५३ लाखबाट १६ अर्बको यात्रा, निरन्तर नाफामा डाबर नेपाल
काठमाडौं । विभिन्न कम्पनीहरुले व्यापार नभएको गुनासो गर्दै नोक्सानमा भएको बताइरहँदा डाबर नेपालले भने आकर्षक आम्दानी गरेको देखिएको छ । डाबर नेपाललले सन् २०२४ मा राम्रो व्यापार गरेर उच्च नाफा गर्न सफल भएको छ । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले सन् २०२४ मा १६अर्ब १६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन सन् २०२३ को तुलनामा १८.७२ प्रतिशत बढी हो । सन् २०२३ मा यस कम्पनीको कुल सञ्चालन आम्दानी १३ अर्ब ६१ करोड ५० लाख र सन् २०२२ मा १३ अर्ब १ करोड ८० लाख रुपैयाँ थियो । सन् २०२४ मा कम्पनीको व्यवसायमा राम्रो सुधार भएको देखिन्छ । आम्दानीसँगै कम्पनीको नाफा मार्जिनमा पनि राम्रो सुधार देखिएको छ । सन् २०२२ मा १३.५४ प्रतिशत रहेको नाफा मार्जिन, सन् २०२३ मा १३.८८ प्रतिशत र सन् २०२४ मा १६.९७ प्रतिशत रहेको छ । कम्पनीको ऋण अनुपात पनि स्थिर रहेको देखिन्छ । हाल सो अनुपात ०.१४ रहेको छ । ब्याज भुक्तानी गर्न सक्ने क्षमता पनि मजबुद रहेको छ भने ऋण÷नगद आम्दानी अनुपात पनि सकारात्मक देखिन्छ । यस्तै, कम्पनीले ६ अर्ब ६० करोड रुपैयाँ ऋणको रेटिङ पनि गरेको छ । त्यसका लागि ए वान प्लस रेटिङ पाएको छ । बुहराष्ट्रिय कम्पनीहरुमध्ये डाबर नेपाल नेपालमा सबैभन्दा सफल कम्पनीका रुपमा परिचित छ । डाबर सन् १९८९ मा नेपालमा व्यवसाय प्रवेश गरेको यस कम्पनीले सन् १९९२ बाट औपचारिकरुपमा उत्पादन सुरु गरेको थियो । नेपालमा ८ करोड रुपैयाँबाट सुरु भएको यो कम्पनीले पहिलो वर्ष ५३ लाख रुपैयाँको कारोबार गरेको थियो भने अहिले वार्षिक १६ अर्ब आम्दानी गर्ने स्थितिमा पुगेको छ । यो कम्पनी सरकारबाट बढी कर तिर्ने कम्पनीका रुपमा पनि सम्मानित भइसकेको छ भने यसले हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पनि दिएको छ । नेपालबाट भारतमा सबैभन्दा बढी निर्यात गर्ने बहुराष्ट्रिय कम्पनीका रुपमा डाबर नेपाल परिचित छ । डाबर नेपालमा डाबर इन्डिया लिमिटेडको ९७.५ प्रतिशत र नेपालमा स्व. रुक्मशमशेर राणा परिवारको २.५ प्रतिशत लगानी छ । उनै स्व रुक्मशमशेर राणाले डाबरलाई नेपालमा भित्र्याएका हुन् । डाबरका उत्पादनहरूमा फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी)मा प्याकेज फुड तथा बेभरेज, पर्सनल केयर, होम केयर, हेल्थ केयर, आयुर्वेदिक फर्मुलेसनलगायत रहेका छन् । डाबरले एक दर्जन बहुराष्ट्रिय ब्रान्डहरू नेपालमा उत्पादन गर्दै आएको छ । डाबर नेपालले फ्रुट जुस, बेभरेज, टेस्ट मेकर्स, फुड प्रडक्ट, हेल्थ केयर प्रडक्ट, पर्सनल केयर प्रडक्ट, हाउस केयर प्रडक्ट, आयुर्वेदिक प्रडक्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आइरहेको छ । कम्पनीले डाबर च्यावनप्रास, डाबर रियल जुस, डाबर टुथ पेस्ट, डाबर ग्लकोज, डाबर हनी, पाचन चुर्ण, हाजमोला क्यान्डी, हनिटस, हाजमोला ट्याबलेट, टुथ पाउडर, हेयर आयल, क्रिम बेस्ड प्रडक्ट, साबुन, स्याम्पु, रोज वाटर, एयर फ्रेसनरलगायत उत्पादन गर्दै आइरहेको छ ।
लिखित तथा मौखिक जानकारीबिनै प्राधिकरणका हाकिमले लोडसेडिङ गराउनुभयो : मारु
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले नेपाल विद्युत प्राधिकरणले जानकारी नदिइकन लोडसेडिङ गरिरहेको दाबी गरेका छन् । आइतबार नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मारुले यस्तो बताएका हुन् । उनले लोडसेडिङ कारण उद्योगहरू मारमा परिरहेको गुनासो गरे । अध्यक्ष मारूले ११–१२ घण्टा लोडसेडिङ हुँदा पनि प्राधिकरणका हाकिमले लोडसेडिङ नभएको भन्दै झुटमाथि झुट फैलाइरहेको बताए । उनले भने, ‘हामीलाई केही जानकारी दिएको छन् । न लिखित न त मौखिक रूपमै । एक्कासि लोडसेडिङ गरियो । अझ आफै लोडसेडिङ गरिएको छैन भन्नुहुन्छ । यो झुट हो । १२-१३ घण्टामात्रै बत्ती बल्छ, त्यो पनि व्यवस्थित छैन ।’ अध्यक्ष मारुले २०७५ सालदेखि उद्योगहरूमा लाइन काट्ने विवाद हुँदै आएको पनि बताए ।
नीर्जीवन बीमा कम्पनीहरूको फागुनसम्मको व्यवसाय २८ अर्ब २ करोड
काठमाडौं । नीर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म कुल २८ अर्बभन्दा बढी लाख बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ नीर्जीवन बीमा कम्पनीले १८ लाख ४३ हजार बीमा लेख जारी गरी कुल २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरूले फागुन महिनामा मात्रै २ लाख २१ हजार बीमा लेख जारी गरी ३ अर्ब ७५ करोड कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले फागुन मसान्तसम्ममा एक लाख ९७ हजार ५२८ बीमालेख जारी गर्दा कुल ४ अर्ब १ करोड ३९ लाख व्यवसाय गरेको छ । कम्पनीले फागुनमा मात्रै २३ हजार ४१२ बीमालेख जारी गरी ८८ करोड १८ लाख बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले एक लाख ८५ हजार ८७ बीमा लेख जारी गरी सो रकम बराबरको बीमा शुल्क संकलन गरेको हो । सलिकोले फागुनमा मात्रै ३८ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, आईजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले फागुनसम्ममा २ अर्ब ३२ करोड ४४ लाख बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले फागुनमा मात्रै ३४ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । फागुन मसान्तसम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड, फागुनमा मात्रै २८ करोड ८७ लाख, नेको इन्स्योरेन्सले फागुन मसान्तसम्ममा २ अर्ब १९ करोड, एनएलजी इन्स्योरेन्स एक अर्ब ८५ करोड ९१ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड ८६ लाख र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । आईतबार बसेको सञ्चालक समितिको बैठकले चैत ११ गतेदेखि लागू हुने गरी सीईओमा इवाहाङलाई नियुक्त गरेको हो । उनी आगामी ४ वर्षका लागि सीईओ नियुक्त भएका हुन् । फाइनान्सको गत पुष १४ गते बसेको सञ्चालक समिति बैठकले सीईओमा प्रकाशचन्द्र अधिकारीलाई नियुक्त गरेको थियो । तर अधिकारीले आफूलाई सीईओमा नियुक्त गर्दा सञ्चालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले कार्य गर्न असमर्थ रहेको भन्दै निवेदन दिएका थिए । त्यसपश्चात उनको नियुक्ति रद्द गरिएको थियो । पाएको जागिर इन्कार, घरमै बसेर तीन महिना सीईओ
हैसियत हेरेर बीमा गरौं र गराऔं : बीमाविज्ञ घिमिरे
काठमाडौं । बीमाविज्ञ रविन्द्र घिमिरेले बीमितको आर्थिक हैसियत हेरेर मात्रै कम्पनीहरूले बीमा गराउनुपर्ने बताएका छन् । आइतबार एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । बीमितले पनि कसैले भनेको आधारमा बीमा गर्नुभन्दा पनि राम्रोसँग कुरा बुझेर आफूले कति सम्मको बीमा गर्न सकिन्छ, त्यसको आधारमा बीमा गर्नुपर्नेमा उनी जोड दिन्छन् । बीमा विज्ञ घिमिरेले आर्थिक हैसियत नहेरी बीमा गर्दा कम्पनी र बीमित दुबैलाई समस्या पर्ने यसले कसैलाई फाइदा नगर्ने अभिव्यक्ति दिए । घिमिरेले बीमा क्षेत्र भर्खर सिक्ने चरणमै रहेको हुँदा सिक्नुपर्ने कुरा धेरै रहेको औंल्याए । उनले भने, ‘बीमा क्षेत्रमा हामी सिक्ने चरणमै छौं, यो क्षेत्रका साथीहरू अध्ययन गर्न र केही सिक्नमा इच्छुक हुनुहुन्छ । सिक्दैछौं, सिकेपछि त्यसलाई व्यवहारमा उतार्न बाँकी छ ।’ सिक्ने सिकाउने क्रम कहिल्यै नसक्ने उल्लेख गर्दै बीमा विज्ञ घिमिरेले फिल्डदेखि केन्द्रीय नेतृत्व तहसम्मकाले सिक्नैपर्ने बताए । ‘मलाई बीमा पढ्दा सबै कुरा जानेजस्तो लाग्थ्यो । विस्तारै बुझ्दै जाँदा केही जाने रहेनछु भन्ने थाहा भयो । टेक्निकल विषय हो, निरन्तर सिकाइको प्रक्रियामा नगइन हामीले बीमा क्षेत्रको विकास गर्न सक्दैनौं,’ उनले भने । नेपाल बीमा प्राधिकरणले बीमाको क्षेत्रमा काम गर्दै आइरहेको भएपनि प्रभावकारी काम अझै हुन नसकेको औंल्याउँदै उनले त्यसतर्फ ध्यान पुग्नेपर्ने बताए । त्यस्तै, बीमाविज्ञ घिमिरेले बीमा क्षेत्रको सुधारको लागि प्राधिकरणले दक्ष जनशक्ति उत्पादनको लागि गम्भिर रुपमा सोच्नुपर्ने औंल्याए । त्यसबाहेक असल शुसान, समयअनुसार प्रविधिको प्रयोग र अभ्यास यो क्षेत्रले गर्दै जानुपर्ने उनले बताए । उनले भने, ‘असल शुसासन कायम आवश्यक छ । संसारभरिका जति पनि कम्पनीहरू कोल्याप्स भएका छन्, असल सुशासन नभएर नै हो । हरेकले आफ्नो क्षेत्रबाट राम्रै गरिरेको छु भन्ने ठाने पनि त्यहाँ सुधार्नुपर्ने धेरै कुरा हुन्छ । असल सुशासन र रेगुलेशनमा बीमा प्राधिकरणले काम गर्नुपर्छ ।’
सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न, ११६ प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित
काठमाडौं । सिन्धु विकास बैंकको १४औं र १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल मिरावल धुलिखेलमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/ ०८० तथा आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसंग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण सम्पन्न गर्न कम्पनी ऐन २०७३ को दफा ११३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट भएको वाह्य लेखापरीक्षक श्री सुजन काफ्ले एण्ड यसोसियट्स, चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजको पारिश्रमिकको अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न गर्न बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक सुजन काफ्ले एण्ड यसोसियट्स, चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गरेको छ । सभाले स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियुक्तिलाई अनुमोदन गर्ने, निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्ता पूँजी १२० करोड रूपैयाँ पूरा गर्न हाल कायम रहेको चुक्ता पुँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।
फोटोन विश्वभर १ करोड युनिट बिक्री गर्न सफल
काठमाडौं । फोटोनले विश्वभर १ करोड युनिट बिक्री गर्न सफल भएको छ । फोटोनले आफ्नो उपस्थिति विश्वभर फैलाएको छ । यसले डिजिटल प्रविधि प्रयोग गरी व्यावसायिक सवारीसाधनको आपूर्तिमा नयाँ स्तर कायम गरिरहेको छ । यो उपलब्धिले फोटोनलाई व्यावसायिक सवारी साधन उद्योगमा विश्वव्यापी अग्रणी बनाएको छ । उच्चगुणस्तर र अत्याधुनिक प्रविधिको प्रयोगले फोटोनका ट्रक, बस तथा विशेष सवारीहरू उद्योगहरूको पहिलो रोजाइ बन्न पुगेका छन् । फोटोनले इन्धन दक्षता सुधार्ने आधुनिक प्रणाली कार्यान्वयन गर्दै कार्बन उत्सर्जन कम गर्ने लक्ष्य राखेको छ । १ करोड युनिट बिक्री र आगामी दिनहरूका लागि दृढ लक्ष्यसहित फोटोन व्यावसायिक सवारीसाधनको क्षेत्रमा विश्वव्यापी स्तरमा नयाँ उचाइ हासिल गरिरहेको छ । ११० भन्दा बढी देशहरूमा आफ्नो बलियो उपस्थिति जनाएको फोटोनले विश्वव्यापी आर्थिक वृद्धिमा योगदान पु¥याउने यातायातको आमूल परिवर्तनलाई अघि बढाइरहेको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि हो ।
टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर
काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ । यो रोमाञ्चक सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट मार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइने कम्पनीले जनाएको छ । मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकहरूले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन् । प्रतिष्ठित दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ । कम्पनीका अनुसार टिकटक पछिल्ला केही वर्षहरूमा नेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघट स्थलको रूपमा विकसित भएको छ । प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्ने टिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ । यो साझेदारी मार्फत देशभरका एनसेल एनएसएल फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहन सक्छन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउँछ । साथै, ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरू प्रस्तुत गर्नेछ जसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ । टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, ‘हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरू मध्ये एक एनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं । यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौं ।’