विकासन्युज

सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार ८ सय पुग्यो

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । आइतबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।

बाटो काट्नेहरूको हेलचेक्र्याँई (तस्बिरहरू)

काठमाडौं । प्रायः काठमाडौं उपत्यकाका सडकमा बाटो काट्नका लागि पुल बनाइएको हुन्छ । पुल नभएका ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । अझ केही समय यता उपत्यकाका केही ठाउँहरुमा आफैँले स्विच थिचेर बाटो काट्ने (पेलिकन क्रसिङ) प्रविधि जडान गरिएको छ । सडकमा पैदल यात्रुलाई हुने असहजतालाई सहज बनाउन र सुरक्षित बनाउन भन्दै यो प्रविधि भित्र्याइएको हो । तर जनचेतनाको अभाव र हेलचेक्र्याँईका कारण मानिसहरु आकाशे पुल, जेब्रा क्रसिङ भन्दा बाहिरबाटै बाटो काट्ने गरेका छन् । यसले जनधनको क्षति दिनप्रतिदिन बढिरहेको देख्न सकिन्छ । पैदल यात्रुहरुको हेलचेक्र्याँई यतिसम्म हुन्छ की नजिकै पुल छ भनेपनि पुलबाट नभइ तलैबाट बाटो काट्ने गर्दछन् । यसले सडक दुर्घटना बढाइरहेको छ । ख्यालख्याल गर्ने प्रवृत्तिमा सुधार गरेर सुरक्षित तवरले सडक काट्ने बानी बसाल्न नसक्दा यि दुर्घटनाहरु बढ्दै गइरहेका छन् । साथै कतिपयलाई जनचेतनाको अभाव पनि छ । उनीहरुलाई चेतना बिस्तार गर्ने अभियान सञ्चालन गर्न जरुरी पनि छ ।

क्षतिग्रस्त २६ आयोजना पुनःनिर्माणका लागि पौने १९ अर्ब बजेट, बीपी राजमार्गलाई साढे ८ अर्ब

काठमाडौं । सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त २६ वटा सडक तथा पुल आयोजना पुनःनिर्माणका लागि बजेटको व्यवस्था गरेको छ । सडक विभागका अनुसार सडक तथा पुल पुनःनिर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको बजेट सुनिश्चितता गरेको हो । गत आइतबार १३ वटा सडक र १३ वटा पुल पुनःनिर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । साेही अनुसार मन्त्रालयले उक्त बजेटमा स्रोत सहमति गरेको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए । यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत मंगलबार स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका थिए । अर्थको निर्णयसँगै सडक र पुलको स्थायी निर्माणका लागि बाटो खुलेको सूचना अधिकारी शर्माले बताए । उनले यी आयोजनाहरू अब निर्माणका लागि चाँडै प्रक्रिया अगाडि बढाइने जानकारी दिए । उनले भने, ‘भत्किएका सडक र पुल बनाउन अर्थबाट पुनःर्निर्माणको अनुमति पाएका छौं । अर्थमन्त्रालयबाट अब आउने रकमले भत्किएका पुल, सडक सबै बनाइनेछन् । कुल बजेटमध्ये बाढी र पहिरोबाट क्षतिग्रस्त राजमार्ग निर्माणका लागि १६ अर्ब ९८ करोड रुपैयाँ स्रोत सुनिश्चितता भएको छ भने पुल पुनःनिर्माणका लागि एक अर्ब ९० करोड १० लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता भएको छ ।’ सूचना अधिकारी शर्माका अनुसार राजमार्गमध्ये मुख्य सडकका लागि १५ अर्ब ८३ करोड १० लाख र वैकल्पिक सडकका लागि १ अर्ब १५ करोड बजेट सुनिश्चितता भएको हो । यस्तै, पुल निर्माणका लागि एक अर्ब ९० करोड १० लाख गरी क्षतिग्रस्त सडक तथा पुल पुनःनिर्माणका लागि १८ अर्ब ८८ करोड २० लाख रुपैयाँ कुल बजेट सुनिश्चित भएको जनाइएको छ । बीपी राजमार्गमा हाल सबैभन्दा बढी समस्या रहेको सडक विभागले जनाएको छ । त्यहाँ राजमार्गमा अस्थायी रूपमा खोला फर्काएर सवारीसाधन सञ्चालन गरिएको छ भने बर्षाद नजिकिँदै गरेको तर हालसम्म निर्माणको काम सुरु गर्न नसकिएको विभागका सूचना अधिकारी शमाले जानकारी दिए । उनले अस्थायी मर्मत भने सुरु गरिएको बताए । सबैभन्दा धेरै रकम बीपी राजमार्गलाई बजेटमा सबैभन्दा बढी बीपी राजमार्गका लागि ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको र उक्त राजमार्ग स्थायी रूपमा निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत रकम माग गरिएको बताइएको छ । जसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ माग गरिएको हो  । काभ्रे भन्ज्याङ-नेपालथोक खण्डको १२ किलोमिटर सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको ८.७ किमि सडकखण्ड रोशी खोलाले बगाएको छ  । काभ्रेको चौकीडाँडादेखि मुल्कोटसम्मको सडकमा समस्या छ भने त्यसमा पनि बढी समस्या चौकीडाँडादेखि नेपालथोक खण्डमा रहेको छ  । बाढीले सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति पु¥याएको छ । यसैगरी, मेची राजमार्ग पुनर्निमार्णका लागि ६० करोड बजेट स्रोत सुनिश्चितता भएको छ भने यसमध्ये चालु वर्षका लागि १२ करोड बजेट दिइनेछ । जसमा १ करोड ५० लाख रुपैयाँ अस्थायी रूपमा पुनर्निर्माणका लागि सुनिश्चितता भएको जनाएको छ । खुर्कोट-मिल्टी सडक पुनःनिर्माणका लागि ४० अर्ब रुपैयाँ दिइने जनाइएको छ । यसमध्ये यो सडक पुनःनिर्माणका लागि चालु आवमा ८ करोड बजेट विनियोजन हुनेछ । साथै यो सडक अस्थायी रूपमा निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन हुनेछ । यस्तो छ आवश्यक बजेट विवरण यस्तै, बाढीपहिरोबाट क्षतिग्रस्त पुल पुनःनिर्माणका लागि सरकारले १ अर्ब ९० करोड १० लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेको छ । जसमा सबैभन्दा बढी बजेट सुनकोशीस्थित उदयपुर-खोटाङ जोड्ने फोक्सिङटार पुललाई परेको छ । यो पुल पुनःनिर्माणका लागि ३५ करोड रुपैयाँ बजेट स्रोत सुनिश्चित भएको छ । यसका लागि चालु आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन हुनेछ । यो पुल बाढीले बगाएपछि सरकारले २ करोड लागतमा बेलीब्रिज निर्माण गरेको थियो। यस्तै, लार्चा पुल पुनःनिर्माणका लागि २५ करोड रुपैयाँ दिइने भएको छ । यो पुल पुनःनिर्माणका लागि दुई करोड २५ लाख रुपैयाँ चालु वर्षमा दिइने जनाइएको छ । यसैगरी, लिपिङ पुलका लागि १० करोड, हेवा खोला पक्की पुल २५ करोड हेवा खोला बेलिब्रिज पाँच करोड, सुनकोशी खैरेनीटार पुल २५ करोड, बागमती बगुवा पुल ९आरसीसी० १८ करोड, बागमती बगुवा बेलिब्रिज ६ करोड, पुवा खोला पुल ९मेची० १७ करोड ७० लाख, पुवा खोला बेलिब्रिज ३ करोड ७० लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता भएको छ । यसैगरी, जोगबनी खोलामा बेलिब्रिजका लागि दुई करोड ७० लाख र खुर्कोट पुल पुनर्निर्माणका लागि १५ करोड बजेट स्रोत सुनिश्चित भएको छ। वैकल्पिक तीन सडकका लागि १ अर्ब १५ करोड बजेट सरकारले वैकल्पिक तीन सडकका लागि १ अर्ब १५ करोड बजेट छुट्याएको छ । कार्भेको भकुन्डेबेसी-तिमाल-सिन्दुरेटार, दोलखाको किर्नेटार-जाफे र थानकोट-चित्लाङ तीन वैकल्पिक सडक हुन्  । यी सडकका लागि १ अर्ब १५ करोड माग गरिएको हो । यसमध्ये भकुण्डे-तेमाल-सिन्दुरेटार सडक पुनःनिर्माणका लागि ४५ करोड स्रोत सुनिश्चित भएको छ । किर्नेटार-जाफे सडकका लागि ४५ करोड र थानकोट=चित्लाङ सडकका लागि २५ करोड बजेट सुनिश्चितता भएको सडक विभागले जनाएको छ । पुनःनिर्माणका लागि बजेटको समस्या समाधान भएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्याल बताउँछन् । उनले भने, ‘बाढीपहिरोबाट क्षति भएका सडक र पुलको मर्मतको काम अब छिट्टै थालिनेछ । यसमा जापानले पनि सहयोग गर्ने भनेको छ तर निर्णय भने यसबारेमा केही भएको छैन । आशा छ सहयोग गर्छ होला ।’

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

सुन्दरहरैँचा । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका थिए । अस्वथाका कारण साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित भएकी थिइनन् । शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सो सम्मान ग्रहण गरेका थिए । साहित्यका घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत हस्तान्तरण गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उनले प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको र १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको बताए । मानसिक रूपमा सक्षम तथा शारीरिक रूपमा अशक्त साहित्यकार झमकको जन्म २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तका रूपमा जन्मिएकी उनको बाल्यकाल कष्टकर बितेको थियो । उनलाई साहित्यले नै सफलताको बाटो कोर्यो । ‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार प्राप्त गरेका थिए । किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गरे । त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छेभित्रका योद्धा–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता सङ्ग्रह प्रकाशित छन् । उनका एउटा क्वाँटी (विभिन्न विधा) सङ्गह, (अवसान पछिको आगमन–२०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटा–२०५७), एउटा कथा सङ्गह (पर्दा, समय र मान्छे–२०६२) र एउटा निबन्ध सङ्ग्रह (बेमौसमका आस्था–२०६३) प्रकाशित छन् ।

सवारी चालक अनुमतिपत्रको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

गड्डाचौकी । महेन्द्रनगर– कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट –५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिए । उनका अनुसार परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको निरीक्षक जोशीले बताए । उनीहरुले अरु दुईजनाको हाजिर गरी परीक्षा दिएकाले प्रहरीको सहयोगमा पक्राउ गरी कञ्चनपुर प्रहरी कार्यालयको जिम्मा लगाइएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताए । पक्राउ परेका दुबै जनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको कार्यालय प्रमुख भट्टले बताए । कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको प्रमुख भट्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं निरीक्षक जोशीले पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको बताए । ‘पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको छ,’ निरीक्षक जोशीले भने ‘अनुसन्धान सकिएपछि मात्रै उनीहरुलाई कुन शीर्षकमा मुद्दा लाग्छ त्यसबारे निर्णय लिन्छौँ ।’

लमजुङमा गयो भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

भोजपुर । भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन् । भोजपुरको हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानले यसको खेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडौँ हुँदै जापान, कोरियासम्म जाने गरेको स्थानीय कफी व्यवसायी सुनिल श्रेष्ठले बताए । अर्गानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उनको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी सङ्कलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिए । यो वर्ष यहाँबाट करिब पाँच हजार किलोग्राम कफीको कच्चापदार्थ निर्यात भएको उनले बताए । धेरै किसानले कफीको खेती विस्तार गरिरहेकाले आगामी दिनमा भोजपुरबाट निर्यात हुने कफीको मात्रा बढ्ने उनको भनाइ छ ।  ल्याब परीक्षण गरेर अर्गानिक ठहरिएको खण्डमा समुद्री सहतबाट एक हजार एक सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइसम्म उत्पादन भएको अर्गानिक कफीको बाहिरको बजारमा बढी माग रहेको व्यवसायी श्रेष्ठले बताए । ‘पछिल्लो समय भोजपुरका किसान व्यावसायिक रुपमा कफीखेती विस्तारमा जुटेका छन्,’ व्यवसायी श्रेष्ठले भने, ‘यहाँ उत्पादन भएको अर्गानिक कफी देशका ठूला सहरसँगै विदेशमासमेत जान थालेको छ । उत्पादन भएको कफी घरबाट नै बिक्री हुन थालेपछि व्यावसायिक कफीखेतीमा लाग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको अवस्था छ ।’ स्थानीय किसानले उत्पादन गरेको कफी घरबाट नै प्रतिकेजी रु एक सयमा बिक्री हुने गरेको छ । राम्रो फलेको कफीको एक बोटले २५ केजीदेखि ३० सम्म उत्पादन दिने व्यवसायी श्रेष्ठले बताए । प्रशोधन गरेको कफीको दाना सहरका बजारमा प्रतिकेजी रु पाँच सयमा बिक्री हुने गरेको उनले जानकारी दिए । यहाँका करिब दुई सयजना किसानले कफीखेती गरिरहेको श्रेष्ठले बताए । हतुवागढी क्षेत्र कफीको लागि उपयुक्त रहेकोले यसको खेतीमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । कोशी प्रदेश सरकारसँगको सहकार्यमा व्यावसायिक कफी खेतीको विस्तारको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ । कफी खेतीको विकास तथा विस्तारको लागि प्रदेश सरकारबाट रु दश लाख बजेट विनियोजन भएकाले गाउँपालिकाले पनि साझेदारी गरेर कार्यक्रम सञ्चालन तयारी गरेको उनले बताए । ‘हाम्रो हतुवागढी क्षेत्र कफी खेतीको लागि राम्रो भूगोल मानिन्छ,’ अध्यक्ष राईले भने, ‘किसानले अहिले पनि यसको खेती गरिरहेका छन् । कफी खेतीको थप विस्तार तथा विकासका लागि प्रदेश सरकारसँगको सहकार्यमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।’ विगतमा राम्रो बजार नभए पनि अहिले यहाँ उत्पादन भएको कफी बाहिरको बजारमा जान थालेको अध्यक्ष राईले बताए । रासस

राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २२, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७३, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु २५, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु १०० टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, घिरौला प्रतिकेजी रु ११०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु १३०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सौफको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १७०, सुन्तला (भारतीय) प्रतिकेजी रु ११०, तरबुजा प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँ कटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु १००, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४५, रुख कटहर प्रतिकेजी रु ११०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १२०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० तोकेको छ ।