विकासन्युज

आगलागीबाट वडा कार्यालय जोगाउन प्रहरीलाई युवा उद्यमी पाण्डेको साथ

काठमाडौं । बालुवाटारमा भएको आगलागीबाट वडा कार्यालयको भवन जोगाउन युवा उद्यमी प्रणवजंग पाण्डेले सचेत नागरिकको भूमिका निर्वाह गरेका छन् । बुधबार मध्यान्ह विद्युतीय ट्रान्सफर्मरमा आगलागी भएपछि लोमस पेरेन्टल्स एन्ड फर्मुलेशन्सका कार्यकारी निर्देशक पाण्डेले सक्रियता देखाए । उनकै सहयोगमा प्रहरीले वडा कार्यालयको भवन जोगाउन सफल भयो । आगलागीपछि वरिपरि कोही नहुँदा युवा उद्यमी पाण्डेले सडकको सबै ट्राफिक रोकी तत्काल नेपाल प्रहरी क्षेत्रीय डिएसपी सुनिलजंग शाहलाई फोनगरी घटनाबारे जानकारी दिएका थिए । आगलागी करिब २ घण्टापछि नियन्त्रणमा आएको थियो । उद्यमी पाण्डेले घटनाको नालीबेली फेसबुकका पोस्ट गरेका छन् । उनले लेखेका छन्,‘त्यतिबेला मैले सक्रियता नदेखाएको भए अझ ठुलो क्षति हुने थियो र वडा कार्यालयको भवनमा समेत ठुलो नोक्सान हुने अवस्था थियो । आज म बालुवाटार चोकमा एक्लै थिएँ । त्यहाँ कुनै प्रहरी वा सरकारी अधिकारी थिएनन् । त्यही बेला ट्रान्सफर्मरमा आगलागी भयो, जुन निकै ठूलो थियो र नियन्त्रण गर्न २ घण्टा लाग्यो । मैले नेपाल प्रहरी क्षेत्रीय डिएसपी सुनिलजंग शाहलाई फोन गरें । एपीएफ काठमाडौंका एसपी सैलेश सर र दमकल टोली पनि समन्वय गरेर छिट्टै आइपुगे । मैले एक्लै सडकको सबै ट्राफिक रोकें । डिएसपी सुनिलजंग शाह आफै फिल्डमा उपस्थित थिए ।’

बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल)ले प्राप्त गर्‍यो आईएसओ प्रमाणपत्र

काठमाडौं । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर व्यवस्थापनको लागि आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१ः२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ । टीयूभी नर्डले यी प्रमाणपत्र दिएको हो जसले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई देखाउँछ । बर्जर नेपालका कन्ट्री मेनेजरले आफ्नो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने यो उपलब्धिमा गर्व महसुस गरेको बताए । यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल)ले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुनः पुष्टि गर्न सफल भएको छ ।

अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाइएको घोषणा गरेका थिए । ट्रम्पले गत हप्ता स्टील र आल्मुनियममा २५ प्रतिशत नयाँ कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । ‘आयातित कारहरूमा थप अमेरिकी कर दर करिब २५ प्रतिशत हुनेछ,’ अप्रिल २ को आसपास सार्वजनिक गर्ने शुल्कको बारेमा नयाँ जानकारी दिँदै उनले मङ्गलबार भने । विश्व व्यापार सङ्गठनका लागि चीनका राजदूत ली चेङगाङले विश्व व्यापार सङ्गठनको निर्णय लिने ‘जनरल काउन्सिल’को यस वर्षको पहिलो बैठकमा भने, ’विश्वले करका लागि शृङ्खलाबद्ध झट्काको सामना गरिरहेको छ ।’ अमेरिकाले विश्व व्यापार सङ्गठनको नियमको ठाडो उल्लङ्घन गर्दै चीनलगायत आफ्ना व्यापारिक साझेदारहरूमाथि एकतर्फी र स्वेच्छाचारी रूपमा कर लगाएको वा धम्की दिएको छ। चीनले यस्ता कदमको कडा विरोध गर्दछ। उनले भने, ‘यी करसम्बन्धी निर्णयले आर्थिक अनिश्चितता बढाउँछ, विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछ, र घरेलु मुद्रास्फीति, बजार विकृति वा विश्वव्यापी मन्दीको जोखिम पनि बढाउँछ।’ लीले अमेरिकी एकपक्षीयताले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई ध्वस्त पार्ने खतरा रहेको बताए ।

५ वर्षमा दोब्बर बढ्यो जीवन बीमा कम्पनीको लगानी, कुन क्षेत्रमा कति गरे ?

काठमाडौं । बीमा व्यवसायको विस्तारसँगै जीवन बीमा कम्पनीहरूबाट भएको लगानी वार्षिक रूपमा वृद्धि हुँदै गएको छ । बीमा कम्पनीहरू लगानी वृद्धि नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको २०८०/८१ को वार्षिक प्रतिवेदनले नै देखाएको हो । तथ्यांकअनुसार पाँच आर्थिक वर्षमा बीमा कम्पनीहरूको लगानी १३० प्रतिशत अर्थात् ३ खर्ब ६३ अर्ब ९८ करोड रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा बीमा कम्पनीहरुको विभिन्न क्षेत्रमा २ खर्ब ७९ अर्ब २९ करोड रुपैयाँ लगानी थियो ।  पाँच वर्षको अवधिमा दोब्बरले बढेर आव २०८०/८१ मा आइपुग्दा जीवन बीमा कम्पनीहरूको लगानी ६ खर्ब ४३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बीमा कम्पनीहरूले आव २०७७/७८ मा ३ खर्ब ३ खर्ब ५८ अर्ब ७ करोड रुपैयाँ, २०७८/७९ मा ४ खर्ब ५० अर्ब ७ करोड रुपैयाँ र आव २०७९/८० मा ५ खर्ब ३५ अर्ब ६२ करोड रुपैयाँ लगानी थियो । कुन कम्पनीको कति लगानी ? पाँच वर्षको अवधिका सबैभन्दा धेरै लगानी वृद्धि नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । लगानी विस्तारमा आक्रामक बन्दै आव २०८०/८१ मा आइपुग्दा नेपाल लाइफको लगानी १ खर्ब ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । आव २०७६/७७ मा नेपाल लाइफको लगानी ३४ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । नेपाल लाइफले आव २०७७/७८ मा ८२ अर्ब ४२ करोड, २०७८/७९ मा १ खर्ब १५ करोड ४७ करोड र २०७९/८० मा १ खर्ब ३८ अर्ब ९० करोड लगानी गरेको तथ्याङ्क छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले आव २०७६/७७ मा ६६ अर्ब ८३ करोड लगानी रहेकोमा आव २०८०/८१ मा आइपुग्दा १ खर्ब १९ करोड रहेको छ । लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ६६ अर्ब १६ करोड, आव २०७८/७९ मा ७६ अर्ब ३६ करोड र आव २०७९/८० मा ८६ अर्ब ५१ करोड लगानी गरेको थियो । राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच आर्थिक वर्षमा २४ अर्ब रुपैयाँले लगानी बढाएको छ । उक्त जीवन बीमा कम्पनीले आव २०७६/७७ मा २४ अर्ब २६ करोड लगानी गरेकोमा आव २०८०/८१ मा बढाएर ४९ अर्ब २४ करोड पुर्‍याएको देखिन्छ । कम्पनीले आव २०७७/७८ मा ३१ अर्ब ५८ करोड, २०७८/७९ मा ३७ अर्ब ४३ करोड, २०७९/८० मा ४१ अर्ब लगानी गरेको थियो । एशियन लाइफ इन्स्योरेन्सले आव २०८०/८१ मा ४१ अर्ब १२ करोड लगानी गरेको छ । उक्त कम्पनको आव आव २०७६/७७ मा १९ अर्ब ६७ करोड रुपैयाँ मात्रै लगानी थियो । त्यस्तै मेट लाइफले आव २०७६/७७ मा २० अर्ब ३६ करोड लगानी गरेकोमा आव २०८०/८१ मा २८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सले आव २०८०/८१ मा १५ अर्ब १३ करोड लगानी गरेको छ । उक्त कम्पनीको पाँच वर्षअघि अर्थात आव २०७६/७७ मा २ अर्ब ८३ करोड मात्रै लगानी गरेको देखिन्न्छ । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७६/७७ मा ३ अर्ब ५५ करोड लगानी गरेकोमा आव २०८०/८१ मा १६ अर्ब २६ करोड पुगेको छ । ८० प्रतिशतभन्दा बढी लगानी बैंकिङ क्षेत्रमा जीवन बीमा कम्पनीहरूको आव २०८०/८१ मा बैंकिङ क्षेत्रमा मात्रै ८० प्रतिशतभन्दा बढी लगानी गरेका छन् । कम्पनीहरूले सबैभन्दा धेरै ५ खर्ब २१ अर्ब ३६ करोड रुपैयाँ बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा भएको छ । कम्पनीहरूले बैंकिङ क्षेत्रपछि धेरै ऋणपत्रमा ११.१३ प्रतिशत अर्थात ७१ अर्ब ५८ करोड बराबरको लगानी गरेको देखिन्छ । त्यस्तै, जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ३६ करोड (५.०३) साधरण सेयरमा लगानी गरेका छन् । बीमा कम्पनीहरूको सबैभन्दा न्यून लगानी ३ अर्ब १० करोड अर्थात ०.४८ प्रतिशत सरकारी ऋणपत्रमा रहेको छ । बाँकी १४ अर्ब ८७ करोड अर्थात २.३१ प्रतिशत अन्य क्षेत्रमा लगानी भएको तथ्यांकमा देखिन्छ ।

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

खाँदबारी । हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए । उनका अनुसार विमानस्थल वरिपरि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो । तुवाँलो बढ्दा यसअघि विमानस्थलमा पाँच सय मिटर मात्रै भिजिबिलिटी थियो । तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन ।

‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार

गलकोट । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो । करिब ३४ करोड रुपैयाँ लागतमा पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा ७० लाख रुपैयाँ र दोस्रो चरणमा साढे दुई करोड गरी तीन करोड २० लाख रुपैयाँको पूर्वाधार निर्माण गत वर्षदेखि सुरु भएको हो । उक्त पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न गत वर्ष मात्रै ७० लाख रुपैयाँको पूर्वाधार निर्माण भइसकेको र यस वर्ष रु साढे दुई करोडको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न ठेक्का आह्वान गरिएको नगर कार्यालयले जनाएको छ । पर्यटकीय गन्तव्य बनाउन पालिकाले गत वर्षदेखि गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पूर्वाधार निर्माण गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको बागलुङ–९ का वडाध्यक्ष राजु थापाले बताए । ‘नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ । यहाँ सडक स्तरोन्नति आवश्यक छ’, उनले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउने छन् ।’ गत वर्ष जग्गा सम्माउने, जग निर्माण गर्नेलगायत पूर्वाधार निर्माण गरेको बागलुङ नगरपालिकाले यस वर्ष भवनमाथि विशाल शिवमूर्ति निर्माण गर्ने योजनासहित बोलपत्र आह्वान गरेको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार ब्लु हिल क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जिम हल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गरिनेछ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्याउन नगरपालिकाको ठूलो बजेट लगानी गरिरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरले गत वर्ष यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन ७० लाख रुपैयाँ बजेट विनियोजना गरी उक्त बजेटबाट चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने काम सम्पन्न गरिसकेको छ । यस वर्ष बहुउद्देश्यीय भवन निर्माण र मूर्ति बनाउन ठेक्कामा दिने तयारी थालिएको नगरप्रमुख श्रेष्ठले उल्लेख गरे । ‘नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय वातावरणीय हिसाबले हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी गत वर्ष शिलान्यास गरेको ठाउँमा यस वर्ष रु साढे दुई करोडको पूर्वाधार निर्माण हुनेछन्’, नगरप्रमुख श्रेष्ठले भने, ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँबाट हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमाल देख्न सकिन्छ ।’ समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको छ । डिपिआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ । रासस

प्रोटन इमास सेभेनको पान नेपाल भ्रमण सुरु

काठमाडौं । विद्युतीय कार (ईभी) प्रोटन इमास सेभेनले बुधबार काठमाडौंबाट आफ्नो इमास सेभेन पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास सेभेन भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्ने जनाइएको छ । भ्रमणले इमास सेभेनको नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन नगरी दिगोपन र पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउनेछ । प्रोटन इमास सेभेनको भ्रमणले नेपाली उपभोक्ताहरूलाई सवारीसाधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको छ । जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री यो भ्रमणले ग्राहकहरूसँगको सम्बन्ध बलियो बनाउने बताए । प्रोटोन इमास सेभेनको टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउँछ । मार्च २०२५ मा नेपालमा लन्च हुने प्रोटन इमास सेभेन दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुने जगदम्बा मोटर्सले जनाएको छ । प्रोटन इमास सेभेन मलेसियामा गत डिसेम्बरमा लन्च भएकाे थियाे । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि इमास सेभेन इभी लन्च गर्ने तयारी गरेको छ । इमास सेभेन प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध रहेका छन् । इमास सेभेनले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको कम्पनीले जनाएकाे छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ । शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौं ल्याउने र मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छः पूर्व कार्यकारी निर्देशक थापा

काठमाडौ‌ं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएकाले काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरेका हुन् । उनले भने, ‘काम गर्दा तपाईंहरूले केवल बैंकिङ प्रणालीका आधारभूत सीप मात्र होइन, अपार नवीनतम प्रविधिहरू र आर्थिक विश्लेषणका विविध पद्धतिहरू पनि सिक्ने अवसर पाउनुहुनेछ ।’ थापाले बैंकिङ क्षेत्रका चुनौतीहरूको विश्लेषण गर्दै भने, ‘बैंकिङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठूलो दबाब भइ जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’ उनले प्रविधिको प्रभाव र यसको महत्त्वलाई सम्बोधन गर्दै प्रविधिको युगमा बैंकिङ क्षेत्रका लागि नयाँ अवसर र चुनौतीहरू आएको बताए । ‘यदि तपाईं बैंकिङ क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहनुहुन्छ भने तपाईंलाई डिजिटल प्लेटफर्म र प्रविधि सम्बन्धी ज्ञान प्राप्त गर्न अनिवार्य रूपमा ध्यान दिनु पर्छ । यससँगै ग्रीन फाइनान्स र म्याक्रो फाइनान्स जस्ता नयाँ क्षेत्रमा पनि ध्यान दिन आवश्यक छ,’ उनले भने । थापाको भनाइ अनुसार बैंकिङ क्षेत्रमा भविष्यका अवसर र चुनौतीहरूलाई स्वीकार्दै नयाँ सीप र प्रविधिको उपयोग गर्न आवश्यक रहेको छ ।