क्षतिपूर्ति भएन । आज पनि तेजाब खुलेआम बिक्री वितरण भइरहेको छ । तेजाब लिनका लागि हामी सामान्य परिचयपत्र वा कुनै पनि कागजात लिएर जाँदैनौँ । तर अध्यादेश र कानुनअनुसार आफ्नो परिचय नखुलाई तेजाब किन्न पाउनुहुन्न । तेजाब बेच्नेले पनि किन्ने मान्छेको पूरा विवरण लिएर मात्रै किन्न पाउँछ । कानुन यति कडा बनाइएको छ । तर कार्यान्वयन फितलो छ । संसद्मा जनताको सवाल अधिकतम उठाइएको छ । तर जनताको विषयवस्तु उठाएर मात्रै के नै हुन्छ र ? कानुन पनि चाहिन्छ । जनताका समस्या समाधन गर्नेतर्फ कानुनले ध्यान दिनुपर्छ । विषयवस्तु उठाउने मात्रै भन्दा पनि कार्यान्वयन हुनुपर्छ । मुलुकको सुशासन र समृद्धिको निम्ति कानुन बनाएर लागू गर्नुपर्छ । निर्वाचनको समयमा राजनीतिक दलका नेताले जनतासमक्ष जुन प्रतिबद्धता जनाएका हुन्छन्, अधिकांश अवस्थामा त्यसको कार्यान्वयन भएकै हुँदैन । केही समयअघि सरकारले नेपाललाई डिजिटल नेपाल बनाउने भनेको थियो । तर आज पनि बैंकबाट रकम ट्रान्सफर गर्दा ११-१२ रूपैयाँ काटेको हुन्छ । मन्त्री, सांसद आफैँले संसद्को रोस्ट्रममा उभिएर बोलेको कुरा कार्यान्वयन हुँदैन । त्यसैले मुलुकलाई सुशासन दिँदै समृद्धितर्फ लैजाने हो भने राजनीतिक दलका नेताले भाषण मात्रै गरेर हुँदैन । कार्यान्वयन मुख्य कुरा हो । युवालाई रोजगारीको कुरा गर्दा मैले पटकपटक संसद्मा हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि कुरा उठाउँदै आएकी छु । यो उद्योग बन्द भएको छ महिना भयो । देशमा चल्दाचल्दै बन्द भएका धेरै उद्योगहरू अहिले पनि बन्द भएका छन् । ती उद्योगलाई सरकारले फेरि सञ्चालन गरेर युवालाई रोजगारीको व्यवस्था गर्नुपर्छ । निजी उद्योगहरू चलि नै रहेका छन् । तर सरकारले सञ्चालन गरेका उद्योग किन बन्द भइरहेका छन् ?  त्यसबारेमा सरकारले समीक्षा गरेर अगाडि बढ्नुपर्छ । सरकारहरूले नै भएका कलकारखाना र उद्योगहरू बन्द गरेर युवालाई विदेश जान बाध्य बनाउँदै छन् । एकातिर सरकारले युवालाई रोजगारी दिन्छौँ भनिरहेको हुन्छ, अर्कोतिर भएका उद्योगहरू धमाधम बन्द गर्दै गएको पाइन्छ । यसरी त युवालाई रोजगारी दिन सकिँदैन, देशभित्रै युवालाई राख्न सकिन्न । रोजगारीका लागि सरकारले उत्पादनमा जोड दिनुपर्छ । हेटौँडा कपडा उद्योग, रबर उद्योग, नेपालको गलैँचा विश्वमै प्रसिद्ध छ । रोजगारी सिर्जना गर्न गाह्रो छैन । तर सरकारसँग गर्ने तत्परता छैन । मैले केही समय अगाडि जलनसम्बन्धी गैरसरकारी विधेयक संसद्मा दर्ता गरेकी छु । त्योभन्दा पछि सरकारले ल्याएको विधेयक प्रतिनिधिसभामा लगिएको छ । जलनसम्बन्धी विधेयकका लागि मैले मात्र आवाज उठाएर हुँदैन । सबैले आवाज उठाउन जरूरी छ । जलनसम्बन्धी विधेयक अतिआवश्यक विधेयक हो । यसलाई ल्याउनका लागि देशका सचेत नागरिकले सकारात्मक दबाब दिन जरूरी छ । केही दिन अघि काठमाडौँकै एक पसलमा आगलागी हुँदा ११ जना मानिस घाइते भएका छन् । दुई जनाको निधन भयो । त्यतिमात्रै होइन विभिन्न समयमा गर्मी वा जाडोको बेलामा मानिस जलनमा परेका हुन्छन । नेपालको तथ्याङ्क हेर्ने हो भने बर्सेनि ६० देखि ६५ हजार मानिस जलनको समस्यामा परेका छन् । उहाँहरूलाई न कुनै उपचार छ, न सरकारले कुनै राहत नै दिएको छ । धेरै आवाज उठिसकेपछि अहिले सरकारले सातै प्रदेशमा जलन अस्पताल बनाउने निर्णय गरेको छ । तर कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने मात्रै हो । नेपालको जुनसुकै ठाउँमा जलन भए पनि आउने भनेको काठमाडौँको कीर्तिपुर अस्पताल नै हो । तर त्यहाँ पनि पर्याप्त बेड छैन । (राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य विन्दबासिनी कंसाकार प्रतिनिधिसभाको सांसद हुन् । १० वर्ष अगाडि ९ वैशाख २०७० मा उहाँमाथि तेजाब (एसिड) आक्रमण भएको थियो । उनले मकवानपुर जिल्लाबाट संसद्मा प्रतिनिधित्व गर्छिन् ।)रासस