विकासन्युज

पोखराबाट १२६ यात्रु लिएर छेन्दु जाँदै, नियमित उडान गर्न सिचुवान एयरलायन्सले ३ वटा चार्टर्ड गर्ने

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको २ वर्षसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् । उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट ३ वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए । ‘पोखरा-छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चाटर्ड उडान सुरु गरेको हो,’ उनले भने, ‘३ वटा चाटर्ड उडान पछि एयरलायन्सले अन्य नियमित उडानको योजना बनाएको छ ।’ चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार रुपैयाँ तय गरेको छ । एयरलायन्सले ३ वटा चाटर्ड उडानपछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । उनले पोखरा-छेन्दुु उडान यहाँको पर्यटकीय विकासमा महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । पोखराबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयास पछि निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको विशेष पहल र पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एअरलाईन्स र नेपालस्थित चाइनिज एशोसिएशनसँगको सहकार्यमा पहिलो पटक व्यवसायिक चाटर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । चीनस्थित चाईना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरुवाती उडानमा सहकार्य गरिरहेको छ । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उनको भनाइ छ । उनका अनुसार आगामी ३ महिनासम्ममा करिब १ हजार २५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । पोखराबाट पहिलोपटक हुन लागेको व्यवसायिक चाटर्ड उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी र सञ्चारकर्मी सहभागी हुँदै छन् । पहिलो व्यावसायिक उडानका क्रममा हुने ७ रात ८ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारे जानकारी लिइने कार्यक्रम तय गरिएको छ । त्यसैगरी नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दुतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र सेल्स मिसन गर्न लागिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । पोखराबाट अन्तरराष्ट्रिय उडानका रुपमा गर्न लागिएको पहिलो व्यावसायिक चाटर्ड उडानसँगै गरिने ‘सेल्स मिसन’का कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ । पोखरा भ्रमण वर्षलाई सहयोग पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको पहिलो व्यावसायिक चाटर्ड उडान पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महत्त्वपूर्ण बन्ने विश्वास लिइएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस उडानको सुरुवातसँगै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउनुका साथै समग्र पर्यटन राजधानी पोखराको पर्यटकीय विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए । सिचुवान प्रदेश चीनको पर्यटकीय क्षेत्र रहेको र त्यहाँको लुझेउ सिटीमा आफूहरू जाने बताउँदै उनले उक्त पोखराको सहर भगिनी सहर भएको बताए । त्यहाँ हुने कार्यक्रमले दुुई सहरबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरे । पोखरा-छेन्दुु उडान सञ्चालन हुँदा पोखरामा चिनीयाँ पर्यटक लक्षित पूर्वाधारमा कुनै कमी नरहेको यहाँको पर्यटन व्यवसायी बताउँछन् । पोखरामा चिनियाँ पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका होटेल तथा रेष्टुुरेण्टबाट पर्यटकलाई सेवा प्रवाह भइरहेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए । ‘पोखरामा पर्यटक लक्षित होटेल तथा रेष्टुरेन्ट थपिने क्रम बढ्दो छ । कोरोना पछि बन्द भएका होटेल तथा रेष्टुरेन्ट पुनः सञ्चालनमा आएका छन्,’ उनले भने । चिनियाँ पर्यटकहरू केवल बस्ने खाने मात्र नभै बोटिङ, सपिङ, पदयात्रा, प्याराग्लाइडिङलगायत सबै किसिमका गतिविधिमा सहभागी हुने गरेको अनुभव उनले सुनाए ।

राहुघाट जलविद्युत् आयोजनामा तालाबन्दी, मृतकका आफन्तले मागे ५० लाख रुपैयाँ

काठमाडौं । म्याग्दी जिल्लास्थित रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा स्थानीयले सोमबार तालाबन्दी गरेका छन् । दुर्घटनामा परी ज्यान गुमाएका मजदुरका आफन्त र गाउँलेले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माण भइरहेको राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा सोमबार तालाबन्दी गरेका हुन् । रघुगङ्गा-४ बुक्लस्थित राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ मा गत फागुन २९ गते ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सको डिपी टुए ७०८३ नम्बरको मिस्कर सडकबाट ८० मिटर तल खसेर दुर्घटना हुँदा चालक बेनी नगरपालिका-२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको घटनास्थलमा मृत्यु भएको थियो । निर्माण कम्पनी र आयोजनाले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध नगराएपछि पिप्लेस्थित रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा ताला लगाइएको बेनी-२ का पूर्ववडाध्यक्ष हिराबहादुर थापाले बताए । ‘तिल्केनीचौरस्थित ठेकेदारको कार्यालयमा ताला लगाउन पुगेका बेनी-२ ज्यामरुककोटका बासिन्दालाई प्रहरीले रोकेको थियो । ताला लगाएपछि सरोकार भएका पक्षले मङ्गलबार बिहान छलफलका लागि आह्वान गरेका छन्,’ उनले भने । बेनी अस्पतालमा राखिएको मृतकको शव आफन्तले अझै बुझ्न मानेका छैनन् । ठेकेदार कम्पनीले बीमा र कम्पनीको नियमानुसार पाउने राहत उपलब्ध गराउन तयार भए पनि मृतकका आफन्तले ५० लाख रुपैयाँ माग गरेकाले समस्या भएको ठेकेदार कम्पनीको भनाइ छ । निर्माणको अन्तिम चरणमा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा गत पुसयता भएका दुर्घटनामा घिमिरेसहित चार जनाको मृत्यु भएको छ । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले ठेकेदार र मजदुरका आफन्तसँग समन्वय र सहजीकरण भइरहेकाले यथाशीघ्र समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

पश्चिमी वायुको आंशिक प्रभाव, कोशी, कोशी र मधेस प्रदेशमा हुरीबतास चल्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबताससमेत चल्ने सम्भावना छ । त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ । आगामी २४ घण्टामा गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै अपराह्नको समयमा कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सिटिजन्स, कृषि र माछापुच्छ्रेको लगानी रहेको माथिल्लो ठूलोखोला ‘ए’ आयोजना धमाधम निर्माण हुँदै

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२.५ मेगावाट क्षमताको उक्त आयोजना निर्माण सुरु गरेको २वर्षको अवधिमा बाँध, विद्युत् गृह र पाइप लाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सकिएको ठूलोखोला हाइड्रोपावरका वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ । आयोजनाको पूर्वाधारतर्फको निर्माण कम्पनी देव ऊर्जा कन्ट्रक्सन प्रालिले दैनिक २ सय जनशक्ति परिचालन गरेर काम गरिरहेको छ । आयोजनाकम लागि आवश्यक पर्ने उपकरण ढुवानीको काम धमाधम भइरहेको छ । विद्युत् गृहमा विद्युतीय उपकरण र सामग्री जडानको काम भइरहेको वित्त प्रमुख खतिवडाले बताए । सुरुङरहित यस आयोजनामा कुल २ हजार ८ सय मिटर पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । सुगुरथलामाथि रघुगङ्गा नदीमा निर्माण भएको बाँधबाट पेनस्टक पाइप लाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत् गृहमा खसालेर उत्पादन हुने आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिए । उनका अनुसार उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्नका लागि ट्रान्समिसन लाइन निर्माणको कामसमेत धमाधम भइरहेको छ । ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा प्रवर्द्धकको तर्फबाट ३० प्रतिशत लगानी रहेको छ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन्स बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने वित्तीय सम्झौता भएको छ ।

बैंकहरूले सीएसआरको रकमबाट अस्पताल सञ्चालन गर्न पाउने, खातामा बैंक आफैंले १ सय रुपैयाँ जम्मा गर्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम संस्थापक सेयरधनी, संचालक समितिका सदस्य र उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा खर्च गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मार्गनिर्देशन २०८१ जारी गर्दै व्यापार विस्तारको शर्त राखी सीएसआरको रकम खर्च नगर्न निर्देशन दिएको हो । साथै, संस्थाको ब्राण्ड प्रवर्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमहरुको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, र्‍याली तथा विज्ञापन जस्ता कार्यहरुमा गरिएको खर्चलाई पनि सीएसआरअन्र्तग राख्न नपाइने राष्ट्र बैंकले जनाएको छ । सरकारी तथा सामुदायिक विद्यालय तथा कलेजको भौतिक संरचना निर्माण, मर्मत तथा पुनः निर्माण, विद्यालय तथा कलेजमा अध्ययनरत गरीब, पिछडिएको वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई दिइने छात्रवृत्ति, सरकारी तथा सामुदायिक विद्यालय तथा कलेजलाई वितरण गरिने कम्प्युटर, प्रोजेक्टर, इन्टर्याक्टीभ स्मार्ट बोर्ड, ह्वाइट÷ब्ल्याक बोर्ड, पुस्तक लगायतका शैक्षिक सामग्री तथा विद्यालयका लागि आवश्यक हुने अन्य फर्निचर, फिक्स्चर लगायतका सामग्री, सरकारी तथा सामुदायिक विद्यालय तथा कलेजमा शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सर, प्राथमिक उपचार लगायतका स्वास्थ्य तथा सरसफाईसम्बन्धी आधारभूत सामग्रीमा सीएसआरको रकम खर्च गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने स्वास्थ्य उपकरण तथा सामाग्री, शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सर लगायतका आधारभूत स्वास्थ्य तथा सरसफाई सामग्री, न्यून आय भएका नागरिकको जटिल स्वास्थ्य समस्याको उपचारका लागि कुनै अस्पतालसँग गरिने सहकार्य, निम्न वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक हुने बैशाखी, ह्वील चियर, मेडिकल बेड, हियरिङ एड, जस्ता जीवनोपयोगी सामग्री, निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालनमा खर्च गर्न पाउनेछन् । वित्तीय क्षेत्रका कर्मचारी, कर्मचारीका परिवार एवं सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गर्न पाउने भएका छन् । तर, बैंक तथा वित्तीय संस्थाले आफ्नो सेवा प्रवर्धनका लागि गरेको कुनै अस्पातसँगको सम्झौताको आधारमा गरिने खर्चलाई भने यस अन्तर्गत समावेश गर्न पाइने छैन । राष्ट्र बैंकका अनुसार बैंकहरुले सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिई शहरी वन विकास तथा सार्वजनिक स्थानमा गरिने वृक्षारोपण, सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिई सार्वजनिक स्थलमा राखिने वातावरण सम्बन्धी जानकारी दिने सूचनामूलक सामग्री, प्रदुषण न्यूनीकरण तथा नियन्त्रण गर्न गरिने वातावरणीय परियोजना, वातावरणीय प्रभाव न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा गरिने पूर्वाधार निर्माण, प्रदुषित नदी नालाको पानी प्रशोधनका लागि निर्माण गरिने पूर्वाधार र हिमालमा जम्मा भएका फोहर व्यवस्थापनका लागि गरिने कार्यमा सीएसआरको रकम खर्च गर्न पाउनेछन् । ‘खोलौं बैंक खाता अभियान’ अन्तर्गत खोलिएका खातामा बैंक तथा वित्तीय संस्थाका तर्फबाट जम्मा गरिएको प्रतिखाता १ सय रुपैयाँसम्मको खर्चलाई संस्थागत सामाजिक उत्तरदायित्वबाट छुट्याउन सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टाएको रकमलाई प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्नेछ । कुनै एउटा कार्यक्रममा त्यस आर्थिक वर्षको कुल खर्च योग्य संस्थागत सामाजिक उत्तरदायित्व रकमको ५ प्रतिशतभन्दा बढी खर्च गर्न पाइने छैन । तर, यस बैंकबाट इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले आपसी सहमतिमा कुनै विशेष सार्वजनिक महत्वको कार्य गर्ने भएमा यस बैंकको पूर्व स्वीकृतिमा त्यस्ता कार्य सञ्चालन गर्न सकिनेछ ।

लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिने बढे

काठमाडौं । पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको घुइँचो लागेको छ । प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैतदेखि ६ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरू समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनादेखि प्रशिक्षण दिन थालिएको हो । समितिमा आफैँ खोजी गर्दै करिब ३ दर्जन प्रशिक्षार्थी आएका समितिले जनाएको छ । प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गरिएको उनले जानकारी दिए । ज्योतिष प्रशिक्षण लिन जनजाति र दलित पनि आउने गरेका समितिले जनाएको छ । ‘कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ । कर्मकाण्ड प्रशिक्षण लिने धेरै भने ब्राह्मण समुदायका हुने गरेका छन्,’ ढुङ्गेलले भने । उनका अनुसार ६ महिने प्रशिक्षणको १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यसमा थप परीक्षा शुल्क पनि लाग्ने छ । कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि लाइसेन्स उपयुक्त हुने भएकाले सोहीअनुसार तयारी भइरहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । उनका अनुसार पुराण वाचन गर्न चाहने पण्डितका लागि वाल्मीकि विद्यापीठले यही चैतदेखि एक वर्षे प्रशिक्षण सुरु गरेको छ । यो प्रशिक्षणमा भाग लिने आउनेको पनि सङ्ख्या बढेको छ । पुराण वाचन शास्त्रीय विधिअनुसार नभइरहेको गुनासो बढ्न थालेपछि विद्यापीठका प्राध्यापकहरुको सक्रियतामा यो प्रशिक्षण सुरु गरिएको वाल्मीकिका प्राचार्य अच्युतप्रसाद लामिछानेले बताए । उनका अनुसार दैनिक १ घण्टा एक वर्षसम्म प्रशिक्षण दिएपछि प्रशिक्षार्थीले शास्त्रीय विधिअनुसार पुराण वाचन गर्नसक्ने छन् ।

पोखरामा कोसेली घर निर्माण हुने, १०.६७ मिलियन अमेरिकी डलर लगानी

काठमाडौं । पर्यटकीय राजधानी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण हुने भएको छ । कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ मार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोसेली घरको सोमबार शिलान्यास गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कोइका नेपालका देशीय निर्देशक मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले उक्त घरको संयुक्त रूपमा शिलान्यास गरे । परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर गरी कुल १०.६७ मिलियन अमेरिकी डलर लगानी गर्ने छन् । आगामी १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी कोसेली घरको ठेक्का इन्टरनेशनल इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी काठमाडौंले लिएको छ । परियोजनाले नकुहिने फोहर प्रशोधनसहित फोहरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताउनुभयो । उनका अनुसार हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले योगदान गर्नेछ । ‘फोहरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहमार्फत पुनःप्रयोगमा आउने सामग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण हुने विश्वास लिएका छौँ,’ आचार्यले भने । विदेश पलायन भइरहेका युवा शक्ति र गृहिणी महिलाका लागि हरित रोजगारी सिर्जना महत्वपूर्ण रहेको उनले बताए । ‘यस परियोजनाले युवालाई रोजगारीसँग जोड्ने छ भने फोहरबाट मोहोर पनि आर्जन हुनेछ । परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ,’ प्रमुख आचार्यले भने । कोइका नेपालका देशीय निर्देशक मोहेन कोङले पोखरा महानगरपालिका र कोइकाबीचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरे । नेपालको पर्यटन राजधानी पोखरामा रिसाइकल र अपसाइकलमार्फत हरित रोजगारी सिर्जनाका नमुनाका रूपमा विकास गर्न यो परियोजना कोसेढुङ्गा सावित हुने कोङले उल्लेख गरे । संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप-साइकल (आरयु) उद्यमलाई बढवा दिन परियोजना प्रभावकारी हुने बताए । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सिर्जनामा यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सिर्जनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताए । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले परियोजना पोखराका लागि रोजगारी सिर्जना, सिकाइ प्रवद्र्धन र उत्पादनका हिसाबले महत्वपूर्ण रहेको बताए ।

अधिकांश क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ । सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ । यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिनुभयो । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।