नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त, ज्ञानेन्द्रको राजीनामा स्वीकृत
काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १३ गते बसेको बैठकले हाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) रहेका ज्ञवालीलाई कामु सीईओमा नियुक्त गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जानकारी दिए । २०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएर नबिल बैंकमा डीजीएममा नियुक्त भएर काम सुरु गरेका ज्ञवाली चार वर्षको बीचमा नायब महाप्रबन्धकबाट महाप्रबन्धक, डेपुटी सीईओ, सिनियर डेपुटी सीईओ हुँदै कामु सीईओ बनेका हुन् । उनी गत पुसमा मात्रै बैंकको सिनियर डेपुटी सीईओमा बढुवा भएका थिए । सञ्चालक समिति र सेयरधनीहरूसँग नजिक भएर काम गरिरहेका ज्ञवाली एक क्षमतावान र प्रष्ट वक्ताको रूपमा पनि परिचित छन् । यो हिसाबले उनी सीईओ बन्न सक्ने अनुमान धेरैको छ । युवाहरूमाझ पनि उत्तिकै चर्चित ज्ञवालीले नबिल बैंकका पूर्व सीईओ अनिल केशरी शाहको फ्लेवर बैंकमा चखाइरहेका छन् । ज्ञवालीलाई सीईओ बनाउनकै लागि गत पुसमा मात्रै वरिष्ठ डेपुटी सीईओमा बढुवा गरेर बाटो खुला गरेको भन्ने चर्चा पनि बैंकभित्र छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनीसँग नेपाल राष्ट्र बैंकमा पनि काम गरेको पनि अनुभव छ । कम्पनी सचिव पौडेलका अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत भएको छ । ढुंगानाले दिएको राजीनामा चैत १० गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो । सम्बन्धित समाचार ज्ञानेन्द्रको एक्जिटपछि ‘इनहाउस’बाटै सीईओ रोज्दै नबिल, सुजित र मनोजबीच ‘नेक टु नेक’ नबिलबाट बाहिरिँदै ज्ञानेन्द्र ढुंगाना, गभर्नरका लागि ‘टप थ्री’मा पर्न राजीनामा अनिवार्य
विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्ता खरिद गर्न सकिने
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५१ हजार २९२.५ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था बमोजिम सर्वसाधारणलाई एफपीओ जारी गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ७ करोड ९२ लाख ११ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पुँजी ८ करोड ४३ लाख ४० हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा चैत २६ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा २०८२ बैशाख ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
सानिमा बैंकले गोरखामा आयोजित स्वास्थ्य शिविरमा गर्यो आर्थिक सहयोग
काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा विभिन्न सामाजिक उत्थानका कार्यक्रमलाई निरन्तर समर्थन गर्दै आइरहेको छ । यसैक्रममा, बैंकले गोरखाको शक्तिचोकस्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रूपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा आर्थिक सहयोग प्रदान गरेको छ । गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–६, घैरुङ स्वास्थ्य चौकीमा सम्पन्न उक्त शिविरमा ५२५ जना स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपीडी सेवा लगायत विभिन्न स्वास्थ्य परीक्षणहरू प्रदान गरिनुका साथै आवश्यक परेका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो । सानिमा बैंकले आगामी दिनहरूमा पनि समाजको समग्र उत्थानका लागि प्रभावकारी सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हाल बैंकले सातै प्रदेशमा १३४ शाखा तथा १२६ एटीएममार्फत उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ ।
बैंकिङ तथा फिन्टेक क्षेत्रको डिजिटल रूपान्तरणका लागि लिडरशिप तालिम सम्पन्न
काठमाडौं । काठमाडौं फिन्टेक र भारतको गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टको सहकार्यमा आयोजित पाँच दिने डिजिटल लिडरसीप तालिम गोवामा सम्पन्न भएको छ । नेपालका बैंकिङ तथा फिन्टेक क्षेत्रलाई डिजिटल रूपान्तरण गर्ने अभियान अन्तर्गत काठमाडौं फिन्टेकको नेतृत्वमा सो तालिम आयोजना गरिएको हो । सो तालिममा आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डेटा एनालिटिक्स, तथा स्मार्ट बैंकिङ जस्ता अत्याधुनिक प्रविधिहरूको बैंकिङ क्षेत्रमा प्रयोग सम्बन्धी ज्ञान प्रदान गरिएको थियो । भारतीय फिन्टेक क्षेत्रका अनुभवी विशेषज्ञहरू तथा गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्राध्यापकहरूद्वारा सहभागीहरूलाई व्यवहारिक प्रशिक्षण दिइएको थियो । नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त तालिममा मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, तथा फोनपे का प्रतिनिधिहरू सहभागी थिए । काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बाका अनुसार, यस्ता अन्तर्राष्ट्रिय स्तरका तालिमहरूले नेपाली बैंकिङ तथा फिन्टेक क्षेत्रलाई नवीनतम ज्ञान तथा सीप हासिल गर्न सहयोग पुर्याउनेछ । यसले नेपाली वित्तीय संस्थाहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास लिइएको छ । काठमाडौं फिन्टेकले नेपाललाई क्षेत्रीय तथा विश्व फिन्टेक तथा डिजिटल बैंकिङको नक्सामा स्थापित गर्ने लक्ष्य राख्दै डिजिटल बैंकिङ तथा फिन्टेक ज्ञान प्रदान गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्जीव सुब्बाले बैंकिङ, शिक्षा, तालिम, फिन्टेक तथा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव हासिल गरेका छन् ।
एनएमबि बैंकद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विभिन्न प्रदेशका शाखामार्फत विद्यालय, कलेज तथा समुदायमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको हो । यस अभियान अन्तर्गत वित्तीय साक्षरतासम्बन्धी सेमिनार, सचेतनामूलक गोष्ठी तथा प्रभातफेरी कार्यक्रमहरू आयोजना गरिएको थियो । बैंकले सामाजिक सञ्जाल मार्फत पनि वित्तीय ज्ञानसम्बन्धी जानकारी प्रवाह गर्दै आएको छ । एनएमबि बैंकका अनुसार यस अभियानबाट ३,००० भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन् । वित्तीय साक्षरताले विशेष गरी विद्यार्थी, उद्यमी तथा आम नागरिकलाई बचत, लगानी, बैंकिङ प्रणाली तथा डिजिटल वित्तीय सेवाहरूको बारेमा सचेत बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ। बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम तथा ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । वित्तीय साक्षरता अभिवृद्धि अभियानलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कालिकोटको मान्मादेखि मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार
काठमाडौं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्लाहुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडीएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग सञ्चालनमा ल्याएको छ । देशका दुर्गम क्षेत्रहरूमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार गर्न र स्तरोन्नति गर्ने योजना अनुरूप सूचना महामार्ग विस्तार गरिएको कम्पनीले जनाएको छ । योसँगै कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रहरूमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर र क्षमता वृद्धि भएको कम्पनीले उल्लेख गरेको छ । साथै, भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि पनि यसले महत्त्वपूर्ण आधार निर्माण गर्ने कम्पनीको भनाइ छ । यसका अलावा, माइक्रोवेभ रिडिओ लिङ्कमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका फाइबर इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरूको काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनटीटिभी ब्रान्डको टेलिभिजन सेवा पनि ८ चैतदेखि अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको छ ।
परबर प्रतिकिलो ८० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु १२० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो रु ६० तथा भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ७०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ७०० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो रु ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १८०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १३०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु १०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, सुर्खानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।
सलिकोले आगामी वर्षदेखि एनएफआरएस-१७ लागू गर्ने, इच्छुक कम्पनीलाई आह्वान
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले नेपाल वित्तीय प्रतिवेदन मान (नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्ड-१७ (एनएफआरएस-१७) लागू गर्ने भएको छ । सलिकोले आगामी आर्थिक वर्ष २०८२/८३ देखि एनएफआरएस–१७ लागू गर्ने भएको हो । कम्पनीले आगामी आर्थिक वर्षका लागि एनएफआरएस-१७ सम्बन्धी व्यवस्था लागू गर्नुपर्ने भएकाले त्यस सम्बन्धी कार्य गर्ने स्वदेशी तथा विदेशी कम्पनीलका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको छ । इच्छुक स्वदेशी तथा विदेशी फर्म, कम्पनी, संस्थाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार कम्तीमा ५ वर्षको अनुभव सहितको कम्पनी तथा फर्मको प्रोफाईल र समय तालिका तथा लागत विवरण, विदेशी संस्थाको हकमा स्वदेशी कम्पनी तथा फर्मसँग कार्य समन्वयको सम्झौता पत्र, कम्पनी तथा फर्म दर्ता प्रमाणपत्र, प्यान तथा भ्याट प्रमाणपत्र पेस गर्नुपर्नेछ । यस्तै, विगत ३ आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, विगत ३ वर्षको वार्षिक प्रतिवेदन (आर्थिक विवरण) र फर्म वा कम्पनी कालोसूचीमा नरहेको प्रमाण पेस गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरु चैत्र २८ गते २ बजे कम्पनीको खरिद समितिको उपस्थितीमा खोलिने छन् भने खरिद समितिले अध्ययन गरी निर्णयमा गर्नेछ ।