विकासन्युज

११ वर्ष विदेशमा श्रम गरेर फर्किएका सुरकुमार राई साग बेचेर मासिक १ लाख आर्जन गर्दै

सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन् भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुन् रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् ।  विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहेका छन् । सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताए । उनको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् । उनको बारीमा दैनिक ज्यालादारीमा  तीन जना कार्यरत छन् । उनले भने, ‘अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार राखेको छु,  गोडमेल, मल हाल्ने मुख्य सिजनको समयमा १० जनासम्म कामदार राख्ने गरेको छु । मैले उत्पादन गरेको सागसब्जी बिक्रीका लागि बजार लानु पर्दैन, बजारको समस्या छैन खरिद गर्न व्यापारी आफैँ फार्ममा आउनुहुन्छ । धरान, इटहरी, गाईघाट, दमक बराहक्षेत्रका व्यापारी फार्ममा नै गोलभेँडा खरिद गर्न आउने गरेका छन् ।’ गोलभेँडाको मूल्य मङ्सिरदेखि पुससम्म राम्रो हुन्छ जुन समय रु ४५ देखि ६० सम्ममा फार्मबाटै व्यापारीले खरिद गरेर लाने गरेकामा अहिले भने बजारमा गोलभेँडाको मूल्य घटेको कारण रु १० देखि रु १५ मा बिक्री गर्नुपरेको उनले बताए ।  प्लाष्टिक टनेलमा गोलभेँडाखेती गरेका उनले यसो गर्दा उत्पादन बढ्ने सुनाए । गोलभेँडाखेती सुरु गरेको वर्ष स्थानीय सरकारबाट उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनी काममा नै तन्मय छन् । गोलभेँडा आठ महिना उत्पादन हुन्छ, सिजनमा दैनिक १४ क्विन्टलसम्म बिक्री हुने गरेको उनले बताए । एक सिजनमा उनले तीन हजार क्विन्टलसम्म गोलभेँडा बिक्री गर्दै आएका छन् । स्थानीय सरकारले प्रत्येक वर्ष अनुदानस्वरुप गोलभेँडाको बीउ, मल प्रदान गर्ने गरेको छभने कृषि ज्ञान केन्द्रले २०७७ सालमा दिएको रु सात लाख अनुदानले गोलभेँडाखेती विस्तार गर्न सहयोग पुगेको बताए । अनुदानसँगै तालिम पनि पाएमा कीरा नियन्त्रण गर्न सजिलो हुने उनी बताउछन् । गोलभेँडाखेतीमा सही प्रविधि र सरकारी सहयोगसँगै बजार व्यवस्थापन राम्रो भयो भने अझ व्यावसायिक रूपमा राम्रो खेती गर्न सकिन्छ । जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टरमा सागसब्जीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउछन् ।  रामधुनीका साथै बराह क्षेत्रलगायत स्थानका किसानले गोलभेँडा, बन्दाकोबी र बोडीखेती गर्दै आएका छन् ।  रासस

१० निर्माण कम्पनी कालोसूचीमा, डेढ वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरी आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो । गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा परेका छन् । उनीहरुलाई कालोसूचीमा राख्न गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले सिफारिस गरेको थियो । यसैगरी सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा संखुवासभा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा सभापोखरी गाउँपालिका कार्यालयको सिफारिसको आधारमा एक वर्ष कालोसूचीमा परेका छन् । अशोक गैरे नेतृवको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि काठमाडौं पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । यसलाई कालोसूचीमा राख्न डोटीको शिखर नगरपालिका ९ स्थित सीताराम माविले सिफारिस गरेको थियो । यसैगरी सशस्त्र प्रहरी बलको ९ नम्बर गण हेडक्वाटर महोत्तरीको सिफारिसमा जी।एस। निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । जीएस निर्माण संसार कम्पनीका मुख्य व्यक्ति गोपाल प्रसाद दाहाल र कमन कन्स्ट्रक्सनका मुख्य व्यक्ति कमान सिंह लामा हुन् । यसैगरी भिमबहादुर सावद नेतृत्वको राजेन्द्र निर्माण सेवा, रविन कुमार जोशी नेतृत्वको रफिना एण्ड कन्स्ट्रक्सन र सुरेश कुमार सिलवाल नेतृत्वको राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । यी कम्पनीलाई कालोसूचीमा राख्न पुरातत्व विभागले सिफारिस गरेको थियो । जिम्मा लिएको काम सन्तोषजनक नभएका कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा । लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको दुई अर्ब रुपैयाँ आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिए । डा साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने छभने यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । ‘आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य छ,’ उनले भने । नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपिडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन भइसकेको छ । लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइवेटिक सेन्टर’ सञ्चालनमा आउनु लहानका लागि एउटा गौरवको आयोजना भएको बताए । अस्पताल बनिसकेपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उनले विश्वास व्यक्त गरे ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ०४ पैसा र बिक्रीदर १८० रूपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । त्यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ४३ पैसा र बिक्रीदर नौ रूपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २५ पैसा र बिक्रीदर १९ रूपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ३४ पैसा र बिक्रीदर २० रूपैयाँ ४३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ९२ पैसा र बिक्रीदर ४५३ रूपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूपैयाँ ७० पैसा र बिक्रीदर ३६३ रूपैयाँ २६ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

किबी प्रतिकिलो ४०० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६३, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु १८०, घिरौला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १७०, कोइराला प्रतिकेजी रु ३५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, खरबुजा प्रतिकिलो रु ४५, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

बिपी वाटिकामा कभर्डहल निर्माण

दमौली । व्यास नगरपालिका–३ स्थित बिपी वाटिकामा ९६ लाख ६३ हजार सात सय ४७ रुपैयाँको लागतमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो । कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले ८७ लाख ८५ हजार दुई सय ३४ रुपैयाँ प्रदान गरेको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण भएको हो । क्लबले जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । कभर्डहलको मङ्गलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे।

यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आज अपराह्न ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने भएका छन् । संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् । यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने सूची छ । गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागी उद्यमशीलताको विकास गर्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य-क्रान्ति आत्मकथाको मंगलवार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको समेत बताए । उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दैै व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको उनको भनाइ छ । ‘हाम्रो समाज शृंगार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुनेखानेहरुको लागि हो भन्ने दृष्टिकोण राख्ने समाज हो । सौन्दर्यकलालाई पेशा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अंगमा रुपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठका ठूलो योगदान रहेको छ,’ उनले भने । अठोट सहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रुपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिने बताउँदै अध्यक्ष ढकालले आफ्‌नो व्यवसायको माध्यमबाट हजारौंलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैमा चुनौतीपूर्ण र महत्वपूर्ण कार्य भएको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले महिला उद्द्मशीलता तथा महिला शसक्तिकरणका लागि श्रेष्ठको ठूलो योगदान रहेको बताए । महासंघ उपाध्यक्षद्वय हेमराज ढकाल ,ज्योत्स्ना श्रेष्ठ र महासंघका पूर्व उपाध्यक्ष भास्कर राज राजकर्णिकारले उनको पुस्तक नयाँ केही गर्नेहरुका लागि प्रेरणाको स्रोत भएको बताए । पद्मकन्या विद्याश्रमका प्राचार्य रीता तिवारीले उनीसँगको सहकार्यबाट विद्यालयमा सौन्दर्य कला विषय अध्यापन भैरहेको जानकारी दिइन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै पुस्तक लेखिका कमला श्रेष्ठले यो पुस्तकबाट उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेका लागि पनि मार्गशर्दश गर्ने अपेक्षा राखेको बताइन् । यो आफ्नो आत्मकथा भन्दा पनि उद्दमशीलताको कथा भएको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा महिला उद्द्म समितिका सभापति समेत रहेकी सौन्दर्यविद् श्रेष्ठका आत्मकथामा ६ वटा खण्ड र ६५ वटा विभिन्न शीर्षकमा लेखहरु समावेश रहेको लेखन कुन्जका संचालक कमल ढकालले जानकारी दिए ।