चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
अदानचुली । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । 'तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ', कार्यालय प्रमुख जैसीले बताए । सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।
झडपपछि शिक्षक आन्दोलन थप चर्काउने, घरमा बसेकालाई काठमाडौं आउन आग्रह
काठमाडौं । शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । हिजो भएको झडपपछि आक्रोशित शिक्षकहरूले आज आन्दोलन थप चर्काउने बताएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो । संघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शान्तिपूर्ण आन्दोलन गर्दा शिक्षकहरूमाथि दमन गरेको भन्दै घरमा बसेका शिक्षकहरूलाई काठमाडौं आउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष सुवेदीले शिक्षक कर्मचारी माथि भएको दमनको विरोधमा आफूहरूसँग उभिन सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल समेत गरेका छन् । महासंघले विज्ञप्तिमा जारी गर्दै नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने भन्दै देशभरका सबै शिक्षक-कर्मचारीलाई अनिवार्य काठमाडौँ आउन अपिल गरेको छ ।
आन्दोलनरत चिकित्सकहरूका मागबारे छलफल गर्न चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
काठमाडौं । आन्दोलनरत चिकित्सकहरूका मागबारे छलफल गर्न चिकित्सा शिक्षा आयोगको १९औँ बैठक आज बस्दै छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । सरकारले निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको छ । तर चिकित्सकहरूले नपाएपछि चिकित्सक एक महिनादेखि आन्दोलनमा छन् । निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै सरकारी अस्पतालका चिकित्सकहरूले ऐक्यबद्धता जनाउँदै आकस्मिक बाहेकका उपचार ठप्प पारेका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरू स्रोत सुनिश्चित भएपछि मात्रै सरकारी सरह भत्ता दिन सकिने भन्दै आएका छन् । यसअघि वैशाख तीन गते बसेको १८ औँ बैठकले १० दिन भित्र निजी मेडिकल कलेजका लागि दिईदै आएको एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न शिक्षा सचिव डा.दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको थियो । तीन पटकसम्म बैठक बस्दा पनि अधिकांश कार्यदल सदस्यले १६औं बैठकले गरेका निर्णय कार्यान्वयन नभएसम्म छलफल अगाडि नबढाउने अडान राख्दै आएका छन् । आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने हो भने एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनुपर्ने निजी मेडिकल सञ्चालकको माग छ ।
आज दिउँसो देशभर बदली रहने, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई घाइते
काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् । घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
इम्बार्क कलेजले गर्याे पुस्तक विमोचन, सक्रिय व्यवसायमा आधारित ११ केस स्टडी
काठमाडौं । इम्बार्क कलेजले ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो-दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ पुस्तक विमोचन गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा.डा. जीन नोएल एजिन्गार्डको प्रमुख आथित्यिमा पुस्तक सार्वजनिक गरिएको हो । कलेजको इम्बार्क रिसर्च नेटवर्कले आर्थिक समावेशीकरण र दिगोपनका विषयमा नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविदहरूसँग सहकार्य सशक्त पार्दै नेपालमा सक्रिय व्यवसायहरूमा आधारित ११ केस स्टडी समेटेर पुस्तक तयार पारेको हो । इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दीगो नेपालको निर्माणमा प्रतिबद्धता जनाएको तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्वबारे विशेष चर्चा गरे । रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा.डा एजिन्गार्डले अनुसन्धान र नीति निर्माणमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतामा जोड दिए । उनले भने, ‘विश्वविद्यालयहरूको साझा प्रयासले मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरूलाई प्रभावकारी समाधान गर्न सकिन्छ ।’ स्थिरता र वित्तीय समावेशीकरण सम्बन्धी बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल र काठमाडौँ फिनटेकका संस्थापक डा. सन्जिब सुब्बाले डिजिटल प्रविधि र नव प्रवर्तनमार्फत वित्तीय पहुँच विस्तार र दिगोपना सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा छलफल गरे । बहस सत्र कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले संचालन गरे । प्रिन्सिपल डा. स्टिफन ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो समाधान सम्भव भएको बताउँदै सबैलाई आर्थिक समावेशीकरण र स्थिरताको लागि साझा प्रयास गर्न आग्रह गरे । कार्यक्रममा पुस्तकमा समावेश ११ वटा उत्कृष्ट नेपालमा सक्रिय व्यवसायहरूमा आधारित केस स्टडीका अनुसन्धाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । इम्बार्क कलेजले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालन गरेको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममा पनि यस अनुसन्धान र नीति निर्माणको अनुभवलाई समावेश गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याइरहेको छ ।
अभिभावकको दबाबले खुल्न थाले सामुदायिक विद्यालय
काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका इलामका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका-३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए । ‘विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो,’ उनले भने । इलाम-१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए । देउमाई नगरपालिका-९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ । इलाम नगरपालिका-५ को अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौलाले अभिभावकले विद्यालय खोलाउन आग्रह गरेपनि खुल्न अझै केही दिन लाग्ने बताउनुभयो । अभिभावकसँग छलफल गरेर निर्णय लिने उनको भनाइ छ । लामो समय विद्यालय बन्द भएपछि इलाम नगरपालिकाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको भविष्य हेरेर विद्यालय खोलाउन आग्रह गर्दै आइतबार विज्ञप्ति निकालेको थियो । नगरप्रमुख केदार थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समयमा विद्यालयमा विद्यार्थी भर्ना नभएका कारण विद्यार्थीको मनोविज्ञानमासमेत असर परिरहेको साथै अभिभावकहरु समेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरुको माग पूरा गर्ने सन्दर्भमा वार्तासमेत भइरहेकाले, विद्यार्थी भर्ना र परीक्षालाई कत्ति पनि असर नहुने गरी वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन इलाम नगरपालिकाका वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीमा हार्दिक अपिल गर्दछौँ ।’ सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यालय सञ्चालनमा आउन जरुरी रहेको बताए । ‘विद्यालय भर्नामा असर नहुनेगरी सिर्जनात्मक आन्दोलन गर्नुपर्छ । सङ्घीय सरकारले वार्ताबाट शिक्षकका माग सम्बोधन गर्नुपर्छ । सामुदायिक विद्यालयका कक्षाकोठा खाली बनाउन मिल्दैन,’ उनले भने । हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका-१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए ।
स्वास्थ्य उपकरण खरिदमा करोडौं भ्रष्टाचार, तत्कालीन सचिव श्रेष्ठसहित १५ जना विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकलगायतका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह विरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँ बिगो माग दाबी गरेको छ । त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साह विरुद्ध पनि २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँको बिगो माग दाबी गरिएको छ । माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र लेखा अधिकृत अमरदीप महतो विरुद्ध पनि समान २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँको बिगो माग दाबी गरिएको छ । सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित विरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँरको बिगो माग दावी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । सोही मुद्दामा आयोगले फरक फरक रुपमा विभिन्न चार वटा मुद्दा दायर गरेको छ । आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित समेत १५ जना र हस्पिटेक प्रालिका विरुद्ध १९ करोड ४६ लाख १३ हजार १२० रुपैयाँ बिगो माग दाबी गरेको छ । मधेश प्रदेशका विभिन्न ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि खरिद गरिएको उपकरणमा पनि चरम भ्रष्टाचार भएको भन्दै आयोगले मुद्दा दायर गरेको हो।