एनसेलले ल्यायो भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक, १ लाखको अस्पताल खर्च बेहोर्ने
काठमाडौं । ग्राहकहरूका आवश्यकता र नवीनतम सेवा सुविधाहरू प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । यो एक प्याकेज नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि समेत सहयोगी पुग्ने एनसेलले जनाएको छ । २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल-नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् । जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्ने एनसेलको दाबी छ । यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नेछ । भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्दछन् । यसबाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेत बेहोर्नेछ । करसहित १ हजार ७९९ रुपैयाँ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा सुविधाहरु, रोमिङ सेवा, र बीमा सुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले एष्ट्रिक १२३ एष्ट्रिक ७ एष्ट्रिक ६ ह्यास डायल गरेर सहजै यो प्याक लिन गर्न सक्छन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकहले लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशत छुट पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहररूले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र लुम्बिनी मेडिकल कलेजबिच ग्राहकहररूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारीमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरे । सहमति अनुसार अस्पतालले बैंकका डेबिट तथा क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स-रे, अल्ट्रासोनोग्राफी, ओपीडी र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । साथै, बैंकका ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए । यो पहलले पहूँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत पोखरेलले स्पष्ट पारे । यसैगरी, बैंकका लुम्बिनी प्रदेश प्रमुख शिवाकोटीले लुम्बिनी मेडिकल कलेजसँगको साझेदारीले ग्राहकहरू लाभान्वित हुने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरिन् । ग्लोबल आइएमई ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क तथा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिकाले २ सडक कालोपत्र गर्दै
काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा २ सडक कालोपत्र गरिएका छन् । भीरकोट-६ को सुन्दरबजार-मोहनडाँडा-ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि-स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने काम सकिँदै छ । सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक कालोपत्रको काम भइरहेको भीरकोट नगरपालिकाका इञ्जिनियर सरोज पराजुलीले बताए । आगामी असार २० गतेसम्म सडक कालोपत्र सक्ने गरी काम भइरहेको उनको भनाइ छ । सडक कालोपत्रसँगै पक्की नाली र पर्खाल निर्माण गर्ने काम भइरहेको छ । त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक स्तरोन्नति गरिएको छ । विसं २०८१ पुस २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडक आगामी जेठ मसान्तसम्ममा सक्नुपर्ने भए पनि तोकिएको समयअगावै सम्पन्न भएको योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए । उक्त सडकमा पर्खाल बनाउने, जाली हाल्ने र पक्की नाली निर्माण गरिएको छ । नगरपालिकाले नगरका गौरवका सडकलाई प्राथमिकताका आधारमा निर्माण गर्दैआएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक ५० प्रतिशत सङ्घीय समपूरक अनुदान र ५० प्रतिशत नगरपालिकाको लागत सहभागितामा सञ्चालन भएको उनको भनाइ छ । त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक गण्डकी प्रदेश सरकारको समपूरक अनुदान ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण सम्पन्न भइसकेको छ ।
बागमती प्रदेशमा खर्चभन्दा आम्दानी धेरै, २५.६२ प्रतिशत खर्च गर्दा ३८.१३ प्रतिशत राजस्व सङ्कलन
काठमाडौं । बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५.६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएकामा ८ महिना सकिँदा १० अर्ब ५० करोड २९ लाख ९ हजार रुपैयाँ खर्च भएको छ । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । सो अवधिमा चालुतर्फ ३५.२२ प्रतिशत र पुँजीगततर्फ १९.९४ प्रतिशत बजेट खर्च भएको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७.६९ प्रतिशत, प्रदेशसभा सचिवालयले ३८.२२ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ९.७९ प्रतिशत बजेट खर्च गरेको सूचना अधिकारी सन्यालले बताए । चालु आवको दोस्रो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको छ । योजनाहरु कार्यान्वयनमा जान नसकेकाले खर्च कम देखिएको छ । राजस्व सङ्कलन बर्सेनि घट्दो बागमती प्रदेशको राजस्व सङ्कलन बर्सेनि घट्दै गएको छ । चालु आवको ८ महिनाको अवधिमा बागमती सरकारले लक्ष्यको ३८.१३ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सूचना अधिकारी सन्यालका अनुसार साउनदेखि फागुन मसान्तसम्ममा २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आवमा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा ८ महिनामा ती सबै शीर्षकबाट २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको सूचना अधिकारी सन्यालले जानकारी दिए । प्रदेश सरकारले चालु आवमा राजस्व बाँडफाँडबाट २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकामा सो अवधिमा लक्ष्यको ४७.०३ प्रतिशतअर्थात् १३ अर्ब ९० करोड २७ लाख ६८ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ । यस्तै सङघीय सरकारबाट १५ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएकामा चालु आवको ८ महिनामा लक्ष्यको ५२.५८ प्रतिशत अर्थात् ८ अर्ब १८ करोड ९९ लाख ६४ हजार रुपैयाँ अनुदान प्राप्त भएको छ । प्रदेश सरकारको आन्तरिक स्रोतबाट ४ अर्ब ५३ करोड ८४ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा सो अवधिमा लक्ष्यको ५२.४१ प्रतिशत अर्थात् २ अर्ब ३७ करोड ८५ लाख ८८ हजार रुपैयाँ राजस्व मात्र सङ्कलन भएको सूचना अधिकारी सन्यालले बताए । यसअघि अघिल्लो आवमा बागमती प्रदेशको राजस्व ९ अर्ब ३ करोड ३१ लाख २७ रुपैयाँ कम सङ्कलन भएको थियो । प्रदेश सरकारले आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा ती सबै शीर्षकबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गर्न सकेको थियो । आव २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेको भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो । प्रदेश सरकारले आव २०७९/८० मा ५५ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलनको अनुमान गरेकोमा ४५ अर्ब ८८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायतका राजस्व सङ्कलनमा आएको कमी र आर्थिकमन्दीका कारण सङ्घीय सरकारले केही कार्यक्रम कटौती गर्नुजस्ता कारणले राजस्वमा कमी आएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले बताए ।
‘वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक परिवर्तन देखा परेका छन्’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार गठन भएपछि मुलुकमा आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखा पर्न थालेका बताउका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनलाई आज सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि मुलुकमा आर्थिक गतिविधि चलायमान हुँदै गएको उल्लेख गरे । ‘दुई ठूला दलबीच समझदारी भएर वर्तमान सरकार बनेकाले यो सरकार परिवर्तन हुँदैन । यो सरकारले जनता केन्द्रित भएर काम गरिरहेकाले पनि यसलाई स्थायित्व दिनुपर्ने जरुरी छ,’ उनले भने । महासचिव पोखरेलले भने, ‘जतिबेला मुलुकको आर्थिक अवस्था नाजुक बन्दछ र जनतामा निराशा फैलिन्छ । राज्यको शासन व्यवस्थामाथि सङ्कट आउँछ, त्यस्तो अवस्थामा प्रमुख पार्टी मिलेर जनताको निराशा अन्त्य गर्ने, अर्थतन्त्रलाई उकास्ने र मुलुकलाई सही मार्गमा हिँडाउने जिम्मेवारी रहन्छ । अहिले त्यही कर्तव्य पूरा गर्न दुई पार्टी मिलेका हुन् ।’ पार्टीले यही चैत ११ गतेदेखि सञ्चालन गर्ने जनचेतनामूलक अभियानमा सरकारले गरेका राम्रा कामका बारेमा जनतालाई जानकारी गराइने उनको भनाए छ । महासङ्घका अध्यक्ष एनपी साँवाले सरकारले उद्योग व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिउ । आजको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
व्यवसाय विस्तारमा आक्रामक बन्दै बिग मार्ट, काठमाडौंमा खोल्दै २०० नयाँ शाखा
काठमाडौं । बिग मार्टले थप नयाँ शाखा विस्तार गर्ने भएको छ । बजारमा रहेका नयाँ शाखालाई यथावत् सञ्चालन गर्दै कम्पनीले काठमाडौं उपत्यकाभित्रै थप २०० नयाँ शाखा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ । हामीले काठमाडौंको राम्रो ठाउँ भएको जुनसुकै वस्तिमा पनि शाखा विस्तार गर्ने तयारी गरेका छौं, राम्रो ठाउँ भयो भने उपत्यका बाहिर पनि जान सकिन्छ, अहिले ठाउँ हेर्ने काम भइरहेको छ, कम्पनी स्रोतले भन्यो । उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै २०० नयाँ शाखा खोल्ने रणनीतिका साथ काम भइरहेको छ । पछिल्लो समय बजारमा नयाँ–नयाँ सुपरमार्केट सञ्चालनमा आइरहेको बेला बिगमार्टले फरक ढंगबाट आक्रामक किसिमले व्यावसायिक रणनीति बनाएको हो । अहिले बिगमार्टमा डेढ सय वटा शाखाहरु रहेका छन् भने पोखरामा पाँच वटा र चितवनमा चार वटा शाखा रहेका छन् । सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरबाट बिगमार्टको सुरु भएको थियो । बिगमार्टले एउटै छानामुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको थियो । बिगमार्टले किराना, ताजा उत्पादन, घरायसी वस्तुसहित विभिन्न उत्पादन उपलब्ध गराउँदै आएको छ । अहिले उपभोक्ताको रोजाइमा बिगमार्ट परिरहेको छ ।
यी हुन् सरकारले पुरस्कृत गरेका १० व्यक्ति
काठमाडौं । सरकारले यो वर्ष विभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरूलाई सम्मान गरेको छ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट १० जना व्यक्तिहरू पुरस्कृत भएका छन् । नेपाल सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त सम्मान प्रदान गरेका हुन् । पुरस्कृत हुनेहरुमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा) हुन् । यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी ‘साम्बा’ (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको हो । उक्त कोषबाट प्रत्येक वर्ष दुई प्रतिभालाई जनही पाँच लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । विसं २०७६ मा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन । अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो । यी हुन् पुरस्कृत भएका व्यक्तिहरू डा. आभास मास्के डा. आभास मास्केको जन्म वि.सं. २०४७ साल फागुन ४ गते मोरङ जिल्लाको विराटनगरमा भएको हो । उनले क्युशु इन्स्टिट्युट अफ टेक्नोलोजीबाट विमान, अन्तरिक्ष, तथा अन्तरिक्ष प्रविधिमा विद्यावारिधि गरेका छन् । उनले सियोल विश्वविद्यालयका स्याटेलाइट प्रविधिसम्बन्धी विभिन्न परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी सातवटा क्युवस्याट स्याटेलाइट परियोजनामार्फत सातवटा स्याटेलाइटलाई पृथ्वीको कक्षमा (अर्बिट) राख्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न भएका छन् । सन् २०१६ मा नेपालकै पहिलो स्याटेलाइट निर्माण गरी त्यसलाई सफलतापूर्वक पृथ्वीको कक्षमा पठाउन महत्वपूर्ण योगदान दिएका थिए । नोभेम्बर २०२० मा, उनले नेपालमा अन्तरिक्ष प्रविधि, स्याटेलाइट प्रविधि, र रिमोट सेन्सिङ प्रविधिमा नयाँ पुस्तालाई ज्ञान प्रदान गर्न र प्रेरित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले नेपालको पहिलो स्याटेलाइट निर्माण गर्ने स्याटेलाइट परियोजनाको नेतृत्वकर्ता हुन् । नेपालको स्याटेलाइट विकास र प्रविधि क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानका लागि उनलाई उदीयमान प्रविधि पुरस्कारबाट सम्मानित गरिएको छ । डा. ओममूर्ति अनिल विसं. २०३५ साल कार्तिक १४ गते महोत्तरी जिल्लाको धमौरा-८ मा जन्मिएका डा. ओम मुर्ति अनिलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानबाट मेडिसिनमा एम.डी. तथा नयाँ दिल्लीस्थित एम्सबाट इन्टरभेसन कार्डियोलोजीमा डि.एम. गरेका छन् । डा. ओम नेशनल कार्डियाक सेन्टरका सञ्चालक समेत हुन् । स्वास्थ्य सचेतनाका क्षेत्रमा डा. मुर्तिका नाममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित दुई विश्व कीर्तिमान कायम रहेका छन् । सन् २०१३ मा उनले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशन गरे, जसबाट प्राप्त आय मुटुरोग र नसर्ने रोग (एनसीडी) रोकथामका लागि खर्च गर्दै आएका छन् । उनले ११ दिने निःशुल्क मुटु शिविर सञ्चालन, मुटुरोगसम्बन्धी वृहद् अनुसन्धान, व्यक्तिगत खर्चमा दुर्गम तथा ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मी, पत्रकार, र सुरक्षाकर्मीलाई तालिम प्रदान गर्ने कार्य गर्दै आएका छन् । त्यसैगरी, डिजिटल प्लेटफर्ममार्फत दीर्घ जीवनको प्रयास, निःशुल्क टेलिमेडिसिन सेवा, १० हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता महत्वपूर्ण कार्यमा संलग्न रहेका छन् । उनले डा. ओम फाउण्डेशनको स्थापना गरी स्वास्थ्य, शिक्षा, र सामाजिक रूपान्तरणलाई अभियानका रूपमा अगाडि बढाउने उद्देश्य राख्दै निरन्तर सक्रिय रूपमा काम गरिरहेका छन् । डा. छिरिङ लामा वि.सं. २०३९ साल असोज १ गते सिन्धुपाल्चोक जिल्लाको किउल-७ मा जन्मिएका डा. छिरिङ लामाले वेलायतको नर्थम्ब्रिया विश्वविद्यालय बाट टेलिमेडिसिनमा विद्यावारिधि गरेका छन् । उनले सन् २०१४ मा ‘आइडिया स्टुडियो नेपाल’ स्थापना गरे । हाल यस संस्थाले नीति निर्माणका क्षेत्रमा नेपाल सरकारसँग, ज्ञान निर्माणका क्षेत्रमा विश्वविद्यालयहरूसँग, र आर्थिक लाभसँगै सामाजिक तथा वातावरणीय प्रभाव पार्ने दिशामा निजी क्षेत्रसँग सहकार्य गर्दै आइरहेको छ । आइडिया स्टुडियोमार्फत विभिन्न नयाँ विचार (आइडिया) खोजी गरिन्छ, तिनलाई व्यवसायिक रूप दिन इन्क्युबेसन प्रक्रियामा लैजाने काम गरिन्छ । एक हजार जना उद्यमी उत्पादन गर्ने लक्ष्यसहित संस्था क्रियाशील छ । यस प्रक्रियाबाट सजिलो मर्मत सेवा, नेपाल मेड, टिकेट एन साप, मेट्रो तरकारी, कृषि गुरु, सिता अरनिक, मिस्टर कर्म, रिभोलुसन डेभिलगायतका उद्यमहरू स्थापित भइसकेका छन् । नवउद्यमीहरूलाई प्रशिक्षण तथा लगानीको अवसर प्रदान गर्न सक्रिय आइडिया स्टुडियोले ‘अबरोध तोड्दै, भविष्य बताउँदै’ भन्ने नाराका साथ समावेशी उद्यमशीलतालाई विशेष प्राथमिकता दिँदै आएको छ । यस संस्थाले विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई व्यवसायमार्फत सशक्त बनाउन पहल गर्दै आइरहेको छ । दिलशोभा श्रेष्ठ वि.सं. २०१० साल चैत्र १० गते काठमाडौंमा जन्मिएकी दिलशोभा श्रेष्ठले आफ्नो समाजसेवाको यात्रा वि.सं. २०५३ सालदेखि अलपत्र अवस्थामा रहेकी आमाहरूको उद्धार गर्दै सुरु गरिन् । उनले वृद्धवृद्धाहरूलाई सुरक्षित आश्रय दिने उद्देश्यले ‘आमाघर’ स्थापना गरिन्, जुन हालसम्म निरन्तर सञ्चालनमा छ। उनले आफ्नो घर कालिमाटीमा मात्र नभई गुर्जुधारा र गोकर्णमा समेत आमाघर स्थापना गरी सञ्चालन गर्दै आएकी छन् । आमाघरमा वृद्धवृद्धाहरू मात्र नभई बेवारिसे बालबालिकाहरूलाई पनि आश्रय प्रदान गर्दै आएकी छन् । अहिलेसम्म सयौं आमाहरूलाई सेवा र आश्रय दिनुका साथै उनीहरूको सम्पूर्ण हेरचाहको जिम्मेवारी उनले आफैं लिएकी छन् । विशेष कुरा के हो भने उनले काम गर्न अरू कोही राखेकी छैनन्, बरु स्वयं सेवामै समर्पित भई आमाहरूको स्याहार-सुसार गरिरहेकी छन् । बाँचुन्जेल आफ्नै हातले सेवा गर्ने अनि मृत्युपछि दाहसंस्कारको व्यवस्था समेत आफैं गर्ने प्रण गर्दै आएकी छन् । उनको महान सेवाभावका कारण नेपाल सरकारले ‘जनसेवा श्री पुरस्कार’ द्वारा सम्मान गरेको छ। साथै, विभिन्न संघसंस्थाबाट पनि थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेकी छन् । समाजसेवामा समर्पित उनको योगदानले मानवताका लागि जीवन अर्पण गर्न चाहने जोसुकैलाई थप प्रेरणा र उर्जा प्रदान गरिरहेको छ । पूर्णिमा श्रेष्ठ वि.सं. २०४७ साल भदौ १ गते गोरखा जिल्लाको आरुचनौटे, आरुघाटमा जन्मिएकी पूर्णिमा श्रेष्ठले सन् २०१७ मा विश्वको आठौं सर्वोच्च शिखर मनास्लु हिमालको सफल आरोहण गर्दै आफ्नो हिमाल आरोहण यात्राको सुरुवात गरेकी थिइन् । उनले हालसम्म सत्तल, सगरमाथा, अमादब्लम, अन्नपूर्ण प्रथम, धौलागिरि प्रथम, कञ्चनजंघा प्रथम, ल्होत्से र मकालुको सफल आरोहण गरिसकेकी छन् । विशेषगरी, सन् २०२४ मा एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएकी छन् । साथै, विश्वका ८,००० मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ हिमालको सफल आरोहण गरिसकेकी छन् । हिमाल आरोहणका साथै पूर्णिमा श्रेष्ठ एक सफल फोटोपत्रकार पनि हुन् । उनले खिचेको सुन्दर तस्बिरहरू अमेरिकाको ‘द न्यूयोर्क टाइम्स’ तथा नेपालका राष्ट्रिय पत्रपत्रिकाहरूमा निरन्तर प्रकाशित हुँदै आएका छन् । उनको हिमालप्रतिको प्रेम र निष्ठाले महिला पर्वतारोहीहरूका लागि प्रेरणादायी बनेको छ। रविन्द्र पुरी वि.सं. २०२५ साल पुष १६ गते भक्तपुरमा जन्मिएका रविन्द्र पुरीले ललितकला र कानुनमा स्नातक तथा जर्मनीको ब्रेमेन विश्वविद्यालयबाट विकास नीतिमा स्नातकोत्तर गरेका छन् । सन् १९९० देखि १९९३ सम्म पाटन दरबार संरक्षण परियोजनामा ‘आर्किटेक्चरल मोडेल मेकर, मूर्तिकारतथा डिजाइनर’ को रूपमा कार्य गरे । त्यसपछि, सन् १९९६र९७ मा काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरूको पुनर्स्थापनामा पनि महत्वपूर्ण भूमिका निभाए । उनले रानीपोखरी र सिंहदरबार पुनर्निर्माणमा समेत उल्लेखनीय योगदान दिएका छन् । उनका विभिन्न कलाकृतिहरू नेपालका संग्रहालयहरूमा प्रदर्शनमा राखिएका छन् भने, जर्मनी, श्रीलंका तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा समेत उनका कलाकृतिहरू प्रशंसित भएका छन् । रविन्द्र पुरीको नेतृत्वमा स्थापना भएको रविन्द्रपुरी फाउन्डेशन मार्फत १०० भन्दा बढी परियोजनाहरू सञ्चालनमा छन्, जसले नेपालको सम्पदा संरक्षण तथा कला प्रवर्द्धनमा विशेष योगदान पुर्याइरहेको छ। उनी युनेस्कोको ‘ एसीया पेसीफीक कलचरल हेरिटेज अर्वाड ’ प्राप्त गर्ने पहिलो नेपाली हुन् । यसैगरी, वि.सं. २०७० मा ‘जगदम्बा स्टिल एक्सिलेन्स अवार्ड’ द्वारा सम्मानित हुनुका साथै बीजनेश ३६० म्यागजीनले ‘नेपालका १० प्रभावशाली परिवर्तनकर्ता’ मध्ये एक तथा अन्नपूर्ण मिडियाले ‘देशका ५० अगुवा व्यक्तित्व’को रूपमा उनलाई सम्मान गरेको छ । उनको योगदानले नेपालको कला, सम्पदा संरक्षण तथा सांस्कृतिक पुनर्जागरणमा एक महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ । रामजी अधिकारी वि.सं. २०४१ साल असार १० गते गोरखा जिल्लाको भिरकोटमा जन्मिएका रामजी अधिकारीले मानव सेवा आश्रम स्थापना गरी त्यसका प्रमुख संस्थापक र अध्यक्षको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । मानव सेवा आश्रमले देशका सात वटै प्रदेशका १९ जिल्लामा २३ ओटा आश्रम सञ्चालन गर्दै सडकमानवलाई सम्मानपूर्ण जीवनयापनका लागि आवश्यक सेवाहरू प्रदान गर्दै आएको छ। आश्रमको संरक्षणमा करीब १,५०० जना बेसहारा असहाय, परिवार र समाजबाट परित्यक्त व्यक्तिहरू रहेका छन् । आश्रमको प्रमुख उद्देश्य भनेको वि.सं. २०८२ सम्ममा देशलाई सडक-मानवमुक्त बनाउने र नेपाललाई मानवताको देशको रूपमा संसारसामु चिनाउने छ । रामजी अधिकारीले युवाहरुलाई नेतृत्व र उत्प्रेरणासम्बन्धी तालिम प्रदान गर्दै देश, जनता र मानवताको सेवामा सक्रिय बनाउन प्रयासरत रहेका छन् । उनको जनसेवाश्री पदक सहित थुप्रै पुरस्कार र सम्मान प्राप्ति उनको समाजसेवा र योगदानको ठूलो मूल्याङ्कन हो । रामजी अधिकारीको प्रेरणादायी कार्यले नेपालमा मानवसेवाको क्षेत्रलाई नयाँ दिशा दिएको छ । डा. विराज सिंह थापा डा. बिराज सिंह थापाको जन्म वि.सं. २०३६ साल जेठ १७ गते, मोरङ जिल्लाको विराटनगरमा भएको हो । वर्तमानमा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागमा सहप्राध्यापकका रूपमा कार्यरत उनले हाइड्रोपावर र ग्रीन हाइड्रोजनका क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् । उनी काठमाडौं विश्वविद्यालयको गड़ोजन ल्याबको टिस लिडर र इसिमोडको सह-नेतृत्व पनि गर्दै आएका छन् । उनकै नेतृत्वमा जीएच ल्याबले नेपालको पहिलो हाइड्रोजन कार, २०१९ मा हुन्डाई नेक्सो फ्युल सेल आयात गरेको थियो । साथै, काठमाडौं विश्वविद्यालयले नेपालको पहिलो हरियो हाइड्रोजन कार इन्फ्युलिङ स्टेसन पनि कोरियाबाट एसेम्ब्ली गरेर सञ्चालनमा ल्याएको छ। नर्वेबाट विद्यावारिधि गरेका डा. थापाले नेपाल सरकारको ग्रिन हाइड्रोजन नीतिको समन्वय समितिको सदस्यका रूपमा पनि सेवा प्रदान गर्दै आएका छन् । उनी विश्व ऊर्जा परिषद्को सदस्य पनि हुन् । डा. थापाको नेतृत्वमा गरिएको कार्यले नेपालको हाइड्रोजन र नवीकरणीय ऊर्जा क्षेत्रमा नयाँ उचाइमा पुर्याएको छ र उनको योगदानले नेपाललाई विश्व ऊर्जा क्षेत्रसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। हरिराम श्रेष्ठ गोरखा जिल्लाको पालुङटार वडा नं. ८ मा वि.सं. २०४३ साल कार्तिक ८ गते जन्मिएका हरिराम श्रेष्ठ नेपालका विज्ञान तथा प्रविधि क्षेत्रका एक आशाको दियो हुन् । उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा प्राविधिक अधिकृतको रूपमा कार्यरत छन् र नास्टको अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख पनि हुन् । उनले जापानबाट विद्यावारिधि गरेका छन् । उनी स्याटलाइट निर्माणमा मुख्य योगदानकर्तामध्ये एक हुन् र यस स्याटलाइटको निगर्मागर नेभिगेसनमा कार्यरत छन्। इन्जिनियरिङका क्षेत्रका विज्ञ, उनले स्याटलाइट प्रशिक्षण लगायत विद्यालय र अन्तर्राष्ट्रिय समुदायमा अन्तरिक्ष प्रविधि प्रदर्शन गर्दै आएका छन् । स्याटलाइट प्रविधिका क्षेत्रमाको निर्माण र सञ्चालनमा महत्त्वपूर्ण योगदान दिएकाले वि.सं. २०७६ सालमा कीर्तिमय राहूदीप चौथोकाट सम्मानबाट सम्मानित भएका छन् । श्रेष्ठको योगदानले नेपालमा अन्तरिक्ष प्रविधिको क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्न महत्त्वपूर्ण भूमिका निभाएको छ । सावित्रा भण्डारी (साम्बा) सावित्रा भण्डारी, नेपाली फुटबल इतिहासमा एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडीका रूपमा चिनिएकी छन् । उनको जन्म २६ मे १९९७ मा लमजुङ जिल्लाको सिमपानीमा भएको थियाे । एपीएफ क्लबकी मुख्य खेलाडी सावित्रा भण्डारीको उच्च प्रदर्शनका कारण एपीएफ क्लबले लगातार चार पटक प्रधानसेनापति कपको उपाधि जित्न सफल भएको थियो । साथै महिला राष्ट्रिय लिगको उपाधि जित्नमा पनि क्लबको सफलता सुनिश्चित गरिन् । विसं. २०७३ सालमा प्रधानसेनापति कप र राष्ट्रिय लिग जित्दा उनी उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । यसैगरी, विसं. २०७५ सालको प्रधानसेनापति कप जित्दा उनी उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी थिइन् । सावित्रा भण्डारी अन्तर्राष्ट्रिय व्यावसायीक फुटबल खेल्ने पहिलो महिला खेलाडी पनि हुन् । उनले सन् २०१७ मा माल्दिभ्स महिला लिगमा माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेकी थिइन् र उक्त संस्करणमा प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भइन् । साथै माल्दिभ्स पुलिस र सेतु क्लबको तर्फबाट पनि खेलेकी उनले करिब चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाएका छन् । सावित्रा भण्डारीको उत्कृष्ट खेलकुदको योगदानले नेपाली फुटबलमा महिला खेलाडीहरूको स्थानलाई मजबुत बनाएको छ र उनले अन्तर्राष्ट्रिय फुटबलमा पनि नेपालको प्रतिष्ठा उच्च बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।
‘फलाम र सिमेन्टको मूल्यवृद्धिले समस्या भइरहेको छ, तत्काल समाधान खोज्नुपर्छ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको तस्रो महाधिवेशको उदघाटनका अवसरमा बोल्दै उनले विकासका लागि नीतिगत स्थायित्वका साथसाथै निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्य राक्न समेत आवश्यक भएको धारणा राखे । ‘निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ । रोजगारी सिर्जना गरेको हुन्छ, राज्यलाई कर तिरेको हुन्छ । तर पछिल्लो समय आम मानिसमा गलत भाष्य छर्ने गरि कतिपय गतिविधि भएका छन । जसले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरेको छ । यसमा परिवर्तन आवश्यक छ,’ उनले भने । सरकारले गरेका पछिल्ला नीतिगत सुधारले निजी क्षेत्र लगानीको वातावरण बन्नेमा विश्वस्त रहेको बताउँदै उनले यसको कार्यान्वयनका लागि छिट्टै नियमावली र कार्यविधि ल्याउन आग्रह गरे । उनले यसबाट नेपालको व्यवसायिक गतिविधिमा सुधार ल्याउने आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्ने छ भन्ने निजी क्षेत्रले विश्वास लिएको समेत बताए । नेपालमै ठूला परियोजनाहरू सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेकोमा जोड दिँदै उनले निजी क्षेत्रको पहलमा नेपाल डेभलपमेन्ट पब्लिक इन्भेस्टमेन्ट कम्पनीको स्थापना गरी काम अगाडि बढाइएको बताए । अध्यक्ष ढकालले स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताउँदै महासंघले व्यावसायिक वातावरण सुधार र लगानी प्रवद्र्धनलाई आफनो उच्च प्राथमिकतामा राखेको र यसमा सरकार र अन्य निकायहरुसंग समन्वय र सहकार्य खोजिरहेको धारणा राखे । आर्थिक विकासका लागि सकारात्मक वातावरण निर्माण गर्न र लगानी बढाउन आग्रह गर्दै उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योगहरूलाई प्राथमिकता दिन आगामी बजेटले सम्बोधन गर्न सरकारलाई सुझाव दिए । पछिल्लो समय सिमेन्ट र फलामको मूल्यवृद्धि र लोडसेडिङ जस्ता समस्याहरूले औद्योगिक तथा व्यावसायिक क्षेत्र समस्यामा देखिएको चर्चा गर्दै उनले यसको तत्काल समाधान खोज्न पनि सरकारलाई आग्रह गरे ।